नेपाली उत्पादनप्रति गर्व गरौँ – धर्मराज शाक्य

नेपाल हस्तकला महासंघको आयोजना र नेपाल सरकार वाणिज्य मन्त्रालय व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा प्रत्येक वर्ष महासंघले व्यापार मेला आयोजना गर्दै आएको छ ।

यस वर्ष पनि नेपाल हस्तकला महासंघको आयोजनामा हस्तकला उद्यमीहरूबाट उत्पादित सामाग्रीहरूको बजार विकास तथा निर्यात प्रवद्र्धनमा समेत सहयोग पु¥याउने उद्देश्यले १ देखि ५ मंसिरसम्म प्रर्दशनीहल भृकुटीमण्डपमा १५औँ हस्तकला व्यापार मेला तथा १३औँ हस्तकला प्रतियोगिता कार्यक्रम हुँदै छ ।

यसै हस्तकला प्रवद्र्धन मेलामा अहं भूमिका निर्वाह गर्दै आएका व्यक्ति हुन् धर्मराज शाक्य । उनी करिब ३० वर्षदेखि मूर्तिकला व्यवसायमा आबद्ध छन् । चित्रकलामा एमए गरेका शाक्य आफ्नो पुख्र्यौली पेसा चित्रकलामै क्रियाशील छन् ।

शाक्यले पाटन औद्योगिक क्षेत्रभित्र रहेको अरनिको स्टोन कार्विङ नामक उद्योगमार्फत १५ जनालाई प्रत्यक्ष र ५० देखि ६० जनालाई अप्रत्यक्ष रूपमा रोजगारी दिइरहेका छन् ।

हस्तकलाको क्षेत्रमा दर्जनौँ पुरस्कार तथा अर्वाड प्राप्त गर्न सफल शाक्यसँग मेला तथा समग्र हस्तकला क्षेत्र तथा १५औँ हस्तकला व्यापार मेलासँग सम्बन्धित रही सौर्यकर्मी केशव भट्टले गरेको संवादः

धर्मराज शाक्य, नेपाल हस्तकला महासंघ

 

१५औँ हस्तकला व्यापार मेला आयोजना गर्नुका उद्देश्य के–के हुन् ?

यो व्यापार मेला हामीले ०४८ देखि सुरु गरेका हौँ । बीचमा केही समय गर्न सकिएन तर पछिल्लो ८ वर्षदेखि नियमित रूपमा वर्षको एकचोटी हामीले आयोजना गर्ने गरेका छौँ । १ देखि ५ मंसिरसम्म भृकुटीमण्डपमा सञ्चालन हुन लागेको यो १५औँ मेला हो । नेपाली व्यावसायी तथा अन्य कसैलाई पनि विदेशमा हुने मेलामा जाँदा आउनेजाने तथा अन्य खर्च धेरै महँगो हुने तर औसतमा उपलब्धि भने कम हुन्छ ।

त्यसकारण नेपालमै मेला आयोजना गरेर नेपाली हस्तकला उद्यमीहरूबाट उत्पादित सामाग्रीहरूको बजार विकास तथा निर्यात प्रवद्र्धनमा समेत सहयोग पु¥याउनु यस मेलाको प्रमुख उद्देश्य हो । नेपाली हस्तकलाका सामानहरूको अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसारका साथै नेपाली उद्यमी व्यवसायी निर्यातकर्ता र विदेशी आयातकर्ताका बीचमा व्यावसायिक सम्बन्ध विकास गराउन मेला आयोजना गरिएको हो ।

व्यापार मेला÷प्रदर्शनीको माध्यमबाट नेपाली कला तथा संस्कृतिको प्रचारप्रसारमा सघाउ पु¥याउन सहयोग गर्नु मेलाको उद्देश्य हो । त्यस्तै नयाँनयाँ वस्तु उत्पादन तथा डिजाइन र विकास गर्न प्रोत्साहित गरी नयाँ व्यवसायीहरूलाई बजार पहुँचको अवसर प्रदान गराउनु यस मेलाको उद्देश्य हो । सरकारले हस्तकलाको विकास तथा बजारका लागि काम गर्न सकिरहेको छैन । यस परिस्थितिमा हस्तकलाको व्यापार वृद्धि गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।

अर्को कुरा यी हस्तकलाका सामानहरू विदेशीले मात्र किन्नुपर्छ भन्ने जनमानसमा जुन छाप परेको छ, त्यो छाप मेटाउन नेपालमा उत्पादित सामग्री नेपालीले पनि प्रयोग गर्नुपर्छ, नेपालीले प्रयोग गर्न मिल्ने सामग्री पनि उत्पादन हुन्छन् भन्ने देखाउन यो हस्तकला व्यापार मेला आयोजना गरेका हौँ ।

नेपालभरि रहेका विभिन्न जातजाति, समुदायका आ–आफ्नै मौलिकतामा आधारित हस्तकला उत्पादन हुन्छन् । तिनीहरूको प्रचारप्रसार हुन सकिरहेको छैन । तिनको प्रचारप्रसार गरी सांस्कृतिक मात्र नभई व्यावसायिक बनाउन प्रोत्साहित गर्नुलगायत मेलाका थुप्रै उद्देश्य छन् ।

मेलाको तयारी कस्तो छ ?
मेलालाई सफलतापूर्वक सम्पन्न गर्न मेला संयोजक तथा प्रतियोगिता संयोजक तोकेका छौँ । मेलामा ९ वटा प्याभिलियनसहित दुई सय ओटा स्टल रहनेछन् । सम्पूर्ण स्टलहरू बिक्री भइसकेका छन् ।

यो १५औँ हस्तकला व्यापार मेलाको अवसरमा १३औँ हस्तकला प्रतियोगिता पनि हुने भएकाले यस वर्ष परम्परागत विधातर्फ ‘लोक चित्रकला’ र आधुनिक विधातर्फ नेपालको निर्यात व्यापारमा योगदान पु¥याउँदै आएको कलात्मक डिजाइनका ‘पोतेजन्य वस्तु’ मा प्रतियोगिता सञ्चालन गर्नेछौँ, जसका लगि सहभागी हुने प्रतिस्पर्धीहरूलाई अभिमुखीकरण तालिम दिने काम भइरहेको छ ।

साथै, विटुवी बैठकका लागि पनि तयारी भइरहेको छ । हामीले केही समयअघि गरिबी निवारण कोषसँग मिलेर विभिन्न सात जिल्लामा हस्तकलासम्बन्धी तालिम चलाएका थियौँ । ती सबै सहभागीहरूलाई एकै ठाँउमा राखेर अन्तरक्रिया गराउने गरी तयारी भइरहेको छ ।

साथै, प्रतियोगितामा उत्कृष्ट घोषित प्रतिविधा तीन जना कलाकारलाई नगद पुरस्कार तथा प्रमाणपत्रबाट पुरष्कृत गरिनेछ । प्रतिविधा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार नगद पुरस्कारको व्यवस्था गरेका छौँ ।

मेलामा रहने प्याभिलियनहरूमध्येबाट उत्कृष्ट हुने एक प्याभिलियन र एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

मेलामा कस्ता–कस्ता सामाग्रीको प्रदर्शनी रहन्छ ?
मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरूका साथै जडिवुटी, अर्थोडक्स चिया आदि प्रर्दशनी तथा बिक्रीका लागि राखिनेछन् । मेलामा नेपालभरबाट महासंघका जिल्ला संघ, वस्तुगत संघ तथा करिब २५ वटा जिल्लाका उद्यमी व्यवसायीहरूको सहभागिता रहनेछ ।

जिल्ला संघहरूलाई निःशुल्क स्टल उपलब्ध गराउँदै छौँ ।  व्यापारमेलाको दौरानमा हस्तकलाका विभिन्न वस्तुहरूको आगामी वर्ष २०१८÷१९ को डिजाइन प्रक्षेपण गरी मेलामा प्रदर्शनी गर्नेछौँ । उक्त डिजाइन प्रक्षेपणमा कपडाका समान, सेरामिक, पस्मिना तथा उनीजन्य वस्तुका साथै गरगहना तथा छालाजन्य सामाग्री र हस्तकलाभित्र पर्ने जुत्ता चप्पलहरू हुन्छन् ।

कला तथा शील्प परिषद् र ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा महासंघद्वारा प्रदर्शनीस्थलमा कलाकारहरूको सम्मानका लागि वरिष्ठ कलाकारहरूको समेत सहभागितामा कला प्रर्दशनी हुनेछ । यस प्रर्दशनीमा १० जना सिद्धहस्त र वरिष्ठ जेष्ठ कलाकारहरूलाई सम्मान गर्ने पनि कार्यक्रम छ ।

व्यवसायी तथा उत्पादकलाई मेलाबाट के फाइदा हुन्छ ?
निर्यातकर्ता, आन्तरिक उपभोक्ता, थोक तथा खुद्रा विक्रेता र अन्तर्राष्ट्रिय क्षेत्रका उद्यमी, व्यवसायी आयातकर्ता आदिलाई लक्षित गरी आयोजना गरिएको यो मेला एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ भने १० करोडभन्दा बढीको कारोवार हुने अपेक्षा राखिएको छ ।

चीन, जापान, जर्मन, पाकिस्तान, भुटान, श्रीलंकालगायत देशहरूबाट ३५ भन्दा बढी विदेशी आयातकर्ता आउने अपेक्षा राखिएको यस मेलबाट हस्तकला उद्यमी व्यवसायीहरूले देशभित्रका अन्य उद्यमी तथा विदेशी आयातकर्तासँग व्यवसायिक सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त गर्न सक्नेछन् । साथै, हस्तकलाको क्षेत्रमा रहेको एक अर्को देशको सीप, कला र प्रविधिबारे जानकारी आदानप्रदान हुनेछ ।

नेपाली हस्तकलाको अवस्था कस्तो छ ?
नेपालको निर्यात व्यापारका साथै आन्तरिक बजारमा पनि हस्तकलाको अवस्था अत्यन्तै राम्रो छ । अहिलेको अवस्थामा अरू वस्तुको निर्यात घट्दै छ, भने हस्तकलाको निर्यात बढिरहेको छ । गत आर्थिक वर्षमा हस्तकलाको निर्यात १७ प्रतिशतले बढेको थियो ।

हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरू जर्मनी, फ्रान्स, बेलायत, नेदरल्यान्डका साथै एसियाली मुलुकहरू जापान, चीन, भारतलगायत झन्डै ८० मुलुकहरूमा ५० भन्दा बढी विभिन्न थरीका हस्तकलाका वस्तुको निर्यात भइरहेका छन् । यसका अतिरिक्त आन्तरिक उपभोग पनि करिब १० अर्ब बराबरको रहेको हाम्रो अनुमान छ । यस क्षेत्रमा झन्डै ११ लाखभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न छन् ।

नेपालमा हस्तकलाको भविष्य तथा सम्भावना कस्तो देख्नुहुन्छ ?
नेपालमा हस्तकलाको भविष्य निकै रम्रो छ, किनकि हरेक जिल्लामा रहेका कच्चा पदार्थ कुहिएर, खिइएर खेर गइरहेका छन् । यस अवस्थामा हस्तकलाका विभिन्न समानहरू बनाएर विदेश तथा आन्तरिक बजारमा पठाउन सके आर्थिक हिसाबले देशको हैसियत माथि उठाउन सकिन्छ भने नेपाली राष्ट्रिय पहिचानलाई समेत विश्वमा चिनाउन सकिने राम्रो सम्भावना छ ।

हस्तकलाबाट बेरोजगारी कम गरी गरिबी घटाउन सकिन्छ । हस्तकला उद्योग व्यवसायबाट नेपाली युवापिँढीलाई स्वरोजगार हुने प्रशस्त अवसर सिर्जना गर्न सकिन्छ । देशभित्र रोजगारीको प्रचुरता बढाई ऊर्जाशील युवा विदेशी भूमिमा गएर श्रम र पसिना बगाउनुपर्ने अवस्थालाई निरुत्साहित गर्न सक्ने उद्योग क्षेत्रको रूपमा हस्तकला उद्योग व्यवसायलाई विकास गर्न सकिने ठूलो सम्भावना पनि छ ।

हस्तकलाको विकास तथा उत्थानका लागि महासंघ के गरिरहेको छ ?
नेपाल हस्तकला महासंघ हस्तकला क्षेत्रको एक मात्र अग्रणी संस्था हो । विभिन्न जिल्लामा जिल्ला संघ पनि खोलिसकेका छौँ । वस्तुगतमा पनि हाम्रा धेरै सदस्य छन् । यी सबै संघसंस्थामार्फत हमीले हस्तकलाको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न तालिम, गोष्ठी तथा अभिमुखीकरण कार्यक्रमहरू गरिरहेका छौँ, जुन कुराहरू सरकारले गर्न सकिरहेको छैन । र, त्यस्तै हस्तकलाकै विकासका लागि भनेर वार्षिक रूपमा हस्तकला व्यापार मेलाको आयोजना गर्दै आएका छौँ ।

समयसमयमा विटुवी बैठकहरू र अन्तर्राष्ट्रियस्तरमा एकल कला प्रदर्शनीसमेत गरिरहेका छौँ । त्यसैगर, ०७२ को महाभूकम्पले ध्वस्त भएका सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणमा परम्परागत कलाको प्रयोगका लागि सरकारसँगको सहकार्यमा विभिन्न चरणमा काष्ठकला र वास्तुकलासम्बन्धी तालिमसमेत सञ्चालन गरेका थियौँ । यस्ता तालिम अझ बढाउँदै लाने प्रयासमा पनि छौँ ।

तपाई अध्यक्ष भएपछि के के गर्नु भयो ?
म अध्यक्षमा निर्वाचित भइसकेपछि हाम्रो नयाँ कार्यसमितिले विगतका कामलाई निरन्तरता दिनुका साथैै महाभूकम्पका कारण रोकिएको हस्तकला व्यापार मेला सम्पन्न गरेका थियौँ । उद्योग मन्त्रालयमार्फत नेपाल सरकारका लागि हेन्डिक्राफ्ट डेभलप्मेन्ट ड्राफ्ट गरेका थियौँ, जुन अब केही परिमार्जन भएर हस्तकला नीतिको रूपमा आउँदै छ ।

त्यसैगरी, नेपाल सरकारसँग मिलेर सार्क ह्याडिग्राफ डिजाइन एन्ड डेभलपमेन्ट सेन्टरको भवन बनाउने काम गर्दै छौँ । यो निर्माण भइसकेपछि हस्तकलासम्बन्धी तालिमहरू सञ्चालन गर्नेछौँ । हस्तकलाको गुणस्तर मापनका लागि टेस्टिङ ल्याब पनि सञ्चालन गर्ने तयारीमा छौँ । साही भवनमा बिक्रीकक्ष पनि राखिनेछन् ।

सरकारले हस्तकलाको क्षेत्रमा कत्तिको सहयोग गरेको छ ?
प्रमुख कुरो यही छ, नेपाल सरकारले चाहेर पनि हामीलाई सहयोग गर्न सकिरहेको छैन । यसको कारण अस्थिर सरकार हो । मन्त्री र सचिवहरू फेरिइरहेकाले काम बन्न सकेको छैन, तर पनि मेलाका लागि तथा अन्य ठाउँमा सरकारी निकायको थोरैथोरै सहयोग त आइरहेकै छ ।

हस्तकला महासंघको अवस्था कस्तो छ ?
यो देशभरिकै हस्तकला व्यवसायीहरूको छाता संगठन हो । यसमा प्रत्यक्ष रूपमा १५ सयभन्दा बढी व्यवसायीहरू र अप्रत्यक्ष रूपमा लगभग ६ हजार व्यवसायीहरू, विभिन्न वस्तुगत संघहरू, एसोसिएटहरू, १८ ओटा जिल्ला संघहरू आबद्ध छन् । केन्द्रमा हाम्रो २५ जनाको कार्यसमिति छ ।

हस्तकला महासंघका भावी योजना के छन् ?
यस पेसामा लागेका व्यवसायीहरूलाई सरकारले उचित मूल्यांकन गर्न सकिरहेको छैन । यसका लागि हामी लबिङ गरिरहेका छौँ । हामीले नीति बनाएका छौँ । यसको कार्यान्वयनका लागि सरकारसँग लबिङ गरिरहेका छौँ ।

सार्क ह्याडिग्राफ डिजाइन एन्ड डेभलपमेन्ट सेन्टरको स्थापना गर्दै छौँ । त्यसैगरी, हस्तकलाग्रामको स्थापनाका लागि उद्योग मन्त्रालयसँग लबिङ गरिरहेका छौँ । हस्तकला संघ सम्बन्धी थुप्रै काम गर्न महासंघ कटिबद्ध भएर लागिरहेको छ ।

हस्तकलाग्राम भनेको के हो ?
हस्तकलाग्राम भनेको हस्तकलाका मात्रै सामान उत्पादन गर्न छुट्टै औद्योगिक क्षेत्र हो । नेपालमा त्यस्तो हस्तकलाग्राम छैन । त्यसैले, नेपालमा हस्तकलाग्रामको पनि माग गरेका हौँ । यो हाम्रो विगत ३० वर्षदेखिको माग हो ।

अन्त्यमा
१ देखि ५ मंसिरसम्म चल्ने हस्तकला मेला हेरेर तथा हस्तकलाका सामानहरू प्रयोग गरेर नेपाली उत्पादनप्रति माया गरौँ, नेपालीले पनि किन्न सक्ने सामग्री हामीसँग छन् । हस्तकला व्यवसायीलाई हौसला बढाउने काम गरिदिनुस् भन्न चाहन्छु ।

 

प्रतिक्रिया