प्रत्येक उम्मेदवारलाई आचारसंहिताको पावन्दी २५ वैशाखदेखि ३१ सम्म स्कुल बिदा

काठमाडौं । निर्वाचन आयोगले प्रत्येक उम्मेदवारलाई १९ वैशाखदेखि नै निर्वाचन आचारसंहिता लागू भएको जनाएको छ । अब निर्वाचन आचारसंहितामा भएको व्यवस्थाविपरीत गतिविधि गर्ने उम्मेदवारले सोहीअनुसार सजाय पाउने छन् । महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले निर्वाचन प्रचारप्रसारको लागि बढीमा दुईवटासम्म चारपांग्रे हलुका सवारीसाधन र दुई मोटरसाइकल प्रयोग गर्न पाउने छन् । त्यसभन्दा बढी गाडी प्रयोग गरी चुनावप्रचार गरेमा निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर हुनेछ । महानगरपालिकाअन्र्तगतको वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले चुनाव प्रचारका लागि एउटा चारपांग्र्रे हलुका
सवारीसाधन र एउटा मोटरसाइकल प्रयोग गर्न सक्नेछन् । यस्तै उपमहानगरपालिका र नगरपालिकाका मेयर र उपमेयरले चुनावी प्रचारका लागि एउटा चारपांग्रे्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल प्रयोग गर्न पाउने छन् । यस्तै गाउँपालिका प्रमुख र उपप्रमुखले पनि सवारीसधानका रूपमा एकवटा सानो गाडी र दुई मोटरसाइकल प्रयोग गर्न पाउने छन् ।
गाउँपालिका र नगरपालिकाअन्तर्गतका सबै वडा अध्यक्ष तथा सदस्यहरूले भने दुईटा मोटरसाइकल प्रयोग गर्न पाउने छन् ।सवारीसाधन नचल्ने ठाउँमा भने बढीमा दुईटा घोडा प्रयोग गर्न सक्नेछन् । निर्वाचन आचारसंहिताले उम्मेदवारहरूले चुनावी प्रचारका लागि सवारीसाधन प्रयोग गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।यस्तै कुनै पनि एक उम्मेदवारले अर्को उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गर्न पाउने छैनन् ।त्यसैगरी निर्वाचन आयोगले ३१ वैशाखमा सार्वजनिक बिदा दिन सरकारसमक्ष प्रस्ताव गरेको छ । यसैबीच सरकारले पहिलो चरणअन्तर्गत ३, ४ र ६ प्रदेशमा स्थानीय तहको निर्वाचन प्रयोजनका लागि सबै विद्यालयमा २५ वैशाखदेखि ३१ सम्म बिदा दिने निर्णय गरेको छ ।३१ वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा चार दिन विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।
उक्त चार दिनको बिदाबापत अन्य समयमा विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । कतिपय विद्यालयमा मतदान केन्द्र तोकिएको र निर्वाचन पूर्वराजनीतिक गतिविधि बढ्ने भएकाले यसअघि पनि बिदा दिने प्रचलन रहिआएको छ ।
स्थानीय तहको चुनाव हुने तीन प्रदेशका ३४ जिल्लामा सो दिन सार्वजनिक बिदा दिने प्रस्ताव आयोगले सरकारलाई गरेको हो ।
तीन प्रदेशका ३४ जिल्लामा दुई सय ८३ स्थानीय तहको निर्वाचन ३१ वैशाखमा हुँदैछ । मतदान बिहान सातदेखि साँझ पाँच बजेसम्म हुनेछ ।

‘उम्मेदवारलाई एक मुट्ठी चामल पनि नदिनूस’
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयनपछि निर्वाचनको वातावरण फागु पूर्णिमा पर्वजस्तो रङ्गीचङ्गी र उत्साहित बनेको बताएका छन् ।बहिरा नागरिकका लागि स्थानीय निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त यादवले मनोनयनपछि उम्मेदवारहरू निकै उत्साहपूर्वक र खुसियालीका साथ झण्डा र चुनाव चिह्नसहित निर्वाचन प्रचारप्रसारमा जुटिसकेको बताए ।
सामाजिक र सांस्कृतिक रूपमा मिलेर बसेको हाम्रो समाजमा निर्वाचन प्रचारप्रसारको क्रममा एक अर्कामा होच्याउने र अवहेलना गर्ने कार्य नगर्न सबै उम्मेदवार र राजनीतिक दललाई आग्रह गरे । उनले भने, ‘उम्मेदवारी दर्ता गर्नुअघि भगवान्सँग आशीर्वाद लिएर जानुभएको छ, अब उहाँहरूले कानुनको बर्खिलाप गर्नुहुन्छ भने मलाई लाग्दैन ।’
उम्मेदवारलाई निर्वाचन कानुन, नियम र आचारसंहिताको पालना गराउन अरूले पनि दबाब दिनुपर्छ भन्दै यादवले अहिले नै कानुनको उल्लंघनन गर्नुहुन्छ भने निर्वाचित भएपछि झन् कसरी पालना गर्नुहुन्छ भनी प्रश्न सोध्न सुझाव दिए ।
निर्वाचनको बेलामा उम्मेदवारले ‘भोट र नोट’ दुबै माग्न सक्नेतर्फ इंगित गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको बेला उम्मेदवारलाई एक मुठ्ठी चामल पनि नदिन आग्रह गरे । यादवले भोटसँगै कतिपयले नोट पनि माग्ने भएकाले त्यस अवस्थामा भोट दिने तर नोट नदिने कुरा स्पष्टसँग राख्न आग्रह गरे ।
प्रमुख निर्वाचन आयुक्त यादवले राजनीतिक दल र उम्मेदवारले निर्वाचनको प्रचारप्रसारको क्रममा हुनसक्ने तडकभडक र आचारसंहिताको पालना गरे÷नगरेको बारे अनुगमन र निगरानी गर्न सुझाव दिए ।

प्रतिक्रिया