जलवायु परिवर्तनले खाद्यपोषण असुरक्षा बढ्दो छ

Naresh_shahiजलवायु परिवर्तनले खाद्य पोषण सुरक्षामा के प्रभाव पार्न सक्छ ?
ग्लोबल वार्मिङ वा जलवायु परिवर्तन र खाद्य पोषण सुरक्षाबीच नजिकको सम्बन्ध छ । खास गरी जलवायु परिवर्तन र खाद्य सुरक्षाको कुरा गर्दा हामीले इतिहासका गल्तीहरुबाट नै पाठ सिक्नुपर्छ । हावापानी र वातावरणमा आउने परिवर्तनको प्रत्यक्ष असर कृषि उत्पादनमा पर्छ । हरित क्रान्तिका नाममा जब सन् १९६० को दशकमा विश्वका केही मुलुकले रासायनिक विषादीको अधिक प्रयोग गरी उत्पादन वृद्धितिर लागे त्यसका कारण परेको नकारात्मक असरको सिकार अहिले हामी भइरहेका छौँ । त्यसले कृषि उत्पादन त बढायो तर पौष्टिकता र स्वच्छतामा कमी आयो । जसले गर्दा खाद्यन्नको उपलब्धता त बढ्यो तर स्वच्छता र पौष्टिकताको कमीका कारण कुपोषितको संख्या झनै बढ्दै गएको छ । भौतिक रूपमा जतिसुकै प्रगति गरे पनि खाद्यपदार्थ स्वच्छ र शरीरलाई आवश्यक पर्ने पोषक तत्वयुक्त खान सकेन भने उसको स्वास्थ्यमा नकारात्मक असर पर्दछ जुन कारणले उसको कार्यक्षमता त घटाउँछ नै त्यही उसको मृत्युको कारण पनि बन्न सक्छ । अतः खाद्य पदार्थको उत्पादन वृद्धितिर मात्र ध्यान दिएर हुँदैन उत्पादित खाद्य पदार्थको स्वच्छतामा पनि उत्तिकै ध्यान दिनु आवश्यक हुन्छ । अहिले जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा नराम्रो प्रभाव परिरहेको छ । एकातिर नयाँ नयाँ रोग किराहरुको प्रकोपका कारण उत्पादनमा ह्रास आइरहेको छ । अर्कोतिर तिनै रोग किराहरुबाट बाली जोगाउनका लागि प्रयोग गरिहेको रासायनिक विषादीका कारण वातावरणलाई पनि नराम्रो प्रभाव परिरहेको छ भने विषादी अवशेषयुक्त खाद्यपदार्थका कारण उपभोक्ताहरुको स्वास्थ्यमा पनि धेरै नै नकारात्मक असर परिरहेको हुन्छ । जलवायु परिवर्तनका कारण कृषि उत्पादनको पोषक तत्वको कम्पोजिसनमा समेत फरक पर्दछ । पृथ्वीको तापमानमा ०.१ डिग्री मात्र तलमाथि हुँदा पनि त्यसको असर कृषि क्षेत्रमा देखिन थाल्दछ ।

नेपालमा यस किसिमको असर के कति देखिन थालेको छ ?
विश्वव्यापी रूपमा भइरहेको जलवायु परिर्वतनको असरबाट नेपाल अछुतो रहने त कुरै भएन । हामीकहाँ पनि खाद्य उत्पादनमा यसको असर देखापर्न थालिसकेको छ । कृषि बालीमा नयाँ नयाँ रोगका किराहरु देखापर्न थालिसकेका छन् । हावापानी परिर्वतनकै कारण कृषि उत्पादनमा ठूलो असर परेको देखिन्छ । यसले गर्दा रासायनिक विषादीको अनियन्त्रित प्रयोग पनि बढिरहेको छ । वातावरणाकुलित कृषि प्रविधिको विकास नगर्ने हो भने भोलि यो समस्या झनै जटिल बन्नेछ । उत्पादनशैलीमा आएको परिवर्तनले अवश्य पनि पौष्टिकतामा प्रभाव पार्छ भने त्यसको प्रत्यक्ष असर खाद्य पोषण सुरक्षामा परिरहेको हुन्छ । हरित क्रान्तिका नाममा सुरु भएको अभियानले हाम्रो जस्तो मुलुकलाई फाइदाभन्दा धेरै घाटा पु¥याएको छ । नयाँनयाँ किसिमका रोग तथा संक्रमणहरु देखापरिरहेका छन् । यी सबैको सम्बन्ध जलवायु परिवर्तनसँग हुन्छ । तथ्यांकहरु हेर्दा नेपालको पूर्वीभन्दा पश्चिमी क्षेत्रमा यसको असर बढी परिरहेको देखिन्छ र भौगोलिक दृष्टिकोणले पनि उक्त क्षेत्र संवेदनशील छ ।

जलवायु परिवर्तनका कारण खाद्य पोषण सुरक्षामा परेको नकारात्मक असरबाट बँच्ने उपायहरु के हुन सक्छन् ?
जलवायु परिवर्तन रोक्नका लागि कुनै एक व्यक्ति वा मुलुक मात्र लागेर पुग्दैन । विशेष गरी ठूला मुलुकले गरेको गल्तीको सिकार नेपालजस्ता देशहरु भइरहेका छन् । त्यस किसिमको असरबाट बँच्न बेलैमा तयार नहुने हो भने हामी सबैको अस्तित्व मेटाउन यही माध्यम काफी हुनसक्छ अर्थात् प्रकृतिमाथि विजय प्राप्त गर्न वातावरणाकुलित जीवनशैली आवश्यक हुन्छ । हावापानीमा आएको परिवर्तनले सबैभन्दा बढी प्रभाव पारेको कृषि क्षेत्रमा वातावरणाकुलित प्रविधिको विकास गर्न आवश्यक छ । खाद्य पदार्थको स्वच्छता र पौष्टिकतामा विशेष ध्यान दिन जरुरी छ । यी सबै कार्यका लागि सरकारी नीति तथा कार्यक्रमहरु त्यसअनुसार परिमार्जन गर्दै स्थानीयस्तरसम्म सचेतना जगाउने कार्य अभियानकै रूपमा लैजानु अब ढिला गर्नु हुँदैन ।

जलवायु परिवर्तनका कारण खाद्य पोषण सुरक्षामा परेको नकारात्मक असरबाट बँच्न नेपालले अहिले गरिरहेको तयारी पर्याप्त छ त ?
अहिलेसम्म नेपालमा पोषण सुरक्षाको अवधारणा स्पष्टसँग स्थापित भइसकेको देखिँदैन । हामी कसरी कृषि उत्पादन बढाउने भन्ने ध्याउन्नमा बढी केन्द्रित छौँ तर उत्पादित खाद्य पदार्थको स्वच्छता र पौष्टिकतामा खासै पर्याप्त ध्यान गएको छैन । मैले अघि नै पनि भनेँ कृषि उत्पादन बढाएर मात्र खाद्य पोषण सुरक्षा हुँदैन । त्यसका लागि त उत्पादित खाद्यपदार्थको स्वच्छता र पैष्टिकतामा पनि उत्तिकै ध्यान दिनु जरुरी हुन्छ । नेपालमा जलवायु परिवर्तन र कृषिका क्षेत्रमा केही काम हुन खोजेको त देखिन्छ तर ज–जसले काम गरिरहेका छन् तिनीहरुबीचको समन्वय खासै देखिँदैन । सरकारले जिम्मेवार निकाय तोकेर समन्वय गराउन सकिरहेको छैन । जलवायु परिवर्तनसँग जुध्न एकीकृत कार्य योजनासहित आउन जरुरी छ । हावापानी अनुकूलका बिउ तथा प्रविधिको विकास गर्न जरुरी छ । क्लाइमेटसँग सम्बन्धित पूर्वसूचना दिने प्रविधिको विकास गर्न जरुरी छ । यसका लागि विज्ञहरुको विज्ञता सरकारले उपयोग गर्न सक्नुपर्छ । यससम्बन्धी अनुसन्धान गर्ने, गराउने र भएका अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा नीति निमार्ण तथा कार्य योजनाहरु बनाएर लागु गर्नुपर्छ ।

प्रतिक्रिया