उपभोक्ताको सहज पहुँच पुग्नुपर्छ : अध्यक्ष चुल्याद्यौ

भक्तपुरमा मासिक तीन करोडको मोबाइल कारोबार
भक्तपुर पछिल्लो समया इलेक्ट्रोनिक समान खरिद बिक्रीको राम्रो बजारका रूपमा परिचित बन्दै छ । आधुनिक समानहरूको प्रयोगमा उपभोक्ताहरू रुचि बढिरहेको वर्तमान समयमा इलेक्ट्रोनिक सामानहरूको बजारको सम्भावना र उपभोक्ताको पहुँच कस्तो रहेको छ भन्ने विषयमा नेपाल मोबाइल वितरण संघका केन्द्रीय कोषाध्यक्ष एव इलेक्ट्रोनिक सामग्री संघ भक्तपुरका निर्वतमान अध्यक्ष दिनेश चुल्याद्यौसँग भक्तपुरमा इलेक्ट्रोनिक सामानको बजार अवस्थाबारे कमल न्यौपानेले गरेको कुराकानीको सारसंक्षेप ।

भक्तपुरमा इलेक्ट्रोनिक सामग्रीको चाप कस्तो छ ?
पछिल्लो समय भक्तपुरमा इलेक्ट्रोनिक सामग्रीको चाप र माग दुबै बढ्दो छ । विशेषगरी स्मार्ट फोनको माग अहिले बढेको छ । यसले फोनदेखि टेलिभिजनको समेत काम गर्ने भएकोले अन्यको तुलनामा स्मार्ट फोनको माग र चाप बढेको हो ।

बजार अवस्था कस्तो छ ?
मोबाइलको मात्रै भक्तपुर जिल्लामा मासिक ३ करोडजति कारोबार हुने गरेको छ भने यस बाहेक अरू इलेक्ट्रोनिक सामग्रीको करिब १ करोडको कारोबार हुने गरेको छ । यी दुबैलाई हेर्दा यहाँ मासिक ४ करोडको हाराहारीमा कारोबार भइरहेको छ । सामान्यतया भक्तपुरको बजारलाई राम्रै भन्नुपर्छ ।

सेकेन्ड हेन्ड मोबाइलको खरिदबिक्री कस्तो छ ?
उपत्यकाभित्र काठमाडौंमा यस्तो व्यापर हुने गरेता पनि भक्तपुरमा भने यस्तो खालको बजार हालसम्म पनि छैन । भक्तपुरमा सेकेन्ड हेन्ड मोबाइल बजारले आफ्नो बजार विस्तार गर्न नसक्ने अवस्था देखिएकै कारण यस्तो बजारको विस्तारमा व्यवसायीहरूले समेत चासो नदिएको देखिन्छ ।

मोबाइलमा उपभोक्ता ठगी बढ्दो छ नि ?
हो यदाकता यस्तो सुनिँदै आएको छ । ठगीको मामलामा खास गरी व्यवसायीले भन्दा पनि उपभोक्ताले बिषेश ध्यान दिनुपर्छ । उपभोक्ताले आफूले प्रयोग गर्ने वा खरिद गर्ने मोबाइल वा इलेक्ट्रोनिक सामानका बारो पूर्ण जानकारी नलिएरै खरिद गर्न जानु पनि ठगीनुको एक कारण हो । मेरो बुझाइमा हाल सूचनाको पहुँचलाई ध्यान दिँदै समान खरिद गर्न सामानबारे पूर्वजानकारी हासिल गर्न सकिन्छ । जसमा सम्पूर्ण जानकारी राखिएको हुन्छ । यदि उपभोक्ताले नेट हेरेर खरिदका लागि पसलमा गएको अवस्थामा ठगिने सम्भावना कम हुन्छ । व्यापारीले ५÷१० प्रतिशत त नाफा खाने चलनै हुन्छ ।

मोबाइल पसल करको दायरामा आउँदैनन् किन ?
भक्तपुरको हकमा व्यापारको टनओभर जति हुन्छ त्यसको ८० प्रतिशत करको दायरामा छन् । २० प्रतिशत जतिले कर नतिरेका हुन सक्छन् । यिनीहरूलाई करको दायरामा ल्याउनका लागि कर कार्यालय लगायतका सरकारी नियमनकारी निकायले प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ । तर, यस्तो भएको देखिँदैन । भक्तपुरमा सबै त भन्न सकिँदैन २५ प्रतिशत बाहेकका अरू मोबाइल पसल दर्ता भएरै राज्यलाई कर तिर्दै आएका छन् ।

समस्या के–के छन् ?
अरूभन्दा पनि अस्वच्छ प्रतिस्पर्धा नै भक्तपुरमा मोबाइल व्यवसायमा देखिएको समस्या हो । सेवा सुविधामा नभई नाफा र मूल्यमा प्रतिस्पर्धा बढी हुँदै आएको पाइन्छ । अस्वस्थ बजार नै सबैका लागि हानिकारक वातावरण बनेको छ ।

समाधान के हुन सक्छ ?
भक्तपुरमा देखिएको यो समस्याको खास समाधान भनेकै स्वच्छ प्रतिस्पर्धा हो । मूल्य र नाफामा होइन सेवासुविधामा व्यापारी र उपभोक्ताको ध्यान जान सके समस्या सहजै समाधान हुन सक्छ ।

अन्त्यमा ?
मोबाइलका क्रेतालाई के अनुरोध छ भने पसलमा मोबाइल खरिद गर्न जानुअघि कृपया आफूले प्रयोग गर्ने मोबाइलबारे सबै जानकारी लिएर बुझेर मात्र जानुहोस् । किनकि, यसो गरिएको अवस्थामा उपभोक्ताहरू ठगिने र मर्कामा पर्ने समस्या रहँदैन । त्यस्तै व्यवसायी साथीहरूलाई मेरो के आग्रह छ भने अस्वस्थ बजारले सबैलाई हानि पु¥याउने भएका कारण यसतर्फ व्यवसायी मित्रहरूले ध्यान दिनुपर्ने देखिन्छ । करको दायरामा नआएका व्यवसायी मित्रहरूलाई आफूले गर्ने व्यवसायलाई दर्ता गरौँ र वेलामै सरकारलाई तिर्ने कर तिरौँ भन्न चाहन्छु ।

प्रतिक्रिया