‘खानपान र व्यायाममा ध्यान दिए मधुमेहबाट वच्न सकिन्छ‘

प्रियदर्शनी योञ्जन, मधुमेह रोग विशेषज्ञ, अल्का अस्पताल

हिजोआज ‘मधुमेह’ सामान्यजस्तै बनेको छ । यो रोग एकपटक लागेपछि निर्मूल नहुने भएकाले सामान्य भन्न भने सकिँदैन । तर, हिजोआज यो रोगबाट पीडित हुनेको संख्या बढ्दै गएकाले सामान्यजस्तै बनेको हो । संसारमै मधुमेहले विकराल रूप लिँदै गएपछि विश्व स्वास्थ्य संगठनले १३ नोभेम्बरलाई मधुमेह रोगविरुद्धको दिवसको रूपमा मनाउँदै आएको छ ।

आज सन् २०१७ को १३ नोभेम्बर अर्थात् मधुमेह रोगविरुद्धको दिवस भएकाले यसबारे चर्चा गर्नु सान्दर्भिक हुन्छ । यसै सन्दर्भमा सौर्य दैनिकका लागि मिक्साङ वाइबा तामाङले अल्का अस्पतालकी मधुमेह रोग विशेषज्ञ प्रियदर्शनी योञ्जनसँग गरेको संवाद ः

मधुमेह भनेको के हो ?
रगतमा चिनीको मात्र बढी हुने अवस्थालाई मधुमेह भनिन्छ । साधारण बोलीचालीको भाषामा यसलाई चिनी रोग पनि भन्ने गरिन्छ । यो एउटा दीर्घ रोग हो, लामो समयसम्म उपचार गरेन भने यसले स्वास्थ्यमा जटिलता ल्याउन सक्छ ।

यो रोग एकपटक लागिसकेपछि पूर्ण रूपले निको पार्न सकिँदैन तर उपचार गरेमा आउन सक्ने जटिलताबाट बचाउँदै समान्य जीवन जीउन भने सकिन्छ । र, यो जसलाई वा जुनसुकै उमेर समूहलाई पनि हुन सक्ने रोग हो ।

यो रोग पाको उमेर भएका तथा मोटोपन भएकालाई मात्र लाग्छ भन्ने धारणा पनि छ नि, हैन ?
हजुर पहिलापहिला त हो तर अहिले त्यो अवस्था छैन । यो रोग बच्चादेखि बुढाबुढीसम्मका सबै उमेर समूहका व्यक्तिमा देखिने गरेको छ । मानिसहरूको जीवनयापनमा आएको परिवर्तन तथा खानपिनका कारणले गर्दा मधुमेह रोगका बिरामीहरू सबै उमेर समूहका छन् । त्यसकारण यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्न सक्छ ।

मधुमेह कति प्रकारका हुन्छन् ?
यो मुख्यतया चार प्रकारका हुन्छन् । यसलाई प्रकार १, प्रकार २, गर्भवती अवस्थामा देखिने मधुमेह र अन्य गरी चार प्रकारमा विभाजन गरिएको छ । यीमध्ये धेरैजसो मानिसमा देखिने भनेको प्रकार २ मधुमेह हो । मधुमेह रोग लागेका मध्ये ९० प्रतिशतभन्दा बढी व्यक्तिमा यही २ प्रकारको मधुमेह लागेको हुन्छ । प्रकार १ सानो बच्चाहरूमा देखिने मधुमेह हो ।

पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या प्रकार १ मधुमेह हो । यसलाई ‘इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस’ वा ‘अपरिपक्व मधुमेह’ भनेर पनि चिनिन्छ ।

प्रकार २ मधुमेह केलाई भनिन्छ ? यसलाई किन ‘कमन डाइबटिज’ भनिन्छ ?
इन्सुलिनको प्रतिरोधका कारण लाग्ने मधुमेहलाई प्रकार २ मधुमेह भनिन्छ । यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन् । रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन थाल्छ ।

धेरैजसो मानिसलाई यही प्रकारको मधुमेह लाग्ने भएकाले यसलाई ‘कमन डाइबिटिज’ पनि भनिने गरेको छ । टाइप वानभन्दा यो मधुमेह सहजै मानिसमा लाग्न सक्छ । सुरुमा प्यान्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गरे पनि पछि सोही मात्रामा इन्सुलिनको उत्पादन हुन सक्दैन ।

जसका कारण रगतमा चिनीको मात्रा सामान्य अवस्थामा भन्दा बढी हुन जान्छ र यो रोग लाग्ने गर्दछ । अरू प्रकारको मधुमेह भनेको कुनै पनि औषधिको ‘साइड इफेक्ट’ वा अन्य कारणले हुने मधुमेह हो ।

‘स्टेरोइड’ नामको औषधि औषधिका कारणले तथा प्याङक्रियाज ग्रन्थी सुनिएर ‘प्याङक्रियाटाइटिस’ हुँदा हुने मधुमेह र अन्य हर्मोनल गडबढीका कारण हुने मधुमेहलाई अन्यमा राखिएको छ ।

गर्भावस्थामा हुनसक्ने मधुमेह भनेको के हो ? यो पछिसम्म रहन्छ या रहँदैन ?
यसलाई जेसटेसनल डाइबिटिज पनि भनिन्छ । यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखा पर्ने गर्दछ । बच्चा पाइसकेपछि भने रगतमा चिनीको मात्रा सामन्य अवस्थामा आउने हुँदा डेलिभरीपछि हटेर जान्छ ।

तर, गर्भवती अवस्थामा एकपटक मधुमेह देखिसकेको माहिलामा भविष्यमा पनि यो रोग लाग्ने सम्भावना प्रवल हुनेगर्छ । गर्भावस्थामा मधुमेह देखिनु असामान्य अवस्था हो । गर्भवती महिलालाई मधुमेह हुँदा गर्भमा रहेको बच्चालाई पछि गएर मधुमेह हुने सम्भावना दुई गुणा बढी रहन्छ ।

विशेषगरी गर्भवती अवस्थाको २४ देखि २८ हप्ताको बीचमा रगतमा चिनीको मात्रा जाँच गर्न लगाउने गछौँ । यो समयमा गर्भवती महिलाहरूमा रगतमा चिनीलाई सन्तुलन राख्ने इन्सुलिन हर्मोन घट्ने हुँदा मधुमेह रोग लाग्ने सम्भावना बढी रहन्छ ।

यसका लक्षणहरू कस्ता–कस्ता देखिन्छन् ?
यसका लक्षणहरू भन्नुपर्दा– थकाइ लाग्ने, तिर्खा बढी लाग्ने, तौल घट्ने, धेरैपटक पिसाब लाग्ने, धेरै भोक लाग्ने, हातखुट्टा पोल्ने, रिँगटा लाग्ने, अनावश्यक रूपमा पसिना आउनेलगायत लक्षणहरू बिरामीमा देखा पर्ने गर्दछ ।

प्रकार १ मधुमेहमा लक्षणहरू छिट्टै देखा पर्छन् भने प्रकार दुई मधुमेहका लक्षणहरू बिस्तारै अथवा थोरै मात्रमा देखिने वा देखिँदै नदेखिन पनि सक्छन् । यस्तै, आँखा धमिलो देख्ने, टाउको दुख्ने, काटेका घाउहरू चाँडो निको नहुने तथा छाला चिलाउने लगायतका लक्षणहरू पनि देखिन सक्छन् ।

मधुमेह रोग लागिसकेपछि शरीरका अन्य अंगहरूमा देखिन सक्ने असरहरू के–के छन् ?
मैले अघि नै भनिसकेँ, मधुमेह उपचार गरेर निको पार्न नसकिने रोग हो । मधुमेह रोग लागिसकेपछि हामीले निको पार्नका लागि नभई यसबाट आउन सक्ने अन्य जटिलता हटाउनका लागि चहिँ उपचार गर्ने हो ।

मधुमेह लागेका बिरामीहरूमा विशेषगरी मुटु, आँखा, मिर्गौला, हातखुट्टा लगायतका अंगहरूमा असर देखिन सक्छन् ।

यो रोग लागेका बिरामीहरूमा हृदयघात, मिर्गौलामा असर, पिसाबथैलीमा असर, प्यारालाइसिस, आँखाको पर्दालाई असर गरी अन्धोपन गराउने लगायतका जटिलताहरू आउन सक्छन् ।

मधुमेहलाई सामन्य अवस्थामा राख्नका लागि के गर्न सकिन्छ ?
यसका लागि सर्वप्रथम त औषधिलाई नियमित प्रयोग गर्नुपर्छ । यो रोगको उपचार सम्भव छैन, तर रोगीको आयु बढाउने अथवा रोगको व्यवस्थापन भने गर्न सकिन्छ । शरीरमा चिनीको मात्रालाई सन्तुलनमा राख्नका लागि व्यायाम तथा खानपानमा विशेष ध्यान दिन जरुरी छ ।

शरीरमा इन्सुलिनको मात्रा बढाउनका लागि व्यायम र खानपानले पनि विशेष भूमिका खेल्ने गर्दछ । यस्तै, समयसमयमा सुगर टेस्ट गरिराख्नु आवश्यक छ । शरीरमा इन्सुलिनको मात्रा यथावत् राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न नियमित औषधि सेवन गर्नुपर्छ ।

मोटोपन र उच्च रक्तचापका बिरामीहरूमा किन मधुमेह रोग लाग्ने सम्भावना बढी हुन्छ ?
हजुर, पक्कै पनि मोटोपन र उच्च रक्तचाप, यी दुवै समस्या पनि इन्सुलिन हर्मोनकै कारण हुने गर्दछ । त्यसकारणले पनि यस्ता समस्या भएका व्यक्तिहरूमा मधुमेह रोग लाग्ने सम्भावना बढी हुने गर्दछ । यी सबै समस्यामा इन्सुलिन हर्मोनको कमी मुख्य कारकका रूपमा रहने गर्दछन् ।

यो रोग लागेका बिरामीले भात खान हुँदैन भनिन्छ नि ?
पहिलेपहिले मधुमेह रोगको उपचार सजिलो थिएन, त्यसकारण पनि यो खानुहुन्छ, यो खानुहुँदैन भनेर स्ट्रिक्ली फलो गर्नुपथ्र्यो । त्यसो हुँदा भात खान नहुने अथवा प्रोटिन भएका तथा ग्लुकोजको मात्रा भएका खानेकुरा खान नहुने भन्ने थियो । तर, अहिले त्यस्तो अवस्था छैन । भात भनेको कर्बोहाइड्रेडयुक्त पदार्थ हो, जसले शरीरलाई ऊर्जा दिने गर्दछ ।

त्यसकारण यो खानै नहुने भन्नेचहिँ हैन, तर मात्रा मिलाएर खान जरुरी छ । मधुमेह रोग लागेका बिरामीले पोषणविज्ञहरूको सल्लाह तथा उनीहरूले नै बनाइदिएको चार्टबमोजिम नै खानेकुरा खानुपर्छ ।

नेपालमा मधुमेह रोगको अवस्था कस्तो छ ?
पछिल्लो समय मधुमेह विश्वभर नै बढ्दो क्रममा छ । मधुमेहसम्बन्धी संस्था इन्टरनेसनल डाइबिटिज फेडेरेसन आइडिएफका अनुसार नेपालमा पनि मधुमेह रोगीको संख्या बढ्दो छ । हाल नेपालमा ५ लाख २६ हजार मानिसहरू मधुमेहका रोगी रहेको आइडिएफले जनाएको छ ।  हाम्रै अल्का अस्पतालद्वारा सञ्चालिन काठमाडौँ डाइबिटिज सेन्टरले पनि नेपालका विभिन्न जिल्लामा गएर मधुमेह रोगबारे अध्ययन गरेका थियौँ ।

अध्ययानमा सामेल कुल व्यक्तिको ७ दशमलव ३६ प्रतिशतमा मधुमेह रोग देखिएको थियो । त्यो हामीले मधुमेह पुष्टि नभइसकेका व्यक्तिहरूमा गरेको रिसर्च थियो । प्री–डाइबिटिज ८ दशमलव ६३ प्रतिशतमा पाइएको छ । प्री–डाइबिटिज भन्नाले मधुमेह हुनुभन्दा अघिल्लो अवस्थालाई बुझिन्छ ।

यसरी दिनदिनै मधुमेह रोगीहरू बढ्नुको कारण के होलाजस्तो लाग्छ ?
अव्यवस्थित जीवनशैली, तनाव, असन्तुलित खानपान लगायतका कारणले गर्दा मधुमेहका बिरामीहरू बढ्न थालेका छन् । व्यस्त जीवनशैलीसँगै व्यायममा कमी, बाहिरको खानेकुरा धेरै खाने तथा कम शारीरिक परिश्रमजस्ता कारणले मधुमेहका बिरामीहरू बढ्दै गएको छ ।

पहिलेपहिले हामी घण्टौँ हिँडेरै यात्रा गथ्र्यौँ तर आजभोलि अलिकति १५–२० मिनेटको बाटोमा पनि गाडी चढ्छौँ, बाहिर बनाएको खानेकुरा धेरै मन पराउने, प्रविधिले गर्दा शरीरिक परिश्रम पनि कम भयो, जसले गर्दा मोटोपनको समस्या आउनुका साथै मधुमेह रोगको जोखिम बढ्ने गरेको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मधुमेह रोगका बिरामी अहिले नेपालमा मात्रै नभएर विश्वभर नै बढ्दोक्रममा छन् । तर, यो ‘प्रिभेन्टएबल’ रोग हो । यो रोगबाट बच्नका लागि सकेसम्म दिनको कम्तीमा एक घण्टा व्यायाम गर्नूस्, दिमागलाई स्वस्थ र तनावमुक्त बनाउनूस्, खानपिनमा ध्यान दिनूस्, शारीरिक रूपमा फुर्तिलो रहने कोसिस् गर्नुहोस् र समयसमयमा रगतमा चिनीको मात्रा परीक्षण गर्नुहोला । ३० वर्षको उमेर पुग्नेबित्तिकै कम्तीमा वर्षको एकचोटी सुगर चेक गर्न आवश्यक छ ।

र, मधुमेह रोग लागिसकेकाहरूलाई पनि के भन्न चहान्छु भने, हरेस नखानुहोस् । तपाईँको स्वास्थ्य तपाईँकै हातमा छ । यदि तपाईँ समयमै उपचार तथा चिकित्सकको सल्लाहअनुसार खानपिनमा ध्यान दिनुहुन्छ र चिकित्सकको सल्लाहअनुसार औषधि नछुटाई खानुहुन्छ तथा चिकित्सकको निर्देशनलाई राम्रोसँग फलो गर्नुहुन्छ भने तपाईँ सामन्य जीवन जिउन सक्नुहुनेछ ।

प्रतिक्रिया