श्रष्टा सम्वाद : पहुँच र अवसरको कमी यथावत नै छ

mahananda 1

महानन्द ढकाल, बाँकेको कोहलपुरमा रहेर साहित्य साधना गरिरहेका सर्जक हुन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरका अध्यक्षसमेत रहेका कवि ढकालका ‘खण्डित आत्मा’ (२०५८), ‘उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरू (२०५९)’ र ‘अव्यक्त प्रत्याशा (२०६३)’ गरी ३ वटा गजल संग्रह र ‘घाम उदाए (२०६८)’ हाइकु संग्रह प्रकाशित भइसकेका छन् । विभिन्न पत्रपत्रिकामा साहित्यसम्बन्धी लेख रचना प्रकाशित गर्दै आएका ढकाल दर्जनभन्दा बढी साहित्यिक संघसंस्थाबाट सम्मानित पुरस्कृत भइसकेका छन् । मोफसलको साहित्यका बारेमा ढकालसँग सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको संवाद ः

कोहलपुरको साहित्यिक माहोलका बारेमा बताइदिनुस् न ?
साहित्य, कला र संस्कृतिको विकासका लागि ०५७ सालमा स्थापित ‘पूर्णिमा साहित्य समूह’, ०६२ मा स्थापित ‘तुलसीराम स्मृति प्रतिष्ठान’, ०६४ मा स्थापित ‘नौलो सुनाखरी साहित्य समाज’ र ०६८ ताका सञ्चालनमा आएको गजल साँझको एकीकरणबाट हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको स्थापना भएको हो । एकीकरणपश्चात यो संस्थाले साहित्यिक माहोल सिर्जना गर्दै आएको छ । महत्वपूर्ण साहित्यिक कृतिहरूको अन्तत्र्रिmया गर्नेदेखि स्थानीय स्तरका साहित्यकारहरूलाई हौसला दिँदै आएको छ । स्थापित साहित्यकारहरूदेखि नवसर्जकहरूलाई सँगसँगै लिएर हिँडेको यो संस्था वर्तमान समयसम्म आइपुग्दा पश्चिम नेपालको साहित्यिक नेतृत्व गर्ने संस्थाका रूपमा परिचित भइसकेको छ ।

स्थानीय स्तरमा साहित्य रचनाका चुनौती के कस्ता रहेका छन् ?
साहित्यले समाजलाई प्रभाव पार्छ भने समाजको प्रभाव साहित्यमा पनि देखिने गर्छ । अपवादबाहेक समाजअनुसार स्रष्टाको अवधारणा बन्ने गर्दछ । हाम्रो समाज धेरै विकसित समाज होइन । हामी कहाँ अझै पनि पठन संस्कृतिको विकास भइसकेको छैन जसको प्रभाव स्थानीय रचनामा देख्न सकिन्छ । यस्तो हुँदाहँुदै पनि यस क्षेत्रमा राम्रा साहित्यकारहरू हुनुहुन्छ । तर, स्थानीय स्तरका साहित्यिक रचनाहरू राम्रा र स्तरीय हुँदाहुँदै पनि समालोचकको आँखामा पर्न नसक्नुले चर्चा परिचर्चा कमजोर हुने गरेको छ । प्रकाशनको समस्या, वितरणमा समस्या पनि देखिने गरेको छ । स्थानीय स्तरमा निस्केका पुस्तकहरूलाई स्थापित साहित्यकार र समीक्षकहरूले कम विश्वास गर्ने र अध्ययन नगरिदिने हुनाले पनि कतिपय सम्भावनाहरू बीचैमा विलय हुने गर्छन् यो स्थानीय साहित्यको चुनौती हो । समस्या हो ।

स्थानीय रूपमा साहित्यिक, सांस्कृतिक चेतना अभिवृद्धिमा यहाँले के कस्ता दृष्टिकोण अगाडि सार्नुभएको छ ?
हामी निरन्तर जुटिरहेका छौँ । साहित्यका हरेक विधाप्रति हाम्रो उत्तिकै सम्मान छ । सामाजिक विकृति र विसंगतिका विरुद्धमा कलमको माध्यमबाट आवाज उठाउँदै आएका छौँ । समयसमयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेका छौँ । स्थानीय कलाकारलाई स्थापित गर्न एकल चित्रकला प्रर्दशनीदेखि एकल कविता वा गजल वाचनका साथसाथै कृति प्रकाशनलाई योजनावद्ध रूपमा अगाडि बढाएका छौँ । भाषा, साहित्य र कलाकोे संरक्षणका लागि विभिन्न अक्षयकोष खडा गरी पुरस्कारको समेत स्थापना गरेका छौँ ।

कोहलपुर विविध सांस्कृतिक विविधताको केन्द्र पनि हो, त्यसको प्रभाव साहित्यमा कत्तिको परेको छ ?
कोहलपुरमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्तर हुम्ला, जुुम्लादेखि दक्षिणमा भारतीय मूलका मानिसहरूको समेत बसोबास रहेको छ । मिश्रित समाज र संस्कृति भएको यस क्षेत्रमा भाषामा समेत विविधता छ । हरेक भाषा र संस्कृतिले यस क्षेत्रको साहित्यमा प्रभाव पार्ने गरेको छ उदाहरणका रूपमा यस क्षेत्रको गजल साहित्यलाई हेर्न सकिन्छ । यहाँका नेपाली गजलहरू सशक्त हुनुको पछाडि उर्दू साहित्यको प्रभाव हो । गजल गायनमा होस् वा वाचनमा यहाँका गजलले सबैलाई लोभ्याउने गरेका छन् । आख्यानतर्फ पनि सनत रेग्मीका कथामा होस् वा नयनराज पाण्डेका उपन्यासमा यस क्षेत्रको भाषा संस्कृतिको प्रभाव स्पष्ट देख्न सकिन्छ । त्यसैले पनि यहाँको साहित्यमा विविधता छ भन्न सकिन्छ ।

केन्द्रीय पहुँच र अवसरका दृष्टिले मोफसलको कला र साहित्य पछाडि नै छ नि ?
हामी कहाँ राम्रा साहित्यकारहरू प्रशस्त छन् । सनत रेग्मी, नयनराज पाण्डेजस्ता साहित्यकारहरू हाम्रै क्षेत्रका हुन् । उनीहरूले राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइसकेका छन् । तर, यस क्षेत्रमै बसोवास गर्ने कैयौँ साहित्यकार तथा कलाकारहरूले राम्रो प्रतिभा भएर पनि स्थापित हुन सकेका छैनन् । यहाँ प्रकाशन गृहहरू छैनन् । कति साहित्यकारहरूले आपैmँ कृति प्रकाशन गर्ने क्षमता राख्न सक्दैनन् । प्रचारप्रसारको अभावका कारण पहुँचभन्दा बाहिर रहेका छन् राम्रा साहित्यकारहरू । केन्द्रमा रहने साहित्यकारहरू तथा प्रकाशन गृहहरूले मोफसलका साहित्यकारहरूका रचनाहरूको अध्ययनमा कम चासो दिने गरेकोले पनि मोफसलको साहित्य र कला पछि परेको हो जस्तो लाग्छ । प्रकाशकहरूको मन जित्न नसक्नु र प्रकाशित कृतिहरूको बजार विस्तार गर्न नसक्नुले पनि चर्चा परिचर्चा कम हुने गरेको पाइएको छ मोफसलको साहित्यको । यस्तो हँुदाहुँदै पनि मोफसल हँुदै केन्द्रमा पुग्नु भएका साहित्यकारहरू नै अहिलेको नेपाली साहित्यको मूल धारमा रहेको स्पष्ट देख्न सकिन्छ । पहुँच र अवसर पाउने हो भने स्थानीय कला साहित्यले स्तरीयतामा फड्को मार्न सक्छ । तर पहँुच र अवसरको कमी यथावत नै छ ।

स्थानीय स्तरमा कला र साहित्यको विकास गर्नका लागि राज्यको भूमिका के हुनुपर्ला ?
कला साहित्य राज्यका गहना हुुन् । राष्ट्रिय पहिचानमा कला साहित्यको स्थान सबैभन्दा माथि छ । राज्यले कला साहित्यमा लगानी गर्न सकेको छैन । राज्यको जति लगानी छ त्यो पनि सहर केन्द्रित छ । ग्रामीण क्षेत्रको कला साहित्यको संरक्षण हुन सकेको छैन । हामीले स्थानीय स्तरमा रहेका कला र साहित्यलाई अगाडि बढाउँदै आइरहेका छौँ । हाम्रो कोशिस जारी छ । विभिन्न साहित्यका विभिन्न विधामा प्रशिक्षण कार्यक्रम सञ्चालन, एकल चित्रकला प्रदर्शनी, कवि गोष्ठि, पुस्तक समीक्षा कार्यक्रमसमेत सम्पन्न गरिसकेका छौँ । यी कार्यहरू राज्यका तर्पmबाट गरिनुपर्ने कार्यक्रमहरू हुन् । भाषा साहित्यको विकासका लागि प्रज्ञा प्रतिष्ठान सहर केन्द्रित भइरहेको छ । भाषा, साहित्य, कला संस्कृति सहरमा मात्र छैन । प्रत्येक स्थानीय स्तरमा भाषा, साहित्य र कलाको विकासका लागि अनिवार्य रूपमा बजेट छुट्याउने व्यवस्था सरकारले गर्नुपर्छ । यो राज्यको कर्तव्य पनि हो ।

पछिल्लो समय नेपाली साहित्यलाई कसरी हेरिरहनुभएको छ ?
पछिल्लो समयमा नेपाली साहित्यले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो पहिचान कायम गर्दै छ । नेपाली भाषामा प्रकाशन भएका पुस्तकहरू विभिन्न देशका विभिन्न भाषाहरूमा प्रकाशन तथा अनुवाद हुन थालेका छन् । अन्तरर्राष्ट्रिय कलेजहरूमा समेत नेपाली साहित्यकारहरूका कृतिहरू पठनपाठन हुन थालेका छन् । नेपाली साहित्यको स्तर बढ्दै गएको र विश्व साहित्यसँग घुलमिल हुँदै गएको अनुमान भइरहेको छ । नेपाली साहित्यका पारखीहरूले अन्तर्राष्ट्रिय लेखकका कृतिहरू पढ्ने बानीको विकास गरेको पाइन्छ । यसले पनि नेपाली साहित्य विश्व सहित्यसँग घुलमिल हुँदै छ र नेपाली साहित्यको स्तरीयतामा वृद्धि हुँदै छ भन्न सकिन्छ ।

भूमण्डलीकरणले स्थानीय सांस्कृतिक क्षेत्रलाई कस्तो प्रभाव पारेको अनुभव गर्नुभएको छ ?
विश्व साँघुरो बनेको छ । इमेल इन्टरनेटको प्रयोगकर्ता बढेका छन् । संसारको कुनै कुनामा प्रकाशन भएको पुस्तक इन्टरनेटको माध्यमबाट गाउँगाउँसम्म पुगेको छ । भूमण्डलीकरणले चेतना स्तरमा वृद्धि गराएको छ । जसको कारण पुस्तक पारखीको संख्या बढेको छ । पठन संस्कृतिको विकास हुँदै छ ।

अन्त्यमा …
अवसरका लागि धन्यवाद ! हामी राज्यको आश नगरी आफ्नो कर्तव्यका लागि अगाडि लागिपरेका छौँ । राज्यको मुख ताकेर साहित्य र कलाका विकास हुन सक्दैन । साहित्यमा सफल हुनका लागि पहिलो कुरा अध्ययन गर्नु जरुरी छ । अध्यय विनाको साहित्य अधुरो र अपुरो हुन्छ । आफ्नो मूल्यांकन पाठकले गर्ने हो, अनि आफूभन्दा अग्रजले गर्ने हो । आफूले लेखेका रचनाहरू पुनर्लेखन गर्न जरुरी छ । साहित्यमा रुचि भएका मित्रहरूले अध्ययन र साधनामा जोड दिनु आग्रह गर्दछु ।

प्रतिक्रिया