एमाले र माओवादीलाई के कुराले चामत्कारिक रूपमा एक ठाउँमा उभ्यायो ?
वामपन्थीहरू एकै ठाउँमा हुनुपर्छ भन्ने बारेमा म व्यक्तिगत रूपमा पनि पहिलादेखि नै थिएँ । अहिलेको तालमेल र पार्टी एकीकरणको कुरा एक्कासी भएको होइन । चुनावी तालमेल हुँदै पार्टी एकतासम्म गर्नुपर्छ भन्ने तयारी भित्रि रूपमा पहिलादेखि नै भएको थियो ।
माओवादी पार्टी शान्ति प्रक्रियामा आइसकेपछि ०६४ सालको पहिलो संविधानसभा निर्वाचन अघिदेखि नै हामी बीचमा त्यसबारेमा धेरै कुरा भएका थिए । पहिलो निर्वाचानमा चुनावी तालमेल र पार्टी एकताको प्रस्ताव गरेका थियौँ । धेरै कुरा अघि बढेका थिए । तर, त्यो एकता विभिन्न कारणले सम्पन्न हुन सकेन । हामी एकै ठाउँ उभिने अवस्था आएन ।
अहिले आएर एक्कासि तालमेल र पार्टी एकतासम्मको कुरा कसरी आयो ? के कुराले तपाईंहरू एकै ठाउँ उभिन तयार हुनुभयो ?
पछिल्लो चरणमा चुनावी तालमेलसँगै सबै कम्युनिस्ट सेन्टर एउटै बनाउने भनेर २ पार्टी सहमत भएका छौँ । यस पछाडिका कारण र पृष्ठभूमि पुरानै हुन् । हामीले २ हजार ४ वर्षको निरंकुश व्यवस्था फाल्यौँ, संघीय गणतान्त्रिक राज्यव्यवस्था ल्यायौँ ।
यी बीचमा धेरै राजनीतिक एजेन्डामा परिवर्तन भएका छन् । जनताका अधिकार ल्याएका छौँ त्यसलाई संविधानमार्फत अधिकतक मात्रामा सम्बोधन गरेका छौँ । यी सबै काम पनि आंशकाकै बीचमा भएका हुन् । संविधान बन्ने, कार्यान्वयन हुने, कुरामा आंशका थियो, कार्यान्वयन हुने कुरमा आशंका थियो । जति आशंका गरे पनि ती काम भएका छन् ।
अब हामी परिवर्तनका मुद्दाहरू संस्थागत गर्ने र राजनीतिक क्रान्ति एकहदसम्म सफल बनाउने आस्थामा छौँ । राजनीतिक परिवर्तनबाट मुलुकलाई आर्थिक र समृद्धिको युगमा फड्को मार्ने बेलमा यो देशले १ सय ५० भन्दा बढी पार्टी थेग्न सक्दैन ।
अब यो मुलुकमा शान्ति र स्थिरतका लागि सके २ पार्टी सिस्टम नभए थोरै पार्टी हुन जरुरी छ । नेपालमा एउटा कम्युनिस्टहरूको अर्को कांग्रेसको पार्टी मात्र हुनुपर्छ त्योभन्दा बढी राष्ट्रले थेग्न सक्दैन भन्ने निष्कर्षमा हामी एक भएका हौँ ।
त्यो सम्भव छ ? तपाईंकै समीकरणमा आएका बाबुराम एक हप्ता टिक्न सकेनन् यस्तो बेला २ राजनीतिक धु्रवीकरण बनाउन सकिन्छ ?
सबै वामपन्थी र देशभक्त शक्तिलाई समेट्ने हाम्रो लक्ष्य हो । जहाँसम्म बाबुराम भट्टराईजीको प्रश्न छ । उहाँले हतारमा नयाँ शक्ति खोल्नुभयो, फेरि वामपन्थी धु्रवीकरणमा आउनुभयो, फेरि सूर्यचिन्ह लिएर लड्ने भन्दै आँखा लिएर लड्ने भन्नुभयो अहिले बजारमा रुखको चर्चा छ । त्यसको जवाफ उहाँसँग होला । हामी उहाँलाई अपमान गर्न चाहदैँनौँ । हाम्रो चाहना सबै वामपन्थी एउटै चिन्हमा लड्न पाए हुन्थ्यो भन्ने थियो ।
तर, प्राविधिक र कानुनी कारणले तत्काललाई यो सम्भव भएन । पर्टी एकता नहुँदासम्मका लागि आआफ्नो चिन्हमा लड्ने सहमती गर्याे बाबुरामजीले सूर्य चिन्ह लिएर लड्ने भन्नुभयो । बाबुरामलगायत अन्य वामपन्थी तालमेलमा आएमा उनीहरूलाई मिलाएर एमाले र माओवादी बीचमा भएका ६०–४० गर्ने सहमति भएको थियो । गोर्खाको दुवै निर्वाचन क्षेत्र माओवादीको भागमा परेको र उहाँ हसियाँहथौडामा लड्न नमान्नु भएको कारण कुरा नमिलेको हो । अझैँ मिलाउने प्रयासमा छौँ ।उहाँ हसियाँहथौडा लिएर लड्न चाहेको भए कुरा मिल्थ्यो ?
–हो त्यो अवस्थामा कुरा मिल्न सक्थ्यो । हसियाँहथौडाको भागमा आएको क्षेत्रमा सूर्य चिन्ह लिएर लड्छु भन्नुभएको कारण कुरा नमिलेको हो । उहाँलाई हसियाँहथौडामा लड्न पनि भनिएको हो ।
तर, उहाँ मान्नु भएन हसियाँहथौडा छोडेर सूर्य हुँदै रुखमा जान तयार हुनभयो । तर, सहमतिमा आउनुभएको छैन । अझै पनि उहाँलाई सहमतिमा ल्याउने प्रयास जारी रहने छ । उहाँ कम्युनिस्ट पार्टीको हस्ती हो । अझै यहि अभियानमा रहनुपर्छ ।
एकता प्रक्रियामा बाबुराम भट्टराईको एकाएक प्रवेश भएको सुनिन्छ हो ?
–बाबुराम भट्टराई एकता प्रक्रियामा एक्कासि आउनुभएको भन्दा माओवादीबाट एकाएक जानु भएको कुरा भुल्नु हुँदैन । यसलाई उहाँले मुल्यांकन गर्नुहोला हामी पनि गराैँला । बाबुराम भट्टराई यो राष्ट्र र जनताका लागि आवश्यक नेता हो ।
उहाँँको योग्यता र क्षमताको राष्ट्रले सम्मान गर्नुपर्छ । हामीले पनि यो अभियानमा उहाँलाई हार्दिकतापूर्वक समेट्ने र सहकार्य गर्न अन्तिम समयसम्म प्रयास गर्नेछौँ । प्रचण्ड कमरेडले पनि प्रयास गरिरहनुभएको छ ।
माथि जति सजिलै तालमेल भएका छन् । तल त्यस्तो छैन दुवै पार्टीका नेता कार्यक्रतमा ठूलो असन्तुष्टि छ । त्यसलाई सहज बनाउन सजिलो ठान्नुभएको छ ?
–हामीले आफ्ना चाहनाभन्दा राष्ट्र र जनताको हितलाई केन्द्र भागमा राखेर हेर्नुपर्छ । एउटै पार्टीभित्र त सिटको बाडफाँडमा कुरा मिल्दैन । एउटै पार्टी भित्र कयौँ अन्तरबिरोध हुन्छ । बागी उठने, विद्रोह गर्नेदेखि पार्टी छोड्नेसम्मका कुरा हुन्छन् भने २ पार्टीका बीचमा मिलाउँदा कठिनाई हुन्छ । २ पार्टी मिलेर उठ्दा जित्ने
सम्भावना धेरै हुने भएकोले मान्छेको आकांक्षा बढ्छ यसले दुवै पार्टीमा चुनौति थपिन्छ । यति हुँदाहुँदै राष्ट्र र जनताका हित र इतिहासको आवश्यकतालाई केन्द्रविन्दुमा राखेर हामीले राम्रोसँग जान सकियो भने समस्या हुँदैन सबै समाधान गर्न सकिन्छ । भावना मिलेपछि धेरै समस्या सामाधान गर्न सकिन्छ । विगतमा धेरै गरेका छौँ र फेरि पनि गर्न सकिन्छ ।
निर्वाचनपछि दुई पार्टी एक हुने कुरामा धेरै आशंकाहरू छन् । साच्चै पार्टी एकता हुन्छ ?
यति ठूलो निर्णय भइरहँदा आशंकाहरू देखिनु स्वभाविकै हो । यो विज्ञान र द्वन्द्ववादको नियम हो । यसलाई अन्यथा लिनु हुँदैन । पञ्चायत जाने कुरामा शंका थियो, गणतन्त्र आउने कुरा संविधान बन्ने कुरामा पनि शंका थिए ।
तर, पूरा भएका छन् । शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुग्ने कुरा सबैले पत्याएका थिएनन् । तर, सबैकुरा पूरा हुँदै गएका छन् । अझ स्थानीय निर्वाचन २ नम्बर प्रदेशको निर्वाचन पनि शंकै शंकाका बीचमा भएका हुन् ।
देशलाई समृद्ध बनाउन धेरै पार्टी राज्यले धान्न सक्दैन पार्टीहरू मर्ज हुनुपर्छ र त्यसका लागि हामीले भूमिका खेल्नुपर्छ भनेर लागेका हौँ । राष्ट्रका आवश्यकताका लागि वामपन्थी शक्तिहरू एकीकृत हुनु आवश्यक छ । त्यो सम्भव भएर नै भएको हो यसमा आशंका गर्नु हुँदैन ।
इतिहासमा कम्युनिस्टहरू बन्ने र फुट्ने क्रम सँगसँगै हुँदै आएको छ । यसको सूत्रधार कुन शक्ति हो ?
म कम्युनिस्ट आन्दोलनमा लागेको बेलादेखि नै वामपन्थीहरू एकीकृत हुनुपर्छ भन्ने मान्यता राख्थेँ । त्यो प्रयास निरन्तर रहेँ तर सफल हुन सकेन । पछिल्लोपटक हामी शान्ति प्रक्रियामा आएपछि कम्युनिस्ट मिल्नुपर्छ भनेर धेरै नेतालाई भनेँ ।
तैपनि सम्भव भएन पछिल्लो चरणमा राष्ट्र र जनताका आवश्यकता, आर्थिक समृद्धि र बेरोजगारी हटाउनका लागि हामीले अब कम्युनिस्टहरू विभाजन भएर होइन, एक भएर मात्र यी आवश्यकता पूरा गर्न सकिन्छ भन्ने महसुस गर्याे ।
त्यही मान्यताका आधारमा एकताको प्रयासमा छौँ । स्थानीय निर्वाचन पहिला पनि कोशिस भएको थियो सकिएन । त्यसको लगत्तै पनि प्रयास भएको हो । तर, दसैँका समयमा यस बारेमा हाम्रा बीचमा प्रर्याप्त छलफल र कुराकानी भएर निचोडमा पुगेका हौँ । यो आवश्यकताका आधारमा हाम्रो आफ्नै निर्णयले भएका हुन् ।
यो चरणसम्म पुग्न कति मिटिङ बस्नुभयो ?
दुई पार्टीका शीर्ष नेताहरू आवश्यक अन्य नेताहरूको बीचमा यस बारेमा सयौँपटक मिटिङ छलफल भए । कहिले कुन नेता छुटेका हुन्थे कहिले को हुँदैन थियो । व्यक्तिव्यक्तिका बीचमा आवश्यकता र अवस्था हेरेर धेरै चरणमा मिटिङ छलफल बहस भए । धेरैले भन्छन् कुन अलौकिक शक्तिले एकाएक एक गरायो ।
त्यो होइन चरणचरणमा कुरा भएका थिए । बाहिर हल्ला भएन काम भयो । समय आएपछि निचोडमा पुगेको हो । दुवै पार्टीको बीचमा आवश्यकता महसुस भएर आत्मविश्वासका साथ भएको हो । यसमा दुवै पार्टीका नेताले ठूलो भूमिका खेल्नुभएको छ ।
यसमा वैदेशिक शक्तिको हात छ । नेपालको राजनीति अरूले चलाउँछन् भन्ने पनि शंकाहरू छन् । शंकामा सत्यता छ ?
आशंका गर्नेहरूलाई अन्यथा ठान्नु हुँदैन । त्यो स्वतन्त्रता सबैमा छ । तर, हामीले कसैको इसारा, हस्तक्षेप वा निर्देशन बेगर आफ्नो आवश्यकतालाई हेरेर आफैँले महसुस गरिएको समन्वय हो । न यो कसैको इसारा वा निर्देशनमा भत्कन्छ ।
नेपाली आफ्नो आवश्यकता अनुसार चल्छन् । अझ कम्युनिस्टहरू यसमा एक कदम अघि छौँ । हामीलाई कसैको आशीर्वाद छैन र यो कसैको विरुद्ध पनि छैन । यो भ्रमबाट पनि सबै मुक्त भए हुन्छ ।
तालमेल गर्ने निर्णय ढिला भयो अलि चाँडै हुन पाएको भए अझ पाइदा हुन्थ्यो भन्ने लाग्दैन ?
स्वभाविककै रूपमा मानवीय प्रवृद्धि हो । आज भएको कुरा हिजै भइदिएको भए भन्ने । तर, हरेक कुरा पूरा हुन निष्कर्षमा पुग्न एउटा निश्चित समय चाहिन्छ । हामीले पनि धेरै प्रयास गरेको हो । ३५ सालमा कम्युस्टि नफुटेको भए, ४६ वा ५२ मा एक भएको भए धेरै राम्रो हुन्थ्यो । भएको भए राम्रो हुने धेरै कुरा गुमाएका छौँ ।
स्थानीय तहको निर्वाचन समयमा भएको भए हुनेजस्ता जिज्ञासा आशंका स्वभाविकै हो । अहिलेको अवस्थामा पुग्दा हामीले बेहोरेको घाटा र जुट्दा भएको फाइदा भन्ने कुराको अनुभूतिले नै हामीलाई जुटाएको हो । फुट्दाको घाटाको महसुस दुवै पार्टीका नेतालाई भएको छ । यो इतिहासको आवश्यकता हो ।
तपाईंहरूको अभियानमा अवरोध हुने आभास कहीँकतैबाट आयो कि आएन ?
एक्सनको रियाक्सन हरेक ठाउँमा हुन्छ । यो स्वभाविक रूपमा बन्न लागेका कुरालाई भत्काउन खोज्ने प्रवृद्धि हरेक ठाउँमा देखिन्छ । हामीले त्यस्ता रियाक्सनलाई चिर्दै सामना गर्दै आएका हौँ । कतिलाई यो समीकरण हाम्रो एकताको कुरा चित्त नबुझको हुन सक्छ ।
तर, हामीलाई जे आश्यकक ठान्यौँ त्यही गरेका हौँ । हामीले महसुस गर्ने गरी कसैको दबाब सुनेका छैनौँ सुन्दा पनि फरक पर्दैन । कसले के भन्छ ठूलो कुरा होइन हामीले राष्ट्रका हितमा के गरेका छौँ त्यो ठूलो कुरा हो । यसमा कसैले चिन्ता लिनु पर्दैन ।
प्रतिक्रिया