कार्यकर्ता मर्न तयार नभएको भए प्रचण्ड यहाँ पुग्ने थिएनन् : शर्मा

हिमाल शर्मा, नेता माओवादी केन्द्र
माओवादीले राज्यसत्ता परिवर्तनको लागि १२ वर्षे युद्ध ग¥यो । युद्धको चपेटामा धेरैले परिवार, आफन्त, सम्पत्ति, व्यक्ति जीवनका महत्वपूर्ण अवसर गुमाए । त्यही युद्धलाई प्रयोग गरेर भौतिक रूपमा सम्पन्न हुनेहरू पनि धेरै छन् । तर, परिवर्तनको सुनौलो सपना देखेर सरकारी सेनाको ब्यारेकमा २७ महिना अज्ञातरूपमा  बिताएका हिमाल शर्माले सोचेको जस्तो न उनको पार्टी रह्यो न उनले युद्धबाट निजी स्वार्थको लागि केही लिए । मुक्तिलाई केन्द्रमा राखेर भैरवदल गणमा आफ्नै दिसापिसाबले ढाडिएको गुन्द्री चपाएर भोक मार्दा र छेवैको साथीको मृत्यु भएर कुहिएकोसम्म देख्न नपाएका उनलाई पार्टीमा कुनै दिन ल्यारकेल लामा जस्ताले अवसर पाउलान भन्ने कहिल्यै सोचेका थिएनन् । वर्तमान राजनीतिक अवस्थाका बारेमा उनीसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादः

पछिल्लो समय पार्टीहरूमा बढेको राजनीति विकृतिले जनतामा अक्रोश बढेको छ तपाईं के ठान्नुहुन्छ ?
पार्टीभित्र सिद्धान्त, पद्धति, विचार र नियमलाई दह्रोसँग आत्मसाथ गर्न छाडेर आफ्ना बारेमा सोच्न थालिएको अवस्थामा स्वभाविक रूपमा आक्रोश उत्पन्न हुन्छ ।

मुलुकलाई नेतृत्व गर्ने पार्टीले दुनियाँलाई कानुनी शासन दिन सकेन भने जनता निराश हुन्छन् । अहिले ठूला पार्टीहरूकै कारण पनि जनतामा आक्रोश बढेको हो त्यो स्वभाविक हो ।

पार्टीहरूभित्र राजनीतिक संस्कार गलत रूपमा अगाडि बढेको देखिँदै छ किन होला ?
पछिल्लो राजनीतिक संस्कार गलत ढंगले अगाडि बढदै छ । विचार, सिद्धान्त र आदर्शमा पार्टी चल्न छाड्यो । नेतृत्वमा बस्नेहरूमा सामन्तवादी सोचको हावी हुँदै गएको छ । सामाजिक, राजनीतिक परिवर्तनभन्दा लाभ र अवसरमा नेतृत्वको ध्यान जान थालेपछि अहिले विकृति देखिँदै छ ।

जुन परिवर्तनका लागि भनेर हामीले त्याग ग¥यौँ नेतृत्व त्यो ढंगले अगाडि बढेन । कम्युनिस्ट पार्टीभित्र पुँजीवादी संस्कृति बाँकी नै रहेछ भन्ने देखिँदै छ । त्यसैको परिणाम हो यो ।

राजनीति अमर्यादित दिशामा जाँदै छ कम्युनिस्ट पार्टी पनि आर्थिक र निजी लाभहानिमा केन्द्रित भएको ठान्नु हुन्न ?
हिजोको कठिन संघर्षको मोडबाट हामीले आफ्नो योग्यता, क्षमता, इमानदारी, कुर्बानी, त्याग, बलिदानीजस्ता कुरा पूरा गरेर यहाँसम्म आएका हौँ । आन्दोलनका लागि त्याग्ने वा परीक्षण गर्ने कुनै कुरा बाँकी छैन । सबै चरण पार गरेर यहाँसम्म आएको हो । तर, यहाँसम्म आइपुग्दा र नेतृत्वको कार्यशैली हेर्दा हामीले सोचेको जस्तो पार्टी पनि रहेन नेतृत्व पनि रहेन । त्रुटी कहीँ न कहीँ छ ।

मुलुक निर्वाचनको मुखमा छ हिमाल शर्माले टिकट नपाउनका कारण के हो ? तपाईंभन्दा कमजोरले पनि पाएका छन् ?
यसमा मेरो व्यक्तिगत कुरा गर्ने हो भने, मलाई सुरुदेखि नै पार्टी, पार्टीका माथिल्लो तहका नेताले निर्वाचनका लागि तयार हुुनूस् तपाईं जत्तिको मान्छेलाई टिकट दिनुपर्छ, संसद्मा पठाउनुपर्छ भन्नुभयो ।

तलका पार्टी कमिटीले पनि तपाईंजस्तो मान्छे चाहिन्छ भनेर उत्साह देखाउनुभयो । स्थानीय कमिटीले उत्साहका साथ सिफारिस गरेको थियो । तर, पनि म जत्तिको व्यक्तिले अन्तिम समयमा आएर टिकट पाइनँ ।

कारण के हुन सक्छ ?
योसँग पैसा छ कि छैन ? हिमालले निर्वाचनमा पैसा खर्च गरेर लड्न सक्दैन । अर्को कुरा पैसा आफ्नो लागि मात्र होइन नेताको लागि पनि खर्च गरी दिनुपर्ने भएकोले नेताहरू हच्किएको हुनसक्छ । नेतालाई लाग्यो होला हिमालले मेरो निर्वाचन सामग्री छापिदेला कि नदेला ?

निर्वाचन खर्च देला कि नदेला भन्ने लागेको हुन सक्छ । म जस्तालाई आफ्नै चुनाव खर्च जुटाउन धौधौ पर्नेले अरूको व्यवस्था गर्ने सम्भव नै थिएन ।  उहाँहरूलाई लाग्यो जसले सबै कुरा पूरा गर्न सक्छ उही आउँछ चुनाव लड्छ । यही संस्कारले काम गरेको हो ।

अर्को कुरा म नेताको आफन्त वा नजिकको मान्छे पनि होइन । अहिलेको राजनीति कार्यकर्ता, मतदाता वा जनताले मनपराएर नहुने भयो । यो विकृति पूर्ण संस्कृति कम्युनिस्ट पार्टीभित्र विकास भएको छ । अन्य पार्टीमा त पहिला पनि छँदै थियो कम्युनिस्ट पार्टीमा पनि आयो र यो विकास हुँदै गएको छ ।

अरू के कारण हुन सक्छ तपाईं र तपाईंका पुस्ताका पाउनुपर्ने कैयौंले टिकट नपाउनुमा ?
म नेताको चाकडी र दलाली गर्दिनँ । आफूले गर्नुपर्ने काम र जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्छु । तल मेरो वेश राम्रो छ । मेरो लोकप्रियता देखेर ईष्र्या गर्ने नेताहरू मेरामाथि छन् । केही बीचका नेताहरूमा पनि मेरो भूमिकाले त्रसित छन् र उनीहरू चाकडी चाहन्छन् हिमाल शर्मा त्यो काम गर्दैन । मैले यी सबै खालका पात्रहरूको चाकडी नगरेको कारण मेरो टिकट खुस्केको हो । यो सबै विकृतिपूर्ण राजनीतिको उपज हो ।

यो खालको विकृति कहिलेसम्म रहला ?
यसका लागि मुलुकको शासकीय स्वरूप बदल्नु पर्छ । संसदीय प्रणालीले यस्तो विकृति जन्माएको हो । हाम्रा नेताहरूमा पार्टीको पोलिटब्युरो सदस्य स्थायी समिति सदस्य वा पार्टी नेता हुनुभन्दा सरकारको राज्यमन्त्री वा सरकारका अन्य निकाय रोज्ने प्रवृति बढेको छ । संसदीय निकायमा गए के के न हुन्छ भन्ने संस्कार बढ्दै छ । नेताहरूले बुझ्नुपर्छ मल्टीपार्टी सिस्टममा पार्टी बलियो भएन भने राज्य सत्ता चल्दैन ।

संसदीय व्यवस्थामा भएको विकृतिको चरण रूपमा छौँ हामी । पार्टीको नेता भएर संसद्लाई निर्देशन दिनुपर्नेमा नेताहरू त्यसो गरिरहेका छैनन् । उल्टै आफूभन्दा सानाको निर्देशनमा चल्ने गरी संसदीय निकाय खोज्दैछन् । यो परम्परा रहँदासम्म यस्ता विकृति रहिरहन्छ ।

यसलाई कुन कुराले प्रभाव पारेको हो ?
यो सबै संसदीय परिपाटीको प्रभाव हो । सोच्ने र बुझ्ने कुरामा पनि भर पर्छ नेताहरू आफैँ पनि विश्वस्त छैनन् । भोलि के हुन्छ हुन्छ आएको सुविधा आजै लिनुपर्छ भन्नेमा पुगेको देखिन्छ । भविष्यप्रति नेतृत्वमा विश्वास देखिँदैन । हिजो तालमेल नभएर एक्लै चुनाव लड्नुपर्छ सिट फालाफाल थियो । तै लड् तै लड् भन्थेँ । गठबन्धन भएपछि उनीहरूमा लोभ लाग्यो अब त जितिहालिन्छ किन छाड्ने ? भनेर नेताहरू अघि सरे ।

तपाईंले भनेजस्तै संस्कार र संस्कृतिमा परिवर्तन हुने सम्भावना देख्नुभएको छ ?
म भैरवनाथ दल गणमा २७ महिना बेपत्ता हुँदा २३ दिनसम्म खान नपाएर सँगै आडमा बसेका २ जना साथीको मृत्यु भएछ । हामीले ‘मुसो मरेछ गन्हायो भन्यौँ ।’ आँखामा पट्टी बाँधेको कारण बाहिर के भएको छ थाहा हुँदैन थियो । परिवर्तनका लागि लाग्दा खाना नपाएका कारण साथीहरूको मृत्यु भएको थियो । हामीले आपैmँले ओच्छाएको गुन्द्री दिसापिसाबले ढाढिएको थियो गुन्द्रीसमेत च्यातेर खाएर बाँचेको मान्छे हुँ ।

म निर्वाचनमा टिकट दिएन भनेर विचलित छैन । टिकट पाउँला सांसद, मन्त्री हुँला या आफ्ना लागि केही गरौँला भनेर त्यो कष्ठपूर्ण राजनीति गरेको थिइनँ । हामीले गरेको संघर्षकै कारण मुलुकमा गणतन्त्र आएको छ । जनताले अधिकार पाएका छन् । परिवर्तनका लागि कोही न कोही मर्न तयार नभएको भए नलडेको भए यो परिवर्तन हुँदैन थियो । माओवादी कार्यकर्ता लड्न र मर्न तयार नभएको भए प्रचण्ड यहाँसम्म आइपुग्ने थिएनन् । आज ठूलो ठाउँमा कुन जगबाट पुगेको हो स्मरण गर्नुपर्छ ।

माओवादीमा ल्यारक्याल लामाहरूले टिकट पाउने हिमाल शर्माजस्ता परिवर्तनका लागि लडेकाले नपाउने कहिलेसम्म ? यस्ता व्यक्तिहरूबाट तपाईंले भनेजस्तो शासकीय स्वरूप परिवर्तन होला ?
हो तिनै लामाहरूले २÷४ जना नेताको खर्चपर्चको जिम्मा लिएर अवसर लिनेहरूको कारण केही समस्या छन् । हामी लामाले जस्तो नेताहरूको आवश्यकता पूरा गर्न सक्दैनौँ । यो राजनीति विकृतिको परिस्थिति (क्लाइमेक्स) हो । यस्तो ट्रेनलाई हामीले चकनाचुर पार्नुपर्छ । त्यसका लागि कोही न कोही तयार हुनुपर्छ । यी सबै खालका विकृति अन्त्य गरेर नयाँ सोच चिन्तनका साथ अघि बढ्नुपर्छ । त्यो दिन आउँछ भन्नेमा म विश्वस्त छु । सधैँ ल्यारकेल लामाहरूको लगानी वा दानले पार्टी चल्नेवाला छैन ।

वाम गठबन्धन पार्टी एकतासम्म पुग्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ?
निर्वाचनका मुखमा हुने हरेक गठबन्धन पार्टीहरूले निर्वाचन जित्नका लागि गरिएको हुन्छ । तपाईंले भनेजस्तो यो गठबन्धन पनि निर्वाचन जित्नका लागि हो भन्नेहरू छन् । तर, मेरो बुझाइ के हो भने यो गठबन्धन हचुवाको भरमा कमजोर धरातलमा कुनै नेताको लहडमा भएको छैन । एउटा मिसनका साथ भएको हो । वाम गठबन्धन निर्वाचनका लागि होइन राजानीतिक परिवर्तनका लागि आवश्यक हो । मुलुकको कमजोर राष्ट्रिय अखण्डताले पनि पार्टीहरूलाई एक ठाउँमा उभ्याएको हो । अर्को कुरा ‘न्यूनतम चुनावी तालमेल अधिकतम पार्टी एकता हो ।’

यसको मिसन भनेको समाजवादी क्रान्ति सफल गर्नुसम्म छ । आउने १० वर्षमा समाजवादी क्रान्ति सफल पार्न र मुलुकको आर्थिक समृद्धि गरी कार्यकारी राष्ट्रपति बनाउनु, स्थिर सरकार बनाएर राष्ट्रियता बलियो बनाउन र भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यका साथ गठबन्धन भएको हो । तर, निर्वाचनपछि ती सबै उद्देश्य पूरा गर्न नेतृत्व आउँछ कि आउँदैन ? नेताहरूले तय गरेको मिसन पूरा होला त भन्ने कुरामा भने शंका छ ।

तपाईंले भनेजस्तो चाकडी र लगानीमा टिकट पाएर जित्नेले परिवर्तनको मिसन पूरा गर्छ ?
यही प्रवृति हावी भयो भने सम्भव छैन । नेतृत्वले बुझ्नुपर्छ उद्देश्य राम्रो लिने पवित्र लिने अनि परिवर्तन चाहने जुझारु कार्यकर्ता बाहिर राखेर ती उद्देश्य पूरा हुँदैन । चाकडी गरेर पद पाएका वा शक्तिमा गएकाहरू सिद्धान्तमा चल्लान भन्न सकिँदैन । उनीहरूलाई पद र अवसरबाहेक अन्य कुराको मतलव नै हुँदैन । यो कुरा नेतृत्वमा बस्नेले बुझ्नुपर्छ । समयमा नै यस बारेमा नेतृत्वले बुझ्न सकेनन् भने फेरि समस्या नहोला भन्न सकिँदैन ।

वाम गठबन्धनका दुवै दलका नेता इमानदारलाई भन्दा चाकडी र पैसा भएकालाई स्थान दिने सानो प्रभावमा पर्ने देखियो । यी नेतृत्वबाट परिवर्तन हुन्छ ?
मान्छे जुन प्रवृतिबाट आएको हुन्छ उसको मानसिकता पनि त्यही हुन्छ । यति हुँदाहुँदै पनि हाम्रो अभिभारा जुन मिसनका साथ गठबन्धन भएको छ त्यो पूरा गर्नु हो । आपूmभित्रका असन्तुष्टिलाई थाती राखेर वाम गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसुर राख्नु हुँदैन । आपसमा भएका कमजोरीलाई अन्त्य गर्दै गठबन्धनलाई विजयी बनाउन जुनसुकै मूल्य चुकाउन तयार हुनुपर्छ ।

म आफू व्यक्तिगत रूपमा त्यो पूरा गर्न तयार छु । हामी सबै तयार हुनपर्छ नपाएको दिन बितिसक्यो अब जिताउने दिन हाम्रो अगाडि छ । नेताहरूलाई सचेत बनाउने र ठीक ढंगले चल्न लगाउने पछि हो । म वाम गठबन्धन र तालमेलप्रति उत्साही छु । यो गठबन्धनले शासकीय स्वरूप बदल्छ भन्ने कुरामा ढुक्क छु । यसले राजनीतिमा दिशा निर्देश गर्छ भन्ने कुरामा पूर्ण विस्वस्त छु ।

टिकट नपाएको तथा गलत मान्छेलाई टिकट दिएको कारण, एमाले र माओवादीबीच हिजो भएको कटुताका कारण तपाईंले भनेजस्तो तल सजिलै तिक्तता मेटिने अवस्था देख्नुहुन्छ ?
तपाईंले भनेजस्तो समस्या दुवै पार्टीमा छ । तर, हामीजस्ता युवाहरूले ती सबै कुरालाई सकारात्मक रूपमा लैजानुपर्छ । दुवै पक्षका कार्यकर्तालाई सम्झाउनुपर्छ । वाम गठबन्धन मुलुकको आवश्यकता हो । कसैको स्वार्थका लागि होइन भन्ने कुरा तलसम्म लैजानुपर्छ । विगतमा भएका कमजोरीलाई बिर्सेर हामीले देखेको सुन्दर सपना र उज्याला पक्ष हेर्नुपर्छ । हामी बीचमा अफ्ट्यारो छ ।

असन्तुष्टिलाई सन्तुष्टिमा बदल्दै अघि बढनुपर्छ । हामी स्थानीय असन्तुष्टि मेटाउने, वाम गठबन्धनको उम्मेदवारलाई जिताउने र संसदीय फाँटमा हुने गरेका सबै प्रकारका विकृति अन्त्य गर्ने दिशामा लाग्दै अँध्यारो पाटो देख्नेलाई उज्यालोतिर लानेछौँ । शंका आशंका सबै समाप्त पार्दै बलियो जगमा उभिएको राजनीतिक गठबन्धनलाई मिसन पूरा गर्ने दिशामा लैजानेछौँ ।

ल्यारकल लामा प्रबृद्धि अन्त्य भएर हिमाल शर्मा, लेखनाथ न्यौपाने, ठाकुर गैरे जस्ताको भावना समेटेर अघि बढने दिन आउला ?
पार्टीभित्र लडेर विधिको शासन स्थापित गराउँछौँ । जुन दिन पार्टीभित्र विधिको शासन स्थापित गराउन सक्छौँ । त्यो दिन हाम्रो अर्को विजय हुनेछ त्यो दिनसम्म यहीभित्र लडिरहने छौँ । त्यो दिन सबै विकृति विसंगति हाबी गर्ने संस्कृति अन्त्य गर्ने छौँ । यहीभित्र आशा र भरोशाका साथ विकृति अन्त्य गर्न लडनेछाँै र त्यो मान्यता स्थापित गर्नेछौँ ।

 

प्रतिक्रिया