पार्टीमा धेरैपटक निर्वाचित भइयो अब जनताबाट अनुमोदन हुने इच्छा छ: गैरे

39355_1497873039536_3962829_n

ठाकुर गैरे एमालेका आशालाग्दा जल्दाबल्दा युवा नेता हुन् । उनको नाम नसुन्ने सायद कमै होलान् । विद्यार्थी राजनीतिमा सक्रियपूर्वक भूमिका निभाएका गैरे अहिले एमालेमा निर्वाचित केन्द्रीय सदस्य हुन् ।

पाल्पाको वेगनासकाली गाउँपालिका–८ वराङ्दीका गैरे ०४५ सालमा स्कुलमा पढ्दादेखि नै अनेरास्ववियुमा लागेका उनी अखिलको केन्द्रीय सदस्य हुँदै सचिवालय महासचिव हुँदै ०६४ मा केन्द्रीय अध्यक्ष बने । जब उनी महासचिव थिए त्यतिबेला जनआन्दोलन–२ सुरु भएको थियो । त्यसमा पनि विद्यार्थीको तर्फबाट कुशलतापूर्वक आन्दोलनमा सहभागी भए ।

अहिले एमालेको केन्द्रीय कमिटीमा रहेका गैरे धेरैपटक पार्टीमा निर्वाचित भए पनि अब जननिर्वाचित हुने इच्छा रहेको सुनाए । देशलाई आर्थिक, सामाजिक रूपान्तर गरेर मात्र समृद्धि हुने बताउने गैरे जननिर्वाचित भएर देश र जनताको सेवा गर्न तम्तयार छन् । उनको आगामी मंसिरमा हुने केन्द्रको निर्वाचनमा उम्मेदवार बन्ने इच्छा रहेको छ । प्रस्तुत छ उनै एमाले युवा नेतासँग शरद शर्माले गरेको कुराकानी ।

हाल के गर्दै हुनुहुन्छ ?
पहिलो र दोस्रोचरणको स्थानीय तहको निर्वाचन सकेर अहिले तेस्रो चरणमा प्रवेश गर्दछौँ । तेस्रो चरणअघि तराईका विभिन्न ठाउँमा भएका बाढीपीडितलाई राहत बाँडियो र अहिले भूगोलमा अलि क्रियाशील छु । केन्द्र र प्रदेशको निर्वाचन तोकिएकोले अहिले म अलि बढी आफ्नो जिल्लातिर सक्रिय छु ।

आफू लाई विद्यार्थी नेता र राजनीतिक दलको नेतामा के फरक पाउनुभयो ?
विद्यार्थी नेता हुँदा देशभरिको जिम्मेवारी रहन्थ्यो । एककिसिमले राष्ट्रिय भूमिकामा रहेको थिए । देशभरिका आफ्ना मातहतका संगठनको संचालन गर्नुपर्दथ्यो । म अध्यक्ष हुँदा संविधानसभाको निर्वाचन भयो । तर, अहिले पार्टीको केन्द्रीय कमिटीमा हुँदा एउटा निश्चित जिम्मेवारी रहने गर्दछ । मलाई अहिले पार्टीले दिएका कृषि तथा भूमिसुधार विभागमा रहेको छु । हिजो विद्यार्थी हैसियत शैक्षिक मुद्दादेखि राष्ट्रिय मुद्दाको पक्षमा आन्दोलन गर्नुपर्दथ्यो तर अहिले त्यो हँुदैन । हिजो आन्दोलन र आज पार्टीगत रूपमा रहेको छु ।

1975117_10204187557261888_4627943604507605243_n

तपार्इं लामो समय विद्यार्थी नेताको रूपमा परिचित हुनुहुन्थ्यो । अहिले र पहिलेको विद्यार्थी नेतामा के फरक पाउनुभयो ?
म लामो समय विद्यार्थी राजनीतिमा काम गरेको व्यक्ति हुँ । ०४५ सालदेखि ०६४ सालसम्म म विद्यार्थी नेताको रूपमा रहेको थिएँ । त्यस क्रममा मैले शैक्षिकदेखि राजनीतिक आन्दोलनमा प्रत्यक्ष सहभागिता हुन पाएको थिएँ । मूलतः त्यतिबेला हाम्रो आन्दोलन शिक्षा नै हुने गर्दथ्यो । तर, अहिले विद्यार्थी आन्दोलनको आवश्यकता झन् बढेको छ । शैक्षिक मात्र नभई राजनीतिक मुद्दा पनि विद्यार्थीले हेर्नुपरेको हुनाले आन्दोलन बढेको हो ।

अहिले संविधानको रक्षा गर्नु, नेपालमाथि हुने वैदशिक हस्तक्षेपका विरुद्ध आवाज उठाउनु संघीय गणतन्त्र संस्थागत गर्नु, शिक्षाको गुणस्तर सुधार्नु शिक्षालाई आधुनीकरण गर्नुजस्ता झन् महत्वका एजेन्डा विद्यार्थी माझ आएका थिए । ती उपलब्धी हासिल गर्नका लागि थप सशक्त बलियो आन्दोलनको खाँचो रहेको छ ।

तर, विद्यार्थी यी कुराप्रति त्यति चासो दिएको मैले पाइनँ । हामी त्रिविले शुल्क बढाए आन्दोलन गथ्र्यौं । तर, अहिलेका विद्यार्थी नेतृत्वले त्यो गरेको पाइनँ । विद्यार्थी आन्दोलन जबर्जस्ती गरेजस्तो भएको छ । अहिलेका विद्यार्थी नेतृत्व आफ्नो जिम्मेवारी थाहा नपाएको जस्तो अलमलमा रहेका छन् ।

अहिलेका विद्यार्थी नेतृत्वले के गर्नुपर्दछ जस्तो तपाईंलाई लागेको छ ?
देश भ्रष्टाचारको जालोमा फसेको छ । शिक्षामा पनि भ्रष्टकै हालीमुहाली रहेको छ । नेपाललाई बहुराष्ट्रिय राजनीतिक बनाउने नेपाललाई नै टुक्राउने काम भइरहेको छ । देशमा भ्रष्ट्राचारविरुद्धको आन्दोलन अब विद्यार्थीको हुनुपर्दछ । दिनदिनै भ्रष्टाचारविरुद्ध आन्दोलन विद्यार्थीले गर्न जरुरी रहेको छ ।  त्यसैले विद्यार्थी नेतृत्वलाई मेरो आग्रह के छ भने पहिलेको भन्दा नेपालमा विद्यार्थी आन्दोलनको आवश्यकता झनै भएको छ ।

हाम्रा पालमा कालापानी, लक्ष्मणपुर बाँध भत्काउन गएका हौँ । तर, अहिले लिपुलेक, कोसी ब्यारेज र भारतले निर्माण गरेको बाँधका कारण नेपालका धेरै क्षेत्र डुबानमा परेको छ । ती क्षेत्रको समस्या समाधान गर्नका लागि राज्यलाई झक्झकाउने एक मात्र माध्यम विद्यार्थी नेतृत्व नै हो । तर, अहिले बर्सेनि डुबान हुँदा पनि विद्यार्थी नेतृत्व चुप रहेका छन् ।  अहिले राष्ट्रिय एकता, सामाजिक एकता निर्माण गर्ने बेला आएको छ । त्यसको नेतृत्व विद्यार्थी नै गर्नुपर्दछ ।

10464349_10203416488385648_7159365432121928001_n

अहिले विद्यार्थीका समस्या जस्ताको तस्तै छ अझै पनि बढेर रोजगार हुन सकेका छैनन् । समस्या कसरी समाधान गर्नेहोला ?
अहिले हाम्रो बेरोजगार शिक्षा पढाइ हुन्छ । बेरोजगाराको समस्या समाधान गर्नका लागि उनीहरूलाई विदेश पठाइन्छ । दुबई अमेरिकामा बस्नुभन्दा नेपालमा बढी कमाई कसरी गर्न सकिन्छ भन्ने सिकाइँदैन । शिक्षा नै बेरोजगारमुखी भएपछि यस्तो समस्या आएको हो ।

अब रोजगार सिर्जना गर्ने खालका शिक्षापद्धती अपनाउनु प¥यो । देशमा रोजगारी सिर्जना गर्ने खालका शिक्षामा लगानी गर्न आवश्यक रहेको छ । अहिले हामी जहाँ लगानी गरेका छाैँ त्योे त्यतिकै खेर गइरहेको छ । विद्यार्थी नेतृत्वले पनि अब बेरोजगार होइन रोजगारमुखी शिक्षा पद्धती अपनाउनुप¥यो भनेर आन्दोलन गर्नुपर्दछ ।

तपाईंको विभागले कस्तो काम गरिरहेको छ ?
म दुईपटक निर्वाचित केन्द्रीय सदस्य हुँ । अहिले म पार्टीको कृषि तथा भूमिसुधार विभागको प्रमुख रहेको छ । मैले मेरो विभागलाई राम्रोे काम गर्ने सोचाइमा रहेको छु । अहिले जमिनको खण्डीकरण भइरहेको छ । एकातिर खाद्यान्नको कमी भइरहेको छ । जुन भारतबाट पूर्ति गरिरहेका छौँ । अर्कोतिर जमिन टुक्राटुक्रा पारिरहेका छौँ । नेपालका भू उपभोगको नीति कस्तो हुने भनेर हामीले अध्ययन गरिरहेका छौँ । परनिर्भरताको अन्त्य गर्दै हामी आफैँ आफ्नो निर्वाह गर्न सक्छौ भनेर हाम्रो विभागले केही नीतिनियम बनाइरहेको छ । नेपाल कृषिमा निर्भर रहने सक्षम राष्ट्र हो ।

तर, यहाँ भूमाफियाको कारण उब्जनि जग्गालाई खण्डीकरण गर्दै नेपाललाई मरुभूमि बनाउन खोजिँदै छ । त्यसलाई हाम्रो विभागले रोक्ने प्रयास गर्नेछ । यस्तै अहिले हामीले तरकारीका नाममा विषादी खाइरहेका छौँ । विषादी बढी हालेर तरकारी धेरै उत्पादन गरेर पैसा आर्जन गरिरहेका छाैँ । हामीले यसविरुद्ध जागरण अभियान सञ्चालन गर्ने तयारीमा रहेका छाँै ।

पार्टीले नवौँ महाधिवेशनमा पारित गरेका कुरालाई कतिको पालना गरेको छ ?
नवौँ महाधिवेशनमा पार्टीले जुन सामाजवादी आधार निर्माण गर्न राष्ट्रिय पुँजिपति बनाउने कुरा थियो । अहिले त्यो जारीरहेको छ । तर, हामीले जुनरुपमा गर्नुपर्दथ्यो त्यो भने पार्टीले गर्न सकेन । संविधान जारी गर्नु, भारतीय नाकाबन्दी, स्थानीय तहको निर्वाचनले हामीले जुन स्पिरिटमा काम गर्नुपर्दथ्यो त्यो पक्कै भएको छैन । अब हामी केन्द्र र प्रदेशको निर्वाचनमा चाँडै नै लाग्दै छाैँ ।
जनप्रतिनिधि स्थानीय तहमा आइसकेको हुनाले अब त्यो समाजवादी आधार निर्माणमा पनि सहयोग मिल्नेछ । धेरै स्थानमा हामीले नै जितेको हुनाले अब त्यहीँबाट नै समाजवादी आधार निर्माण हुनेछ ।  समाजवादीको लागि आर्थिक आधार बनाएर देशलाई परनिर्भरता, आत्मनिर्भरता बनाउने कदम एमालेले लिन्छ ।

एमालेजस्तो लोकतान्त्रिक पार्टीमा विधिविधान मिचिन्छ रे हो ?
वास्तवमा पार्टी र त्यस मातहतका संगठन विधिविधान बमोजिम चल्नुपर्ने हो । तर, पार्टीमा त्यो नचलेको हुनाले समस्या रहेको छ । कमिटीको महत्व दिनुपर्ने हो । सामुहिक निर्णयमा निश्चित केही व्यक्तिको निर्णयमा चलेका छन् । यस्तै केन्द्रीय कमिटी बैठक पनि हुन सकेको छैन । स्थानीय तहको निर्वाचनपछि निर्वाचनको समीक्षा गर्नुपर्ने थियो तर भएन । अब चाँडै नै केन्द्रीय कमिटी बैठक तोक्ने भएको छ ।

तपार्इं आजकाल बढी भूगोलतिर सक्रिय हुनुहुन्छ ?
हो म आजकाल भूगोलतिर बढी सक्रिय भएको छु । स्थानीय तहको निर्वाचनमा पनि २ महिना म भूगोलमा रहेको थिएँ । विद्यार्थी राजनीतिपछि मैले भूगोललाई नै राजनीतिको थलो बनाउने निर्णय गरेको छु ।

तपार्इं आगामी चुनाव लड्दै हुुनुहुन्छ ?
मंसिरमा केन्द्र र प्रदेशको निर्वाचनको मिति तोकिएको छ । लामो समय म पार्टीको संगठनमा रहेर काम गरे । दुईपटक केन्द्रीय कमिटीमा निर्वाचित भए । पार्टीको नेतृत्वमा मात्र काम गरेर भएन भने म जनताबाट अनुमोदन हुन चाहन्छु । जनताबाट अनुमोदन हुन अवसर मैले पाएको छैन । त्यसैले अहिले जननिर्वाचित भएर देशको आर्थिक, सामाजिक रूपान्तरण गर्न मन छ । पार्टीले योग्य ठाने म आगामी निर्वाचन लड्न तयार छु ।

केन्द्र वा प्रदेशमा केमा लड्नुहुन्छ ?
म केन्द्रीय संसद्मा उठ्ने विचारमा रहेको छु । पार्टीले टिकट दिए केन्द्रमा नै उठ्छु । किनकी म लामो समय विद्यार्थी राजनीति गरेर आएको र केन्द्रीय कमिटीमा पनि दुईपटक निर्वाचित भएर काम गरिसकेको हुनाले मलाई केन्द्रको बारेमा राम्रो ज्ञान छ । त्यसैले पाल्पा क्षेत्र नं. २ बाट म केन्द्रमा लड्छु ।

अन्त्यमा…
अहिलेको ठूलो रोग भ्रष्टाचार रहेको छ । आयल निगम, एनसेल, कर, चुडामणि प्रकरणजस्ता ज्यादा ठूला नीतिगत भ्रष्टाचार रहेको छ । देशलाई बहुराष्ट्र बनाउने खतरा उतिकै छ । संसद्को गरिमा खलबल्याउने प्रयास गरिँदै छ । भ्रष्टाचारीलाई चुनाव लड्ने कुरा गरिँदै छ । सांसद पेन्सन खाने कुरा गरिरहेका छन् । यी यस्ता डरलाग्दा कुरा अहिले हाम्रासामु देखापरेका छन् । यसका लागि अब हामीले जबरजस्त आन्दोलन गर्नु आवश्यक रहेको छ ।

एमालेले लिएको अडानका कारण अहिले यस्ता क्रियाकलाप फेल खाँदै छन् । पहिलो र दोस्रो चरणमा पहिलो पार्टी बनेको एमाले फेरि पनि तेस्रो चरणमा पहिलो बन्दै छ । आगामी मंसिरमा केन्द्र र प्रदेशमा सबै ठाउँ एमालेको सरकार बन्नेछ । हामी देशलाई सवल, समृद्ध र स्वाधीन नेपाल निर्माण गर्नेछाँै ।

प्रतिक्रिया