‘देशैभर स्वास्थ्य बिमा पुर्याउने हाम्रो लक्ष्य छ‘

IMG_9985सरकारले अहिले मुलकका विभिन्न जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । ‘सबैका लागि स्वाथ्य’ कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न समुदायलाई लक्षित गरी ल्याएको यस कार्यक्रम हाल १५ वटा जिल्लामा चलिरहेको छ । यो महिनाभरिमा थप ७ वटा जिल्लामा कार्यक्रम विस्तार गर्ने सरकारको योजनासमेत रहेको छ । तर, स्वास्थ्य बिमाका बारेमा अझै पनि सर्वसाधारणमा त्यति जानकारी रहेको पाइँदैन । के हो स्वास्थ्य बिमा ? यसका फाइदाहरू के के छन् ? स्वास्थ्य बिमा कार्यक्रमबाट जनताले कसरी लाभ लिन सक्छन् ? यसै विषयलाई समेटेर स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका बिमा कार्यक्रम निर्देशक गुणराज लोहनीसँग सौर्य दैनिकका लागि मिक्साङ वाइबा तामाङले गरेको कुराकानी :

स्वास्थ्य बिमा भनेको के हो ?
भविष्यमा आइपर्ने आकस्मिक दुर्घटना तथा जोखिमको पीडा न्यूनीकरणका निम्ति राहत पाउनका लागि गरिने पूर्वतयारी अथवा लगानी नै बिमा हो । यस्तै बिरामी परिएला, कुनै बेला आकस्मिक बिरामी पर्दा पैसा नहोला अथवा भविष्यमा गम्भीर प्रकारका उपचार गर्नुपर्ला भनेर गरिने थोरै लगानी अथवा वचतको रूप नै स्वास्थ्य बिमा हो ।

त्यही सोचले नेपाल सरकारले ०७२ सालदेखि विषेशगरी ग्रामिण क्षेत्रका जनतालाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । अहिले मुलुकभरका १५ वटा जिल्लामा सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ । थप ७ वटा जिल्लामा असोज महिनादेखि लागू हुँदै छ । त्यसका लागि हामी प्रक्रियामा जुटेका छौँ ।

नेपालमा स्वास्थ्य बिमाको अवस्था कस्तो छ ?
समग्रमा भन्नुपर्दा राम्रो नै भन्नुपर्छ । नेपालमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी र निजी स्तरबाट पनि सञ्चालित छन् । निजी स्तरबाट बिमा कम्पनीहरूले के कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याएका छन् त्यस विषयमा हामीसँग त्यति तथ्यांक रहँदैन । र, विस्तृतमा जानकारी पनि रहँदैन । निजी बिमा कम्पनीहरू प्रायःजसो नाफामा आधारित हुन्छन्, सदस्य बन्दा पनि स्वास्थ्य परीक्षण गरेर मात्र लिने, सकभर स्वास्थ्य व्यक्तिलाई मात्र सदस्य बनाउने भन्ने कुराहरू पनि रहन्छन् । तर, नेपाल सरकारले सञ्चालन गरेको बिमा कार्यक्रमअन्तर्गत त्यस्ता खालको मापदण्ड छैन ।

IMG_9987

निजी बिमा कम्पनीले सञ्चालन गरेको बिमा कार्यक्रम र सरकारले अहिले चलाइरहेको बिमा कार्यक्रममा भिन्नता के छ ?

यी दुईबीच अलि फरक छ । मैले अघि नै भनिहाले निजी बिमा कम्पनीहरू प्रायःजसो नाफा कमाउने उदेश्यले खोलिएका हुन्छन् । यसमा सदस्य बन्नका लागि सुरुमा नै स्वास्थ्य परीक्षण गर्नुपर्ने लगायतका प्रावधान राखिएका हुन्छन् ।

बिरामी हुँदा पनि बिल तथा अन्य कागजातहरू बुझाइसकेपछि मात्रै बिमा रकम दाबी गर्न पाउछन् । तर, सरकारले सञ्चालन गरेको बिमा कार्यक्रम यो भन्दा सरल किसिमका छन् ।

सदस्य बन्नका लागि इच्छुक सबैले स्वास्थ्य बिमा गर्न सक्नेछन् । उपचार गराउने क्रममा बिरामी हुँदा पनि परिचयपत्र लिएर उपचार लिन सक्छन् भने बिल अथवा कुनै पनि किसिमको कागजात बुझाउनुपर्ने तथा रकम दाबी गरिराख्नुपर्ने झन्झट रहँदैन । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमामा नागरिकको सहजताका लागि स्वास्थ्य बिमासम्बन्धी रकमको दाबी बिरामीले नभई उपचार गराएका अस्पताल तथा स्वास्थ्य संस्थाले गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले स्वास्थ्य बिमासम्बन्धी कार्यक्रम कहिलेबाट सुरु गरेको हो, यो कार्यक्रमअन्तर्गत हाल कतिजना मानिसहरू जोडिएका छन् ?
स्वास्थ्य बिमा कार्यक्रम ०७२ साल चैतबाट सुर गरिएको हो । हाल यो कार्यक्रम १५ वटा जिल्लमा लागू गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत २ लाख ३८ हजार मानिस सदस्य भएका छन् । यो सम्बन्धित जिल्लाको जनसंख्याको ५ प्रतिशत हो । सदस्य भएकामध्ये करिब ३० प्रतिशत अर्थात लगभग ७५ हजार जनाले सेवासमेत लिइसकेको अवस्था छ । सरकारले दिँदै आएको निःशुल्क स्वास्थ्य सेवाहरू बिमा रकमबाट काटिने छैन ।

निशुल्क बाहेकका औषधि तथा उपचार खर्चमा मात्र यो काटिनेछ । हामीले बिमा कार्यक्रमअन्तर्गत परिवारका ५ जना सदस्यका लागि ५० हजार तोकेका छौँ र त्योभन्दा बढी सदस्यका लागि १ लाख रूपैयाँ निर्धारण गरेका छौँ । त्यो रकमले भ्याएसम्मका स्वास्थ्य सेवाहरू निःशुल्क हुन्छन् । यसका अलवा हामी बिमाका लागि केही प्रावधान बनाएका छौँ । जस्तै, कस्मेटिक सर्जरी, एभोर्सन, मादक पदार्थ सेवनबाट हुने दुर्घटना तथा उपचारका लागि भने स्वास्थ्य बिमाबाट सेवा पाउने छैन ।

स्वास्थ्य बिमा कार्यक्रम विषेशगरी कुन वर्गप्रति लक्षित छ ?
सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम सबैका लागि स्वास्थ्य कार्यक्रमअन्तर्गत नै सञ्चालन गरिएको हो । यस हिसाबले पनि यो कार्यक्रम गरिब तथा विपन्न सामुदायप्रति लक्षित छ । यो कार्यक्रम विषेशगरी ग्रामीण समुदाय तथा विपन्न परिवार जसको स्वास्थ्यमा पहँच पुग्न सकेको छैन, उनीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याएको कार्यक्रम हो ।

जो मान्छे पैसा तिर्न सक्दैन अथवा जसको स्वास्थ्यमा पहुँच छैन उनीहरूलाई सकारले संरक्षण गर्नुपर्छ भन्ने हिसाबले उनीहरूले दिएका प्रिमियम रकम सरकारले राख्ने र आवश्यक परेको बेलामा उपयोग गर्न दिने कार्यक्रमको लक्ष्य हो ।

गाउँघरतिर धेरैजसो मानिसलाई स्वास्थ्य बिमाको बारेमा थाह नै छैन नि होइन ?
त्यसैले त स्वास्थ्य बिमा कार्यक्रम ल्याएको हामीले । हाम्रो कार्यक्रमको मुख्य प्राथमिकता भनेको स्वास्थय बिमाको बारेमा जनतालाई जानकारी गराउनु हो, त्यसपछि मात्रै बिमा गर्न लगाउने । कुनै नयाँ जिल्लामा जाँदाखेरि नागरिक समाजका अगुवा, स्थानीय राजनितिक दलका नेतृत्व तथा सरोकारवाला व्यक्तित्वहरूको उपस्थितिमा स्वास्थ्य बिमासम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने गरेका छौँ ।

यस्तै पहिलेदेखि नै स्वास्थ्य सेवाका क्षेत्रमा काम गर्दै आउनुभएका स्थानीय महिला स्वयंसेविकाज्यूहरूबाट स्वास्थ्य बिमाबारे नागरिकलाई जानकारी गराउने गरेका छौँ । यसका विभिन्न सञ्चार माध्यमहरूबाट पनि स्वास्थ्य बिमासम्बन्धी जानकारीहरू प्रकाशन तथा प्रसारणसमेत गर्दै आएका छौँ ।

स्वास्थ्य बिमा गर्नका लागि प्रक्रियाहरू के के छन् ?
स्वास्थ्य बिमा गर्नका लागि सबैभन्दा पहिले नाम दर्ता गर्नुपर्छ । दर्ता गर्नका लागि स्थानीय तहका प्रत्येक वडामा दर्ता सहयोगी भने तोकिएको हुन्छ । दर्ता सहयोगी प्रत्येक घरदैलोमा पुगी सर्वप्रथम स्वास्थ्य बिमासम्बन्धी कार्यक्रमको बारेमा जानकारी गराउनुपर्छ । त्यसपछि व्यक्ति बिमाका लागि ‘कन्भिन्स’ भएपछि प्रत्येक व्यक्तिको छुट्टाछुट्टै विवरण फारम भर्न भर्नुपर्छ । त्यसपछि सदस्य भइन्छ । सेवा लिने प्रक्रियालाई पनि हामीले एकदमै सरल बनाउने कोशिस गरेका छौँ । स्वास्थ्य बिमा गरेको परिचयपत्र भएपछि उहाँले सजिलै सेवा पनि पाउनु हुनेछ ।

बिमा भन्ने बित्तिकै मासिक पेमेन्टको कुराहरू पनि आउँछ, यसमाचाहिँ पेमेन्ट प्रक्रिया के छ ?
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमाअन्तर्गत वार्षिक रूपमा भुत्तानी गरे पुग्छ । वर्षको एक चोटी ५ जनासम्मको २५ सय रूपैयाँ तिरे पुग्छ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारको हकमा भने थप ४ सय २५ रूपैयाँ तिरेर सदस्य बन्न सकिनेछ ।

स्वास्थ्य बिमा कार्यक्रम अहिले कुनकुन जिल्लामा लागू भएको छ ?
अहिले १५ वटा जिल्लामा यो कार्यक्रम सञ्चालनमा छन् । बैतडी, अछाम, कैलाली, जुम्ला, जाजरकोट, पाल्पा, बाग्लुङ, म्याग्दी, कास्की, तनहुँ, गोरखा, भक्तपुर, चितवन, मकवानपुर र इलाममा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको छ । छिट्टै नै थप ७ वटा जिल्लामा बिमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ । असोज महिनाभरिमा बर्दिया, सुर्खेत, रोल्पा, सिन्धुली, झापा, सुनसरी र सोलुखुम्बु जिल्लामा कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको छ ।

यसका साथै अन्य जिल्लामा पनि बिस्तारै हामी कार्यक्रम विस्तार गर्दै लैजाने तयारीमा छौँ । प्रत्येक ३ महिनामा ५ वटा जिल्ला थप्दै जाने स्वास्थ्य मन्त्रालयको रणनीति रहेको छ । यस अर्थमा १ वर्षमा २० वटा जिल्लामा कार्यक्रम विस्तार हुनेछ भने अबको ३ वर्षभित्रमा देशैभर स्वास्थ्य बिमा कार्यक्रम पु¥याउने हाम्रो लक्ष्य छ ।

कार्यक्रमको प्रभाव कस्तो पाउनुभएको छ ?
स्वास्थ्य बिमा कार्यक्रम पहिला १ मात्र जिल्लामा सञ्चालन भएको थियो । २÷३ हजार मान्छे सदस्य थिए तर अहिले हामीले अन्य जिल्लामा पनि विस्तार गर्दै लगिरहेका छौँ जसमा २ लाख ३८ हजार मानिस आवद्ध छन् । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ७५ हजार मानिसले सेवा लिइसकेका छन् । गरिब विपन्न वर्गमा स्वास्थ्य सेवाको पहुँच पुगेको हामीले महसुस गरेका छौँ ।

स्वास्थ्य संस्थाहरू पनि अहिले सेवा दिनलाई सहज भइसकेको अवस्था छ । गाउँघरतिर मानिसहरू स्वास्थ्य बिमाप्रति सचेत भएको पाउछौँ । हामीले लिएको लक्ष्य पूर्णरूपले सम्पन्न भएको त छैन, यसलाई अझै थुप्रै जिल्लामा विस्तार गर्नुपर्नेछ । तैपनि, केही सकारात्मक परिवर्तनहरू पनि देख्न सक्छौँ । जस्तै, अपरेसन गर्नुपर्ने व्यक्तिलाई ५ दिन कुर्नुपर्ने अवस्था छ भने बिमा गरेका व्यक्तिलाई कुर्नु नपर्ने व्यवस्था छ ।

स्वास्थ्य बिमा गर्दाको फाइदाहरू के के छन् ? बिमा गरिसकेपछि जनताले कस्ता खालको लाभ लिन सक्छन ?
यसको लाभ भनेको पैसाको अभावमा उपचार हुन नसक्ने समस्याको समाधान हो । सकभर बिरामी नहोस् भन्ने हाम्रो कामना हो । बिरामी भइहाले पनि उपचार खर्चको अभावमा रोगको उपचार गर्न नसक्ने परिस्थिति आउने छैन । ५० हजारसम्मको उपचार खर्च पाउने भएकाले आर्थिक राहत पनि मिल्ने देखिन्छ । यस्तै बिरामी नभए पनि तपाईंले तिरेको पैसाले अरू कोही बिरामीको उपचार हुनसक्छ ।

यस हिसाबले सेवाको काम पनि भयो । सदस्य बनेका सबै जनाले ५० हजार पैसा सकाउँछु भन्ने भन्दा पनि सबैलाई यो आवश्यक पर्दैन, तर बिरामी परेका व्यक्ति जोसँग पैसा छैन भने उनीहरूको उपचारमा राहत मिल्नेछ भन्ने सोचाइले ल्याएको कार्यक्रम हो यो ।

अन्त्यमा स्वास्थ्य बिमाको बारेमा थाह नभएकाहरूलाई बिमा गराउनका लागि उत्प्रेरित गर्न केही भन्न चाहानुहुन्छ ?
अब अन्त्यमा भन्नुपर्दा, स्वास्थ्य बिमा कार्यक्रम भनेको नेपाल सरकारले सञ्चालन गरेको गैरनाफामूलक कार्यक्रम हो । यो कुनै नाफा तथा पैसा कमाउने उद्देश्यले खोलिएको होइन । स्वास्थ्य बिमा कार्यक्रमको एउटै उद्देश्य भनेको स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनु हो । यसका साथै स्वास्थ्यमा सबैको पहुँच प¥याउने हेतुले विषेशगरी गरिब तथा विपन्न वर्गलाई लक्षित गरी यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

यसकारण यसमा के होला, मेरो पैसा खेर जाला भन्ने खालको कुरा सोच्नुभन्दा पनि ढुक्क भएर तपार्इंहरू सदस्य बन्नुहोस् र परिवारका अन्य सदस्यहरूलाई पनि सदस्य बनाउनुहोस् । आवश्यक परेको बेलामा ५० हजारसम्मको बिमा रकम लिनुहोस् भन्न चहान्छु ।

प्रतिक्रिया