‘मुन्दुम होसुङ’ प्रकाशित

mundum-hosungकाठमाडौं, १८ वैशाख । गर्भावस्थादेखि मृत्युसम्मका चाम्लिङ राईहरूको संस्कारसँग सम्बन्धित मुन्दुम समेटिएको पुस्तक ‘मुन्दुम होसुङ’ प्रकाशित भएको छ । किरात राई समुदायको चाम्लिङ भाषाका रिसिया (श्लोक)हरूलाई खस–नेपाली र अंग्रेजीमा पनि अनुवाद गरिएको यो किताबको बजारमा आएको हो ।

किताबमा चाम्लिङ राईहरूले गर्ने संस्कारहरूमध्ये नौ वटा संस्कार गर्दा नछुङ (धामी)ले बखान्ने मुन्दुमको रिसिया संकलन गरिएको छ । उदयपुर जिल्लाको बलम्तालाई केन्द्र बनाएर मुन्दुमका रिसियाहरू संकलन गरिएका हुन् । हजारौं वर्षअघिदेखि एकदेखि अर्को पुस्तामा मौखिक रूपमा हस्तान्तरण हुँदैआएको मुन्दुम लोपोन्मुख अवस्थामा पुगेपछि किरात राई चाम्लिङ खाम्बातिमले किरात मुन्दुम (दर्शनशास्त्र) अनुसन्धान तथा अभिलेखीकरण समिति गठन गरेको थियो । सोही समितिले स्थलगत रूपमा संकलन गरेका मुन्दुमहरू पुस्तकाकार रूपमा प्रकाशन गरिएको हो ।

यसबारे कार्यक्रममा बोल्दै संयोजक जयकुमार राईले भने, ‘किरात पुर्खाले सँगालेको आफ्नो अनुभव र ज्ञान नै मुन्दुम हो । यो अहिले संकलन नगर्ने हो भने अबको दश वर्ष्भित्र लोप हुने खतरा छ ।’ मुन्दुम लोप हुन नदिन समितिले काम गरिरहेको उनले बताए । कार्यक्रममा बोल्दै आहुतिले मुन्दुम किरातीहरूको सभ्यताको परिचायक र नेपाली समाजको मौलिक सम्पदा भएकोले यसको संरक्षण गरेर मात्र नेपाली समाजको पहिचान जोगाउन सकिने बताएका थिए । उनले भने, ‘अब नेपालसँग धेरै कम कुरा मात्र बाँकी छ जसले नेपाललाई विश्व समुदायसँग चिनाउन सकियोस् । त्यसमध्ये किरातहरूको मुन्दुम पनि एक हो ।’

कार्यक्रममा प्राडा चुडामणि बन्धु, डा विजय सुब्बा र डा जनक राईले आ– आफ्ना विचारहरू राखेका थिए । सम्पादक भोगीराज चाम्लिङका अनुसार मुन्दुम होसुङ (संस्कार) किताबको सबैभन्दा महत्वपूर्ण संस्कार चाहिँ वाडाको अर्थात् पानी देउताको पूजा हो । उनका अनुसार वाडाको गर्दा बखान गरिने मुन्दुममा सिन्धुघाँटीको सभ्यता र किरात–नागजातिबीचको प्राग्ऐतिहासिक कालको वैवाहिक सम्बन्धबारे उल्लेख छ ।

सिन्धुघाँटीदेखि गंगाको मैदान हुँदै नेपालको पूर्वी पहाडी भूभागसम्मको बसाइँसराइँको वर्णन पनि वाडाको मुन्दुममा हुने गर्छ । उनले मुन्दुमको पुरातात्विक खोजीसँग दाँजेर विश्लेषण गर्ने हो भने प्रागऐतिहासिककालिन किरातहरूका बारेमा धेरै कुरा खुल्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया