नेपालकाे नर्सिङ कलेजमा कयाैँ किसिमकाे गिरोह सक्रिय छन् -तारा पोखरेल

tara pokhrel

नर्सिङ सेवा, जसलाई मानव सेवाका रूपमा पनि लिइन्छ । यो क्षेत्र स्वास्थ्य सेवा क्षेत्रको एक अभिन्न हिस्सासमेत हो । बिरामीलाई मायालु पाराले स्याहारेर रोग निर्मुल पार्नमा नर्सहरूको ठूलो भूमिका रहन्छ । तर, पछिल्लोपटक यो क्षेत्रमा थुप्रै समस्याहरू खडा छन् ।

सरकारले पनि नर्सिङ सेवालाई खासै चासोका रूपमा नलिएको र माग सम्बोधनका लागि आवश्यक पहल नगरेको उनीहरूको गुनासो छ । नर्सिङ सेवा क्षेत्रमा के के छन् त समस्याहरू ? नर्सहरूले भोग्नुपरेको समस्या, समाधानका लागि के के पहल हुँदैछन् ? यसै विषयलाई समेटेर नर्सिङ एसोसियसन अफ नेपालका अध्यक्ष तारा पोखरेलसँग सौर्य दैनिकका लागि मिक्साङ वाइबा तामाङले गरेको कुराकानी :

नेपालमा नर्सिङ क्षेत्रको पछिल्लो अवस्था के छ ?
नेपालमा नर्सिङ क्षेत्रको वर्तमान अवस्था त्यति सन्तोषजनक छैन । सरकारी अस्पतालहरूमा आवश्यक दरबन्दी खडा गरेको अवस्था छैन । प्राइभेटको त कुरै नगराैँ । अहिले नेपालमा ७२ हजार महिला नर्सिङ पेसामा आवद्ध छन् । नेपाल सरकारद्वारा सञ्चालित सरकारी अस्पतालमा २५ हजार नर्स आवश्यक छ ।

तर, १२ हजार १३ हजार नर्सबाट सरकारले काम चलाइरहेको छ । सरकार दरबन्दी बढाउनै चाहँदैन । सरकारले बनाएको मापदण्ड अनुसार जनरल वार्डहरूमा ५ जना बिरामीका लागि १ जना नर्स र स्पेसल वार्डमा एउटा बिरामी बराबर १ जना नर्स र अपरेसन थिएटरमा ३ जना नर्स हुनुपर्ने नियम छ । तर, यो कार्यन्वयनमा आएको पाइँदैन ।

४० जना बिरामीलाई एउटा नर्सले हेर्नुपर्ने अवस्था छ, त्यसो हुँदा क्वालिटी सर्भिस दिन सकिँदैन । त्यसकारण सरकार आफैँले बनाएको मापदण्ड आफैँले पूरा नगर्ने भएको हुँदा नेपालको परिप्रेक्षमा भन्नुपर्दा नर्सिङ क्षेत्रमा काम गर्न एकदमै गाह्रो छ ।

सरकारले दरबन्दी बढाउन किन चाहेनन् ?
नेपालमा एक त स्थिर सरकार छैन, अर्को यो स्वास्थ्य क्षेत्र त्यसमा पनि नर्सिङ क्षेत्रलाई सरकारले खासै प्राथमिकतामा राख्दैन । दरबन्दी बढाएपछि बजेटको कुराहरू पनि आउँछ । तलब भत्ताका लागि बजेट निकासा बढाउनु प¥यो । अर्को जनताप्रति सरकार बफादार छैनजस्तो लाग्छ मलाई । जनतालाई स्तरीय स्वास्थ्य सेवा दिनका लागि सरकार उत्तरदायी भएन ।

यसो हुँदा सरकारी अस्पतालहरूमा नै मापदण्डअनुसार दरबन्दी बढाउन नसकेपछि प्राइभेटहरूलाई पनि नियमको दायरामा ल्याउन सकेन, जसका कारण अहिले प्राइभेट अस्पतालहरूमा मनपरी राज चलेको छ । अहिले अधिकांश अस्पतालहरूको अवस्था यस्तै छ । दरबन्दी अपुगका कराण सरकारी अस्पतालहरूमा काम गर्नेहरूलाई ओभरलोड छ भने प्राइभेटहरूमा अधिकांश भोलिन्टियरमा काम गर्नेहरू छन् ।

यो भोलिन्टियरमा काम गर्ने नर्सहरू सरकारीमा बढी छन् या प्राइभेटमा बढी देख्नुभएको छ ?
विषेशतः प्राइभेट अस्पतालहरूमा बढी भोलिन्टयर राख्ने गरेको देखिन्छ तर सरकारी अस्पतालहरूमा पनि थुप्रै नर्सहरू भोलिन्टयरको रूपमा कार्यरत छन् । सरकारको क्षेत्रीय अस्पताल पोखरामा हामीले सय जना नर्सहरूलाई भोलिन्टयरको रूपमा काममा खटाएको पाएका छौँ । त्यहाँ करिब ३ सय जना नर्समा सय जना भोलिन्टयरको रूपमा काम गरिहेका छन् ।

हामीले किन भोलिन्टियरमा खटाएको भनेर सोध्दा उनीहरू सिक्न खोजेर आएको भन्ने जवाफ पायौँ । त्यस्तो नर्सहरूलाई नाइट ड्युटी खटाउने, एक्लै ड्युटी खटाउने र नसिकेका ठाउँहरूमा ड्युटीमा खटाएर जनताको स्वास्थ्यमा खेलवाड गर्ने काम पनि भइरहेको छ । पाइभेटको कुरै छोडौँ, अधिकांश निजी अस्पतालहरूमा भोलिन्टियरमा नर्सहरू खटाएका हुन्छन् । जनशक्ति अपुग छ भनेर सरकारलाई पनि थाह छ, तर दरबन्दी बढाएर आवश्यक जनशक्तिको मागलाई परिपूर्ति गर्न सरकार तत्पर देखिँदैन ।

तपार्इं नेपाल नर्सिङ एसोसियसनको अध्यक्ष पनि हुनुहुन्छ, नर्सिङ क्षेत्रमा कार्यरत व्यक्तिहरू कस्तो खालको समस्या लिएर बढी आउने गरेको पाउनुभएको छ ? अथवा एसोसियनसम्म कस्ताकस्ता खालका समस्याहरू बढी आउने गरेको छ ?

अहिले आउने मुख्य समस्या भनेको त्यही भोलिन्टियरकै हो । विनापारिश्रमिक काम खटायो भन्ने गुनासो लिएर आउँछन् । अर्को कम पारिश्रमिक पनि हो । स्टाफ नर्स भनेको सुब्बा सरहको हुन्छ र बिएससी नर्सिङ अधिकृत सरहको हुन्छ । तर, उनीहरूलाई ८–१० हजारमा काम लगाइरहेको हुन्छ । जुन आइएलओले तोकेको न्यूनतम पारिश्रमिक अनुपातभन्दा धेरै कम हो । नर्सिङ क्षेत्र जोखिमपूर्ण क्षेत्र पनि हो । विभिन्न किसिमका सरुवा रोग लाग्ने बिरामीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा गर्नुपर्ने हुँदा जोखिमपूर्ण हुने गर्दछ ।

त्यसरी प्रत्यक्ष बिरामीको सम्पर्कमा जाँदा रोग सर्ने सम्भावना पनि रहन्छन् । त्यसका लागि सन्तुलित भोजनहरू खानुपर्ने हुन्छ तर उनीहरूको तलबको लेबल अनुसार सन्तुलित भोजन त परको कुरा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल छ । यस्तै नर्सिङ क्षेत्रमा देखेको अर्को समस्या भनेको अस्पतालहरूले अनुभवी नर्सहरूलाई मात्र नियुक्त गर्न खोज्ने पनि एक हो । यसो हुँदा अनुभवकै लागि भए पनि नर्सहरू भोलिन्टियरमा काम गर्न बाध्य छन् ।

यो क्षेत्रमा रहेका समस्या समाधानका लागि एसोसियसनले केही पहल गर्दैछ कि ?
हजुर पक्कै पनि, हामीले पटकपटक नर्सिङ क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइरहेका छौँ । सरकारी अस्पतालमा दरबन्दी बढाउनका लागि बारम्बार घच्घच्याइरहेका छौँ । यसअघिको सरकारको पालामा पनि हामीले हाम्रो माग राखेका थियौँ तर सम्बोधन भएन । अहिलेको स्वास्थ्यमन्त्रीसमक्ष नर्सिङ क्षेत्रमा रहेका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छौँ । स्वास्थ्यमन्त्री ज्यूलाई हामीले मागपत्र पनि बुझाएका छौँ ।

अहिले केही पहल भएको छ, सरकारले हेल्थ पोलिसी बनाउनका लागि समिति गठन गरेको छ । यो समितिमार्फत काम भइरहेको छ । यद्यपि, त्यो पनि सन्तोषजनकरूपमा काम अघि बढ्न सकेको छैन । यो बाहेक हाम्रो एसोसियसनबाट सक्नेजति काम पनि गरिरहेका छौँ । कहीँकतै लामो समयदेखि भोलिन्टियरमा काम गरिरहेको भेटिएमा त्यस्तालाई पारिश्रमिकमा कन्भर्ट गरिदिन पहल गरेका छौँ । यस्तै भोलिन्टियरमा काम लगाउने अस्पतालहरूको नवीकरण नगर्नका लागि पहल पनि गरिहेका छौँ ।

भोलिन्टियरमा काम गर्नुपर्ने पनि उनीहरूको आफ्नै बाध्यता होलान् नि ?
बाध्यता भन्नुपर्दा त्यही हो, धेरैजस्तो अनुभवका लागि भोलिन्टियरका रूपमा काम गरिरहेका पाउँछौँ । यस्तै बाहिरबाट बढेर आएकाहरू विषेशगरी भारतबाट नर्सिङ सक्काएर आएकाहरू बढीजस्तो विनापारिश्रमिक या कम पारिश्रमिकमा पनि काम गर्न तयार देखिन्छन् । यहाँ छुट्टाउनै नमिल्ने कुरा के छ भने अहिले नेपालमा नर्सिङ कलेज खोल्न नदिने र इन्डियामा नर्स पढ्न पठाउने र चाइनामा डाक्टर पढ्न पठाउने गिरोह नै सक्रिय छ । इन्डियामा एउटा नर्स पढ्न पठाएबापत उसले १ जना बराबार ५० हजार रुपैयाँसम्म कमिसन लिनेगरेको पाइएको छ ।

फेरि उता गएर पनि राम्रो कलेजमा पढ्दैनन् । प्रायःजसो प्राइभेट कलेज र पढाउने कक्षाकोठा मात्र भएको तथा प्रयोगात्मकका लागि आवश्यक पूर्वाधार नभएको नर्सिङ कलेजहरूमा पढ्ने गरेको पाइएको छ । त्यस्तो भएपछि उनीहरूसँग सैद्धान्तिक ज्ञान त हुन्छ तर प्रयोगात्मक सीप केही पनि हुँदैन । हो त्यस्ता व्यक्तिहरू नेपालमा आएर भोलिन्टियरका रूपमा काम गर्न खोच्छन् कम पारिश्रमिकमा पनि काम गर्न तयार हुने हुन्छन् । उनीहरूलाई कुनै परीक्षाबिनै ड्युटीमा खटाइरहेको पाउँछौँ । त्यस्तो खालको सैद्धान्तिक ज्ञान मात्र भएकाहरूलाई एक्लै ड्युटीमा खटाउँदा बिरामीले कस्तो खालको सेवा पाउँछन् तपार्इं आफैँ अनुमान लगाउन सक्नुहुन्छ ।

अरू पेसामा जस्तै नर्सिङ पेसामा पनि सेवा प्रवेशका लागि लाइसेन्स परीक्षा हुन्छ नि होइन ? कसरी प्रवेश गर्न सक्छन् यस्तो अदक्ष जनशक्ति ?
हजुर, अरू पेसामा जस्तै नर्सिङ पेसामा पनि लाइसेन्स परीक्षा भन्ने हुन्छ । तर, नेपाल नर्सिङ काउन्सिलले लिने लाइसेन्स परीक्षामा लिखित परीक्षा मात्र हुने र प्रयोगात्मक नहुने भएकाले यस्ता खालका व्यक्तिले उन्मुक्ति पाउने गरेका छन् । इन्डियाबाट पढेर आउनेहरू सैद्धान्तिक रूपमा त दक्ष नै हुन्छन् ।

तर, प्रयोगात्मकमा उनीहरू कमजोर हुन्छन् । उनीहरूलाई ‘भात चपाएर खानुपर्छ भन्ने राम्रोसँग थाह छ, तर कसरी चपाएर निल्ने’ भन्ने थाह छैन । यस्ता खालको अपरिपक्व जनशक्ति राष्ट्र र जनताका लागि निकै घातक सावित हुनसक्छ ।

यस्ता अपरिपक्व जनशक्तिलाई रोक्नका लागि कस्तो खालको पोलिसी बन्न जरुरी छ जस्तो लाग्छ ?
सबैभन्दा पहिले त यसरी अवैध तरिकाले रकम असुलेर बाहिर पढ्न पठाउने एजेन्टहरूलाई कार्बाहीको दायरामा ल्याउनु जरुरी छ । सरकारी स्तरबाटै पनि पोलिसी बन्न जरुरी छ । नेपालमै पनि एउटै अस्पतालमा ८÷१० वटा कलेजको प्रयोगात्मक हुने गरेको पाइएको छ । यस्तै बिरामी नै नभएको अस्पतालहरूमा बिरामी छ भनेर प्राक्टिकलको लागि पठाउने गरेको पनि पाइएको छ । नेपालमा पनि अधिकांश कलेजहरूको प्राक्टिकल गर्ने ठाउँ नै छैन । यस्तो अवस्थामा उत्पादित जनशक्तिले प्रभावकारी सेवा दिन सक्दैन ।

नर्सिङ पेसालाई अझ व्यवस्थित बनाउन के के पहल आवश्यक देखिनुहुन्छ ?
कमसल नर्सिङ कलेजहरू, जसले आवश्यक मापदण्ड पूरा गरेको छैन तिनीहरूलाई बन्द गराउनुपर्छ । इन्डियन नर्सिङ काउन्सिलले मान्यता नदिएका कलेजहरूमा पढ्न जाने नेपालीहरूलाई रोक लगाउन सकेमा पनि धेरै मात्रामा समस्याको हल हुन सक्छ । किनकी इन्डियामा बिएससी नर्सिङ पढेर आउनेहरूको भन्दा नेपालमै पढ्ने अनमीहरूको प्राक्टिकल एकदम राम्रो छ । अर्को नर्सिङ सेवा क्षेत्रमा अझै पनि थुप्रै समस्याहरू छन् जसलाई सरकारले सम्बोधन गर्नु जरुरी छ ।

नर्सिङ सेवामा लागेकाहरूले महिला भएकै कारण पनि समस्याको सिकार बन्ने गरेका छन् । हामी आफ्नो माग पूरा गराउनका लागि बन्द हड्तालमा हत्तपत्त नउत्रने तथा सहनशील स्वभावको भएका कारणले पनि सरकारले समस्या समाधानका लागि चासो दिइरहेको छैन । तर, हामीलाई अभैm कमजोर रूपमा लिइरह्यो भने माग सम्बोधनका लागि बन्द हड्ताल र आन्दोलनका बाटो पनि अपनाउन हामी बाध्य हुनेछौँ ।

प्रतिक्रिया