नेपालमा पछिल्लो समय महिला हिंसासम्बन्धी घटनाहरू सार्वजनिक हुने क्रम बढ्दो छ । सरकारले गत शनिबारदेखि महिला हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई विभिन्न कार्यक्रमको आयोजना गरी अभियानका रूपमा मनाउने गरिन्छ ।
तर, यसलाई प्रभावकारी रूपमा गाउँ गाउँसम्म पु¥याउन नसक्दा सरकारको लगानी बालुवामा पानी हालेजस्तै बनेको छ । यसै सन्दर्भमा नेपालमा महिला हिंसाको अवस्था के छ ? नेपाली महिलाहरूको पछिल्लो अवस्था कस्तो छ ? महिला हिंसामुक्त समाज निर्माणका लागि के गर्नुपर्ला ? यिनै विषयलाई समेटेर महिला अधिकारकर्मी तथा शक्ति समूह नेपालका कार्यक्रम संयोजक चरीमाया तामाङसँग सौर्य दैनिकका लागि मिक्साङ वाइबा तामाङले गरेको कुराकानीः
अहिले नेपाली महिलाको अवस्था कस्तो छ ?
नेपालमा महिलाहरूको अवस्था भन्नुपर्दा मध्यम नै छ, एकदमै बिजोग गए गुज्रेको पनि छैन तर जति अघि बढ्नुपर्ने हो त्यो पनि हुन सकेको छैन । यसमा महिला हिंसाको कुरा जोड्नुपर्दा हिंसाको रूप परिवर्तन भएको छ, हरेक क्षेत्रमा फरक–फरक तरिकाबाट महिला हिंसाका घटनाहरू भइरहेका छन् ।
नेपाली समाजमा महिला हिंसाका घटना बढेका हुन् ?
महिलाहरूमा हिंसा पहिले पनि हुन्थे र अहिले पनि भइरहेका छन् । फरक यत्ति मात्र हो अहिले हिंसामा परेका महिलाहरू खुलेर बाहिर आउने गरेका छन्, त्यसैले हामीलाई हिंसाका घटना बढेको हो कि भन्ने लागेको हुन सक्छ ।
विभिन्न रिपोर्टहरूलाई आधार मान्ने हो भने पनि नेपालमा पछिल्लो समय महिला हिंसाका घटनाहरू बढेका देखिन्छन् तर त्यसको मतलब पहिले पहिले हिंसाका घटना कम हुन्थे भन्ने हैन । पहिले महिलामाथि भएका हिंसा परिवार, समाजको डरले भित्र भित्रै लुकाएर राख्ने अथवा जे हुन्थ्यो परिवार र समाजभित्रै सीमित रहन्थे ।
त्यसैले घटना बाहिर आउन सक्दैन । तर, आजकल महिला दिदीबहिनीहरू पनि केही खुलेर बोल्न थाल्नुभएको छ, आफूमाथि भएका हिंसाका सम्बन्ध खुलेर कुरा गर्न सक्ने हुनुभएको छ । त्यसैले पनि अचेल महिलामाथि भएका प्रायः हिंसाका घटना बाहिर आउने गरेका छन्, त्यसो हुनुमा सञ्चार माध्यमहरूको पनि ठूलो भूमिका देखिन्छन् ।
कस्ता खालका हिंसाका घटना बढी देखिन्छन् ?
केही समयअगाडि सीमित थिए हिंसाका प्रकार । विकसित प्रविधि, बदलिदो समाज तथा परिवर्तित मानसिकताका कारण पछिल्लो महिला हिंसाका घटनाका प्रकार पनि फरक–फरक रूपमा आइरहेका छन् । कतिपय अवस्थामा महिला स्वयंलाई पनि आफू हिंसामा परेको थाह नभइरहेको हुन्छ । बढ्दो प्रविधिको प्रयोग, समाजिक सञ्जालको दुरुपयोग जस्ता कारण शिक्षित वर्गका महिलाहरू पनि अन्जानमै हिंसाका सिकार भइरहेका छन् ।
फेसबुक, स्काइप लागायतका समाजिक सञ्जालका माध्यमबाट अन्जान व्यक्तिसँग नजिकिने तथा अन्जानमै उनीहरूलाई विश्वास गर्नाले पनि कति दिदीबहिनीहरू हिंसामा फसिरहेका हुन्छन् । यसले गर्दा पनि सहर बजार तथा शिक्षित भनिएका वर्गका महिलाहरू पनि हिंसामा फसेको हामी देख्न पाउँछौँ ।
तपार्इं आफैँ पनि महिला अधिकारकर्मी हुनुहुन्छ, तपार्इंले सञ्चालन गरेको संस्था ‘शक्ति समूह’मा चाहिँ कस्ता खालका घटनाको उजुरी बढी आउँछन् ?
हाम्रो संस्थाले महिला अधिकारका क्षेत्रमा काम गरिरहेको भए पनि विशेषगरी मानव बेचबिखनका क्षेत्रमा बढी काम गर्छौँ । त्यसमा पनि चेलीबेटी बेचबिखनका घटनामा बढी फोकस गर्छौँ । त्यसैले पनि यसै क्षेत्रसँग सम्बन्धित घटनाको उजुरीहरू धेरै आउने गर्छन् । त्यसक्रममा कतिपय दिदीबहिनीहरू महिला हिंसासम्बन्धी घटना लिएर पनि आउनुहुन्छ ।
हामीले महिला सशक्तीकरणका अभियान चलाइरहँदा घर छोडेर हिँडेका तथा बेपत्ता भएका दिदीबहिनीलाई खोजी गरिदिन आग्रह गर्दै उजुरीहरू आउँछन् भने कतिपय महिला दिदीबहिनीहरू चाहिँ सम्बन्धविच्छेद गरिपाऊँ अथवा कानुनी प्रक्रियामा सहयोग गर्नुप¥यो भन्दै हामीकहाँ आउने गरेका छन् । यसका अलवा जबरजस्ती करणी, घरेलु हिंसा, महिलामाथि हुने हिंसा लगायतका थुप्रै समस्या तथा गुनासा लिएर हामीकहाँ आउने गरेका छन् ।
यी सबै खालका घटनाबारे पीडितसँग हाम्रो संस्था शक्ति समूहले मनोपरामर्श गर्ने काम गर्छ । तर, बेचबिखन बाहेकका अन्य घटनामा भने आवश्यक परामर्शपछि कानुनी प्रक्रियाका लागि हामीले अन्य सम्बन्धित संस्थालाई रेफर गर्ने गरेका छौँ ।
नेपालमा महिला बेचबिखनको पछिल्लो अवस्था कस्तो छ ?
महिला बेचबिखनको अवस्था महिला हिंसाको जस्तै हो । हिजो परिवार तथा समाजको डरले घटनाहरू लुकाएर राख्थे तर अहिले कुनै न कुनै माध्यमबाट बाहिर आएका छन् ।
अहिले कम्तीमा पनि घटना लुकाएर राख्नु हुँदैन सम्बन्धित निकायमा पु¥याउनुपर्छ र मैले न्याय पाउनुपर्छ भन्ने चेतना मानिसहरूमा विकास भएको छ, त्यस हिसाबले पहिलेको तुलनामा घटनाहरू धेरै बाहिर सार्वजनिक भइरहेका छन् ।
रिपोर्टिङ र उजुरीका आधारमा हेर्ने हो भने पहिलेभन्दा घटना बढेका छन् ।
अहिले मानव बेचबिखनको स्वरूप पनि फेरिएको हो ?
हजुर, हिजोका दिनहरूमा दलालहरू गाउँ पसेर गाउँका सोझसाझी किशोरी युवती ललाइफकाइ गरेर विदेशमा लगेर बेचिन्थे । उनीहरूमा चेतनाको कमी हुन्थ्यो, पढेलेखेका हुँदैनथे र आफू बेचिएको कुरा बेचिसकेपछि मात्र थाह हुन्थ्यो तर अहिले अवस्था त्यस्तो छैन ।
बेचबिखनको स्वरूप फेरिएको छ । अहिले जो कोही व्यक्तिहरू अवसरको खोजीमा छन् । सर्टिफिकेट हातमा लिएर काम नपाएर भौतारिनुपर्ने अवस्था छ, लगानी गर्नका लागि पैसा हुँदैन ।
यस्तो अवस्थामा अवसरको खोजीमा रहेका पंक्तिलाई लक्षित गरी मानव तस्कर गर्ने एजेन्ट दलालहरू सक्रिय छन् र जान अन्जानमा पढेलेखेका शिक्षित वर्गका दिदीबहिनीहरू पनि यिनीहरूको चंगुलमा फसिरहेका हुन्छन् । बेचबिखनको गन्तव्य पनि फराकिलो भएको छ ।
पहिले पहिले नेपाली दिदीबहिनीहरू धेरैजसो छिमेकी मुलुक भारतमा बेचिन्थे भने अहिले स्वदेश, विदेश, छिमेकी राष्ट्र, खाडी मुलुकहरूका साथै युरोप अमेरिकी मुलुकहरूमा पुगेका छन् । र बेचिएका दिदी बहिनीहरूको काम पनि फेरिएको छ । पहिले पहिले बेचबिखन भन्नेबित्तिकै एउटा कोठीमा लगेर यौन शोषण गर्ने गर्थे ।
तर, आजभोलि बेचिएका दिदी बहिनीहरूलाई त्यस क्षेत्रमा मात्रै सीमित नगरी श्रम शोषण मानसिक यातना दिने लगायतका घटना बाहिरिएका छन् ।
शिक्षित महिलाहरू पनि बेचबिखनमा पर्नुको कारण के होला ?
अहिलेको यो आधुनिक जमानामा प्रविधिको विकाससँगै मोबाइल फोन, कम्प्युटरका साथै समाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग पनि बढ्दै गएका छन् । प्रविधिको प्रयोगले मानिसलाई केही सहज बनाएको छ तर धेरै हदसम्म हिंसाका घटना बढेका छन् । यसको केही फाइदा छन् भने केही बेफाइदा पनि छन् । फेसबुकबाट चिनेकै भरमा मानिसहरूलाई विश्वास गर्ने, दलालको चंगुलमा फस्ने तथा विभिन्न प्रलोभनमा परेर पनि सहर बजारका शिक्षित वर्गका महिलाहरू पनि बेचबिखनमा परिरहेका हुन्छन् ।
यसतर्फ सचेत हुन जरुरी छ । आधुनिकतासँगै प्रविधि भित्रिनुपर्छ, भित्रिनु स्वाभाविक पनि हो तर यसलाई कसरी सदुपयोग गर्ने भन्नेतर्फ महिला दिदीबहिनीहरू आफैँ सचेत हुनुपर्छ । प्रविधिलाई कसरी सदुपयोग गर्ने ? सावधानी कसरी अपनाउने भन्ने सम्बन्धमा यहाँका समाज र विशेषगरी महिला दिदीबहिनीहरू अलि पछाडि नै छन् । जसले गर्दा जान अन्जानमा उनीहरू समस्यामा फसिरहेका हुन्छन् । भूकम्पपछि मात्रै पनि बेचबिखनका घटना बढेका छन् ।
संकटकालीन अवस्था घरपरिवार गुमाएका दिदीबहिनीहरूलाई ललाइफकाइ खाँडी तथा तेस्रो मुलुकमा लगेर बेच्ने दलालहरू सक्रिया भएको देखिन्छ ।
कतिपय महिलाहरू आफू हिंसामा परेको थाह भएर पनि खुलेर बाहिर आउन चाहिरहेका हुँदैनन्, त्यस्ता महिलालाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त हाम्रो नेपाली समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोण फरक छ, त्यसलाई परिवर्तन गर्न जरुरी छ । नेपाली समाजमा महिलालाई सहनशिलताको प्रतिमूर्तिका रूपमा चित्रित गरिएको छ । हामीलाई बच्चादेखि नै नारी भएपछि सहनुपर्छ, अरूको अगाडि बोल्नु हुँदैन, प्रतिकार गर्नु हुँदैन भनेर सिकाउँछन् जसले गर्दा चाहेर पनि महिलाहरूले आफूलाई भइरहेका पीडाबारे खुलेर भन्न सकिरहेका हुँदैनन् ।
परिवार र समाजको डरले आफूमाथि भइरहेका हिंसा सहेर बस्ने गरेको पाइएको छ । सर्वप्रथम त दिदी बहिनीहरू स्वयं खुलेर बाहिर आउन जरुरी छ । आफूमाथि हिंसा हुँदै छ भने के कारणले हिंसा हुँदै छ भन्ने विषयको पहिचान गरी त्यसबाट बाहिर आउन स्वयं दिदी बहिनीहरूले पहल गर्न जरुरी छ । फेरि हिंसामा प¥यो भनेर उजागर गर्न खोज्दा थप हिंसामा परेको घटना पनि थुप्रै छन् ।
त्यस्तो अवस्थामा सहयोगी संस्थाहरूसँग सम्पर्कमा आउन सक्नुहुनेछ । सकेसम्म हिंसा मबाट नहोस् र अरूको हिंसामा पनि नपरून् भन्नेतर्फ सबैले सोच्न जरुरी छ । साथै केही गरी हिंसामा परिहालेँ भने सहयोग लिनुपर्छ म चुप लागेर बस्नु हुँदैन भन्ने सोचाइ दिदी बहिनीहरूमा विकास हुनु आवश्यक छ ।
सरकारले हरेक वर्ष महिला हिंसाविरुद्ध १६ दिनसम्म अभियान सञ्चालन गर्ने गरेको छ, यसपालि पनि भइरहेको छ, यसको सार्थकता कत्तिको देख्नुभएको छ ?
हुँदै नहुनुभन्दा केही प्रक्रिया अघि बढाएको छ, त्यसलाई हामीले स्वागत गर्नुपर्छ । सरकारले हरेक वर्ष सञ्चालन गर्ने गरेको महिला हिंसाविरुद्ध १६ दिने अभियानले मानिसको सोचमा केही परिवर्तन ल्याएको छ तर जति मात्रामा हुनुपर्ने हो त्यो हुन सकेको भने पाइँदैन । यसको कारण अभियान सहरकेन्द्रित भएर पनि होला ।
अभियानलाई भाषण, ¥याली र गोष्ठीमा मात्रै सीमित नगरी समय सापेक्ष रूपमा कार्यक्रम सञ्चालन गरी त्यसलाई गाउँ–गाउँसम्म पु¥याउनुपर्छ । साँच्चिकै हिंसामा परेका महिलालाई त्यहाँबाट मुक्त बनाउनका लागि अभियानमार्फत कार्यक्रम गर्न आवश्यक देखिन्छ ।
महिला हिंसारहित समाज निर्माणका लागि सरकारबाट थप के पहल गर्न जरुरी छ ?
सरकारीस्तरबाट महिला हिंसा अन्त्यका लागि जे जस्तो पहल भइरहेको छ त्यो सराहनीय छ । तर, यत्तिले मात्र पुगेको छैन्। अझै पनि दुर्गम क्षेत्रका महिला दिदीबहिनीहरू हिंसामा छन् र उनीहरू बाहिर खुलेर आउन सकेका छैनन् । उनीहरूलाई लक्ष्य गरी कार्यक्रम ल्याउनुपर्छ ।
सामाजिक संस्कार संस्कृतिका कारण उनीहरू हिंसालाई सहेर बस्न बाध्य छन्, चाहेर पनि बाहिर आउन सकिरहेका छैनन् । तिनीहरूलाई खुलेर बाहिर आउन सक्ने वातावरण निर्माण गर्न आवश्यक छ । अर्को, मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय सरकारबाट पनि महिला हिंसाका क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम तथा योजना निर्माण गर्न जोड दिन आवश्यक छ ।
प्रतिक्रिया