‘एमालेमा जत्तिको देशभक्तिको भावना अरूमा देखिनँ’

komal-4लोकगायिकाको रूपमा राम्रो छवि बनाएकी कोमल ओलीका पछिल्ला दिनहरू गायनमा भन्दा राजनीतिमा बढ्न थालेको छ । रेडियो नेपालको स्थायी जागिर छाडेर राप्रपामा प्रवेश गरेकी उनी त्यहाँ एक वर्ष पनि टिक्न सकिनन् । टुक्राटुक्रा भएको राप्रपा छोडेर गतहप्ता एमाले प्रवेश गरेपछि उनको चर्चा अझ बढेको छ । उनलाई एमालेले आगामी निर्वाचनका लागि दाङबाट सिफारिस गरेपछि उनको धेरैजसो समय पार्टी केन्द्रीय कार्यालय धुम्बराही र एमाले नेताहरूको घरमा बित्ने गरेको छ । एमाले प्रवेश र आउने राजनीति यात्राका सन्दर्भमा सौर्य दैनिकका लागि चमिना भट्टराईले ओलीसँग गरेको संवादः

komal oli 1 copyएमालेको कुन कुराको प्रभावले राप्रपा छोडेर एमाले बन्नुभयो ?

लामो समय रेडियो नेपालमा जागिर खाएँ । गीत र संगीतको माध्यमले देशको सेवा गरेँ । गीत गाउँदा र सामाजिक काम गर्दाका अनुभव र बुझाइले मलाई लाग्यो, यी सबै चीजले समाजको आमूल परिवर्तन गर्न सकिँदैन रहेछ ।

आमूल परिवर्तनका लागि राजनीति अनिवार्य छ भन्ने ठानेँ । देशको मुहार फेर्ने भनेकै राजनीतिले हो भन्ने सोचेर रेडियो नेपालको जागिर छोडेर राप्रपामा सक्रिय राजनीति गर्न होमिएँ । त्यहाँ पनि उपयुक्त जिम्मेवारी पाएकै थिएँ ।

राप्रपा किन छोडनुभयो ? राजनीति गर्ने ठाउँ त त्यहाँ पनि थियो नि होइन ?
–हो त्यहाँ पनि राम्रै थियो सबैले माया गरेर भोट दिएँ । राम्रो मत ल्याएर केन्द्रीय सदस्य भएँ । तर, राप्रपामा देखिएको आन्तरिक कलह, गुट र फुटले मलाई  दु:खी बनायो । जे सोचेर गएको थिएँ त्यस्तो पाइनँ । महाधिवेशन सकिएको २५ दिनमा डा. प्रकाशचन्द्र लोहनीले पार्टी छोडर जानुभयो । उहाँले पार्टी छोड्दा दाँतमा ढुंगा लागेजस्तै भयो मन कुडिएर आयो । म उहाँलाई आदर गर्थें ।

स्थानीय निर्वाचनमा पनि राप्रपाले त्यति राम्रो भूमिका निर्वाह गर्न सकेन । म जहाँजहाँ जान्थे असन्तुष्टि मात्र सुन्थे । नेता कार्यकर्ता कतै खुसी थिएनन् । निर्वाचनमा पार्टीले राम्रोसँग प्रस्तुति गर्न पनि सकेन । फेरि २२ साउनमा पशुपतिशमशेर राणाहरू पनि फुटेर जानुभयो । त्यसपछि मुटु नै चकनाचुर भयो । पार्टी एकप्रकारले विछिप्तजस्तै भयो । यही सबै घटनाले मेरो मन पनि टुक्रियो । त्यसपछि म विचलित भएँ । अब यहीँ बसेर केही गर्न सकिदैन भन्ने लाग्यो ।

तर, त्यो अवस्थामा छोडनु हुन्थ्यो ?
मेरो स्वार्थ, साध्य र उद्देश्य जे भने पनि राष्ट्र नै हो । राष्ट्र, राष्ट्रियता र मुलुक रहेन भने केही पनि हुँदैन भन्ने मैले बुझेको छु । त्यो हिजो राजनीति नगर्दा पनि बुझेको थिएँ । राष्ट्र रहे मात्र हामी सबैले राजनीति गर्न सक्ने हो र राष्ट्र नै रहेन भने कसरी राजनीति गर्ने ?

यसमा म प्रष्ट छु । मुलुक रहनुपर्छ र जे गर्नु छ त्यहीभित्र गर्नुपर्छ भन्ने मेरो २ मत छैन ।राष्ट्रियता, स्वाधीनता, अखण्डता र स्वभिमानभन्दा बाहिर कोहि पनि जान सकिँदैन । यसमा म सधैँ सचेत छु ।

नेपालका राजनीतिक पार्टी मध्ये एमाले त्यसमा सबैभन्दा माथि छ । यी सबै कुरा एमाले बाहेक कसैले पूरा गर्न सक्दैन भन्ने लागेर एमाले भएकी हुँ । केही पाउनका लागि केहि छोडुनपर्छ त्यसैले राप्रपा छोडेर एमाले भएँ ।

एमाले प्रवेश गर्ने सोच कहिलेदेखि बनाउनुभएको थियो ?
–विभिन्न कार्यक्रमहरूमा वा भेटघाटमा एमाले नेताहरूले भन्नुहुन्थ्यो, ‘कोमल जी एमाले हुनुप¥यो,’ म विचार गरुँला नि भन्थेँ । न उहाँहरूले गम्भीर रूपमा भन्नुभयो न मैले गम्भीर रूपमा लिएँ । त्यस्ता संवाद नेता र व्यक्तिगत रूपमा मसँग नजिक रहेका एमालेका साथीहरूसँग बारबार हुन्थे । तर, पछिल्लो समय राप्रपासँग मन मरेपछि मैले एमाले बाहेक अरू पार्टीबाट यो मुलुकको भविष्य सुरक्षित ठानिनँ र एमाले भएँ । त्यसका लागि धेरै समय लागेन ।

komal-2

तपाईं जुन पृष्ठभूमिबाट आउनुभयो, आज ठीक विपरीत भएको छ । एमाले नेताकार्यकर्तासँग एमाले भएर प्रस्तुत कुन कुरा गर्न अप्ठ्यारो लागेको छैन ?
पार्टीको नेतृत्व धेरैसँग मेरो राजनीतिभन्दा फरक ढंगले कुराकानी भेटघाट हुन्थ्यो । कोही कसैसँग अपरिचत वा पहिलो भेट होइन । अधिकांश नेताहरूसँग उहाँहरू प्रधानमन्त्री, मन्त्रीका रूपमा र म लोकगायिकाको रूपमा भेट कुराकानी हुन्थे ।

सामाजिक कार्यक्रमहरूमा पनि नेताहरूसँग भेटघाट कुराकानी हुन्थ्यो । म सबैसँग खुलेर बोल्ने भएकोले पनि समस्या थिएन । फरक यति हो अहिले म उहाँहरूसँगै एउटै पार्टीमा छु ।  उहाँहरू अहिले पनि मेरो नेता हो म उहाँहरूको निर्देशनमा चल्ने सिपाही ।

एमाले नेताहरूसँग अभिभावकीय अपनत्व पहिलादेखि नै थियो । धेरै नेताहरू सरल र सहज लाग्थ्यो । सरकारमा भएका बेला उहाँहरूले धेरैपटक मेरो काम गर्नुभएको छ । त्यो म एमाले भएर होइन कलाकार भएकाले सहयोग गर्नुभएको थियो । कलाकार हुँदा पनि नेताहरूकहाँ जाने भेट्ने कुराकानी हुन्थेँ । म हिजो सबैको साझा मान्छे थिएँ । आज त्यसको अलवा एमाले भएको छु ।

राजनीतिमा नीति सिद्धान्तले चल्छ, ती कुरामा अप्ठ्यारो लाग्दैन सिक्नुपर्ने धेरै छ भन्ने लाग्छ कि लाग्दैन ?
हो मैले धेरै बुझ्नु पर्नेछ । कैयौँ कुरा बुझ्दै छु । कैयौँ कुराका विषयमा अध्ययन गर्दै छु । अहिले कमरेड, अभिवादनजस्ता शब्द बानी पर्न थालेको छ । पार्टीका नेता कार्यकर्ताले हिजो गायिका कोमल भन्थे आज कोमल कमरेड भन्नुहुन्छ, त्यसमा अपन्नत्व महसुस हुन्छ । अप्ठ्याराहरू समय क्रममा सहज हुँदै जानेछन् म आफैँ पनि सहज बनाउन लाग्नेछु । मैले एमाले भएर बुझ्न, सिक्न र गर्न धेरै बाँकी छ । म त्यो पूरा गर्छु ।

komal-3एमालेमा प्रवेश गर्दा केही कुराको बार्गेनिङ गर्नुभएको थियो कि ?
–अहँ छैन । पार्टी अध्यक्षसँगै कुरा भएको हो । उहाँले कोमल एमालेलाई योग्य र सक्षम छ । कोमल एमालेका लागि पनि सम्पत्ति हो भन्नुभयो । मलाई एमालेको नेतृत्वविना मुलुकको परिवर्तन, आर्थिक समृद्धि, सामाजिक परिवर्तन, राष्ट्रियताको संरक्षण र विदेशी हस्तक्षेप रोकिँदैन भन्ने लागेर एमालेमा आएको हुँ । मसँग भएको क्षमता र एमालेमा भएको नीतिसिद्धान्त मिलाएर चल्नुपर्छ भनेर एमाले भएको हुँ । मलाई एमाले भएबापत यो यो कुरा चाहिन्छ भनेर भएको छैन । मेरालागि उपयुक्त पार्टी एमाले देखेर विनाशर्त प्रवेश गरेको हुँ । यसमा मेरो निजी स्वार्थ छैन ।

पुराना एमाले नपरेर तपार्इं अहिले उम्मेदवारको सिफारिसमा पर्नुभयो त ?
नाम परेको छ । दाङको पार्टी कमिटीले मेरो पनि उम्मेदवारको रूपमा नाम सिफारिस गरेको छ । म उम्मेदवार शर्त राखेर एमाले भएको भने होइन । पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नेछु । टिकट पाए पनि नपाए पनि, सांसद भए पनि नभए पनि एमालेको शिर उँचो पार्ने गरी कसैको मन नदुखाइकन काम गर्नेछु ।
पुराना नेताहरूले नपाएर तपाईंले पाउन लागेकोमा पुरानाले मन दुखाउँदैनन् ?
म हिजोका पुराना एमाले नेता कार्यकर्तासँग आग्रह गर्छु । म कसैको भाग खोस्न आएको होइन । सबैको आआफ्नै स्थान हुन्छ । कुनै दिदीबहिनीले चिन्ता नलिए हुन्छ । कोमल ओलीले कसैको भाग खोस्दिन । तपाईंहरूको योगदानको पार्टीले कदार गर्छ ।

म आफ्नै क्षमता अनुसार चल्ने हो । एक अर्कोको सारथी भएर काम गर्न चाहन्छु । कसैका मन दुःखाउन चाहन्न । हरेक कुरामा तपाईंहरूको साथ र सहयोगले काम गर्नेछु । पार्टीले सबै नेता कार्यक्रता नयाँ पुरानाको उचित रूपमा व्यवस्थापन गर्छ भन्ने कुरामा म ढुक्क छु । र गर्नु पनि पर्छ कसैको कारणले कसैले मन दुखाउने ठाउँ बन्न दिनु हुँदैन ।

राप्रपामा १ वर्ष टिक्न सक्नुभएन एमालेमा कोमल ओली कति समय टिक्लिन आशंका छ । कति समय टिक्नुहुन्छ एमालेमा ?
यो शंका कसैले नगर्दा हुन्छ । म कति समय एमाले हुन्छु भनेर प्रवेश गरेको होइन । अघि भने जस्तै म जे जे कुराको प्रभावमा एमाले भएँ ती कुराहरू पार्टीमा रहदाँसम्म म एमाले रहिरहनेछु । जीवनका बाँकी समय एमाले भएर पार्टीको निति सिद्धान्तअनुसार आफ्नो हैसियतले भ्याएसम्म काम गर्नेछु । कमाउनु कमाए अब कमाउनु केही छैन । एक्लो जीवन छ ।

सरकारी सेवा गरेबापत सरकारले पेन्सन दिन्छ त्यसैले पनि म चल्छु । मैले एमाले जस्तो पार्टीमा काम गर्न पाउनु र एमालेले मजस्तो मान्छे पाउनु दुवैको हितमा छ । लाखौँ नेता कार्यकर्ता भएको पार्टीमा रहन पाउनु मेरो लागि गर्वको कुरा हो । म सबैसँग आग्रह गर्न चाहन्छु मप्रति शंका होइन विश्वास र सहयोग गर्नुस् । इमानदार एमाले कार्यकर्ता बन्नेछु ।

komal-6

तपाईंको पहलमा अन्य केही कलाकार एमाले प्रवेश गर्ने कुरा सत्य हो ?
पार्टी प्रवेशसँगै सबैले काम गर्ने ठाउँ खोज्दा रहेछ । जान त जाने गएपछि पाउने जिम्मेवारी के हुने हो भन्ने । एमाले हुन चाहने कलाकार साथीहरूको पनि त्यहि सोच छ । स्पेस खोज्ने काम भएको छ । त्यहीबीचमा केही कलाकार प्रवेशका कुरा भएकै हो ।

तर, यो बीचमा वामसमीकरणले नेताहरू व्यस्त बनाएको छ । फेरि निर्वाचनले पनि यी कुरा टुंगिएको छैन । राष्ट्रवादी कलाकारहरूको एउटा समूह एमालेमा आउन तयार छन् । र, आउनु पनि पर्छ भन्ने मेरो मान्यता छ ।

हिजोको जस्तो गोजीमा गाँठ भएको मान्छे खोज्ने गीत गाउनुहुन्छ कि गाउनुहुन्न ?
हिजो मेरा गीतहरू सबैलाई पचेनन् होला । तर, मैले बुझेअनुसार ती सबै प्रगतिशील थिए । छोरीहरूले गाँठ भएको केटा खोज्छन् त्यसैले सक्षम बनेर गाँठ कमाउनुपर्छ भन्नु गलत होइन । यसले बेरोजगार युवाहरू श्रम गरेर आत्मनिर्भर हुन्छन् भन्ने हो ।

अर्को कुरा माहिला आफैँ सक्षम भएर आफ्ना जीवनसाथी रोज्ने हैसियत बनाउनु गलत होइन त्यो प्रगतिशील कुरा हुन् । पोइल जाने हैसियत हरेक महिलाको हुनुपर्छ आजको युगमा घुम्टोभित्र बसेर केटाले केटी रोज्ने अनि लुरुलुरु जाने होइन । आफ्ना लागि मन मिल्ने भावना बुझ्न पति आफैँ खोज्ने हैसियत छोरीहरूले बनाउनुपर्छ भनेको हुँ त्यो प्रगतिशील छ । म आवश्यकताअनुसार प्रगतिशील, राष्ट्रभक्ति भएका गीत गाउनेछु ।

नेपाली जनताले मेरो गीत मन पराउँछन् ती एमाले पनि हुन सक्छन् र अरू पनि हुन सक्छन् । अर्को कुरा मैले एमाले नहुँदै पनि बुझेको कम्युनिस्टहरू सबैलाई सक्षम बनाएर रोग, भोग र शोकबाट मुक्त गराउने पार्टी हुन् सबै नेपाली हुने खाने बन्नुपर्छ । हुँदा खाने मात्र होइन । त्यसैले समानतामा आधारित समाजवादउन्मुख समाज बनाउने एमालेको सिद्धान्तमा मेरो हेरक कोणबाट साथ र सहयोग रहनेछ ।

नेताहरूसँग एउटै मञ्चमा बस्दा पोइल जानपामजस्ता गीत गाउनुहुन्छ ?
–मेरो अडान छ ती गीतहरू प्रगतिशील थिए । ती गीतमा कहाँ अश्लील छ ? यसलाई गहिराइमा बुझेर सकारात्मक रूपमा बुझ्नु  प¥यो नि ! म हरेक प्रगतिशील र राष्ट्रवादी गीत गाउनेछु । त्यसैको माध्यमले जनताको बीचमा आफू पनि जानेछु र एमालेलाई पनि साथै लानेछु ।

प्रतिक्रिया