‘कृषि सहकारीले देशलाई धेरै कुरामा आत्मनिर्भर बनाउँदै छ’खेमबहादुर

khem-pathak-2

धादिङ जिल्लाको साविकको चैनपुर गाविस र हालको ज्वालामुखी गाउँपालिका–७ मा जन्मिएका खेमबहादुर पाठक ०४५ सालदेखि नै साना किसान र कृषि सहकारी आन्दोलनमा लागेका हुन् । तत्कालीन समयमा पाठकले गाउँको विकासका लागि कृषि सहकारीको अभ्यासबाट सम्भव छ भन्ने सोचका साथ गाउँमा साना किसान विकास कार्यक्रममार्फत सबै किसानहरूलाई एकतावद्ध बनाई जिल्ला र देशकै नमुना कार्यक्रम बनाउन सफल भएका थिए । मध्यमस्तरको परिवारबाट अगाडी बढेका पाठक अहिले साना किसान विकास बैंक र नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष छन्, भने राष्ट्रिय सहकारी संघका सञ्चालक रहेका छन् । आफ्नो विचारमा कटिवद्ध र दृढ पाठकले नेपालको कृषि सहकारी आन्दोलनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएका छन् ।

उनले संयुक्तराष्ट्रसंघले घोषणा गरेको पारिवारिक खेती वर्ष २०१४ प्लस १० को नेपालको कार्यन्वयन समितिको नेतृत्व पनि गरेका थिए । कृषिमा प्रविधिको प्रयोग र बजारीकरणको उचित व्यवस्था भए देशमा आर्थिक समृद्धि, सामाजिक सम्पन्नता र स्वावलम्बी नेपाली अनि आत्मनिर्भर नेपाल बन्ने र बनाउने विश्वासका साथ पाठक अहिले पनि साना किसान र कृषि सहकारीको उन्नती प्रगति र सम्पन्नताका लागि नीतिगत र क्षमता विकासका कार्यक्रमका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थासँग बहस र पैरवी गरिरहेका छन् । सहकारी तथा अन्य समसामयिक विषयमा केन्द्रित रही खेमबहादुुर पाठकसँग सौर्यकर्मी केशव भट्टले गरेको संवादः
खेमबहादुर पाठक अध्यक्ष, साना किसान विकास वैंक र नेपाल कृषि सहकारी केन्द्रीय संघ

नेपालमा सहकारिताको विकासलाई कसरी व्याख्या गर्नुहुन्छ ?
नेपालमा मात्र होइन विश्वमा नै जबजब मानिसहरू सामाजिक रूपमा एकआपसमा मिलेर बस्न थाले तबतब सहकारिताको अभ्यास सुरु भयो । नेपालमा पनि सहकारिताको अभ्यास मानव सभ्यतासँगै सुरु भएको मान्न सकिन्छ । तर, औपचारिक र अलि व्यवस्थित रूपमा जब नेपालको चितवनमा बखानबहादुर गुरुङले सहकारिताको अभ्यासमा गाउँको विकास थाल्नुभयो तब सहकारीको सोचको विकास भएको हो ।

सरकारी तवरमा ०४७ सालको राजनीतिक परिवर्तनपछि सहकारीले मूर्त रूप पायो । तर, जहिले पनि सहकारी आन्दोलन र सरकार दुई वटा बाटोमा हिँडनुपर्ने वाध्यता रह्यो । यसले गर्दा सहकारी आन्दोलनले अझै उचाइ लिने मौका मिल्यो । सरकारले आर्थिक समृद्धिका तीन खम्बा मध्ये एक सहकारीलाई लिएकाले पनि सहकारीको विकासमा सहयोग पुगेको देखिन्छ ।

पछिल्लो समयमा सहकारी विभिन्न विषयमा केन्द्रित भएर खुल्न थाले जसले यसको क्षेत्र र महत्व अझैँ व्यापक बनेर गयो । अहिले ३४ हजारभन्दा बढी प्रारम्भिक सहकारी र २० वटाभन्दा बढी विषयगत केन्द्रीय सहकारी रहेका छन् । यसबाट पनि के थाहा हुन्छ भने सहकारिताको अभ्यास समाज रूपान्तरण र परिर्वतनमा सदैव केन्द्रित छ भन्ने मेरो विश्वास र दाबी हो ।

नयाँ सहकारी ऐनलाई कसरी हेर्नुभएको छ ?
लामो अभ्यास, अनुसन्धान र छलफलपछि नयाँ सहकारी ऐन आएको छ । यो खुसीको कुरा हो । हामीले ०४८ सालमा पाएको सहकारी ऐन समय सापेक्ष परिवर्तन गर्नुपर्ने थियो सोही अनुरूप अहिलेको सहकारी ऐन आएको छ । अब यसको प्रभावकारी कार्यान्वयनका लागि हामी लाग्छौँ, र सरकारले पनि यसमा सहयोग गर्नुपर्नेछ ।

सहकारी ऐनमा आन्दोलनका पनि केही कुरा छुटेका छन् र सरकारका पनि केही कुरा छुटेका छन् । तर, समग्रमा सहकारी ऐन सहकारी र सहकारीकर्मी मैत्री रहेको छ । हामी कार्यान्वयनका लागि लाग्छौँ यसले सबैको भलो नै गर्नेछ ।

अहिले कृषि सहकारीहरूको अवस्था कस्तो छ ?
अहिले देशमा दिगो र निडर तरिकाले कसैले काम गर्दैछ, भने सहकारीमा कृषि सहकारी हो । आफ्नै नेतृत्व, आफ्नै सहभागिता र व्यवसायिकता हाम्रो मूल मन्त्र हो । नेपालको कृषि सहकारीको नेतृत्व मैले सम्हालेको छु र यो भन्नै पर्छ कि अहिले नेपालका कृषि सहकारीहरूले देशलाई धेरै कुरामा आत्मनिर्भर उन्मुख बनाएका छन् । किसान दाजुभाइ तथा दिदीबहिनीहरू दिनरात नभनेर कृषिमा लाग्नुभएको छ ।

उहाँहरूलाई म विशेष रूपमा सम्झन चाहन्छु । हाम्रो कृषि सहकारी करिव ८ सयभन्दा बढी संस्था र लाखौँको संख्यामा सदस्य छन् तर कहीँ कतै समस्या छैन । कृषि सहकारीका सदस्यहरू उत्पादनमा लाग्नुभएको छ । कृषि सहकारीहरूको आम्दानी लाखौँ करोडौँमा पुगेको छ । जसले कृषिमा सम्भावना छ, भन्ने प्रमाणित गरिदिएको छ ।

नेपालमा करोडौंको मासुजन्य पदार्थ भारतबाट भित्रने अवस्था थियो तर अहिले नेपाल मासुजन्य पदार्थमा आत्मनिर्भर छ । यस्तै तरकारी, दूध लगायतका खाद्यान्नमा आत्मनिर्भर उन्मुख हुनुको भित्री कारण कमैलाई मात्र थाहा होला तर आज म यसै पत्रिकामार्फत जानकारी दिन्छु यो सबै साना किसान र कृषि सहकारीको देन हो ।

khem pathak1

नेपाल कृषि सहकारी केन्द्रीय संघ कसरी अगाडि बढ्दै छ ?
छोटो समयमा नेपाल कृषि सहकारी संघ यस स्थानसम्म आइपुगेको छ । मलाई ०६४ साल हिजोजस्तै लाग्छ जतिबेला म नेपाल कृषि सहकारी केन्द्रीय संघ झोलामा बोकेर हिँडथे । तर, अहिले २५ जनाभन्दा बढी केन्द्रीय संघमा कर्मचारी साथीहरू हुनुहुन्छ ।

हाम्रो नेटवर्क करिब ७० जिल्लामा पुगेको छ । ५० वटा जिल्ला कृषि संघ भइसकेका छन् । हजारौँले विभिन्न संस्थामार्फत रोजगारी पाउनुभएको छ ।गाउँमा सुशासन र आर्थिक समृद्धिका बाटाहरू खुलेका छन् । अन्तर्राष्ट्रिय निकायले विषेश महत्वका साथ हामीलाई हेरिरहेको छ । अहिले हामी २६ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी संघसंस्था र निकायहरूसँग सहकार्य गरिरहेका छौँ ।

हामी पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म पुगेका छौँ भने राउटेदेखि वनकरिया, मुसहर र चमारहरू जस्ता समुदायसम्म पुगेर आयआर्जन र व्यावसायिकताको अभ्यास थालेका छांँ । अहिले हामीले तल्लो तहदेखि माथिल्लो तहसम्मका साना किसान र कृषि सहकारीहरूको अवस्था हेरी स्तरोन्नतिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।

तपाईं कृषि सहकारी केन्द्रीय संघको अध्यक्षमा निर्वाचित हुने बितिकै ५ वर्षमा नेपालका साविकका १ हजार गाविसमा साना किसानको कार्यक्रम पु¥याउने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । यो कार्यक्रम कहाँ पुग्यो ?
हामीले १५ सयभन्दा बढी साविकका गाविसमा हाम्रो कार्यक्रम पु¥याइसकेका छौँ । अब स्थानीय तहअनुसार अझैँ कार्य क्षेत्र अझै ब्यापक बनेर गएको छ । गाउँगाउँबाट साना किसान कार्यक्रम र कृषि सहकारीहरूको माग बढिरहेको छ । तर, हामी विषेशगरी आर्थिक रूपले पछाडि परेका र काम गर्ने किसानहरूलाई छनोट गरेर संस्था स्थापना गरिरहेका छौँ ।

सहकारी क्षेत्रमा व्यापक विकृति छन् भनिन्छ, नि ?
तपाईंले भनेको कुरा एक हदसम्म सही हुनसक्छ । तर, व्यापक भन्ने शब्दको ओजन जति छ त्यति विकृति छैनन् । म दाबाका साथ भन्छु कृषि सहकारीमा त छँदै छैन यदि थाहा पाउनुभएको छ भने हामीलाई भनिदिन सक्नुहुन्छ । अरू केही एक÷दुई सहकारीमा केही कमीकमजोरी भएको होला त्यो पनि अभियानमा सहभागी नभएका सहकारीमा त्यस्तो भएको छ ।

३४ हजार सहकारीमा दुई÷चारमा समस्या आयो भन्दैमा सबैलाई एउटै डालोमा राख्न मिल्दैन । अहिले नयाँ ऐन पनि आईसकेको छ । पुरानै समयमा बदमासी गर्नेलाई पनि सरकारले मौजुदा कानुन अनुसार कार्बाही अगाडि बढाएकै थियो । र भोलिका दिनमा तपार्इंले यस्तो प्रश्न नै गर्न नपरोस् र पर्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।

साना किसान विकास बैंकको वर्तमान अवस्था कस्तो छ ?
साना किसानहरूको श्रीवृद्धिका लागि सरकारी र सहकारी संस्थाहरू मिलाएर साना किसान विकास बैंक स्थापना भएको हो । कुनै समय थियो साना किसान विकास बैंक धरासायी हुन्छ कि भन्ने तर अहिले त्यस्तो छैन । हामीले सरकारी र केही निकायको सहयोगमा पुँजी परिचालन गरेका छौँ । यसले साना किसानहरूको बीचमा कर्जा प्रवाह गरिरहेको छ । जसको प्रतिफल शतप्रतिशत पाइएको छ ।

यो नै यसको बलियो पक्ष बनेको छ । कर्मचारी साथीहरू पनि आआफ्नो विषयमा जानकार हुनुहुन्छ । अर्को बलियो पक्ष र यसप्रतिको आमनागरिकको बुझाइ यसको सेयरको कारोबारले पनि देखाउँछ । अहिले तपाईंले देख्न सक्नुहुन्छ १ सय रुपैयाँको सेयरको सेयरधनीले १५ सयभन्दा बढी नाफा कमाएका छन् । साना किसान विकास बैंकको अवस्था मजबुत छ । अझै यसलाई देशको एक नम्बर बैंक बनाउने अभियानमा हामी छौँ ।

अर्थतन्त्रमा साना किसान विकास बैंकको भूमिका के हुन्छ ?
अर्थतन्त्रमा सोझै त होइन कुनै न कुनै रूपमा साना किसान विकास बैंकले सहयोग गरिरहेको छ । आयात प्रतिस्थापनमा जसरी साना किसानको उत्पादनले सहयोग गरिरहेको छ । त्यसको प्रभाव अर्थतन्त्रमा पर्छ र त्यो नै साना किसान विकास बैंकको भूमिका हो । त्यस्तै गरेर कामकाजी नभएका किसानहरूलाई ऋण प्रवाह गरेर साना किसान विकास बैंकले कामकाजी र स्वरोजगार बनाएको छ । जसले अर्थतन्त्रमा निकै ठूलो भूमिका खेलेको मेरो ठम्याइ रहेको छ ।

साना किसान विकास बैंकका भावी योजना के छन् ?
हामी चाहन्छौँ देशमा सबै होइन राम्रो कृषि कर्म गर्ने व्यावसायिक किसानहरू होऊन् र जसले उत्पादन गरेका खाद्यान्नले अधिकतम कृषिको माग पूरा गरोस् । अहिलेसम्मका साना किसान विकास बैंकले अर्थ संकलनमा मात्र जोड दिएको छैन र भोलि पनि दिने छैन । यसले किसानहरूलाई आत्मनिर्भर बनाउन सधैँ लागिरहने जानकारी गराउन चाहन्छु ।

विषेशतः हामीले अहिले सञ्चालन गरिरहेको र निरन्तरता दिने कार्यक्रमहरूमा पशुपालन कर्जा कार्यक्रम हाम्रो पहिलो प्रथमिकतामा रहेको छ, जसले किसानहरूलाई सधैँ व्यावसायिकता वा आय आर्जनसँग जोडिरहन्छ । यस्तै गरेर पशुधन सुरक्षण लघुबिमा कार्यक्रम यसले किसानहरूलाई ढुक्कसँग पशुपालनका लागि उत्प्रेरण दिइरहन्छ र दिइरहेको छ । साना किसान वातावरण तथा नविकरणीय ऊर्जा कार्यक्रम यस कार्यक्रममार्फत हामीले विषेशतः ग्रामीण भेगका साना किसानहरूलाई लाभ दिन खोजेका छौँ ।

हामीले ग्रामीण गरिबको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन स्थापित साना किसान कृषि सहकारी संस्था तथा अन्य समान प्रकृतिका लधुवित्त संस्थाहरूको स्वामित्वमा सञ्चालन हुने लघुवित्त क्षेत्रका एक अग्रणी र वित्तीय सक्षमतायुक्त थोक कर्जा प्रदायक बैंकको रूपमा स्थापित हुने रणनीतिक योजनासहित अगाडि बढिरहेका छौँ ।

अन्तमा…
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड र साना किसान विकास बैंकलाई विश्वास गरेर विभिन्न कार्यक्रममा सहकार्य गर्नुहुने नेपाल सरकार, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका कारण आज हाम्रो अभियान सफलता उन्मुख बाटोमा पुगेको छ । देश संघीय संरचनामा अगाडि बढिरहेको छ र अब हामीले यही संरचना अनुसार काम गर्नुपर्नेछ ।

तर, कताकता सुन्दै छु सहकारी तथा गरिबी निवारण मन्त्रालय खारेज हुने भनेर यो सहकारी आन्दोलनका लागि मान्य विषय होइन । सहकारीलाई आर्थिक समृद्धिको एक खम्बाका रूपमा स्वीकार्ने सरकार अनि सहकारी मन्त्रालय नै खारेज गर्ने पनि सरकार कि सरकारले सहकारी बुझेको छैन कि सुझाव दाताले बुझेका छैनन् । यो पुनर्विचार गर्न म यही सौर्य दैनिकमार्फत आह्वान गर्न चाहन्छु ।

प्रतिक्रिया