काठमाडौं, २३ वैशाख । नेपालमा आफ्नो प्रस्तुति दिन बलिउडका दुई सफल कलाकार तथा नृत्यांगना आउने भएका छन् । भूकम्प पीडितका लागि सहयोगार्थ आयोजना गर्न लागिएका कार्यक्रममा सहभागी हुन सोनाक्षी सिन्हा र मलाइका अरोरा खान नेपाल आउन लागेका हुन् ।
बलिउडका नायिकाहरुसँग नेपालका नायिकाहरुको विशेष प्रस्तुति रहने कार्यक्रम स्तरीय बनाइने आयोजकले जनाएको छ । नेपाली कलाकारहरुले उनीहरुसँग टक्कर लिने छन् । कार्यक्रम स्तरीय हुने कलाकारहरुले बताएका छन् ।
आफूहरुले २ महिनादेखि तयारी गरिरहेको भन्दै नायिका प्रियंका कार्कीले यसपटकको प्रस्तुति बेजोड हुने बताइन् । नायिका रेखा थापाले चुनौतीभन्दा पनि बलिउडका कलाकारलाई स्वागत गर्न आफूहरु तयार भएको बताइन् । नायिका निशा अधिकारीले यसपटक आफूहरुको प्रस्तुतिले बलिउडका चर्चित नायिकाहरुलाई स्वागत गर्ने मनशाय राखेको बताइन् । यो सामूहिक उत्सव भएको उनको भनाइ थियो ।
सैनिक श्रीमती संघले काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागेको ‘अमरपंक्षी’ कार्यक्रमका लागि नेपालका चर्चित नायिका तथा गायिकाले आफ्नो प्रस्तुति दिन लागेका छन् । नायिकाहरु रेखा थापा, निशा अधिकारी, सुष्मा कार्की, प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीले आफ्नो धमकेदार नृत्यले दर्शकलाई मनोरञ्जन दिनेछन् । यस्तै, मोडल साहना बज्राचार्यले कार्यक्रम सञ्चालन गर्नेछिन् भने गायिका इन्दिरा जोशीले सुरुवातको २५ मिनेटसम्म दर्शकलाई नचाउनेछिन् । इन्दिराले आफ्नो चर्चित गीतबाट दर्शक झुमाउने बताइन् ।
भूकम्प पीडितहरुको सहयोगार्थ यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । जसबाट २÷३ करोड आम्दानी गर्ने र त्यो रकम भूकम्प पीडितका लागि खर्चिने आयोजकको योजना छ । नायिका निशा अधिकारीले टुँडिखेल मैदानमा आफ्ना लभ नम्बरमा नृत्य गर्ने बताइन् । सुष्मा कार्कीले भने आइटम नम्बरमा नृत्य गर्ने जानकारी दिइन् । नायिका रेखा थापाले भने आफूले पहिलोपटक स्टेजमा प्रस्तुति दिन लागेको भन्दै महिला सशक्तीकरणको कुरा गर्ने बताइन् । तर, यसका लागि विशेष क्यानभास तयार पारिएको र त्यसअनुसार आफूले प्रस्तुति दिने रेखाको भनाइ छ ।
यसपटक, नेपाली नायिकाहरुसँग ५० जना कोरस डान्सर पनि हुनेछन् । आयोजकले करिब १ करोडको खर्चमा यो कार्यक्रम गर्न लागेको बताएको छ । यस्तै, च्यारेटी कार्यक्रम भए पनि नेपाली र भारतीय कलाकारलाई टोकन रकम दिइएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । मलाइका र सोनाक्षी वैशाख ३१ गते शुक्रबार नेपाल आउनेछन् । उनीहरुको १८ जनाको टिम नेपाल आउने बताइएको छ । जेठ १ गते दिउँसो ३ बजे टुँडिखेलको गेट खुल्ला गरिनेछ । करिब ३ घन्टा अवधिसम्म कार्यक्रम चल्ने बताइएको छ । दर्शकले कार्यक्रम हेर्नका लागि ५ सय, १ हजार, २ हजार ५ सय, ५ हजार र ७ हजारसम्मको टिकट खरिद गर्न सक्नेछन् । करिब ६० हजार दर्शकले यो कार्यक्रम हेर्ने अनुमान आयोजकले गरेको छ । नेपाली कलाकारलाई कोरियोग्राफर रेनशा राईले कोरियोग्राफी गरिरहेकी छिन् ।ै
प्रतिक्रिया