‘मिहिनेती व्यवसायीलाई पुरस्कृत गरिनेछ‘: पुष्प व्यवसायी रामजीप्रसाद

ramji timilsena

सिन्धुपाल्चोक बलेफी गाउँपालिकामा जन्मिएका रामजीप्रसाद तिमिल्सिना पुष्प व्यवसायीहरूको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपालको वर्तमान उपाध्यक्ष हुन् । ०५१ सालदेखि लान्डस्केप प्लान्टको काम गर्दै आएका तिमिल्सिना दीपावलीको अवसरमा ललितपुरको जावलाखेलमा हुन गइरहेको ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेलाका संयोजकसमेत हुन् । ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनीको सेरोफेरोमा केन्द्रित रही उनै रामजीप्रसाद तिमिल्सिनासँग सौर्यकर्मी केशव भट्टले गरेको संवाद ः

गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनीको उद्देश्य के हो ?
यो मेला पहिले पनि हुने गर्दथ्यो तर फ्लोरिकल्चर एसोसिएसन नेपालले गर्न थालेकोचाहीँ यो ११औँ हो । तिहार लक्षित प्रदर्शनी ललितपुरको जावलाखेलमा यही २६ देखि ३० असोजसम्म आयोजना हुुँदै छ । एउटा मेला चैतमा हुन्छ तर यो गोदावरीका विभिन्न ४ ओटा जात समेटेर यो प्रदर्शनी हुँदै छ । पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूलहरूलाई आमजनमानसलाई देखाउन र गुणस्तरीय फूलको व्यापार गर्नका लागि यो प्रदर्शनी गर्न लागेका हौँ ।

प्रतियोगितात्मक प्रदर्शनी भएकोले ४ जातका गोदावरी फूल राखेर प्रतिष्पर्धा गराउनका लागि एउटा छुट्टै स्टल रखिएको हुन्छ । फूल व्यवसायीहरूमा जसले मिहिनेत गरेर राम्रो उत्पादन गरेका छन, उनीहरूलाई अझैँ प्रोत्साहित गर्न पुरस्कार पनि दिइन्छ । यसको अर्थ हो नेपालको लागि आवश्यक फूल नेपालमै उत्पादन गर्न सकियोस् तथा नेपाली फूलको बजार व्यापक विस्तार गर्न सकियोस् भन्ने यस मेलाको उद्देश्य हो ।

मेलाको व्यवस्थापन कसरि गर्दै हुनुहुन्छ ?
मेला आयोजक कमिटी गठन भएको छ । अवार्ड बनाउने, चौर, टेन्ट, पानी, बत्ती व्यवस्थापनका लागि भनेर सबैलाई कामको बाँडफाँड गरेका छौँ । यसपालि व्यावसायिक स्टलहरू ४४ ओटा, अफिसियल स्टल ४ ओटा, बाँकी एउटा गरेर जम्मा ४९ ओटा स्टल रहन्छन् ।

Ramji Timilsina (1)

मेला व्यवस्थापनको खर्च कसरी जुटाउँदै हुनुहुन्छ ?
नेपाल सरकार कृषि विकास मन्त्रालयले ५ लाख दिएको छ । बाँकी खर्च स्टलहरूमार्फत जुटाउनेछौँ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालबारे बताइदिनुस् न ?
फ्लोरिकल्चर एसोसिएसन नेपाल पुष्प व्यवसायीहरूको छाता संगठन हो । यस संस्थामा नेपालभरिबाट ६ सय ७८ पुष्प व्यवसायी आवद्ध छन् भने ४० हजारभन्दा बढी कामदार रोजगारीमा छन् । करिब १ अर्ब बराबरको आर्थिक कारोबार हुने गरेको छ ।

यस संस्थाका मुख्य उद्देश्य पुष्प तथा पुष्पजन्य वस्तुहरूको उत्पादन, बिक्री वितरण, आन्तरिक तथा विश्व बजारसम्म पहुँचका साथै विकास, विस्तार र प्रवद्र्धन गरी देशको आर्थिक विकासमा सहयोग पु¥याउने । पुष्प तथा पुष्पजन्य बस्तुहरूको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्दै उद्योगमा रूपान्तरण गर्ने ।

पुष्पसँग सम्बन्धित उत्पादन र प्रविधिको विकाससँगै अध्ययन अनुसन्धानको पक्षलाई पनि सुदृढीकरण गरी अघि बढाउने । त्यसैगरी नेपालमा पुष्प व्यवसायसम्बन्धी उद्योग व्यवसायलाई प्रोत्साहन दिई देशको आर्थिक विकासमा सहयोग पु¥याउने ।

उत्पादित वस्तुहरूको आन्तरिक बजार, बजार व्यवस्थापन एवं निर्यातमा एकरूपता ल्याउन नेपाल सरकारको विभिन्न निकाय लगायत अन्य सरोकारवाला र सम्बन्धित संघसंस्था एवं निकायसँगसमेत सम्पर्क राखी आवश्यक कार्यहरू गर्ने । पुष्प तथा पुष्पजन्य वस्तुप्रति जनअभिरुचि तथा जागरुकता बढाउन आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने, उत्पादित वस्तुहरूको मापदण्ड निर्धारणको सम्बन्धमा आवश्यक व्यवस्थापनको कार्य गर्ने । पुष्प व्यवसायमा संलग्न साना उद्यमी तथा किसानहरूलाई फूल विरुवासम्बन्धी जानकारी गराई व्यवसायप्रति प्रोत्साहिस गर्नुका साथै अभिरुचि बढाउने कार्य गर्ने ।

पुष्प व्यवसायसम्बन्धी कार्यको निमित्त उपयुक्त एवं समयानुकूल वातावरण तयार गर्नेतर्फ समयोचित कार्य गर्ने । पुष्पजन्य व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धन गर्नका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सरकारी तथा गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संघसंस्थासँग सहकार्य गरी तालिम, गोष्ठी, सेमिनार, परामर्श सेवा, मेला, प्रदर्शनी, अध्ययन भ्रमणलगायत कार्यहरू सञ्चालन गर्ने । पुष्प व्यवसायमा भएको लगानीको सुरक्षालाई ध्यान दिँदै व्यावसायिक हकहितमा कार्य गर्ने लगायतका रहेका छन् ।

नेपालको पुष्प व्यवसायले नेपाली बजारमा कतिको स्थान ओगटेको छ ?
पहिलेको तुलनामा धेरै राम्रो स्थान छ । विगतमा तिहारकै अवसरमा ८० प्रतिशत फूल भारतबाट आयात गरिन्थ्यो भने गतवर्ष तिहारमा फूलको आयात २० प्रतिशतमा झरेको थियो । यसपालि अझैँ घटनेछ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका भावी योजना के छन् ?
सरकार तथा व्यवसायीहरूसँग सहकार्य गरी पुष्प व्यावसायको उत्थानको लागि तथा फूलमा नेपाललाई स्वावलम्बी बनाउन हाम्रो प्रयास तथा कार्यक्रम बढाउँदै लाने छौँ ।

प्रतिक्रिया