‘मुख्यमन्त्री भए ७ सय ५० रूपैयाँमा एक सिलिन्डर ग्यास‘ स्थापित

काठमाडौं महानगरपालिकामा दुई पटक मेयर भएर काम गरेका केशव स्थापित यतिबेला वाम गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर–६ ‘क’ मा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । ०५४ सालमा काठमाडौंका मेयर भएका बेला उनले गरेको भौतिक विकास काठमाडौंका जनताका लागि अहिले पनि सम्झनलायक छ ।

सधैँ ठूला र आर्कषक कुरा गर्ने स्थापित काठमाडौंका रैथाने नेवार हुन् ।  नेपालको विकासमा युरोपजस्ता विकसित मुलुकका उदाहरण दिने गर्छन् उनी । प्रदेश नम्बर–३ बाट मुख्यमन्त्रीको दाबी गरेका स्थापितले प्रदेशको नेतृत्व र अनुकूल वातावरण बने जनतालाई विकासको अनुभूति गराउने बताए । यसै सेरोफेरोमा स्थापितसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवाद ः

तपाईंको निर्वाचन जित्ने आधार के हो ?
पहिलो आधार वाम गठबन्धन हो । दोस्रो कुरा मैले यहाँका जनता र क्षेत्रका लागि गर्ने कामको योजना हो । म जुन क्षेत्रबाट निर्वाचन लडिरहेको छु, त्यहाँ मेरा लागि प्रतिस्पर्धी नै देखेको छैन । गाविसको निर्वाचनमा वडा सदस्य हारेको मान्छे मसँग निर्वाचन लडिरहेका छन् ।

त्यसकारण मेरो प्रतिस्पर्धी नै देखेको छैन । अर्को कुरा अन्य पार्टीबाट स्थानीय निकाय निर्वाचन लडेका व्यक्तिहरू धमाधम एमाले प्रवेश गर्दै छन् । कांग्रेसका जनप्रतिनिधिका परिवारहरू मेरो निर्वाचनको प्रचार–प्रसारमा लागेका छन् । यी सबै आधारका कारण मैले निर्वाचन जित्ने निश्चित छ ।

त्यसो भए तपाईंको विजय घोषणा गर्न मात्र बाँकी हो ?
काठमाडौं–६ ‘क’ मा दुनियाँलाई छक्क पार्ने गरी विजयी हुनेछु । धेरैले मेरो विजयको आकलन गरेभन्दा फरक परिणाम आउनेछ । यहाँका जनता बुझेका, बौद्धिक सर्कलका छन् । कसले जित्दा आफ्नो क्षेत्रको विकास हुन्छ, उनीहरूलाई थाहा छ । त्यसैले, मैले हार्ने कुराको शंका गरेको छ ।

तपाईंलाई आकासे विकासको कुरा गर्ने नेता भन्छन्, तपाईंको जित्ने आधारको एजेन्डा जनताको भाषामा के हो ?
हवाइजहाजमा नचढेको मान्छेलाई गोरुगाडामा चडेर विश्वभ्रमण हुन्छ भन्ने लाग्छ । विश्वको भ्रमण गर्न हवाइजहाज नै चढ्नुपर्छ । गोरुगाडामा चढेर हुँदैन । विश्व हेर्न हवाइजाहाज चढेको जस्तै हो मेरो विकासको योजना, जहाँबाट भूगोलका सबै भाग देखिन्छ र विकासका मार्गचित्र बन्छ । यथास्थितिवादीहरूले पुरानो ढर्राबाट सोचेको हुन्छ । उनीहरूका लागि मेरो योजना आकासे विकास लाग्न सक्छ ।

तर, मैले जे सोचेको छु, त्यो पूरा गरेर छोड्छु । नेपाल विश्वको उत्कृष्ट देश हो । यहाँको भूगोललाई राम्रो योजना बनाएर काम गर्ने हो भने नेपाली धेरै सुखी हुनेछन्, मैले राम्रोसँग बुझेको छु याहाँको विकास र जनताको समृद्धि कसरी हुन्छ भन्ने । त्यसैले मलाई विकासे नेता भन्नेहरूको सोचाइ अहिले पनि पुरानै छ ।

तपाईंको ठ्याक्कै जनताले बुझ्ने र अनुभूति गर्ने एजेन्डाचाहिँ के–के हुन् ?
स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाका उम्मेदवारका लागि बनेको १ सय १ प्रतिबद्धता मैले नै बनाएको हुँ । त्यही प्रतिबद्धताका आधारमा स्थानीय निकायमा एमालेले जितेको हो । यो ठाउँको विकासका लागि के गर्नु पर्छ र कस्ता योजनाको आवश्यकता छ, मैले बुझेको छु । त्यसैको आधारमा मैले ती योजना बनाएको हुँ । यहाँका जनताले त्यही योजनाका आधारमा एमालेका उम्मेदवारलाई विजयी बनाए । अर्को कुरा काठमाडौंका जनताले केशव स्थापितको काम गर्ने क्षमता र कुशलता राम्रोसँग बुझेका छन् ।

दुई पटक यहाँका मेयर भएर काम गरेँ । अहिलेसम्म कसैले गर्न नसकेका विकासका काम गरेको हुँ । एउटा उदाहरण भनौँ, मनमोहन अधिकारीले एक सयबाट सुरु गरेको सामाजिक सुरक्षा दुई हजारमा आइपुगेको छ । यसलाई हामी पाँच हजारमा पु¥याउने लक्ष्यमा छौँ । ती नागरिकले हामीलाई छोडेर कस्लाई भोट हाल्छन् ? त्यही १ सय १ प्रतिबद्धताका आधारमा धेरै काम गर्नु छ ।

त्यसो भए तपाईंले बनाएको ड्राफ्टका आधारमा एमालेले जितेको हो ?
हो, हामीले बनाएका कयौँ योजनामा केन्द्रीय सरकारले असहयोग ग¥यो । काष्ठमण्डप, रानीपोखरीलगायत भूकम्पबाट क्षति भएका पुरातात्विक भवन बनाउने भन्यौँ । तर, सरकारले सहयोग गरेन । देशकै राजधानी यहाँ ठूलो संख्यामा मान्छे भाडामा बस्छन् । संविधानमा पनि उल्लेख छ, घरवहाल करबारे ।

काठमाडौं महानगरपालिकामा चार अर्ब घरवहाल उठ्छ । अर्थ मन्त्रालयले त्यो आयकर आफैँसँग राखेको छ ।  तर, त्यो महानगरमा आउनुपर्ने हो । त्यो रकम आएमा यहाँको विकासमा थप टेवा पुग्ने थियो । केन्द्रीय सत्ता नेपाली कांग्रेसको भएका कारण समस्या पारेको छ । अब यस्ता कुराको व्याख्या प्रदेश सरकारले गर्नेछ ।

दुई पटक काठमाडौं महानगरपालिकाको मेयर भएर काम गर्नुभयो, त्यतिवेलाका अधुरा काम पूरा गर्ने योजना पनि छ ?
यस क्षेत्रका लागि निर्माणका धेरै योजना मसँग छन् । जनताका लागि खानेपानी, महँगी, खाद्य, जस्ता क्षेत्रमा सेवा दिने गरी काम गर्नु छ । मैले यहाँका जनताले बुझेका छन्, यहाँको विकासका लागि मेरो विकल्प छैन भन्ने । दुई वर्षभित्र यहाँका एक लाख युवाहरूलाई रोजगारी दिने योजना मसँग छ । यही प्रदेशमा ‘हलिउड’ बनाउने लक्ष्यमा छु । मेरो योजना यहाँका बौद्धिक समूह, कवि, पत्रकार, युवा, कलाकारले बुझेका छन् । सबै योजनालाई एकै ठाउँमा राख्दा मान्छेलाई बुझ्न गाह्रो होला ।

तर, यहाँका धेरै मान्छेले मलाई चिनेका छन् र मेरो योजना बुझेका छन् । लागुऔषध खाएर पुनःस्थापना केन्द्रमा बसेका युवाहरूलाई भेटेँ । ‘तपाईंहरूका पनि सुनौला सपना थिए होलान्, राज्यले बुझेन र नैरस्यले यो बाटोमा पु¥यायो भन्दा उनीहरू रोए’ । म आउने दिनमा युवाहरूलाई त्यो अवस्थामा पुग्नुनपर्ने गरी योजना बनाउँछु । सबै क्षमता भएका र भावना भएका मान्छेलाई आफ्ना योग्यता र क्षमता प्रस्तुत गर्ने र निरासा बन्न नपर्ने आधार बनाउँछु । बाँच्नका लागि संघर्ष गर्नुपर्छ मिहिनेत गरेर खान पाउने वातावरण बनाउँछु ।

तपाईंको बिचारमा जनताका आवश्यकता भनेको भौतिक संरचनाको निर्माण मात्र होइन ?
मेरो विकास एजेन्डामा खाद्यखुरक्षा पनि छ । किसानले मरेर उत्पादन गरेको तरकारी उपभोक्ताले महँगोमा किन्नुपरेको छ । म ३ नम्बर प्रदेशको सरकारप्रमुख भएपछि किसानको बारीबाट उचित मूल्यमा तरकारी किनेर भण्डारण गर्ने र उपभोक्तालाई सहज रूपमा बेच्ने, केन्द्रीय सरकारसँग अनुदानको माग गरेर उपभोक्तालाई ७ सय ५० रुपैयाँ प्रतिसिलिन्डर ग्यास दिने योजना मसँग छ ।

त्यसका लागि केन्द्रीय सरकार सकारात्मक भएको अवस्थामा यहाँका जनताले ७ सय ५० रुपैयाँमा एक सिलिन्डर ग्यास पाउनेछन् ।  त्यसका लागि मसँग पूरा योजना छ । अझ महिला, असहाय, वृद्धालगायतका लागि ढुवानी पनि प्रदेश सरकारले व्यहोर्ने छ । त्यस्तै, ठाउँ–ठाउँमा सहरी विकास केन्द्र बनाउने योजना छ ।

खाली रहेका सरकारी जमिनलाई अतिक्रमण गर्ने र उपयोग नभएको बाँझो निजी जमिन भाडामा लिएर ठूला–ठूला कम्प्लेक्स बनाउने योजना छ । ती कम्प्लेक्सहरूमा व्यापारिक केन्द्र बनाउने, जहाँ स्वास्थ्य केन्द्र, महिला, युवाका लागि सीपमूलक काम गर्ने र आफ्ना रचनात्मक क्षमता प्रस्तुत गर्ने ठाउँ बनाइनेछ ।

नेपालको आर्थिक अवस्था, भौगोलिक बनोट र समाजिक संरचनाका आधारमा तपाईंले भनेको कुरा पूरा हुने सम्भावना छ ?
मेरो योजना सम्भव छ । जसले बुझेका छैनन्, उनीहरूका लागि विश्वास गर्न गाह्रो हुन्छ । बुझ्नेका लागि सहज छ । म पूर्ण रूपमा योजनासहित अघि बढेको छु । धेरै जमिन भएका मान्छेसँग सस्तोमा भाडामा जमिन लिने हो । यही योजनाका साथ मैले मुख्यमन्त्रीको दाबी गरेको हुँ । मेरो सहरी विकास केन्द्रमा यो समाजका विभिन्न क्षेत्रमा रहेर काम गरेका विकासप्रेमी योजना भएका मान्छे अटाउनेछन् ।

अहिले पनि सामाजिक भावनाले सस्तोमा उपचार गराइरहेको समाजसेवीले उपयुक्त स्थान खोजिरहेका छन् । उनीहरूले हामीले बनाएका भवनमा बसेर जनतालाई सेवा दिने व्यवस्था बनाउनेछु । महिलाका लागि सीप विकास गरेर उनीहरूलाई आय आर्जनको बाटोमा लगाउने ठाउँ पनि त्यहीँ सहरी विकास केन्द्र बन्नेछ । मेरो प्रदेशमा हजार फूल फूल्न दिने वातावरण बनाउँछु । अन्य पार्टीमा भएका बौद्धिक, सीप क्षमता भएका र सामाजिक भावना भएका मान्छेलाई काम गर्ने वातावरणसहित ढुक्कसँग काम गरेर खाने वातावरण बनाउँछु ।

तपाईं मुख्यमन्त्रीको दावेदार पनि हो ?
दावेदार मात्र होइन, मबाहेक ३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने अरू कोही देखेकै छैन । दाबी पनि कसैको छैन ।

३ नम्बर प्रदेशका जनताका सपना र आवश्यकता तपाईंलाई पूरा गर्छु भन्ने लागेको छ ?
हो, म जनताका आवश्यकता पूरा गर्छु । यो सुन्दर देशमा भएको भौतिक संरचनाको विकास गर्न मान्छे चाहिएको छ । अहिलेसम्म धरैले गफ गरे, म योजना, आवश्यकता र जनताको चाहनाअनुसार सम्पूर्ण काम गर्छु । यहाँ योजना भएको काम गर्न सक्ने नेतृत्वको आवश्यकता छ, म त्यो पूरा गर्नेछु । यहाँका जनताले केशव स्थापितलाई जिताएर ठिक गरेछौँ भन्नेछन् ।

तपाईंले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा देखेको, सिकेको र बुझेको अनुभवलाई यस प्रदेशमा लगाउने योजनामा हुनुहुन्छ ?
म मात्र होइन, यहाँ मभन्दा धेरै योग्यता, क्षमता भएमा बौद्धिक मान्छे छन् । मैले उनीहरूलाई लाइट बाल्ने कोसिस गर्ने हो । सीप, क्षमता भएका र याहाँको स्रोत र साधानको प्रयोगका लागि एउटा प्लेटफर्म बनाउने हो मैले । मेरो एउटा योजना सुनाउन चाहन्छु । ‘काभ्रेमा ३२ सय रोपनी जमिन त्यत्तिकै छ । म त्यहाँ ‘महाहलिउड’ बनाउन चाहन्छु ।’ कसरी बनाउने, के गर्ने पूरा योजना मैले बनाएको छु । मैले यतिवेला जित्ने कुराको मात्र योजना बनाएको छैन ।

यस प्रदेशको कुन स्थानमा के छ, त्यसलाई कसरी विकास गर्न सकिन्छ र जनताको जीवनमा समृद्धि कसरी ल्याउन सकिन्छ, त्यो सबैको योजना मसँग छ । त्यो काममा कसलाई, कहाँ, के जिम्मेवारी दिनेसम्मको योजना बनाइसकेको छु । नेपालको कुन भागको के चिज कहाँ लगेर, ल्याएर आर्थिक समृद्धि गर्ने खाका बनाएको छु । अन्य प्रदेशमा महत्वहीन भएर बसेका वस्तुलाई कहाँ, कसरी उपयोग गर्न सकिन्छ सम्मको योजना बनाएको छु ।

यो देशमा राम्रो नेतृत्व भएन र देश पछि परेको हो, अब त्यस्तो हुँदैन । हिजो कम्युनिस्टहरू विभाजित भएका कारण जनताले विकास पाएनन्, अब जनताले राम्रो विकास पाउनेछन् । २० वर्षभित्र नेपाल विश्वको समृद्ध देश बन्नेछ । यो वास्तविकता हो, हिजो राजतन्त्र जान्छ भन्दा मेरो फुपूहरू रिसाउँथे, पत्याउँदैनथे, बौलाहा भन्थे । राजतन्त्र गयो । अहिले पनि मेरो कुरा कतिलाई त्यस्तै लाग्न सक्छ । तर, त्यो पूरा हुनेछ ।
तपाईं मुख्यमन्त्री बन्ने सम्भावना कत्तिको छ ? पार्टीले तपाईंलाई समर्थन गर्ला ?
वाम गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा मेरो बाहेक कसैको दाबी छैन । एमालेले समर्थन गर्छ नै । माओवादीमा समस्या हुँदैन । प्रचण्ड मेरा मित हुन् । उनले मेरो भावना बुझिहाल्छन्, त्यसमा शंकै छैन । मेरो इसारामै मितज्यूका लागि काफी हुनेछ ।

 

प्रतिक्रिया