‘एकरूपता प्रणालीको सुरुआत गरेका छाैँ‘:शिवजी सापकोटा 

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका स्थायी बसोवास भएका शिवजी सापकोटा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडमा २०६३ सालदेखि विभिन्न सेवा समूहमा कार्य गर्दै विगत दुई वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका हुन् । समाजशास्त्र र जनप्रशासन विषयमा स्नातकोत्तर साथै कम्प्युटर प्रविधिमा समेत डिप्लोमा गरेका सापकोटा सहकारी क्षेत्रमा विगत २० वर्षदेखि क्रियाशील रही सहकारी क्षेत्रको विकासका लागि विभिन्न प्रशिक्षक प्रशिक्षणहरूमा सफलता हासिल गरेका छन् ।

बचत तथा ऋण सहकारीको एसियाका लागि विकास प्रशिक्षकको उपाधि सन् २०१३ मा थाइल्यान्डबाट प्राप्त गरेका सापकोटाले सहकारी क्षेत्रको प्रवर्धन, विकास र सशक्तीकरणको क्षेत्रमा शिक्षित र प्रशिक्षित गर्दै नेपालका करिब ६० वटा जिल्लाहरू र एसियाका करिब एक दर्जन मुलुकहरूमा आफ्नो अनुभव आदान–प्रदानको शिलशिलामा भ्रमण गरिसकेका छन् । समग्र सहकारी क्षेत्र तथा नेफ्स्कुनका बरेमा केन्द्रित रही उनै सापकोटासँग सौर्यकर्मी केशव भट्टले गरेको संवाद :

शिवजी सापकोटा, प्रमुख कार्यकारी अधिकृत नेफ्स्कुन

नेपालमा बचत तथा ऋण सहकारी संस्थाहरूको अवस्था कस्तो छ ?

सहकारीको संगठनात्मक विकास वि.सं. २०१३ लाई लिने हो भने सहकारी क्षेत्र नेपाली समुदायमा एक अनन्त जीवन पर्यायको रूपमा स्थापित भइसकेको छ । सहरी क्षेत्रको विषयलाई अलि पर सारेर हेर्ने हो भने समुदायका मानिसहरूले अप्ठेरो पर्ने वित्तिकै पहिला आफ्नो सहकारी सम्झने गरेका छन् । मेरो सहकारीमा बचत कति छ होला ? ऋण बाँकी कति छ होला ?अब कसरी गर्जो टार्ने होला ? यिनै समुदायको मागका कारण सहकारी संस्थाहरू धेरै खुलेका छन् । वि.सं. २०५० पछि बीचको समय २०६४÷६५ तिर यो संख्या बढेको थियो तर हाल आएर कमी भएको छ ।तर जे होस् नेपाली समुदायमा वित्तीय पहुँच र समावेशी वित्तीय सेवालाई यसले महत्वपूर्ण योगदान गरेको छ ।

समाज रूपान्तरणमा सहकारीको भूमिकालाई कसरी व्याख्या गर्नुहुन्छ ?

भाषा, वर्ग, जात, तह र तप्काका हिसाबले हाम्रो नेपाली समाज, विविधतामा एकता भएको समाज हो । सहकारिताको संस्थागत विकासभन्दा अघिदेखि नै नेपालमा सहकारिता र आपसी मेल प्रगाढ रूपमा रहेको पाइन्छ । पछि वि.सं. २०४८ को सहकारी ऐनपश्चात् समुदायका सबै व्यक्तिहरू एउटै छानोमुनि अटाउने र नेतृत्व लिन सक्ने व्यवस्था आएपछि यो झन प्रभावकारी भएर आएको छ । समुदायमा आपसी मेललाई बढावा दिने, आर्थिक पाटोलाई सहकार्यको विन्दु बनाउने, वित्तीय पहुँच अभिवृद्धि गर्ने, नेतृत्व विकास र सबैलाई अवसरको सिर्जना गर्नु सहकारी पद्धतिको गहना भएकाले हाम्रो समाजमा यसको विकास र योगदान राम्रो रहेको पाइन्छ ।

नयाँ सहकारी ऐनलाई कसरी हेर्नुभएको छ ?

वि सं २०४८ को ऐन नेपालमा सहकारी क्षेत्रको प्रवर्धनमा केन्द्रित थियो, सहकारी संघ संस्थाहरू गठन हुनु केही व्यवस्थित भएर सञ्चालन हुनु, सुशासन र आन्तरिक नियन्त्रण प्रणालीको परिकल्पनामार्फत स्वनियमनमा हिँडाउन खोज्नु राम्रो पक्ष थियो भने सदस्यको ठूलो रकम संकलन भई त्यसको उचित व्यवस्थापन नहुँदा, सुशासनमाथि प्रश्न चिह्न खडा भई जोखिम निम्तिन सक्ने विषयमा त्यति सजग नभएको पाइन्छ । हुन त सबै पूर्ण हुँदैन, तथापि हाल हामीले प्राप्त गरेको सहकारी ऐन २०७४ मा सहकारी क्षेत्रको प्रवर्धन, विकास, गुणस्तर सुनिश्चितता, जोखिम व्यवस्थापन र राज्य निर्माणमा सहकारीको भूमिका जस्ता विषयहरू समेटिएको पाइन्छ ।

सहकारीप्रति राज्यको दृष्टिकोण कस्तो पाउनुभयो ?

सहकारी नेपालमा वित्तीय पहुँच अभिवृद्धि गर्ने र सामाजिक एकीकरणमा जोड दिने संस्थाहरू हुन्, राज्यले त्यही नजरबाट हेर्नुपर्छ । एकाध सहकारीहरूले बदमासी गरे भन्दैमा सबै सहकारीहरूलाई एकै नजरबाट हेर्न थालियो भने वित्तीय सेवा प्रदायक संस्थाहरूको विकास हुँदैन । समुदायमा आधारित सहकारीहरूले समुदाय विकासको क्षेत्रमा क्रियाशील भई नेतृत्व लिएकै छन् । जहाँ राज्यको उपस्थितिको अनुभूति गर्न जनताले पाएका छैनन् त्यहाँ सहकारीले न्यायालयको, वित्तीय सेवा प्रदायकको, महिला सशक्तीकरणको, भेदभावमुक्त क्षेत्रको, स्थानीय विकास निर्माणको सेवा पाएका छन्, त्यो उपलब्धिलाई पनि हेर्नुप¥यो ।

अहिले परिचालनको प्रणाली बनिसकेका परिवार तहसम्म जोडिएर सेवा प्रदान गरेका सहकारीहरूलाई बेवास्ता गरी राज्यको कोष, आयोग, आयोजना, कार्यक्रमहरूका नाममा विभिन्न कोषमा रहेका रकमहरूको परिचालन गर्न नसकेर बैंक तथा त्यस्ता निकायहरू निष्क्रिय भइरहेका छन् वा कार्यान्वयनमा ढिलाइ भइरहेको छ । किन सरकार सहकारीमार्फत समुदायसम्म जान अलमलिरहेको छ, थाहा भएन ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) कसरी अगाडि बढ्दै छ ?

नेफ्स्कुन, बचत तथा ऋण सहकारीहरूको विषयगत केन्द्रीय संघ भएका कारण आफ्ना सदस्यहरूको प्रवर्धन, संस्थागत विकास, स्तरीकरण र प्रविधि उपयोग÷हस्तान्तरणको माध्यमबाट अनुशासित र मर्यादित सहकारीको संस्कृति सिकाउनमा तल्लीन छ र निरन्तर लागिपरेको छ ।

सुरुका दिनहरूदेखि एसियाली ऋण महासंघको प्रत्यक्ष मार्गनिर्देशनमा प्रवर्धन तहः संघ संस्थाको विनियम, नीतिहरू निर्माण र सदस्यता अभिवृद्धिको क्षेत्र, संस्थागत विकास तहः आवश्यक अनिवार्य नीतिहरू, पल्र्स अनुगमन प्रणालीमार्फत बचत तथा ऋण सहकारीको वित्तीय एवम् आत्मनिर्भरता÷दीगोपना परीक्षण, सुशासनमार्फत भूमिका र जिम्मेवारी विषयमा छलफल र बहस, सहकारी एवम् लेखा व्यवस्थापनमार्फत दैनिक सञ्चालनमा चुस्तता एवम् दुरुस्तता कायम, स्तरीकरण तहः पल्र्स अनुगमन, राष्ट्रिय (प्रोवेसन), अन्तर्राष्ट्रिय (एक्सेस) मापदण्डहरूको निर्माण, कार्यान्वयन र परीक्षणका पछिल्लो पटक एसियाका बचत तथा ऋण सहकारी संस्था (साकोस) हरूलाई लक्षित गरी सिफारिस गरिएको मोडेल सहितको एकीकृत प्रविधि, उपयोगको तहः क्यानडा, अमेरिका र कोरियामा अभ्यास गरिएका आधुनिक नवप्रवर्तनहरूको हस्तान्तरण साकोस युनिफिकेसन मोडेलले नेपालको साकोस अभियानलाई अझ बढी मर्यादित, अनुशासित, सुरक्षित र जिम्मेवार बनाउने लक्ष्य लिएको छ ।

सहकारी संस्थाहरू संख्यात्मक हिसाबले बढी भए तर गुणात्मक भएनन् भन्ने गरिन्छ नि ?

विषय उठान जायज हो, सही मार्गदर्शन, र सघन अनुगमनको कमीका कारणले यस्तो भएको हो तर विस्तार यो समस्या समाधान हुँदै जान्छ आशा गरौँ ।

नेफ्स्कुनले सहकारी संस्थाहरूको क्षमता अभिवृद्धिका लागि के–कस्ता काम गर्दै आएको छ ? 

नेफ्स्कुनले बचत सहकारी हुँदै नभएका क्षेत्रमा प्रवर्धन र धेरै भएका क्षेत्रहरूमा एकीकरणको चर्चा बृहत् रूपमा चलाइरहेको छ । तालिम शिक्षाका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको छ भने अब व्यवस्थित र सुरक्षित संस्था सञ्चालन गर्नुपर्छ भन्ने मूल मर्म अनुरूप एकै विधि, एकै नीति र एकै प्रविधिबाट सञ्चालन गर्न एकरूपता प्रणालीको सुरुआत गरेको छ ।

सहकारीमा एकरूपता प्रणालीका विषयमा नेफ्स्कुनको अभियान कहाँ पुग्यो ?

बचत तथा ऋण सहकारीहरू (साकोस) एकरूपता प्रणाली संस्थालाई नीति, विधि र प्रविधिमार्फत सुरक्षित बनाउने उपाय हो । बचत तथा ऋण सहकारी सञ्चालनको सफल अभ्यास पेश गरेका देशहरूको सिकाइबाट एसियामा भित्र्याइएको परिकल्पना हो । अहिले नेफ्स्कुनले पहिलो चरणमा दृश्यमा एकरूपताः नेफ्स्कुनको सदस्यहरू देखिँदा उस्तै र काम गराइमा एकरूपता ः एउटै नीति, एउटै विधि र एउटै प्रविधिमार्फत निर्देशित हुने बनाउन खोजिरहेका छौं । हाल करिब २ सय वटा संस्थाहरूले यो अवलम्बन गरिरहेका छन् ।

नेफस्कुनभन्दा बाहिर पनि कैयौँ बचत तथा ऋण सहकारी छन् नि ?

हालसम्म साकोस सञ्जालको अभियानमा ५५ प्रतिशत र नेफ्स्कुनमा प्रत्यक्ष २१ प्रतिशत आबद्ध छन् । जिल्ला बचत संघहरूमार्फत पनि हाम्रा नीति, विधि, प्रविधि र शिक्षा सँगसँगै लगिरहेका छौं । अबको ऐन प्राप्तिपछि यो संख्या बढेर जान्छ ।

सहकारी अभियानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन नेफ्स्कुनले के–कस्तो काम गरिरहेको छ ? 

संस्थाको प्रवद्र्धन, विकास र सशक्तीकरणका क्रियाकलापमा हामी केन्द्रीय संघ भएका कारण त्यो जिम्मेवारी हाम्रै हो तर यीबाहेक विश्वमा सफल साकोस अभ्यास गरिरहेका मुलुकहरूसँगको आपसी भ्रमण, अवलोकन, एसियाली ऋण महासंघ (थाइल्यान्ड), अन्तर्राष्ट्रिय कृषि बैंकिङ (भारत) र गरिबहरूसँग बैंकिङ (अस्ट्रेलिया) को नियमित सदस्य रही आफ्ना उपलब्धि तथा चुनौतीहरू विषयमा समयानुकुल मार्गचित्र तय गरी अघि बढ्न विभिन्न सहकार्यहरू नेफ्स्कुनले गरिरहेको छ ।

नेपालको बचत तथा ऋण सहकारी अभियानलाई विश्वसामु चिनाउन एक्सेस ब्रान्डमार्फत सन् २०१७ मा श्रीलंकाको कोलम्बोमा घोषित एसियाली मापदण्डमा सञ्चालित २२ वटा उत्कृष्ट साकोसहरूको पंक्तिमा १९ वटा नेपालबाट उत्कृष्ट बनाउन सक्नु नेफ्स्कुनलगायत समग्र राष्ट्रको गौरवको विषय बनेको छ ।

 नेफ्स्कुनका भावी योजना के–के छन् ?

नेपालमा सफल र दिगो साकोस सञ्चालनका लागि तीन दशकदेखि सहजीकरण गर्दै आइरहेको नेफ्स्कुन हाल व्यवस्थित र सुरक्षित साकोसको वकालतको चरणमा पुगेको छ । बचत संकलन गरेर मात्र, राम्रो कार्यालय बनाएर मात्र वा ठूलो भवन बनाएर मात्र संस्था दिगो र सुरक्षित हुँदैन ।

जोखिम न्यूनीकरणका उपायहरू भएको वा थेग्न सक्ने कोष भएको, सुशासनले प्रभावकारी स्थान पाएको र ज्ञान, सिप र क्षमता भएको मानवस्रोतको परीक्षणमार्फत स्तरीय संस्था निर्माण हाम्रो पहिलो प्राथमिकता रहेको छ भने यसैसँग जोडिएको विषय स्थिरीकरण कोष, एकीकरण र एकरूपता प्रणालीको सबै साकोसहरूमा कार्यान्वयन हाम्रो भावी योजना हो ।

अन्त्यमा, नेपालको सहकारी अभियानलाई सशक्त बनाउने जिम्मेवारी हामी सबैको हो । समुदाय, सञ्चालक, कर्मचारी, जिल्ला संघहरू, केन्द्रीय संघहरू, सरोकारवाला निकायहरूले सहकारीको दिगो संस्थागत विकासका लागि प्रवद्र्धनात्मक सहयोगमा निरन्तरता दिनु जरुरी छ ।

प्रतिक्रिया