काठमाडौं, १५ वैशाख । नाट्यकर्मी प्रचण्ड मल्लद्वारा लिखित ऐतिहासिक नाटक ‘मनोवेदना’को मञ्चन ख्वापः नाट्यशालामा सुरु भएको छ । पहिलो शोमै नाटक हाउसफुल भएपछि निर्देशक भोला अधिकारी दंग छन् ।
जब स्टेजमा पुगेर मकवानपुरकी राजकुमारी इन्द्रकुमारी आफ्नो मनोवेदना पोख्न थाल्छिन् तब दर्शकका आँखा रसाउन थालेका थिए । इन्द्रकुमारीले आफू विवाहित भएर नि पतिको घर जान नपाएको र माइतैमा बस्नु परेको व्यथा जब सुनाइन्, दर्शकले मन थाम्न सकेनन् ।
नाटकमा इन्द्रकुमारीको विवाह भएदेखिको कुरालाई प्रस्तुत गरिएको छ । जोरपाटी नयाँबस्तीको सर्वेश्वर महादेव मन्दिरसँगै रहेको ख्वापः नाट्यशालामा करिब एक महिनादेखि उक्त नाटकलाई रिहर्सल गरेर कलाकारहरूले मञ्चनमा ल्याएका हुन् । ऐतिहासिक नाटक भएका कारण पनि उक्त नाटक प्रस्तुत गर्न निकै गाह्रो भएको निर्देशक भोला अधिकारीले बताए । लामो समयदेखि नाटकमा अभिनय गर्दै आएका भोलाले यसै नाटकबाट निर्देशनमा डेव्यु गरेका छन् । हामीले सुन्दै र पढ्दै आएको ऐतिहासिक नाटकलाई मञ्चमा उतारिएको भोलाले बताए । उनका अनुसार इतिहासमा रुचि हुनेहरूले एकपटक हेर्नैपर्ने नाटक हो यो । १७९४ सालतिरको परिवेशलाई समेटिएको नाटकमा पृथ्वीनारायण शाहले एकीकरणको बेला मकवानपुरकी राजकुमारी इन्द्रकुमारी सेनसँग बिहे गरेको प्रसंग छ । तर, राजा हेमकर्ण सेनले विवाह भएकी छोरीलाई पृथ्वीनारायण शाह अर्थात् ज्वाइँलाई साथ लगाएर पठाउन सकेनन् । पृथ्वीनारायण बेहुली नलिई रित्तै फर्केका थिए । दुलही भएर नि दुलाहाको घर जान नपाएकी इन्द्रकुमारीको पीडालाई नाटकमा प्रस्तुत गरिएको छ ।
नाटकमा उमा तामाङ, प्रदीप खड्गी, प्रदीप नेपाल, दीपुमाया तामाङ, सुमित्रा मगर, अर्जुन बोहोरा, शिवानी बोहोरा, सविना श्रेष्ठ, सुशान्त तामाङ, बाबु लामा, दीक्षा तामाङ, कुमारी तामाङ, रोशनी सापकोटा, सम्झना मगर, देव क्षेत्री, मनीष खड्का, प्रतीक खड्का, भोला अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् । नाटक अब १८ र २५ वैशाखमा मञ्चन हुनेछ ।
प्रतिक्रिया