वाम तालमेल र एकीकरणबाट नेमकिपालाई फाइदा ः बिजुक्छें

Narayan_Man_Bijukchheनेपालीहरूको महान् चाड विजयादशमी नसकिँदै नेपाली राजनीतिले फरक मोड लिएको छ । सधैँभरी कम्युनिस्टहरू फुटे, कहिल्यै जुटेनन् भन्ने आरोप लागिरहेको बेलामा एमाले र माओवादी केन्द्र एक भएका छन् । उनीहरूले चुनावको लागि तालमेल गरी अघि बढ्ने भने पनि कालान्तरमा भने कम्युनिस्ट आन्दोलन अघि बढाउने गरी पार्टी एकीकरण गर्ने रोडम्याप तय गरेका छन् ।

यो स्थितिले अबको नेपालको राजनीतिक दिशा कस्तो हुन्छ ? भन्ने धेरैमा खुल्दुली छ । यो एकीकरणले पर्ने प्रभाव के हो ? अझ साना दललाई पर्ने प्रभाव के हुन सक्छ ? लगायतका विषयसँग सम्बन्धित रहेर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंसँग सौर्य दैनिकका लागि कमल न्यौपानेले गरेको कुराकानी ।

एमाले, माओवादी र नयाँशक्तिबीच भएको चुनावी तालमेलबारे तपाईंको प्रतिक्रिया के छ ?
उनीहरूले जेसुकै मनमा राखे पनि हुने परिणामचाहिँ त्यहीँ हो । किनभने हिजो संविधान संशोधन भनेर एमालेले मत दिएन । भारतको बुझाइ के रह्यो भने एमाले सरकारमा नरहेको हुनाले संविधान संशोधनमा मत नदिएको हो । ऊ सरकारमा भएको भए एमालेले मत दिनै पथ्र्यो । एमालेलाई सरकारमा ल्याएर संविधान संशोधनको प्रस्ताव ल्याएपछि अरूले समर्थन गर्ने भए र संशोधन प्रस्ताव पास हुने भयो ।

अस्ति इन्डियामा गएर शेरबहादुर देउवाले पञ्चेश्वर सम्झौता गरेका आएका छन्, त्यही सम्झौतालाई यो एकीकरणले लागू गर्छ । के गर्ने जेठो दाजुले अरूसँग ऋण लिएर आयो, घर बन्धक राख्यो, अब सबै दाजुभाइले त्यसलाई पूर्ति गर्ने हो । ऋण चुक्ता गर्ने हो । देशको हितमा छैन ।

Naryanman-Bijukchhe

तालमेलसँगै फेरिएको राजनीतिक परिस्थितिलाई कसरी हेर्नुहुन्छ ?
अब कांग्रेसले सरकार छोड्छ । उनीहरूको सरकार जान्छ अब । आज नभए भोलि, भोलि नभए पर्सी त जान्छ ।

त्यसकारण एउटा उपाय के हुन सक्छ भने उनीहरू संयुक्त भएर आउनुपर्छ । कि त तिमीहरूको पनि मेरो त्यही बुद्धि हो भनेर संयुक्त सरकार पनि बन्न सक्छ । बरु त्यसको निम्ति माधव नेपाल प्रधानमन्त्री हुने सम्भावना देखिन्छ ।

त्यो त उनीहरूले पुष्पकमल दाहाललाई अध्यक्ष, माधव नेपाललाई राष्ट्रपति र केपी ओलीलाई प्रम भनेकै छन् नि ?
भनेपछि त्यही हुन्छ । मिल्नुपर्छ, मिल्नुपर्छ, माओवादीलाई त्यसै पठाउनु हुन्न भनेर भनी आएकै हो । सबै चाँजोपाँजो मिलाएको माधव नेपालले हो । बाबुराम भट्टराईले हो ।

यो स्थितिमा कम्युनिस्ट आन्दोलन के हुन्छ ?
केही पनि हुँदैन, पहिला जेजस्तो थियो त्यही हुन्छ । तिनीहरू कम्युनिस्ट पनि होइनन्, वामपन्थी पनि होइनन् । त्यसो भएको हुनाले त्यसले कम्युनिस्ट आन्दोलनमा खास फरक पर्दै पर्दैन ।

विश्लेषकहरूले त कम्युनिस्टहरू एक भए, वामहरू एक भए, अब कम्युनिस्ट आन्दोलन अघि बढ्छ भनेर भन्न थालेका छन् नि ?
गधालाई सिरले छोपेर यो हात्ती हो, हात्ती हो है भनेर हुन्छ र ? खोलेर हेरे पो थाहा हुन्छ, यो त गधा पो रहेछ भन्ने । विश्लेषकहरूले जेसुकै मनमा राखे पनि हुने परिणाम त्यही हो । कालान्तरमा विश्लेषकहरू पनि जिल्ल पर्छन् । त्यो विश्लेषकहरू मात्र सही हुन्छन्, जसले एमाले र माओवादीलाई कम्युनिस्ट होइन भन्ने हिसाबले गयो भने तिनीहरू ठीक हुन्छन, कम्युनिस्ट भनेर भन्न थाल्यो भने विश्लेषकहरू नै निराश हुनुपर्ने अवस्था आउँछ ।

एमाले र माओवादीले सिद्धान्तको कुरै गरेको छैन । उनीहरूलाई सिद्धान्तको कुरा गर्न धेरै गाह्रो छ । सबभन्दा पहिले उसले मजदुर किसानको काम गर्नुप¥यो । अहिलेसम्म तिनीहरूले मजदुर किसानको पक्षमा एउटा विधेयक ल्याएनन् । उनीहरूले अहिलेसम्म विदेशसँग गरेका सन्धी सम्झौतालाई गलत हो भन्नै सकेनन् । गर्छ के त ?

किन यस्तो भएको होला ?
वामपन्थी कम्युनिस्टहरूको भइदिएको भए सैद्धान्तिक कुरो पहिले हुन्थ्यो । तर त्यो कुरालाई तिनीहरूले पन्छाएका छन् । पहिलेदेखि नै एमालेलाई हामीले भाइ कांग्रेस भन्दै आएका हौँ । प्रचण्डजीहरूलाई पनि इन्डियाले बनाएको हो, इन्डियामै बसेको भनेर हामीले सिधै भन्दै आएका छौँ ।

त्यसकारण चुनावमा बहुमत ल्याउनका लागि उनीहरूले कोशिस गरेका हुन् । तर, त्यसको परिणाम के हुन्छ भने उनीहरूलाई सरकारमा ल्याए पनि आखिरमा संविधान संशोधनको कुरो हुन्छ । कांग्रेस र मधेसवादी दलहरूले उनीहरूको प्रस्तावलाई समर्थन गरेपछि दुईतिहाइ बहुमत हुन्छ । हाम्रो देशलाई क्षति पुग्छ ।

31052016051249Narayan_Man_Bijukchhey_0812-768x422

एमाले र माओवादी एक हुनुभन्दा अघि थ्रेसहोल्ड पनि आएको अवस्थामा ठूला दल नै थ्रेसहोल्डदेखि डराएको हो कि ?
थ्रेसहोल्डबारेमा हामीले एक्पोज गर्दै गयौँ । हामी ४ जना भए पनि हामीले गुनुपर्ने कर्तव्य पूरा गर्दै आएका छौँ ।

साथसाथै हरेक विधेयकमा पनि अरू केही पनि नगर्ने हामीचाहिँँ त्यसको अध्ययन गर्ने र त्यसले पुग्ने फाइदा बेफाइदा बारेमा बताउने गरेका छौँ । त्यो हामीले गर्दै आएको कुरा ठूला दलका नेताहरूलाई लाज लाग्यो ।

४ जनाले १५÷१५ मिनेट बोल्ने, हामीले केही गरेनौँ, हाम्रा कार्यकर्ता नै त्यस्तै हुन्, यिनीहरूलाई हटाउने काम गरेमा सजिलो हुन्छ भन्ने उनीहरूको मन । अथवा उनीहरूले के सोचे भने उनीहरूको मन जस्तो छ, हाम्रो पनि त्यही छ भनेर थ्रेसहोल्ड लगाएपछि त यिनीहरू बाध्य भएर कि कांग्रेसमा जान्छ, कि एमालेमा, कि माओवादीमा भन्ने विचार । त्यो विचार भनेको कम्युनिस्टको विचार होइन । उनीहरूको आँखाको चश्मै त्यस्तो छ ।

हामीले जनतालाई दिएको वचन, हामीलाई जुन उद्देश्यले मत दिएको हुन्छ, त्यसमा हामी तलमाथि गर्दै गर्दैनौँ, १ जना भए पनि त्यही, २ जना भए पनि त्यही र ४ जना भए पनि त्यही । त्यसमा हामीलाई विचलित गर्न सक्तैन । जहाँसम्म हारजित र मत तलमाथि हुन्छ, त्यो त जनताको चेतनाको स्तरसँग सम्बन्धित हो । हामीले अझै पनि जनताको बीचमा काम गर्नुपर्छ भन्ने नै शिक्षा दिन्छ ।

यो एकीकरणबाट पुग्ने फाइदाचाहिँ कसलाई हो ?
वामएकताको तालमेलबाट सबैभन्दा बढी नेपाल मजदुर किसान पार्टीलाई नै हो ।

कसरी हुन्छ नेमकिपालाई फाइदा ?
जनताले कम्युनिस्ट भनेका यिनीहरू हैनन् भनेर चिन्नेछन् । त्यो सिरक पन्छाएर हेर्दा त गधा पो रहेछ भन्छ । हत्तेरिका भोट दिएको पनि बेकार रहेछ भन्छ । अर्को चुनावदेखि त हामीलाई भोट दिन्छ । साँचो कम्युनिस्ट त नेमकिपा रहेछ भनेर भन्नेछन् र भोट हामीलाई दिनेछन्, यसैले यो एकीकरणबाट हामीलाई फाइदा पुग्छ ।

हामीले एमाले, माओवादीलाई कम्युनिस्ट होइनन् भनेर भन्दै आएकै हो । सदनमै भाइ कांग्रेस भनेकै हौँ । रिसाए । रिसाएर के फरक ? खण्डन गर्नु न, रोहितको कुरा झुटो हो भनेर खण्डन गर्नु न । तपाईंहरू साँच्चै कम्युनिस्ट हो भने खुसी त मै हुन्छु । त्यो एमाले र माओवादीले गर्नै सक्तैनन् ।

तर एकताको यो विषयमा एमालेले केही बोलेको छैन नि ?
बोलेको छैन, २÷४ जनालाई उनीहरूले सूर्य चिह्न लगाएर नयाँनयाँ पद्मरत्न तुलाधर खोज्दैछन् । त्यही गर्ने दाउमा छ एमाले ।

नेमकिपाको अबको भूमिका के रहन्छ ?
नेपाल मजदुर किसान पार्टीको हिजो जे थियो आज पनि त्यहि भूमिका रहन्छ । हामी प्रतिपक्षमै बस्छौँ । यतिबेला राजनीतिक दलहरूबीच भइरहेको तालमेलमा हामी जाँदैनौँ र आगामी दुबै तहका निर्वाचनमा एक्लै चुनावी मैदानमा उत्रिन्छौँ । चुनावमा जनताले दिएको मतको कदर गर्छौं ।

वर्तमान सरकारको भूमिका कस्तो देख्नुहुन्छ ?
कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाको नेतृत्वमा बनेको अहिलेको सरकार परिपक्क देखिँदैन । किनकि स्थानीय तहको निर्वाचन भइसक्दा पनि यो सरकारले अहिलेसम्म सिंहदरबारको अधिकार स्थानीयतहमा पु¥याउनसमेत सकेको छैन ।

यतिसम्मकी प्रधानमन्त्रीले अहिलेसम्म आफ्नै सचिवालय त पूर्ण गरेका छैनन् भने यो सरकारलाई कसरी मूल्यांकन गर्ने गम्भीर प्रश्न खडा भएको छ । अहिलेको सरकार राजनीतिक दलले नभएर कर्मचारीले चलाएको सरकार हो । यसैले सरकारका काम जनपक्षीय देखिँदैनन् ।

प्रदेश र प्रतिनिधि सभाको चुनाव तोकिएकै समयमा हुन्छ त ?
सरकारले बोलेको कुरालाई पूरा गर्ने इच्छाशक्ति राख्दछ भने तोकिएकै समयमा यी दुवै तहका निर्वाचन गराउनुपर्छ । नेपाल मजदुर किसान पार्टी तोकिएकै समयमा चुनाव होस् भन्ने मान्यतामा छ । यसका लागि निर्वाचन आयोगले पनि तयारी पूरा गरिसकेको कारण सरकारले यस विषयमा अरू बखेडा झिक्नु हुँदैन । हामी निर्वाचनका लागि मैदानमा उत्रन तयार छौँ ।

प्रतिक्रिया