फुटाइयो मन्त्रालय

काठमाडौं, १२ पुस । सपथग्रहण गरेको ४ दिन बित्दासमेत कार्यालय अभावमा पदभार ग्रहण गर्न नपाउँदा नवनियुक्त मन्त्रीहरू अन्योलमा परेका छन् । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले निर्णय गरी ४ नयाँ मन्त्रालय थपेको थियो ।

मन्त्रिपरिषद्ले सहरी विकास मन्त्रालयबाट खानेपानी तथा सरसफाइ, कृषि विकास मन्त्रालयबाट पशु विकास, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आपूर्ति र विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्यालाई छुट्याएर जनसंख्या तथा वातावरण मन्त्रालय बनाएको थियो ।

यसरी बनाइएका मन्त्रालयको कार्यालय र कर्मचारीको व्यवस्थापन हुन नसक्दा मन्त्रीले सपथ लिएर पनि पदभार ग्रहण गर्न पाएका छैनन् । छुट्याइएका मन्त्रालयमा कार्यालय कसरी व्यवस्थापन गर्ने भन्नेमा अन्योल रहेको छ ।

केही वर्षअघि बनेको सहरी विकास मन्त्रालयबाट अलग्याइएको खानेपानी तथा सरसफाइ मन्त्रालयलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या परेको मन्त्रालयका सहायक प्रवक्ता कविन्द्रविक्रम कार्की बताउँछन् ।

‘सहरी विकास मन्त्रालय छँदै कार्यालय नपुगेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भवनमा तीनवटा महाशाखा सञ्चालन गर्दै आएका थियौँ, अब मन्त्रालय छुट्याएपछि कार्यालय कसरी व्यवस्थापन गर्ने भन्ने समस्या आएको छ, सहरी विकासमा पर्ने तीनवटा महाशाखा भौतिक मन्त्रालयको भवनबाट सारे यहाँ खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि स्थान पु¥याउन सकिन्छ’ उनले भने ।

सहरीका सचिव अर्जुनकुमार कार्कीको समेत यही बेलामा सरुवा भएकाले कार्यालय व्यवस्थापनमा थप समस्या आएको मन्त्रालयले जनाएको छ । कार्कीलाई सहरीबाट भौतिक मन्त्रालयमा सरुवा गरिएको छ । सहरीमा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ । खानेपानीमा सुरेशप्रकाश आचार्यलाई सचिवको जिम्मेवारी दिइएको छ । मन्त्रालय हेरफेर र सचिवको सरुवा एकैपटक परेकाले मन्त्रालयको कार्यालय व्यवस्थापनमा समय लागेको हो ।

कृषि विकास मन्त्रालयमा पशु विकास मन्त्रालय पनि सँगै सञ्चालन गर्न सकिने गरी स्थान भए पनि मन्त्रिपरिषद् कार्यालयबाट आधिकारिक पत्र नआउँदा व्यवस्थापन गर्न नसकिएको सचिव उत्तमकुमार भट्टराईले बताए ।

‘मन्त्रिपरिषद् कार्यालयको आधिकारिक पत्र आएपछि भोलि नै मन्त्रीको पदभार ग्रहण गर्न सकिने गरी तयारी गरेका छौँ तर मन्त्रालयले सञ्चार माध्यमबाट आएकाबाहेक जानकारी नपाउँदा पदभार ग्रहण गर्न नसकिएको हो’ उनले भने ।

प्रशासन सुधार सुझाव समितिको प्रतिवेदन २०७० ले ‘सरकारको संरचनामा असन्तुलित कार्य विभाजन र कामको दोहोरोपना तथा सामञ्जस्यताको बेमेलजस्ता अवस्थाको अन्त्य गरी प्रशासनिक संरचना चुस्त बनाउन विद्यमान मन्त्रालयको संख्या बढीमा १८ वटा कायम गर्ने र मुलुक संख्यात्मक संरचनामा जाँदा प्रादेशिक सरकारको कार्यक्षेत्रको विस्तारले केन्द्रीय तहमा बढीमा १२ वटा मात्र मन्त्रालय कायम गर्नु उपयुक्त हुने, यसैगरी मन्त्रालयले नै गर्ने खालका जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तोकी बोझिलो बनाउनुको सट्टा प्रधानमन्त्री कार्यालयलाई अनुगमन, सुपरीभेक्षण, निरीक्षण, नियन्त्रण र समन्वयकारी भूमिकामा केन्द्रित गर्ने व्यवस्था गर्ने’ सिफारिस गरेको थियो ।

यो सिफारिसलाई उलंघन गरेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल भागबन्डा मिलाउन मन्त्रालय फुटाउनु तत्कालीन र दीर्घकालीन दुवै हिसाबले उपयुक्त नहुने बताउँछन् ।

‘यसले कर्मचारीमा दुईवटामध्ये राम्रोमा जान द्वन्द्व हुने, भवन तथा भौतिक पूर्वाधारको व्यवस्थापन गर्न समय लाग्ने र राज्यकोषबाट बढी खर्च हुन्छ, मन्त्रालयमा रहेका परियोजना र कार्यक्रम खोसाखोस हुन्छ । कार्यक्षेत्रको लडाइँ हुन्छ, यसले समग्रमा राम्रो हुँदैन’ उनले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता उत्तरकुमार खत्री मन्त्रालयको संख्या ३१ पुगेको बताउँछन् । ‘नयाँ बनेका मन्त्रालयमध्ये २÷३ वटाको कार्यालय व्यवस्थापन गरिँदै छ, यी मन्त्रालयको कार्यालय बनाई केही दिनमै मन्त्रीज्यूले पदभार ग्रहण गर्नुहुनेछ’ उनले भने ।

कृषि विकास मन्त्रालयका प्रवक्ता शंकर सापकोटा आर्थिक वर्षको बीचमा मन्त्रालय फुटाउँदा कार्यक्रम र बजेट मिलाउन गाह्रो हुने बताउँछन् । ‘यो समस्या समाधानका लागि यो वर्ष कृषि र पशु विकास दुवै मन्त्रालयले समन्वयमा काम गर्नुपर्छ’ उनले भने ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट वातावरण झिकेर र स्वास्थ्यबाट जनसंख्या झिकेर छुट्टै मन्त्रालय बनाउने निर्णय गरेपछि पहिल्यैदेखि विज्ञान मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री विश्वेन्द्र पासवान मन्त्रालयमा गई काम गरिरहेका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयमा नयाँ नियुक्त भएका मन्त्री शिवलाल थापाले चार दिन बित्दा पनि पदभार ग्रहण गर्न पाएका छैनन् ।

डेढ महिना विनाविभागीय मन्त्री भई बिहीबार शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी पाएकी मन्त्री शान्ता मानवीले शुक्रबार कृषि विकासबाट झिकिएको पशु विकास मन्त्रालयको जिम्मेवारी पाए पनि पदभार ग्रहण गर्न पाएकी छैनन् ।

खानेपानी तथा सरसफाइ मन्त्रीमा नियुक्त भएका प्रेमबहादुर सिंहले पनि चार दिनदेखि कार्यकक्षकै अभावमा पदभार ग्रहण गर्न पाएका छैनन् ।

खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह कार्यालय व्यवस्थापन हुन नसकेकैले सपथ लिएको ४ दिन बित्दा पनि पदभार ग्रहण गर्न नपाइएको बताउँछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तेस्रो तल्लामा मन्त्रालयको टुंगो लागेकाले सोमबार पदभार ग्रहण गर्ने बताइएको छ ।

प्रतिक्रिया