देश नै यतिखेर निर्वाचनमय बनेको छ । यसै सन्दर्भमा केही चर्चामा रहेका औंलामा गन्न सकिने केही स्थानहरूमध्ये काभ्रे क्षेत्र नम्बर– २ पनि हो । राजधानी काठमाडौंबाट नजिकै रहेको पर्यटकीयस्थल काभ्रे क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट लामो समय पत्रकारिता गरेका युवा गोकुल बाँस्कोटा चुनावी मैदानमा छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मधु आचार्य छन् ।
आचार्य काभ्रे कांग्रेसका सभापति पनि हुन् । कांग्रेसका केही बौद्धिक नेताहरूमध्येमा गनिने आचार्य र पछिल्लो समय काभ्रेलीहरू माझ चर्चित एमाले नेता बाँस्कोटा बीचको चुनावी टक्करले यो क्षेत्र मात्र होइन, वरपरका निर्वाचन क्षेत्र पनि प्रभावित भएका छन् । उनै आचार्य र बाँस्कोटासँग निर्वाचनका विषयमा केन्द्रित रहेर सौर्य दैनिकका संवाददाता शुकदेव थपलियाले गरेको संवाद ः
हामी काभ्रेली मनको पनि प्रतिनिधित्व गर्छाैं :बाँस्कोटा
सर्वसम्मत उम्मेदवार बन्नुको राज र संकेत के देख्नुहुन्छ ?
यो सम्पूर्ण पार्टी कार्यकर्ताहरूले माया गरेको नेतृत्वले पनि सद्भाव प्रकट गरेको, मेरा कामहरूको पनि मूल्यांकन भएको र काभ्रेली जनताको सेवा गर्नुपर्ने दिन आएको शुभसंकेतको रूपमा मैले यसलाई लिएको छु ।तपाईंं खरो नेता कि निडर नेता ? तपाईंंलाई कस्तो लाग्छ ?
म आफ्ना नीतिहरू, आफ्ना पार्टीका दृष्टिकोणहरू, जनताका विषयवस्तुहरू र मुद्दाहरू नलुकाईकन, नढाँटीकन, सिधै सबैले बुझ्नेगरी भन्दछु र हुँदै नहुने गलत, नचाहिने कुरा, अनुचित कुरालाई समय दिनुपर्छ, त्यसको निम्ति ध्यानकेन्द्रित गर्नुपर्छ भन्ने मलाई लाग्दैन।
असल, न्यायपूर्ण कुराहरूमा म सधैँ उभिन्छु । म त्यसवेला पार्टी पनि भन्दिन । तपाईंंहरूलाई म कैयौँ दृष्टान्त दिन सक्छु । म पार्टीभन्दा पनि न्याय र अन्याय हेर्छु, ठीक र बेठीक हेर्छु, सत्य र झुठ हेर्छु । यी सबैबीचको लडाइँमा म सत्यको पक्षमा, न्यायको पक्षमा उभिन्छु ।
तर, सबैलाई चित्त बुझ्दैन, किनभने हाम्रो समाजमा सबै चिजहरू छन् । यो त तीन कोटि जनता ३३ कोटि देवता भएको मुलुक हो । देवतामा त चित्त बुझ्दैन भने म त एउटा मान्छे हो नि । त्यसमाथि पनि विचार र दृष्टिकोण बोकेको पार्टीको कार्यकर्ता हो नि । त्यसैले मलाई कैयौँले मनपराउनुहुन्छ, कैयौँले मनपराउनुहुन्न । तर, म आफ्नो मुद्दामा स्पष्ट छु ।
धेरै अनुभवी हुनुहुन्छ, आफ्नो अनुभवलाई कसरी प्रयोग गर्नुहुन्छ ?
पहिले त काभ्रेली जनताले कामको अवसर दिनुप¥यो । मौका नै नपाई मैले के–के गर्छु भन्ने उचित पनि होइन । तर, जनताको बीचच उठेका मुद्दाहरूबारे सोध्न खोज्नुभएको हो भने त्यस विषयमा मसित कुनै निर्वाचन क्षेत्र २ को मात्रै कुरा छैन, समग्र काभ्रेली जनताको समग्र भेग र बस्तीको, सम्पूर्ण भाषा र समुदायको, सम्पूर्ण जाति र लिंगको र समग्रमा तिनको हितको निम्ति हामीले विषयवस्तुलाई उठाउने जमर्काे गरेका छौँ र त्यसको सम्बोधन हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ, प्रतिबद्धता छ ।
मुख्य मुद्दा के–के हुन् ?
हामीले अन्तर्राष्ट्रिय उच्च प्रकृतिका चुनावहरू पनि हेरेका छौँ । हाम्रो देशमा मुद्दाको आधारमा फैसला हुन्छ वा व्यक्तिको आधारमा फैसला हुन्छ, मुद्दा स्पष्ट छन् । वाम गठबन्धनले अगाडि सारेको केन्द्रीय चुरो कुरो के हो भने समाजवादको यात्रा, खुसीयाली र समानतासहितको लोकतन्त्र प्रयोगमा हामी जाँदै छौँ । त्यसो हो भने बाटो समृद्धिको बनाइसकेपछि समाजवादको बाटोको उद्देश्य समृद्धिको हुन्छ । समृद्धिको बाटो हो भने हाम्रो काम के हो ?
त्यसैले मैले भन्ने गरेको छु, अबको बाटो समाजवादको, अबको यात्रा समाजवादको, अबको काम निर्माणको यो दुईटा कुरा हो । त्यसभित्र हाम्रो जिल्लालाई सबैभन्दा बढी उत्पादनको जिल्ला बनाउनुपर्छ । रोजगारी सिर्जना गर्ने कुरा, प्राकृतिक स्रोत र साधनको पहिचान र तिनको यथोचित दोहन गर्ने कुरा सबै देशहरू त्यही आधारमा समृद्ध भएका छन् । रसियाको हिराखानीको कुरा गर्नुस् या तेलको कुरा गर्नुस् । अमेरिकाको सफ्टवेयर वा इनोभेसन जे कुरा गर्नुस् ।
उनीहरू आफूसँग भएको मानवीय क्षमताको उच्चतम प्रयोग र भौतिक चिजहरूको विकासका लागि प्राकृतिक स्रोतहरूको दोहनद्वारा अगाडि बढिरहेका छन् । हाम्रो जिल्लामा सुन्दर फाँटहरू छन्, सुन्दर बस्ती छन् र नदीहरू छन् । त्यसैले, यो जिल्लालाई उत्पादनको जिल्ला बनाउने हो । खास गरीकन मण्डन र पाँचखाल कृषिको एउटा उच्चस्तरको कृषि हाई भ्यालु भएका चिजहरूको उत्पादन गर्ने र बेच्नको निम्ति बाहिर जानै परेन, काठमाडौंमा नै ५÷७ वटा फाइभस्टार होटलहरू छन् ।
ती सबैका लागि महँगा चिजहरू उत्पादन गरेर यहाँको जीवन बदल्न सक्छौँ । त्यस्तै, पर्यटनभित्र जलपर्यटन पनि छ र हाम्रो उद्योगधन्दा खोल्ने ठाउँ पनि पर्याप्त छ । संसारमा यस्तो ठाउँ देखेको छैन जहाँ देशको केन्द्रीय राजधानीको ४० किलोमिटरभित्र अहिले पनि सस्ता जमिनहरू पाइन्छन् र लगानीकर्ताहरू त्यहाँ आएर लगानी गर्न सकिरहेका छैनन् । त्यसैले, लगानी आकर्षित गर्ने काम पनि गर्नुपर्छ ।
कृषिलाई उद्योगमा जोड्ने कुरा परम्परागत कृषिलाई तोड्ने औद्योगिक उत्पादनसँग जोड्ने हिसाबले हामी अगाडि बढ्नुपर्छ । त्यसबाट हामीले समृद्धि हासिल गर्ने हो । सानातिना बाटाघाटा, कुलकुलेसा यो कन्टिन्यु बन्छन् ।खानेपानी आदि समस्या बनि नै हाल्छन् । यसमा खरो वामपन्थीहरू उत्रेका छन्, अझ एमालेहरू झन् उत्रेका छन् । त्यसैले यो अवसरको खेर हाल्नुहुँदैन र हाम्रो जिल्लामा कृषि, पर्यटन र अन्य सेवाहरूमा आर्थिक समृद्धि हासिल गर्छाैं । यो हाम्रो मुख्य मुद्दा हो ।
प्रदेश नं. ३ को राजधानी काभ्रेमा ल्याउने कुरा भइरहेको छ, तपाईंंहरू भयो भने यो सम्भव छ ?
प्रादेशिक सभाको केन्द्र कहाँ बनाउने भन्ने कुराको निम्ति हामीले के सोच्नुपर्छ भने हामीले नयाँ आर्थिक केन्द्रहरू जन्माउनुपर्छ । रोजगारीको सिर्जनाको निम्ति, समृद्धिका लागि । प्रदेश बन्न यो भन्दा उपयुक्त ठाउँ नै छैन । पूर्वी जिल्लामा आउन जान पनि सजिलो, हाम्रो पूर्वाधार पनि भएको, नयाँ आर्थिक केन्द्रको रूपमा पनि विकास हुन सक्ने र काठमाडौंको चापलाई पनि यसले कम गर्न सक्ने, स्मार्टसिटिमा पनि मदत पु¥याउन सक्ने कुराहरू भएकोले सबैलाई पायक पर्छ । त्यसैले, हाम्रोमा भएको पूर्वाधारलाई चलाउनुपर्छ, नयाँ आर्थिक केन्द्र बनाउनुपर्छ । यसलाई सबैले समर्थन गर्नुप¥यो, लबिङ गर्नुप¥यो । हामीसँग भएको पूर्वाधारलाई व्यवस्थित गर्नुप¥यो ।
तपाईंंहरूले जित्नेबित्तिकै जनताले के पाउँछन् त ?
तपाईंले आफ्नो छुट्टै कल्पना गर्ने चिज घर हो । कल्पना नगरी तपाईंको घर बन्दैन । कस्तो खालको घर बनाउने भन्ने कुरा तपाईंको आर्थिक क्षमतामा भर पर्छ । तर, सपना नै नदेख्ने मानिसले भौतिक उपभोग कसरी गर्छ ? त्यसैले मान्छेले ठूला–ठूला उद्देश्य लिनुपर्छ, कल्पना गर्नुपर्छ । यो कुनै रमाइलोको निम्ति उठाएको होइन, गर्न सकिन्छ भनेर उठाएको हो । हावाबाट बिजुली निस्किन थाले कि थालेन ? साधारण कुरा, पूर्व–पश्चिमको रेलवेको प्रक्रिया सुरु भयो कि भएन ? यो महत्वकांक्षी थियो कि थिएन ?
कसै न कसैले त गर्नुप¥यो । हाम्रो राष्ट्र हामी बनाउँछौं । ५० लाख युवाहरू विदेश गएर अर्काको देश बनाउने, हाम्रो घरलाई बाँझै राख्ने, हाम्रो समाज भताभुङ्ग बनाउने यो हुन सक्दैन । त्यसैले, यो कुनै आकांक्षा होइन, उद्देश्य हो, महत्वकांक्षा होइन, दृढता हो, लक्ष्य हो । त्यसैले, हामीलाई मौका चाहियो, हामी गरेर देखाउँछौँ । जनताले वामगठबन्धनलाई मत दिनु, हामी जनतालाई समृद्धि दिन्छौँ ।
महत्वाकांक्षा देखाएर वाम गठबन्धनले जित्यो भने अधिनायकवाद लाद्न सक्छ भन्ने विपक्षीहरूले हल्ला गरिराखेको अवस्था छ, यो के हो त ?
राणा फाल्दा कांग्रेस एक्लै थियो ? पञ्चायत कांग्रेसको एक्लो बुत्तामा गएको थियो ? राजाको बिदाइ कांग्रेसको इच्छा र उद्देश्य लक्ष्य भित्रको विषय थियो ? ति सबै कुरामा वामपन्थी कहाँ थियो, कांग्रेस कहाँ थियो ? हामी सँगै थियौँ, एकसाथ यो काम ग¥यौँ । जन्मेको दिनदेखि लोकतन्त्रको वकालत गर्ने पार्टीलाई अधिनायकवाद लाग्ने ? के एमालेलाई वाम गठबन्धनलाई पोलपोट भन्ठानेको ? यो मदन भण्डारीले प्रशिक्षित गरेको, स्कुलिङबाट हुर्केको एमालेको पुस्ता हो ।
माओवादीले पनि २१औँ शताब्दीको जनवादी हो भनेर मोडिफाइ गरिसक्यो । त्यसैले यस्ता भ्रममा पर्नुहुन्न । बरु आधा रातमा बचेकुचेको लोकतन्त्र पनि दरबारमा किस्तिमा लगेर बुझाउनेहरूलाई सोध्नुपर्छ, अधिनायकवाद कसले ल्यायो ? त्यो कुरा फर्केर इतिहासमा हेर्नुपर्दैन ? माना चामल सबै सकिएपछि अर्काको कुरा गरेर स्याल हुइयाँ मच्चाएर अगाडि बढ्ने कुरा हो । यस्तो भ्रममा कोही पनि पर्दैन, नेपालका कम्युनिस्टहरूभन्दा बढी लोकतन्त्रवादी कोही पनि छैनन् ।
विधिको शासन, कानुनको शासन, संविधानको सर्वाेच्चता, मानवअधिकार, प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, समानता, सबैलाई अवसर के यो लोकतन्त्र होइन ? योभन्दा बढी लोकतन्त्र के हुन्छ ? त्यसैले जसले लोकतन्त्रका निम्ति लड्दालड्दै यहाँ आयो, त्यसलाई अलोकतान्त्रिक भन्नु कांग्रेसको चरित्र नै हो ।
०१७ सालमा दुईतिहाइको सरकार पनि टिकाउन सकेन । अवसर पाउँदा अयोग्यता प्रदर्शन गर्ने, सधैँ एउटै उद्देश्यमा घाँटी उठ्याउने कांग्रेसको तरिका त्यो हो र कथित लोकतन्त्रवादीबाट आएको यस्तो स्याल हुइयाँको पछाडि आजको २१औँ शताब्दीको चेतना र अभ्यासले त्यो भ्रमको पछाडि लाग्छ भन्ने मलाई केही पनि लाग्दैन ।
काभ्रेली मतदातालाई के भन्न चाहनुहुन्छ ?
हामीलाई सहयोग गर्नुस्, गर्दै पनि आउनुभएको छ । हामीले सकेजति काम गरेका छौँ । कछुवाको गतिमा होइन, पूरै दुर्घटना नपरीकन दौडेर देश विकासको एजेण्डामा काम गर्ने हो । अर्काको समृद्धिमा बसेर ¥याल काटेर अब नेपाली समाजलाई खुसी, समृद्धि राख्न सकिँदैन । छिमेकीको घरको राम्रो बास्ना खाएर बाँच्न सक्दैन । त्यसैले आफ्नो घरमा राम्रो बास्ना दिन सक्ने खालका फलपूmलहरू, चौरासी व्यञ्जनतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ । निर्माण गरौँ, हामीले अवसर कम पाएका छौँ । अवसर थोरै पाउँदा पनि यो देशमा निर्माणको जागरण पैदा गर्ने शक्ति, सामथ्र्य छ ।
त्यसैले निर्माणको, स्वाधीनताको, सम्पूर्ण नेपाली मतहरूको मात्र होइन, नेपाली मनहरूको प्रतिनिधि गर्ने तागत, क्षमता, हैसियत र योग्यता देखाउँदै आएका छौँ । त्यसैले हामीलाई ९÷९ महिनामा फेरिने सरकार होइन ५ वर्ष सम्म कुनै पनि मध्यरातमा उठ्ने प्रेतहरूले पनि भुत प्रेत जगाउँदा पनि नहलिने सरकार चाहियो । त्यसको लागि सार्वभौमसत्ता सम्पन्न जनताले फैसला गरिदिनुप¥यो । हामीले जनताले दिने निर्णय सहश्र स्विकार्दै आएका छौँ र अब पनि स्वीकार्ने छौँं र हामीलाई सहयोग गर्नुस् भन्ने अपिल गर्न चाहन्छु ।
जनतामाथि खेलवाड नगरौँ ः आचार्य
तपाईंंको उम्मेदवारी किन ? निर्वाचनको तयारी के–के छन् ?
नेपालको राजनीतिमा कांग्रेस सधैँ जनताको पक्षमा सघर्ष गर्दै आयो । जनतालाई अधिकारसम्पन्न बनाउने लोकतान्त्रिक आन्दोलनको अगुवा नै कांग्रेस हो । देश अशान्तिमा हिँडेको वेला शान्तिमा ल्याउनेदेखि कम्युनिस्टले बनाउन नसकेको संविधान कांग्रेसकै अगुवाइमा बन्यो ।
अब यो संविधानलाई कार्यान्वयन गर्दै मुलुकमा आर्थिक समृद्धि र सामाजिक न्याय दिनुछ । अब फेरि पनि कांग्रेसले नै यी विषयको ग्यारेन्टी गर्न सक्छ भनेर म कांग्रेसबाट उम्मेदवार बनेको हुँ । नेपालमा युरोप अमेरिकामा जस्तो चुनावी अभियान हुने हैन । हाम्रोमा आफ्नै खालका मौलिकता छन् । निश्चित समय अवधिभित्र आफ्नो पार्टीको सिद्धान्त र विचारलाई जनताका बीचमा लाने हो ।
पार्टीमा लाग्ने हामी जनताका सेवक हौँ । जनताका सुख दुःख दुवैमा साथ दिई जनताका पिरमर्का विकासका समस्याहरूलाई सम्बोधन गर्ने हाम्रो राजनीतिक संस्कार हो । विशेषगरी, अहिलेको तयारी भनेको चुनावी प्रचार–प्रसार समिति निर्माण गरी जनताको घर दैलोमा जाने कार्य भइसकेको छ ।
तपाईंंका एजेन्डा के छन् ?
जनताको आगनमा खुसीयाली ल्याउन मेरो प्रयत्न हुनेछ । सीप, कौशलको विकास गरी जनतालाई रोजगार बनाउनु, विकासका निर्माणको लहर ल्याउनु, सामाजिक न्याय र विभेदरहित समाज निर्माण गर्नु मेरो प्रथम दायित्व हो । काभ्रेको समग्र विकास, उन्नतिको लागि निरन्तर डट्छु, लाग्छु । हाम्रो आदर्श, सिद्धान्त नै जनतालाई आर्थिक रूपमा समृद्ध बनाउने हो । उत्पादन र रोजगारीमा जोड दिने हो । मौलिक साधन स्रोतको प्रयोग, उपयोग, पर्यटनको विकास, जलस्रोतको समुचित प्रयोग कृषिमा आधुनिकीकरण गर्ने जस्ता एजेण्डालाई अघि बढाएको छु ।
अर्को कुरा नेपाली कांग्रेस छलछाम गर्ने पार्टी होइन । जनताका विकासका आवश्यकता परिपूर्ति गर्ने सवालमा विपक्षी उम्मेदवारहरूलाई पनि प्रतिस्पर्धा गरौँ तर झुटो आश्वासन नबाडौँ भन्न चाहन्छु । नयाँ नेपाल निर्माण सबै राजनीतिक दलको सहकार्य र एकताबाट गर्ने हो । जनतामाथि खेलवाड गर्ने काम कसैले पनि नगरौँ । मेरो प्रस्ट कुरा छ नेपाली कांग्रेस कांग्रेसको मात्र पार्टी होइन यो देशको सबै जनताको साझा पार्टी हो ।
जनताको अधिकार स्थापित गराउने पार्टी, लोकतन्त्र ल्याउन राणासँग लडेको पार्टी, पञ्चायत र राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र नयाँ संविधान जारी गर्ने प्रमुख अभिभारा बोकी जनताको संविधान जारी गर्ने पार्टी हो । नेपाली कांग्रेसले जनताका हक अधिकार स्थापित ग¥यो ।
अब देशका सबै तह र तप्काका जनताको आर्थिक समृद्धि आवश्यक छ र जीवनपद्धतिमा सुधार हुने कार्य गर्न कांग्रेस अगाडी बढेको छ । देशका दुईतिहाइ जनता कृषि उत्पादनमा आश्रीत छन् । कृषि उपजमा वृद्धि गर्न आधुनिक कृषि प्रणाली, उद्यमशीलताको विकास गर्ने र मुलकलाई आर्थिक समृद्धिको बाटोमा लग्ने हाम्रो अभियान हो । यी कुरा नै मुख्य एजेन्डा हुन् ।
तपाईंंलाई किन मत दिने ?
काभ्रको उकालीओरालीमा ४० वर्ष गुजारेको छु । अहिलेसम्म जत्ति काम गर्न सकेँ काभ्रेली जनताको हितमा र पक्षमा गरँे । मूल्य मान्यता र निष्ठाको पक्षमा काम गर्दै आएँ । मेरो त्याग, निष्ठा र समर्पणलाई कांग्रेस मात्र होइन काभ्रेका कम्युनिष्टहरूलेसमेत मन पराउँदै आउँनुभएको छ । मुलुकमा भिजनयुक्त राजनीतिक आवश्यकता छ ।
त्याग, निष्ठा, नैतिकताको राजनीति गर्दै आएको छु । यसमा सबैलाई हिडाएर जान सक्छु भन्ने आत्मविश्वास ममा छ त्यसैले म उम्मेदवार बनेको छु । र, मलाई सबै पार्टीका मतदाताले जिताउँछन् भन्नेमा विश्वस्त छु ।
तपाईंंका जित्ने आधार के त ?
कम्युनिस्ट गठबन्धनसँग धेरै जनता असन्तुष्ट छन् । एमाले र माओवादीभित्रै पनि असन्तुष्टि छ । कांग्रेसमा जस्तै लोकतन्त्रवादी एमाले र माओवादीमा पनि छन् । पेशा, व्यवसायी पनि लोकतन्त्रप्रति आस्थावान छन् । कांग्रेससहितका लोकतान्त्रिक दलहरूको साथ त छँदै छ, अझै कम्युनिस्टमा रहेका यी सबैको साझा उम्मेदवार भएको हुनाले पनि म जित्छु ।
तसर्थ सबै दल या विचारमा रहेका साथीहरूको साथ र सहयोग रहन्छ । म लोकतन्त्रको उम्मेदवार भएको हुनाले जित्छु । मैले अहिलेसम्म गरेका काम, जनताको प्रतिक्रिया, र मेरो निष्ठा, इमान्दारीलाई उहाँहरूले मन पराएको हुनाले म पनि हार्दिन र लोकतन्त्र पनि हार्दैन भन्नेमा ढुक्क छु । यो मैले भन्नुभन्दा पनि जनतामा देखिएको भावना हो ।
तर कम्युनिस्ट गठबन्धनले नेपाली कांग्रेस अतालिएको भन्छन् नि, यसमा तपाईं के भन्नुहुन्छ ?
सामाजिक न्याय दिलाउन लागि पर्ने पार्टी, समाज बदल्न आर्थिक रूपाान्तरण गर्ने पार्टी, सबै खालका सामाजिक विभेदको अन्त्य गने पार्र्टी नेपाली कांग्रेस भएकोले सबैभन्दा वामपन्थी पार्टी नेपाली कांग्रेस हो । नेकपा एमालेले मदन भण्डारीको जनताको नौलो जनवादलाई अंगीकार गरी कम्युनिस्ट अधिनायकवादलाई अन्त्य गरी जनताको नौलो जनवाद सिर्जना गरी त्यहीअनुसार हिँडेको पार्टी आज कम्युनिस्ट एकता भन्दै हिँडेको छ । अब भन्नुप¥यो नेकपा एमालेले त्यो लाइन छोड्यौँ भनेर ।
भन्न सक्छ ? गठबन्धनको नाममा चुनावी तालमेल हुन सक्दथ्यो तर पार्टी नै एकिकरण गर्ने भन्नेर हावा फैलाई माओवादी केन्द्र र नेकपा एमालेले एक खालको कागजी बिहे गरेका छन् । त्यो कागजमा मात्र सीमित हुँदै छ । त्यो टिक्दै टिक्दैन । तल्लो तहका कार्यकर्ताबिच कुनै छलफल नगरी बहस नै नगरी गरेको सम्झौता टिक्दैन । दुवै पार्टीका आम कार्यकर्ता त्यसको विरुद्धमा छन् । लोकतन्त्रलाई धज्जी उडाउने कागजी बिहे कार्यान्वयन हुने अवस्था छैन । देशलाई नेपाली कांग्रेसले मात्र बचाउन सक्छ भन्दै फोरम लोकतान्त्रिकका विजय गच्छदार नेपाली कांग्रेसमा आइसक्नुभो ।
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न समाजवादलाई लागु गराउन र देशलाई बचाउने कार्य नेपाली कांग्रेस पार्टीले मात्र गर्न सक्छ भनेर डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावी तलमेल गर्न आइसक्नुभएको छ । त्यसैले नेपाली कांग्रेस जनताको साझा चौतारी भएकोले नेपाली कांग्रेस पार्टीले दुईतिहाइ बहुमत ल्याउँछ, र कांग्रेसको जित सुनिश्चित छ ।
अन्तमा के भन्न चाहनुहुन्छ ?
छलछाम र चटके राजनीति कोहीकसैले नगरौँ, म त्यसमा विश्वास गर्दिन । मैले विगत ४० वर्षदेखि राजनीतिमा लागि जनताको सेवा गरेको छु । मेरो कार्यशैली आचरण र व्यवहारबारे सबैले बुझ्नुभएको छ । यहाँ जस्तो व्यक्ति चुनावी मैदानमा उत्रनुभयो हामी यहाँलाई स्वागत गर्न चाहन्छौँ भनेर माओवादी केन्द्र, एमालेका मित्रहरूले भन्नुभएको छ । म काभ्रे जिल्लाका सबै जनताका साझा उम्मेदवार हुँ । मलाई विजयी गराउनुहुनेछ र मैले जनताको मतको कदर गरी जनताको आवश्यकताअनुसारको विकास गर्नेछु ।
प्रतिक्रिया