पर्यटकलाई सेवा दिन मचान

chitwan
चितवन राष्ट्रिय निकुञ्जभित्र निजी क्षेत्रका होटल बन्द भएपछि तिनै होटलको अनुभूति दिलाउने गरी यहाँका मध्यवर्ती सामुदायिक वनले पर्यटकलाई सेवा दिन थालेका छन् । फस्टाउँदो मध्यवर्ती वनभित्र अग्ला मचान निर्माण गरी तिनीहरूमा रात बिताउन सक्ने गरी कोठा बनाएर पर्यटकलाई सेवा दिन थालिएको हो ।
झन्डै पाँच वर्षअघि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका सात वटा होटल बन्द भएपछि निकुञ्जभित्रै बास बसेर रमाउन चाहने पर्यटकलाई लक्षित गरी मचान निर्माण गरिएको हो । निकुञ्ज घुम्न आउने पर्यटकलाई तिनै मध्यवर्ती वनभित्र हात्ती, जिप, डुंगा, पैदल यात्रा गराइन्छ । निजी हात्ती निकुञ्ज प्रवेश गर्न नपाउने भएपछि हात्ती चढ्ने अधिकांश पर्यटकले गैँडा, बाघ, भालुलगायत वन्यजन्तु तिनै सामुदायिक वनमा हेर्दै आएका छन् । पछिल्लो समय गैँडा र बाघको संख्या बढेसँगै यहाँका अधिकांश सामुदायिक वनमा सहजै बाघ गैँडा देख्न पाइन्छ ।
मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गतको खोरसोर मध्यवर्ती सामुदायिक वनमा चार वटा र बाघमारामा एउटा रात बिताउन मिल्ने गरी मचान निर्माण गरिएको छ । सोही समितिअन्तर्गतको मिलिजुली र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा मचान बन्दैछ भने टिकौली मध्यवर्ती सामुदायिक वनमा बन्ने तयारीमा छ । कुमरोज मध्यवर्ती सामुदायिक वनको सिम्रेनी र जनकपुरमा दुई वटा मचान सञ्चालनमा छन् ।
त्यसैगरी अन्य मध्यवर्ती सामुदायिक वनमा पनि मचान बन्ने क्रममा रहेको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगानाले बताए । वनमै पाइने काठैकाठ प्रयोग गरेर कतिपय मचान बनाइएको छ भने कतिपयले सिमेन्टसमेत प्रयोग गरेका छन् ।
साँझ र बिहानको समयमा मचानका छेउछाउमै दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालु, हरिण, जराया, मृग, गोही, मयुरलगायत वन्यजन्तु देख्न सकिने ढुंगानाले बताए । हरेक मचान सातदेखि १० जनाको हाराहारीमा रात बिताउन मिल्ने गरी बनाइएका छन् । सोलारबाट बत्ती र पंखाको व्यवस्था गरिएको छ । मृगकुञ्जअन्तर्गतका मध्यवर्ती सामुदायिक वनभित्र मचान निर्माणका लागि दातृ संस्थाले सहयोग गरेका छन् । ढुंगानाले विश्वभर ‘ट्रि हाउस’ प्रख्यात रहेको भन्दै चितवनमा मध्यवर्ती वनमा बनेका मचानले शौखिन पर्यटकलाई तान्न सक्ने विश्वास व्यक्त गरे ।
व्यवस्थित मचान भर्खरै बनेका हुँदा परीक्षण कालका लागि एक रातको एक जनाको पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्म शुल्क लिने गरिएको छ । खानाका लागि पर्यटकले तयारी खाना आफैँ लैजानुपर्ने हुन्छ । उनीहरूको सुरक्षा र सहयोगका लागि कर्मचारीको व्यवस्था गरिएको छ । सुविधासम्पन्न एउटा मचान बनाउँदा कम्तीमा १५ लाख रुपैयाँ खर्च हुने गरेको उनले बताए । वनभित्रका अधिकतम काठ प्रयोग गरिने हुँदा मचान निर्माणमा खर्च कम लाग्ने गरेको छ ।
कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीरा गुरुङले वनभित्र निर्माण गरिएका मचानबाट पर्यटकले वन र वन्यजन्तुलाई नजिकबाट नियाल्न पाउने बताए । स्वदेश र विदेशबाट आएर मचानमा बस्ने पर्यटकले आ–आफ्नो क्षेत्रका अन्य पर्यटकलाई मचान बस्न सुझाव दिने गरेको उनले बताए ।
मचानको प्रचारप्रसार होटल व्यवसायी र ट्राभल एजेन्सीमार्फत विदेशमा पनि गराइँदै आएको बाघमारा सामुदायिक वनका अध्यक्ष बिपी चौधरीले बताए । यसले पर्यापर्यटन प्रवद्र्धन र वनको अनुगमन गर्न पनि सहज भएको उनले बताए । सौराहा क्षेत्रका मध्यवर्ती सामुदायिक वनले पर्यटकलाई निकुञ्ज घुमाएर र बसाएर वार्षिकरूपमा एक करोडदेखि एक करोड ५० लाखसम्म आम्दानी गर्दै आएको जनाएका छन् । जुन रकम सामुदायिक वनको प्रवद्र्धन, समुदायको जीवनस्तर उकास्न र विकास निर्माणमा खर्च हुँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्ज स्थापना अघिदेखि निकुञ्जभित्र रहेका होटल ०६९ साउन १ गतेबाट बन्द अवस्थामा छन् । ४३ वर्षअघि चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको हो भने ५० वर्षअघि टाइगर टप्स होटल खुलेको थियो ।
निकुञ्जभित्र टाइगर टप्स खुलेपछि अन्य होटल पनि खोलिएका थिए । टेम्पल टाइगर, मचान, गैँडा, चितवन जंगल लज, आइल्यान्ड जंगल रिसोर्ट र नारायणी सफारी गरी सात वटा होटल निकुञ्जभित्र रहेका थिए ।

प्रतिक्रिया