नेमकिपाको भोट घट्दैन: बिजुक्छें

नारायणमान बिजुक्छें नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन् । रोहित उपनामले चिनिने उनी भक्तपुर क्षेत्र नं १ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । लामो समयदेखि भक्तपुरको क्षेत्र नं १ बाट सांसद हुँदै आएका बिजुक्छेंले यसपटकको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भने कुनै पनि पदमा उम्मेदवारी दर्ता गरेनन् । उनले राजनीतिमा नयाँ पुस्तालाई अघि बढाउनुपर्ने भन्दै आफूले अहिले प्रदेश र प्रतिनिधिसभा सदस्यको पदमा उम्मेदवारी नदिएको बताए । उनले आफनो स्थानमा अहिले पार्टी सचिवसमेत रहेका प्रेम सुवाललाई उठाएका छन् । सुवाल यसअघिका समानुपातिक सांसद पनि हुन् ।

बिजुक्छेंको वाल्यकाल तथा परिवार
नारायणमानको जन्म १९९६ साल २६ फागुनमा बागमती अञ्चल, भक्तपुर जिल्लाको सुकुलढोका–५ मा भएको हो । पिता गणेशमान बिजुक्छें र माता सूर्यमाया बिजुक्छेंका ११ सन्तान (५ भाइ, ६ दिदीबहिनी) मध्ये उनी जेठा हुन् । उनले भक्तपुरको पद्म माध्यमिक र शारदा रात्रि माध्यमिक विद्यालय तथा भक्तपुर कलेजमा पढेका हुन ।

युवा अवस्थामै सक्रिय राजनीतिमा होमिएका बिजुक्छेले औपचारिक शिक्षाको रूपमा मानविकी शास्त्रको स्नातक परीक्षामा सम्मिलित भए तर स्नातक पूरा गरेनन् । राजनीति शास्त्र र अर्थशास्त्र दुवै विषयमा उनको चाख भएकाले उनले यी दुवै विषयमा अध्ययन गरे । उनको जन्म हिन्दू परिवारमा भए पनि उनी भौतिकवादी मान्यता राख्छन् । उनको विवाह रामेछाप जिल्लामा घर भएकी एक शिक्षककी छोरी शोभा प्रधानसँग ०४० सालमा भएको थियो । रोहितका २ छोराहरू छन् ।

बिजुक्छेंको राजनीतिक जीवन
०१०÷११ सालमा गौरमा नेत्रदान कार्यक्रममा स्वयंसेवक भई काम गरेका उनले २०१२ सालमा रौतहट जिल्लाका बाढी पीडितहरूको सहायताका लागि कम्युनिस्ट पार्टीको ¥यालीमा सहभागिता जनाएका थिए । यसबाट कम्युनिस्ट विचारप्रति आकर्षित भएका उनले २०१३ सालमा विद्यार्थी फेडरेसनको सदस्यता लिए र ०१७÷१८ मा युनियन (कलेज) को अध्यक्ष पदमा चुनिएका थिए । ०१५ सालताका माक्र्सवादी अध्ययन सर्कलमा संलग्न रही ०१६÷१७ मा भक्तपुर जिल्ला कमिटीको अध्यक्ष भएका हुन् ।

०१६ सालमा प्रतिकूल स्वास्थ्यस्थितिका कारण झन्डै १ वर्ष उनी उपचारार्थ चीनमा रहेका थिए । ०२१÷२२ सालतिर पञ्चायती व्यवस्थाले चलाएको भूमिसुधार कार्यक्रमअन्तर्गत मोहीहरूले पाउनुपर्ने मोहीयानी हक दिलाउन बिजुक्छें र उनका कार्यकर्ताहरूले भक्तपुरमा निकै मिहिनेत गरेका थिए । ०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनेका बिजुक्छे तत्कालीन पूर्वीपाकिस्तान (हाल बंगलादेश) माथि भारतको हस्तक्षेप र अरू सैद्धान्तिक कुरामा पुष्पलाल श्रेष्ठसँग मतभेद भएपछि ०३१ सालमा पुष्पलाल समूहबाट अलग भई ०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना गरी सोही दिनदेखि पार्टीका अध्यक्ष रही आएका छन् ।

पञ्चायती व्यवस्थाविरुद्ध संघर्षरत रहँदै उनले झन्डै १० वर्ष उच्च भूमिगत जीवन बिताए र ०३६ सालको जनमतसंग्रहपश्चात नेपालमा आएर राजनीतिक यात्रा जारी राखेका छन् । भारतमा भूमिगत जीवन बिताउँदा उनले प्रवासी नेपाली विद्यार्थीमार्फत कर्णाली अञ्चलमा बलियो संगठन बनाएका थिए । ०४५ सालमा पञ्चायती सरकारले ह्योजू काण्डमा बिजुक्छेलगायत नेपाल मजदुर किसान पार्टी (तत्कालीन नेमकिसंघ) का ६५ जना नेता÷कार्यकर्तामाथि फासीको सजाय माग गर्दै ज्यान÷मुद्दा चलाएको थियो । देशमा बहुदलीय व्यवस्थाको बहालीपश्चात् सो मुद्दा खारेज भई करिब २० महिनाको जेल जीवनपछि उनीलगायत सबै रिहा भएका थिए ।

बिजुक्छे ०४८ सालको आमनिर्वाचन, २०५१ को मध्यावधि र २०५६ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । ०६४ र ०७० सालको पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए । भक्तपुर सहरलाई सफा, पर्यटकीय बनाउन बिजुक्छे नेतृत्वको टिमको महत्वपूर्ण योगदान रहेको तथा ख्वपः कलेजको निर्माण, सञ्चालनजस्तो कामले दिएको जशका कारण भक्तपुरको मुख्य सहरमा नेपाल मजदुर किसान पार्टीको पकड देखिँदै आएको छ ।

अब के गर्छन् बिजुक्छें ?
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें अब जीवनभर चुनाव नलड्ने भएका छन् । बिजुक्छेंले पार्टीले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेका छन् । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा बिजुक्छेंले उम्मेदवारी नदिएको विषयमा चौतर्फी चर्चा चलिरहेको छ । मैले उम्मेदवारी नदिँदैमा अचम्म मान्नुपर्ने अवस्था छैन उनी भन्छन्, ‘मैले राजनीतिबाट सन्यास लिएको होइन, तर अब म जीवनभर चुनाव लड्दिनँ, नेमकिपाको अबको राजनीति युवा पुस्ताले हाँक्छन् ।’ उमेरका कारणले पनि आफूले उम्मेदवारी नदिएको उनी बताउँछन् ।

‘म ७६ वर्षको भएँ, उमेरका कारणले कतिपय कुरा बिर्सन थालेँ, संसद्मा रहँदा दिमागमा धेरै बोझ रहन्छ, त्यसैले मैले उम्मेदवारी नदिने निर्णय गरेको हुँ, अब म पार्टीलाई अगाडि बढाउन सक्रिय रहनेछु उनले भने ।’ बिजुक्छेले उम्मेदवारी नदिँदा भोट घट्छ की भन्ने चर्चा चलेको छ । तर, उनी दाबी गर्छन् बिजुक्छें नउठ्दैमा भोट घट्दैन । व्यक्तिलाई भोट दिने निकै कम हुन्छन् उनी भन्छन्, ‘नेमकिपालाई संगठनको भोट आउँछ, त्यसैले मैले उम्मेदवारी नदिँदा पनि नेमकिपाको भोट घट्दैन ।’

मुलुकको राजनीतिकमा दुई गठबन्धनको नाममा राजनीतिक धु्रवीकरण सुरु भएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
बेलायतको संसद्को हिसाबले दक्षिणपन्थी र वामपन्थीको एउटा तरिका छ । सभामुखको दायाँ मन्त्रीमण्डलसहितको बहुमत पक्ष बस्छन् भने वायाँ अर्थात लेफ्टतिर प्रतिपक्ष बस्छन् । त्यतिखेर सभामुखको वायाँतर्फ बस्नेहरू कम्युनिस्टहरू भएकाले कम्युनिस्टलाई लेफ्स्टि भनिएको हो । यस हिसाबले हेर्ने हो भने माओवादीहरू सरकारमा भएकाले वामपन्थी भएनन् । दोस्रो कुरा, एमालेलाई वामपन्थी मान्ने हो भने अहिलेसम्म सदनमा आएका सबै कुरा जस्ताको तस्तै पारित भएका छन् ।

प्रमुख प्रतिपक्षको भूमिका खेलेकै छैन र हामीले बारम्बार घच्घच्याउनुपर्ने हो तर यसो हुन सकेन । नेपालमा वामपन्थी त्यो हुन् जसले साम्राज्यवादको विरोध गर्छ र भारतीय एकाधिकार तथा विस्तारवादको विरोध गर्छ । माओवादीले भारतमै जन्मेको, भारतमै हुर्केको र भारतबाटै यो १० वर्षे जनयुद्ध सञ्चालन गरेकोले माओवादी वामपन्थी होइन । एमालेमा धेरैजसो प्रभावहरू विदेशी आइएनजिओको छ । पश्चिमी साम्राज्यवादी देशहरूको पैसा, डलरले चल्ने एनजिओहरूबाट एमाले पार्टी चल्छ भने त्यसलाई कसरी साम्राज्यवादी विरोधी भन्ने ?

यो दुबै कारणले पनि यो गठबन्धन न वामपन्थी हो न त कम्युनिस्ट गठबन्धन नै हो । लोकतान्त्रिक गठबन्धन भनेको छ, त्यो लोकतन्त्रवादी नै होइन । किनभने लोकतन्त्रमा त छलफल हुन्छ, प्रजातन्त्र हुन्छ । उनीहरूकै (नेपाली कांग्रेस लगायतका दल) हिसाबले एक वर्ष भइसक्यो । अध्यक्षले जे भन्छ त्यही हुन्छ यहाँ । त्यसलाई तानाशाही भन्ने कि, सामान्तवादी भन्ने कि के भन्ने ? लोकतन्त्रवादीचाहिँ होइन ।

दोस्रो, जातिवादीहरू पनि त्यसैमा छन, घुस्याहाहरू छन, धर्मलाई मान्ने, धर्मको आधारमा पार्टी चलाउनेदेखि क्षेत्रीयताको कुरा गर्नेहरू पनि त्यसैमा छन् । त्यसलाई बेलायतको भाषामा कन्जरभेटिभ पार्टी भनिन्छ । हाम्रो भाषामा पुरानो पन्थीहरूको एउटा गठबन्धन हो । त्यसकारण न वामपन्थी वामपन्थी भयो न लोकतान्त्रिक लोकतान्त्रिक नै भयो ।

नेमकिपा वाम गठबन्धनमा सहभागी हुनुपर्ने होइन र ?
कम्युनिस्ट भनेको कुराले होइन व्यवहारले हुन्छ । अहिलेसम्म एमालेले ४ पटक र माओवादीले ३ पटक सरकारको नेतृत्व ग¥यो । यो ७ वटा सरकारले कहिले पनि मजदुरको हकहितमा कुनै विधेयक पास गरेको छ ? छैन । किसानहरूको हितमा छ ? छैन । शिक्षा र स्वास्थ्य निःशुल्क गरेको छ ? छैन । अब कसरी कम्युनिस्ट हुन्छ ? चुनावमा जुन घोषणापत्र प्रचार गरिन्छ त्यो जनतालाई दिएको आश्वासन हो ।
यसको अर्थ यो हो कि तपाईंहरूले हामीलाई भोट दिएर सत्तामा पु¥याउनुभयो भने हामी यो अनुसार काम गर्छौं भन्ने प्रतिवद्धता हो । घोषणापत्र एउटा छ, काम भने भागबन्डामा गरेको छ । तिनीहरूले कम्युनिस्टलाई बदनाम गराउने तरिका अपनाएका छन् । नेपालमा कम्युनिस्ट आन्दोलन अगाडि बढेको देखेर विदेशीहरूले नक्कली कम्युनिस्ट बनाएर नेपाली जनतालाई ठगी गरिरहेको स्थिति छ । त्यसैले हामी नक्कली वाम गठबन्धनमा सहभागी छैनौँ ।

 

प्रतिक्रिया