‘मिस्टर झोले’ को पोस्टरले तान्ला त दर्शक ?

mistar-jholeकाठमाडौं १३ भदौ । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘मिस्टर झोले’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकारको चक्लेटी अनुहार देखाएर बनाइएको पोस्टरमा दयाहाङ राईले भित्तेघडी समातेको दृश्य राखिएको छ । पोस्टरमा कला पक्षभन्दा पनि बजारमा चलेका कलाकारको अनुहार राखेर पोस्टर बनाइएको छ । चलचित्र हलमा आउनुअघि बजार प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण पक्षले पोस्टर, ट्रेलर तथा गीत सार्वजनिक गर्ने चलन छ ।

सञ्चार माध्यममार्फत चलचित्रको प्रचार गर्ने उद्देश्यका साथ बनाइएको पोस्टरमा हातले लेखेका अक्षरलाई कलाकारको प्रस्तुतिले झोले नै बनाएको छ । अक्षर र कलाकार बीचको संयोजनमा कताकता डिजाइनर चुकेजस्तो देखिन्छ । यसअघि, कबड्डी, र कबड्डीकबड्डी चलचित्र निर्देशन गरेका गुरुङको ‘मिस्टर झोले’ ले दर्शकलाई कति तान्ला त्यो त त्यसको कथा र प्रस्तुतिमा भर पर्दछ । तर, पोस्टरमा भने कुनै सिर्जनशीलता देख्न सकिन्न । चलचित्रको पोस्टरसँगै निर्माण पक्षले चलचित्र २८ पौषबाट प्रदर्शनमा आउने जनाएको छ ।

यसअघि, दीपेन्द्र के खनालको निर्देेशनमा बनेको चलचित्र ‘झोले’ को नाम लिँदै ‘मिस्टर झोले’ निर्माण गरिएको हो । तर, निर्माण पक्षले यो चलचित्र सिक्वेल नभएर कथा नै फरक रहेको बताएको छ । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको संयुक्त लगानी रहेको ‘मिस्टर झोले’ मा दयाहाङ राई, अरुणा कार्की, प्रवीण खतिवडा, दीया पुन, कमलमणी नेपाल, वर्षा राउत, बुद्धि तामाङ, पुष्कर गुरुङ, सरोज अर्याल, मनीराम पोखरेल लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया