निषेधित गन्तव्य खुलाउन पहल गर्नेछु

Chandra-Rijalविगत दुई दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशील रहँदै आएका चन्द्र रिजाल ट्राभल र ट्रेकिङ व्यवसायी हुन् । नीलकण्ठ–६, धादिङमा जन्मिएका चन्द्र रिजाल ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का वर्तमान अध्यक्ष हुन् । होटल एसोसियसन नेपालका केन्द्रीय सदस्य भइसकेका रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र ठमेल क्षेत्रका ५ वटा वडामा सक्रिय दिगो पर्यटन सहकारी संस्था लिमिटेडका समेत अध्यक्ष हुन् । ट्रेकिङ व्यवसायसँग सम्बन्धित रही टानका अध्यक्ष चन्द्र रिजालसँग सौर्यकर्मी केशव भट्टले गरेको संवाद ः

नेपालमा पदयात्राको सम्भावना कस्तो छ ?
पदयात्रा व्यवसाय नेपालको पर्यटनको क्षेत्रमा राम्रो र सम्भावनायुक्त मानिन्छ । नेपालमा बढी पर्यटक आउने नै पदयात्रामा जानका लागि हुन् । यहाँका हिमाल, पहाड र तराईमा रहेका विभिन्न सांस्कृतिक, सामाजिक, धार्मीक तथा प्राकृतिक पक्षले पदयात्रा गर्न लोभ्याइरहेको छ । हरेक ठाउँको हरेक चिजलाई अध्ययन गर्न तथा हेर्नका लागि सो ठाउँमा पदयात्रा नै गर्नु पर्छ ।

पदयात्राको प्रमुख कुरा भनेको प्राकृतिक सम्पदा भएकाले यो क्षेत्र अरू क्षेत्रजस्तो त्यति चाँडो लोप हुने हुँदैन । यो नाश भएर जाने व्यवसाय होइन बढ्दै जान्छ । समग्रमा भन्नुपर्दा नेपालमा ट्रेकिङ व्यवसाय तथा पदयात्राको राम्रो सम्भावना छ ।

chandra rijal 3

अहिले ट्रेकिङ व्यवसायीहरूको अवस्था कस्तो छ ?
वर्तमान स्थितिमा ट्रेकिङ व्यवसायीहरू पहिलेको भन्दा बढ्दै गएका छन् । नयाँनयाँ जोसजाँगरका साथ व्यवसायीहरू थपिने क्रम बढदो छ । यसै व्यवसायले धेरैलाई रोजगारी दिएको छ । पदयात्रीको संख्या बढेसँगै व्यवसाय पनि बढदै छ ।

पदयात्रीको रोजाइमा पूरै नेपाल पर्न गएको छ । त्यसकारण व्यवसाय फस्टाउँदो अवस्थामा छ । भूकम्पले समेत अरू क्षेत्रजस्तो यस क्षेत्रमा खासै क्षति तथा ठूलै घाटा पनि गरेको छैन । समग्रमा अवस्था पनि राम्रो छ ।

नेपालमा पदयात्राको सुरुआत कसरी भयो ?
नेपालमा विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथालगायत १४ ओटा विश्वमै अग्ला छन्, भने १ सय ३२ ओटा हिमाल आरोहणका लागि खुला गरिएका छन् । यीबाहेक सरकारद्वारा भ्रमण अनुमति नदिएका तथा नाम नखुलेका पनि कैयौँ हिमाल छन् ।

खुला गरिएका हिमालहरू हेर्न आउने मानिसहरू नै पदयात्री हुन् । एडमन्ड हिलारीले सगरमाथा चढेपछि सगरमाथाको चर्चा बढ्यो र त्यस क्षेत्रमा पदयात्रीहरूको संख्या पनि बढदै गयो । यसैगरी सन् १९९८ बाट नेपालमा पदयात्रीको संख्या बढदै गएको हो । यसरी छाँगा, पहाड, खोला, हिमाल हेर्नकै लागि मानिसमा उत्सुकता बढ्दै जाँदा घुम्नेहरूको संख्या पनि बढे अनि पदयात्रा व्यवसाय पनि बढ्दै गएको हो ।

पुराना लोक परम्परा, फरकफरक समुदाय, फरकफरक भेषभूषा, रहनसहन तथा संस्कृतिको अध्ययन तथा अवलोकन गर्नेहरूको संख्या बढ्दै गयो । ती पदयात्री घुम्ने ठाउँमा गाइडको आवश्यकता पर्न गयो, उपभोग्य सामग्री बोक्नसक्ने जनशक्तिको आवश्यकता भयो । यी यस्ता विभिन्न आवश्यकता बढदै गएपछि पदयात्रा व्यवसायको पनि विकास हुँदै गएको हो । अहिले संसारका जो कोही पनि पहिलेको तुलनामा बढी विलासी जीवन बिताउन चाहन्छन्, स्वास्थ्यको लागिसमेत घुम्नुपर्छ भन्ने भावानाको विकास भएसँगै पदयात्राको पनि विकास भएको मान्न सकिन्छ ।

chandra rijal 2

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को स्थापना कसरी भयो ?
पहिलापहिला त ट्राभल एजेन्सीले नै पदयात्रा लाने गर्दथ्यो, ट्राभल र ट्रेकिङ एकै ठाउँमा थियो । पर्यटन ऐन २०३५ आइसकेपछि ट्रेकिङलाई, ¥याफ्टिङलाई छुट्टाछुट्टै रूपमा दर्ता गर्ने भनेर नियमावली बन्यो । सो नियमावली अनुसार ट्रेकिङको पनि छुट्टै आफ्नै संगठन बन्यो । टिकट काटनु र हिमाल घुमाउनु फरकफरक विषय हुन् ।

पर्यटकलाई गन्तव्यसम्म पु¥याउन छुट्टै सिपालु तथा क्षमतावान जनशक्ति चाहियो । इत्यादि, छुट्टै विशेषतालाई हेरेर यहीँ क्षेत्रमा काम गर्नेगरी ०३५ सालमा ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपालको स्थापना भएको हो । हाल म यस संगठनको १७औँ अध्यक्षको रूपमा रहेको छु ।

पदयात्रा व्यावसायीलाई व्यवसाय विस्तारमा के के कठिनाई छन् ?
हाम्रो देशमा विकास नहुनुको कारण नै राज्य सञ्चालनमा स्थायीत्व छैन, खोज अनुसन्धान छैन, विषय विज्ञ छैनन, कामको मर्म बुझेको मान्छे राज्यको सम्बन्धित ठाउँमा पुग्न सक्दैनन्, चरम भ्रष्ट्राचार छ, कानुनको कार्यान्वयन फितलो छ । यस्तै पदयात्राको तथा समग्र पर्यटनको क्षेत्र बुझेको व्यक्ति राज्यको सम्बन्धित निकायमा पुग्नसके पो यस क्षेत्रका समस्या बुझिदिन्थ्यो, कठिनाइ हल गर्न पहल हुन्थ्यो । तर, यहाँ त मन्त्री आउँछ यो क्षेत्रबारे केही थाहा हुँदैन अर्कै परिवेशबाट आएको हुन्छ ।

त्यस्तै मन्त्रालयको सचिव पनि कोरा किताबी ज्ञानबाहेक केही बुझेको हुँदैन । पदयात्रासम्बन्धी ०३५ सालमा नियम बन्यो त्यसपछि त्यो नियमलाई समयअनुसार परिमार्जन गरेको पनि छैन । उतिबेलाको व्यावसायिक अवस्थाअनुसार यो नियम बने पनि अहिले व्यावसायिक अवस्था फरक छ । यसलाई परिमार्जन गरेर वर्तमान समय सुहाउँदो बनाउन सकिएको छैन । सबैभन्दा ठूलो कठिनाई त व्यवसायमा वाधा कानुनले गरेको छ । अहिले पदयात्रा गर्नेहरूको संख्या दिनप्रतिदिन बढे पनि पदयात्राको लागि अनुकूल भएका कतिपय गन्तव्यहरू पनि खुला गरिएका छैनन् । पदयात्रा बारे खोज गरेका विज्ञका सुझाव तथा व्यवसायीका दुःख सरकारले सुनिदिँदैन ।

सरकारले पदयात्राको व्यावसायिक विकास गर्ने वातावरण बनाएकै छैन । म टानको अध्यक्ष भएदेखि आजसम्म ५ जना पर्यटनमन्त्री आइसके तर पदयात्रा तथा समग्र पर्यटन बुझेको एउटा पनि देखिनँ । भन्नुको अर्थ विज्ञको अभाव छ । खोज अनुसन्धानको कमी छ । व्ययसायी पनि खुल्न चाहेका छैनन् । कालाबजारी पनि बढदै गएका पनि छन् । कारण सरकारले समयमै पदयात्रा अनुकूलको कानुन नबनाई दिँदा कठिनाइहरू बढ्दै गएका छन् ।

chandra rijal 1

पदयात्रा पर्यटनको विकासको लागि ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपालको भूमिका के हो त ?
यो पदयात्राको क्षेत्रमा काम गर्नेहरूको व्यावसायीक साझा संगठन हो । यसको २÷२ वर्षमा नेतृत्व परिवर्तन हुन्छ । यसले पदयात्रा पर्यटनमा देखिएका समस्यालाई लिएर नियमनकारी निकायलाई दबाब दिने काम गर्छ ।

व्यवसायीहरूको हकहितमा आवाज उठाउनुका साथै व्यावसायिक क्षेत्रमा विकृति छन् भने निराकरण गर्न पनि सबैमाझ छलफल चलाउने र निराकरण गर्ने काम गर्छ । पदयात्रा व्यवसायलाई कुसलमार्गमा लान तालिम तथा गोष्ठी सञ्चालन गर्ने गर्दछ । यो त राज्य र व्यवसायीबीचको पुल हो । दुबै क्षेत्रलाई जोडने काम यसले गर्दछ ।

पोखरामा टानको क्षेत्रीय संघ छ, भने काठमाडौंमा केन्द्रीय संगठन छ । ३ हजार २ सय व्यवसायी पर्यटन मन्त्रालयको पर्यटन विभागमा दर्ता भई हामीसंग संलग्न छन् । यसको नियमित सदस्यको रूपमा झन्डै १ हजार ९ सयको हाराहारीमा सदस्य छन् ।

भावी दिनमा ७ ओटै प्रदेशमा संघ खोल्ने भनी विधानमा व्याख्या गरेका छौँ । विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थासँगको सहकार्यमा वर्षमा पोटर र ट्रेकिङ गाइडको क्षमता अभिवृद्धिको लागि तालिम दिने काम पनि भइरहेका छन् । १०आैं हजारको संख्यामा ट्रेकिङ  गाइडहरू यस क्षेत्रमा छन् । पदयात्रा पर्यटन विकासका लागि हामी हरतरह लागिरहेका छौँ ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपालका भावी योजना के छन् ?
समयसापेक्ष पदयात्रा पर्यटन फस्टाउनेगरी नियम कानुन बनाउनु प¥यो भनेर सरकारलाई दबाब दिन हामीले स्थापना कालदेखि नै आवाज उठाउँदै आएका छौँ । यसै कानुनी एजेन्डालाई सफल बनाउने काम त जारी नै रहन्छ । हमीले नियमित सञ्चालन गर्दै आएका तालिम, गोष्ठीहरू आयोजना गर्ने लगायतका नियमित काम हुन्छन । व्यवसायी र मजदुरको हकहितको लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग मिलेर हामीले धेरै काम गरिरहेका छौँ । भावी दिनहरूमा यो निरन्तर जारी रहने छ ।

अर्को भन्नाले हामीले सन २००४ देखि ट्रेक्रिङ इन्र्फमेसन म्यानेजमेन्ट सिस्टम (पदयात्रामा आउने सबै मानिसहरूको समग्र सूचना रख्ने काम) सुरु गरेका थियौँ । राज्यको नियमले गर्दा यो योजना रोकिएको छ । यसलाई सञ्चालनमा ल्याउनु पनि हाम्रो आगामी योजना छ । त्यसैगरी सरकारद्वारा निषेधित गन्तव्य खुलाउन पहल गर्ने, नयाँ नयाँ रुटहरूको खोजीगरी सञ्चालनमा ल्याउन पहल गर्ने लगायतका भावी योजना हाम्रा रहेका छन् ।

प्रतिक्रिया