कांग्रेस भ्रष्टाचारीहरूको जालोमा झेलिएको छः भट्टराई

नेपाली कांग्रेसमा बिपी कोइरालानिकट रहेर लामो समय राजनीति गरेका हरिबोल भट्टराई यतिबेला कांग्रेसमा छैनन् । नेपाली कांग्रेसले बिपीको आदर्श र सिद्धान्त बिर्सिएको भन्दै त्यही विचारलाई स्थापित गराउन उनले नेपाली कांग्रेस बिपी नामक पार्टी स्थापना गरेका छन् । मुलुककै पुरानो पार्टी कांग्रेसमा सैद्धान्तिक विचलन आएको उनको ठम्याइ छ । कांग्रेस भष्टाचरको जालोमा जेलिएको ठान्ने भट्टराई आफ्नै सहकर्मी गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहसँग काठमाडौं १ मा प्रतिनिधिसभा निर्वाचन लडदै छन् । यही सेरोफेरोमा सौर्य दैनिकका लागि उनै भट्टराईसँग चमिना भट्टराईले गरेको संवादः

त्यति ठूलो पुरानो पार्टी नेपाली कांग्रेस छोडेर किन नयाँ पार्टी खोल्नुभयो ?
–नेपाली कांग्रेस पार्टीले कांग्रेसको सिद्धान्त, चरित्र आदर्श र गरिमामय इतिहास छोडेका कारण नयाँ पार्टी खोल्नु परेको हो । सिद्धान्त नभएको पार्टी पार्टी रहँदैन र बस्न सकिएन ।

तपाईँ बिपी कोइरालासँगै राजनीति गरेको मान्छे पनि हो । यतिवेला नेपाली कांग्रेसभित्र कस्तो खालको राजनीतिक प्रवृत्ति हाबी भएको देख्नुहुन्छ ?
–नेपाली कांग्रेसमा अहिले अत्यन्तै निकृष्ट प्रकारका राष्ट्रविरोधी प्रजातन्त्रविरोधी प्रवृत्ति हाबी भएको छ । नेपाली कांग्रेसको इतिहासलाई तहसनहस पारेर निजी स्वार्थीहरूको बोलवाला चल्ने पवृत्ति कांग्रेसभित्र बढेको छ । कांग्रेस बिपीले बनाएको जस्तो रहेन । त्यहाँ राजनीतिक विचार सिद्धान्त केही छैन । निजी स्वार्थ पूरा गर्ने थलो बनेको छ ।

नेपाली कांग्रेस मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीमा यस्तो विचलन आउनुको कारण के होला ?
–नेपाली कांग्रेस हिजो बिपीको विचारले चलेको थियो । त्यो विचार आज पनि उत्तिकै सान्दर्भिक छ । उहाँले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको परिकल्पना गर्नुभएको थियो । त्यसमा राष्ट्रको धर्म संस्कृतिलगायत राष्ट्रलाई हित गर्ने सबल पक्ष थिए । सामाजिक सद्भाव फैलाउने उहाँको विचार थियो त्यो आज छैन ।

राष्ट्रियता, देश भक्तिको भावना, सामाजिक न्याय सहितको स्वाधीन नेपाल निर्माणका लागि काम गर्ने र त्यस्तो निर्णय लिन सक्ने र स्वाधीन अर्थतन्त्र बनाउनुपर्नेमा सबै कुरामा नेपाली कांग्रेस विचलित भयो । प्रजातन्त्रलाई संस्थागत गर्दै लैजानुपर्ने कांग्रेसको नेतृत्व चुक्यो । हिजो राणाहरूको हुकुमी शासन हटाएर प्रजातन्त्र ल्याएको कांग्रेस आज त्यस्तो रहेन । ०१७ सालमा बिपीले धेरै गर्न खोज्नुभएको थियो पञ्चायतका कारण सक्नुभएन ।

तर, ०४६ को परिवर्तनपछि कांग्रेसमा बिपी थिएनन् र जो थिए उनीहरूले बिपीको आदर्श र सिद्धान्तलाई पछ्याउन सकेनन् ।  पार्टीमा सैद्धान्तिक रूपमा विचलित भयो । इमानदार नेता पाखा लाग्दै जाने स्वार्थ र आडम्बरी भ्रष्टहरू आएर सुशासनको सट्टा कांग्रेसमा कुशासन भित्र्याउने काम गरे । बिपीको प्रजातन्त्रिक समाजवादलाई विदेशीको इसारामा बिर्सने काम भयो ।

तपार्इँहरू जस्तो इतिहास बोकेको मान्छेले कांग्रेसलाई सुधार्नुपर्नेमा आफैँ छोडेर हिँडेपछि पार्टी कसरी राम्रो हुन्छ त ?
–हामीले त्यतिवेला कांग्रेसभित्रै बसेर संघर्ष गर्ने धेरै प्रयास गरेका हौँ । पटकपटक प्रयास ग¥यौँ । पार्टीको नवौँ महाधिवेशनका वेला मैले धेरै प्रयास गरेर नेतृत्वलाई आफ्नो सुझाव लेखेर नै दिएको हुँ । पार्टी सञ्चालन गर्ने पद्धति र सिद्धान्तमा सुधार गरेर विचारमा अडानका साथ चल्न भनेको हुँ । पार्टीमा मूल्यांकन गर्ने र न्याय दिने परिपाटी बसाल्न भनेको थिएँ । तर, त्यो कुरा हुन सकेन ।

पार्टी चलाउन विचार, सिद्धान्त, संस्कार चाहिन्छ । महात्मा गान्धीले भनेका थिए, ‘नैतिकता विनाको राजनीति पापाचार हो ।’ प्रजातन्त्रमा नैतिकता भएन भने त्योभन्दा घातक केही हुँदैन । त्यो कुरा अहिलेको नेतृत्वले बिर्सेको छ । कृष्णप्रसाद भट्टराई पार्टीमा कमजोर बनेर अरूले नेतृत्व लिएपछि पार्टीमा भ्रष्टाचार बढेको हो । त्यसपछि पार्टी स्वार्थीहरूको गुटमा फस्यो ।

त्यसको सूत्रपात कहिलेदेखि भएको हो ?
–बहुदलीय व्यवस्थाको स्थापना भएको तीन÷चार वर्षपछि कांग्रेस विकृतिको चरम उत्कर्षमा पुगेको हो । पार्टीमा विचलन बढेर सम्पत्ति र सत्ताको मात्र पछि लाग्यो । अझै पनि सुधार गरिएन भने पार्टी पनि सकिन्छ देश पनि बर्बाद हुन्छ । नेतृत्वमा बस्नेले सोचे हुन्छ पार्टी नै रहेन भने सधै बिपीको नाम भँजाएर हुँदैन ।

तपाईँसँग नेपाली कांग्रेसका कति जति पुराना नेता कार्यकर्ता छन् ?
–म एक्लै विद्रोह गरेर हिँडेको हुँ । पछि विचार सिद्धान्त मिल्ने र बिपीको आदर्शलाई बचाइराख्नुपर्छ भन्ने साथीहरू मसँग आउनु भएको छ । म हिँड्दा सिंगो पार्टी भ्रष्टाचारको जालोमा जेलिएर नेता आफैँ खरिद बिक्री हुने अवस्थामा पुगेका थिए । त्यो अवस्थामा म त्यहाँबाट निस्केको हुँ । अब विस्तारै इमानदार साथीहरू मसँग आउनुहुन्छ ।

कानुनले भष्ट्रचारी ठहर गरेका मान्छेलाई पनि निर्वाचनमा भाग लिन दिनुपर्छ भनेर नेपाली कांग्रेसले भन्यो तपाईंले अघि भनेअनुसार कांग्रेस भष्ट्राचारको जालोबाट निस्कन नसकेकै हो त ?
–त्यही हो, कांग्रेस भष्ट्राचराको जालोबाट निस्कने अवस्थामा छैन । त्यसकारण असल र निष्ठावान् मान्छेले बाहिर कसेर संगठित नभइकन सम्भव छैन भनेर नेपाली कांग्रेस बिपी बनाएका हौँ । हिजो बिपीले बनाएको जस्तै विचार भएको सिद्धान्त भएका मान्छेलाई एक ढिक्का बनाउने प्रयासमा छु । बिपीको सिद्धान्त बुझेका निस्वार्थीहरूलाई एक ठाउँमा राख्ने अभियानमा छौँ ।

बिपी चिन्तन प्रतिष्ठानका तर्फबाट यस विषयमा धेरै छलफल भएको छ । यसमा कस्ता मोडलका कार्यक्रम गर्ने भन्नेबारे कुरा भएका छन् यी सबै कुरा पूरा गर्न हामीसँग वैचारिक सम्पत्ति छन् । बिपीले भनेजस्तै ‘ठूलो होइन असल बन’ असल बन्ने प्रयासमा छौँ र न्यायपूर्ण संगठन निर्माण गरी निरन्तर जनताका बीचमा गएर काम गरेर राष्ट्रलाई सही दिशा दिनसक्ने पार्टी बनाउने सोचमा छौँ ।

तपार्इँले कांग्रेस बिपी बनाउनुभएको छ तर, तिनै बिपीका सन्तति तपार्इंसँग छैनन् किन ?
–कांग्रेसमा भएका कैयौँ साथीहरू त्यहीँभित्र प्रताडित भएर बस्नुभएको छ । कति निष्क्रिय भएर बस्नुभएको छ र हाम्रो अभियानसँग आशावादी हुनुुहन्छ । कांग्रेसभित्र रहेका देशभक्त साथीहरू फेरि पनि हामीसँग जोडिन आउनुहुन्छ भन्नेमा हामी आशावादी छौँ । अहिले निर्वाचनमार्फत पनि आफ्नो सन्देश दिने प्रयासमा छौँ ।

वंशका छोराछोरीले अंश खाने हुन् बाबु आमाको अंशका लागि कानुनतः उनीहरूको अधिकार हुन्छ । विचार बोक्न रगतको नाता चाहिँदैन आफैँले जन्माउनपर्छ भन्ने हुँदैन विचारलाई आत्मसात गर्नुपर्छ । आज बिपीका विचार बोक्ने नै उनका सच्चा सन्तति हुन् ।

तपाईँ काठमाडौंमा नेपाली कांग्रेका बलिया उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, तपार्इँको चुनावी एजेन्डा के हो ?
–मेरो चुनावी एजेन्डा राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र सुशासन हो । यसका साथै सनातन धर्म संस्कृतिको विरोधमा नेपालका नेता भनाउँदाहरूलाई डलरमा प्रभाव पार्ने काम भएको छ । त्यसको विरोधमा हामी लाग्नेछौँ । धर्मनिरपेक्षता बनाएको छ त्यो ठीक होइन । म हिन्दू राष्ट्रको पक्षमा छु । जहाँसम्म तपाईँले काठमाडौं १ मा निर्वाचन लड्दै गरेका कांग्रेस नेता प्रकाशमानलाई बलियो भन्न खोज्नुभएको हो भने त्यो गलत हो ।

उनलाई चुनौती दिने उपयुक्त नेता नभएका कारण उनले यस क्षेत्रमा राज गरेका हुन् । प्रकाशमानमा विचार, दृष्टिकोण, राजनीतिक संस्कार, चरित्र केही छैन । प्रकाशमान पैसा र शक्तिप्रति निर्लज्ज ढंगले लाग्ने व्यक्ति हुन् भन्ने सबैले बुझेका छन् ।आफ्नै संगठनभित्र कार्यकर्तालाई न्याय दिन नसक्ने र भेदभावपूर्ण व्यवहार गर्छन् उनी ।

उनले १० वर्षमा काठमाडौं १ का जनतालाई के दिए ? यहाँको विकास निर्माणमा के गरे ? जनताले उनको आश्वासन धेरै सुने अब उनको खोक्रो कुरा जनताले सुन्नेवाला छैनन् । उनलाई जनताले पत्याउँदैनन् । एक्लै नांगो नाच नाचेर सधैँ जनताले पत्याउँदैनन् । म उनको विकल्पको रूपमा आएका हुँ ।

जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
–जित्ने अकांक्षाका साथ निर्वाचनमा निर्वाचनमा होमिएको हुँ । जीवनमा सधैँभरि विचार र निष्ठाको राजनीति गरेँ फेरि पनि मेरो सिद्धान्त त्यही हो । मलाई विश्वास छ मेरो विचार स्थापित हुनेछ म जनताको बिचमा आफ्ना बिचार लानेछु । जनता विवेकशील छन् उनीहरूले सही गलत छुट्टयाउछन् भन्नेमा म पूर्ण विश्वस्त छु । काठमाडौं १ मा कांग्रेस नै चाहिन्छ । यहाँको विकास र कांग्रेसका विचार स्थापित गर्न मेरो विकल्प छैन ।

प्रतिक्रिया