अतिक्रमण मुक्त पोखरा लेखनाथ महानगर बन्छ ः मेयर जिसी

Man-Bahadur-GC

पोखरा लेखनाथ महानगरपालिका क्षेत्रफलको हिसाबले देशकै सबैभन्दा ठूलो महानगर हो । यसलाई स्मार्ट सिटी बनाउने एजेन्डासहित मेयर बनेका मानबहादुर जिसीले कार्यभार समालेको ४ महिना बितिसकेको छ । ४ महिनामा के के भयो, कसरी काम हुँदै छ र कसरी अगाडि बढ्दैछ महानगर । स्मार्ट सिटी निर्माणका लागि चाहिने पूर्वाधार अध्ययनका लागि सम्झौता र भद्दा आइल्यान्ड भत्काउने कामको सुरुआत लगायतका केही कामको सुरुआत भएका देखिन्छ ।

यद्यपि, जुन गतिमा काम हुनुपर्ने हो त्यो नभएको टिप्पणी हुन थालेका छन् । सोझो र इमानदार छविका मेयर जिसीले बिगार्दैनन् र त्यस्तो उल्लेख्य काम पनि गर्न सक्दैनन् भन्दै टिप्पणी गर्नेहरू पनि छन् । यी र यस्तै सवालमा महानगरका मेयर मानबहादुर जिसीसँग पोखरा संवाददाता गोविन्द सुवेदीले गरेकोे कुराकानी ।

कसरी बित्यो ४ महिनाको समय ?
हामीले घोषणा गरेको काम गर्ने आधार तयार पार्ने क्रममै छौँ । पूर्वाधार तयार पारेर काम गर्नुपर्नेछ । हामीले ४ प्याकेजमा तत्काल यहाँका सडक सञ्जाल विस्तार र मर्मतका लागि योजना बनाएका छौँ । अब त्यो लगत्तै कार्यान्वयनमा लाग्छौँ । कार्यालय आउने सेवाग्राहीहरूले पहिले र अहिलेको कार्यसम्पादनको फरक पक्कै महसुस गर्नुभएको होला ।

हामीले सबै वडा केन्द्रमा सडक सञ्जाल विस्तार गर्ने, वडाका मानिसलाई कसरी केन्द्रसम्म सहज पहुँच विस्तार गर्ने भनेर लागि परेको अवस्था छ । फोहोर मैलाको व्यवस्थापन, मपदण्ड कायम गर्ने सवाल लगायतका विषयमा गृहकार्य गरिरहेको अवस्था छ । ४ महिनासम्मको तयारीको प्रतिफल छिट्टै जनतामा देखाउन पाउने ठाउँमा पु¥याउँदै छौँ ।

निर्वाचित भएको २४ घन्टाभित्र सडकका खाल्डाखुल्डी पुर्छु भन्नुभएको थियो । अहिले खाल्डाखुल्डी देखाउँदै मेयर साबको स्मार्ट सिटी भन्दै मजाक गर्ने गरेको सुन्नभएको छ कि छैन ?
सुनेको छु । केही अप्ठ्यारा पक्कै छन् । हामीले जनतालाई तत्कालीन परिस्थितिको बारेमा राम्ररी बुझाउन सकेका छैनौँ भन्ने लाग्छ । मैले अगाडि नै भनिसकेँ सडक सुधारकै लागि प्याकेज बनाइएको छ । यो कार्यको थालनीसँगै कार्यान्वयन हुन्छ । तपाईंलाई जानकारी दिउँ, कम्तीमा सामान्य टालटुल पार्नका लागि अलकत्रा पागाल्ने, पकाउने र प्रदूषण हुने अवस्थाबाट कसरी मुक्त हुने भन्ने विषयमा पनि अध्ययन भइरहेको छ । राजधानी काठमाडौंमा यो प्रविधि आएको भनिएको छ ।

त्यसो हुन सक्यो भने २४ घन्टा होइनन् १२ घन्टामै हामी मर्मतका लागि टिम परिचालन गर्न सक्छौँ । सडक मर्मतकै विषयलाई लिएर तपार्इं यस्ता टिप्पणी भविष्यमा सुन्न पाउनुहुन्न । हाम्रो सडक कतिसम्म टिक्ने खालको हो भन्ने कुनै ग्यारेन्टी छैन । दिउँसो बनायो राती पानीले उक्काउने अवस्था छ । यसको गुणस्तर कसरी कायम गर्ने । एकपटक कालोपत्रे गरेपछि कम्तिमा १० वर्ष टिक्छ भन्नेगरी किन काम नगर्ने भन्ने पनि छ ।

हामी त्यतातर्फ जाँदै छौँ । पुरानो सडक छेउका ढलले अब नथेग्ने अवस्था छ । यहाँलाई भनिरहनुपर्दैन ढलले बगाएर मानिसको ज्यान गुम्ने अवस्था छ । यसको समेत हामी समाधान खोज्ने गरी काम गर्दै छौँ । हामी पूर्वाधारयुक्त छैनौँ, सीमित स्रोत र साधनबाट काम गर्नुपर्नेछ । त्यसमाथि हामीलाई काम गर्न आवश्यक ऐन कानुन पनि बनिसकेको अवस्था छैन । यो बेला केही जटिलता पक्कै छ ।

man bahadur gc

सडक चोकका भद्दा आइल्यान्ड भत्काउने कार्य ३ वटा भत्काएपछि रोकियो नि, किन हो ?
रोकिएको छैन । चाडबाडले गर्दा हो । क्रमशः सबै भत्काउने र रिसाइजिङ हुन्छ । त्यसका लागि सडक विभागले नै खाका पठाइदिएको छ । सबै योजना अनुरूप काम भइरहेको छ । अब तुरुन्त अरू पनि भत्काइन्छ । यसमा रोकिने भन्ने छैन । सबैको समन्वयमा भएको काम हो यो । फछि फर्कने कुरै छैन ।

तीन वटा मात्र भत्काउँदा खास समुदायलाई मात्र लक्षित भयो भन्ने तर्क गरिएको छ नि ?
यस्तो तर्क गर्नुहुँदैन । सहिद, विभूति भनेका सबैका साझा हुन् । उनीहरूलाई जाति, भाषा, लिंग र वर्णका प्रतिनिधिको रूपमा व्याख्या गर्न हुन्न । यहाँ रहेका सबै सालिक हाम्रा सम्पत्ति हुन् । तिनको संरक्षण गर्नु महानगरको दायित्व हो । जहाँ समस्या बढ्ता छ त्यहीँबाट थालिएको रूपमा बुझ्न सबैमा म यहाँमार्फत आग्रह गर्छु ।

सालिक त फेरी त्यहीँ पुनस्र्थापना गर्ने भन्नुभयो । राख्ने नै हो भने किन भत्काउनु भएको ?
अहिले तत्काल ट्राफिकलाई कसरी सहज हुन्छ भन्ने हो । अहिले साइज घटाउँदा सहज हुन्छ भनिएको छ । दीर्घकालमा चोकका शालिकलाई पार्क बनाएर राख्नुको विकल्प म देख्दिनँ । मैले घोषणा नै गरिसकेको छु कि मेरो कार्यकालमा यसलाई पूर्णता दिन्छु । पुनः राख्ने भए किन भत्काएको भन्ने प्रश्न जायज छ । यस विषयमा पनि म सबैसँग सल्लाह गर्छु । सबैका भावना समेटेर अगाडि बढ्नुपर्छ । उपयुक्त ठाउँ खोज्ने क्रम जारी छ ।

सहमतिमा सिधै पार्कमा राख्ने पनि हुन सक्छ । तर, काम चलाउ पाराले अहिले स्थानान्तरण गर्ने अनि फेरी समस्या रहिरहनेगरी काम गर्न पनि भएन । कम्तीमा यहाँ आउने पर्यटक २ घन्टा पार्कमा पुगेर समय बिताउने वातावरण बन्नुपर्छ । एउटा अर्को आकर्षक पर्यटकीय स्थल पनि त्यो बनोस् । सबैले श्रद्धा गर्ने ठाउँको रूपमा त्यो विकास होस् । यी सबै कुरालाई ध्यानमा राख्दा केही समय लिनु स्वभाविक मान्न म महानगरवासीलाई यहाँमार्फत नै आग्रह गर्छु ।

भद्दा आइल्यान्ड त भत्काइने भयो । यहाँ सार्वजनिक सम्पत्तिको दोहन भएको छ । सडक, चोकहरू अतिक्रमित छन् । अनि अतिक्रमण गर्नेहरूको पहुँच र प्रवृत्तिलाई कसरी तोड्नुहुन्छ ?
ढुक्क हुनुहोस् । ताल, सडक, सम्पदा जे अतिक्रमण भएको भए पनि त्यसलाई अतिक्रमण मुक्त पारिन्छ । मापदण्डले तोकेको कुरा प्राप्ती गर्न हामीलाई समस्या छैन । पहिला आग्रह गर्ने हो, समय तोकेर आफैँ हटाउन लाउने हो । त्यसो भएन भने क्षतीपूर्ति भराएर भत्काउने हो । सधैँ यो अवस्था रहन्न । कानुनी शासन सबैले मान्नै पर्छ । त्यसको दायरामा ल्याउनु सरकारको दायित्व हो । महानगरले सबैलाई दायरामा ल्याउँछ । कानुनी शासन कायम गर्छ । यसमा दुईमत छैन ।

पार्टीलाई चन्दा दिने, आस्था राख्ने वा विभिन्न ढंगले नेताहरूसँग उठबस गरेकाहरू पनि हुनसक्छन् । यस्तो बेला पार्टीहरूको दबाब, विपक्षिको दबाब र प्रभाव थेग्न सक्नुहुन्छ ?
मलाई मेरो पार्टीले जनताको काम गर्न पठाएको हो । अरू दलहरूले पनि जनताकै लागि राजनीति गर्ने हो । कानुनी शासन कायम गर्न नसक्ने, अतिक्रमित जमिन नजोगाउने र सम्पत्तिको संरक्षण नगर्ने हो भने भोलिको पुस्तालाई के हस्तान्तरण गर्ने भन्ने अहं प्रश्न उठ्छ । म इतिहासमा कलंकित हुनेगरी कुनै पनि बिगार्ने काम गर्दिनँ । गलत हुन पनि दिन्नँ ।

14352413_664144240420556_8847620126936868161_o

खोई, मानबहादुर इमानदार छ । विगार्दैन तर केही गर्न सक्दैन, किनकी दबाब थेग्ने क्षमता तपाईंमा छैन पो भन्दैछन् त ?

हाँस्दै, हेर्नुस् सबैका हेर्ने आआफ्ना दृष्टिकोण हुन्छन् । कसले कसरी हेर्छ त्यो मेरो विषय होइन । मेरो विषय महानगरलाई बनाउने हो । जनताको पिरमर्का बुझ्ने र यसलाई जोगाएर भावी पुस्तालाई सम्भावनायुक्त महानगर हस्तान्तरण गर्ने हो । म सधैँ यहाँ बस्न आएको होइन । ५ वर्षमा धेरै काम गर्नुपर्ने दायित्व ममा छ ।

अहिले हामीसँग आवश्यक कानुन निर्माण भइसकेको छैन । केन्द्रबाट बन्ने कानुन, प्रदेशसँग समन्वय गर्ने र अन्तरिकरूपमा आफ्नै कानुन निर्माणको क्रम टुंगिन केही समय लाग्छ । हिउँदमा महानगरलाई चाहिने आन्तरिक कानुन बन्छ । त्यसपछि थाहा हुनेछ । दबाब थेग्ने क्षमता छ छैन भन्ने कुरा ।

मैले तपार्इंलाई दोहो¥याएर भनिसकेँ । अझै प्रष्ट बुझ्ने भाषामा भन्छु । मापदण्ड मिचेर र अतिक्रमण गरेर बनाइएका कुनै पनि संरचना रहने छैनन् । सबै भत्काइने छन् । यस विषयमा अध्ययन भइरहेको छ । त्यसको प्रतिवेदन आउन दिनुहोस् । चोक फराकिला हुन्छन् ।

फेवाताललगायत सबैतालका मापदण्ड विपरीत बनेका संरचना भत्किन्छन् । अहिले भत्काउने अनि फेरी पछि अतिक्रमणमा पर्ने गरी होइन । भविष्यमा अतिक्रमणमा नपर्ने गरी, उपयोग हुने र गरिने गरी काम अगाडि बढ्छ । हेर्दै जानुहोला ।

कति समय लाग्ने हो, यो सबै महानगरवासीले देख्न र महसुस गर्न ?
अबको डेढ वर्षभित्र एउटा बाटो समातिएको हुनेछ । स्मार्ट सिटी बनाउने यसै भनेका छैनौँ । त्यतातर्फको यात्रा तय गर्छु भनेर लागेको छु भने त्यसका लागि अतिक्रमण मुक्त गर्नु पहिलो सर्त हो । कसै न कसैले कठोर निर्णय लिनै पर्छ । महानगरको पहिलो जनप्रतिनिधि हुँ । राम्रोको लागि हरतरहको जोखिम मोल्न र लिन तयार छु । महानगरवासीको सपना पूरा गर्नु मेरो पनि सपना हो ।

सपनालाई विपनामा परिणत गर्ने कर्म निरन्तर गर्छु । अब छिट्टै २ वर्षे, ५ वर्षे र २० वर्षे रणनीति तय गर्दै छौँ । त्यसपछि कामले अवश्य गति लिन्छ । विश्वासका साथ भन्छु, डेढ वर्षभित्रमा समग्र पोखरेलीले महानगरले गति लिएको र वास्तविक महानगरको बाटो समातेको महसुस पक्कै गर्न पाउनुहुनेछ ।

प्रदेश नम्बर ४ को निर्विकल्प केन्द्र बन्ने पोखरामा त्यसका लागि पूर्वाधार धेरै बनाउनु पर्ने छ । बसपार्क त यहाँले देख्नुभएकै छ । अतिक्रमण मुक्त गर्छुभन्दा त्यो पनि स्वभाविक पर्ला नै । संरचना चाँही कहिलेसम्म बन्छन् ?
प्रदेशका लागि के भन्नुहुन्छ । महानगरकै कार्यालय बनाउनु छ । मौजुदा कार्यालयले थेग्दैन । अनि पूर्वाधार बनाउँदा कोर पोखरामै बनाउने पक्षमा म छैन । महानगरभित्र संभावना बोकेको जमिन उपयोग गर्नुपर्छ । यहाँ साँघुरो भइसक्यो ।

विज्ञ राखेर, अनि अब प्रदेश र संघका जनप्रतिनिधि राखेर मन्त्रालय र अन्य कार्यालयका विषयमा समय अनुकूल निर्णय गर्दै निर्माण गर्दै जाने हो । बसपार्कको सन्दर्भमा अहिले त्यहीँबाट गाडी छुटाउने भित्राउने व्यवस्था गराउन लागेका छौँ । अतिक्रमित संरचना भत्काउँदै गरौँला भनेका छौँ । त्यसका लागि काम भइरहेको छ ।

प्रतिक्रिया