बायोमेट्रिक प्रणालीलाई स्वास्थ्य क्षेत्रमा लागू गर्न मिल्दैन

शमशेर नेपाली पेसाले स्वास्थ्य व्यवसायी हुन् । पालुङटार १०, गोरखा घरभई हाल काठमाडौंमा मेडिकल व्यवसाय सञ्चालन गर्दै आएका नेपाली नेपाल मेडिकल व्यवसायी संघको अध्यक्षको जिम्मेवारीमा कार्यरत छन् । स्वास्थ व्यवसायमा उहा“सं“ग लामो अनुभव रहेको छ । उहा“स“ग सौर्य दैनिकले गरेको कुराकानीको अंश ।

samsher_nepaliबायोमेट्रिक प्रणाली भनेको के हो ?
अपरिवर्तनीय शारीरिक विशेषताहरूको आधारमा कम्प्युटर प्रणालीको माध्यमबाट व्यक्तिको पहिचान गर्ने प्रविधि हो । यस प्रविधिमा मानिसको औँठा छाप, आँखाको रेटिना, भ्वाइस, फोटो आदिलाई विद्युतीय माध्यमबाट तथ्यांक फाइल तयार गरी नमुनाको रूपमा राखिन्छ । सम्बन्धित व्यक्तिको वा नयाँ व्यक्तिको बायोकम्प्युटर प्रणालीमा पुनः पहिचान गरि गैरकानुनीरूपमा कुनै देशमा बसे नबसेको पत्ता लगाउन प्रयोग गर्ने पद्धतिलाई बायोमेट्रिक प्रणाली भनिन्छ । निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्रमा यही प्रणालीको प्रयोग गरेको छ ।

तपाईंहरूको यसमा विरोध किन ?
यो पद्धतिको स्वास्थ्य परीक्षणसँग कुनै सरोकार छैन । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने काम हाम्रो हो तर अपराधी समात्नका लागि प्रयोग गरिने बायोमेट्रिक प्रणालीलाई स्वास्थ्य क्षेत्रमा ल्याएर सिन्डिकेट लागू गर्न खोजिएकोमा हाम्रो विरोध हो । मलेसियाको दलाली कम्पनीले बायोमेट्रिक मेसिनको निर्माण गरेको छ । उक्त कम्पनीले परीक्षणको रूपमा नेपालमा लगाउन खोजिरहेको छ । यदि, यो परीक्षण सफल भएमा मात्र अन्य देशमा बिक्रीको लागि लैजान्छ । तसर्थ, परीक्षणको रूपमा लगाउन खोजिएको पद्धतिलाई नेपालका केही व्याबसायीले सम्बन्धित कम्पनीबाट मोटो रकम हात पारेर लागू गर्न खोजेको मात्र हो । अर्को कुरा यसको आवश्यकता छ नै भने पनि मलेसियामा मात्र किन? वैदेशिक रोजगारीका निम्ती खुला गरिएका १ सय १० वटै मुलुकमा किन लागू नगर्ने ? यो निर्णय मलेसिया सरकारको निर्णय पनि होइन । मलेसियामा कामदार माग गर्ने कम्पनीले पनि यो चाहिन्छ भनेका छैनन् । फगत दलाली कम्पनी र नेपालका केही सीमित व्यक्तिको इन्ट्रेस्टमा ल्याउन लागिएकोले यसको विरोध गरेका हौँ ।

तपार्इंहरूले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण नगरिकन रिपोर्ट दिनुहुन्छ रे नि, हो ?
सर्वप्रथम विदेशमा काम गर्न जाने कामदारको स्वास्थ्य परीक्षण नगरिकन स्वस्थ्य रहेको सर्टिफिकेट दिनै मिल्दैन । व्यावसायिक मूल्य मान्यताले पनि दिँदैन । अर्को कुरो यदि त्यस्तो पाइएमा नेपालमा नियामक निकाय छन् । तिनले अनुगमन गरेर कारबाही गर्ने, निलम्वन गर्ने या लाइसेन्स नै खारेजी गर्ने गरेमा कसैले पनि त्यस्तो कार्य गर्ने दुःसाहस गर्दैनन् ।

त्यसोभए नेपाल सरकारले लागू गर भनेमा लागू गर्नुहुन्छ ?
सर्वप्रथम त सरकारले लागू गर भन्न मिल्दैन । उसले लागू गर भन्नलाई ऊसँग यो प्रविधिसम्बन्धी ऐन कानुन, नीति, नियम, मापदण्ड तथा निर्देशिकाहरू हुनुपर्छ । हचुवाको भरमा लागू गर भन्न मिल्दैन । यसरी लागू गर भन्नलाई राज्यको आवश्यकता हुनुपर्छ । यहाँ त आवश्यकता अर्कैको, चाहाना अर्कैको, फाइदा अर्कैलाई अनि केका आधारमा लागू गर्ने ? त्यसमा पनि स्वास्थ्य परीक्षणको क्षेत्रसँग सम्बन्धित नै नभएको विषयलाई लिएर कुनै एक विदेशी कम्पनीको दबाब र प्रभावमा यो लागू गर्न मिल्दैन । अर्को कुरा नेपालमा बायोमेट्रिक लगाउनुपर्छ भनेर चलखेल गर्ने कम्पनी र त्यसको मालिकलाई मलेसिया सरकारले नै निलम्बनको कारबाही गरेको छ । यसरी प्रतिबन्धित कम्पनीलाई पृष्ठपोषण गरेर लागू गर भनेर मलेसिया सरकारले पनि भन्दैन ।

अन्य स्वास्थ्य व्यवसायीले साथ नदिएपछि तपाईंहरूको विरोधले केही असर नगर्ने भयो नि होइन ?
होइन । नेपालमा यस क्षेत्रमा काम गर्ने सूचीकृत २ सय ८४ स्वास्थ्य व्यवसायी छन् । त्यसमध्ये जम्मा ३९ व्यवसायी मात्रै यसका पक्षमा देखिएका छन् । पक्षमा देखिने व्यवसायीहरू पनि राष्ट्रिय हितको लागि भन्दा पनि स्वार्थका लागि त्यसो गरिरहेका छन् । यदि यो सिस्टम लागू भएपछि त सिन्डिकेट लगाएर सधँैभरी खाइरहन पाइने भयो त्यसैले तिनीहरू त्यता लागेका हुन् । तर, यो निर्णय उचित छैन र राष्ट्रिय स्वाधिनताको विरोधमा छ भन्ने स्वयं समर्थन गर्नेहरूलाई पनि थाहा छ । देशको मन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिले पनि यसलाई समर्थन गरेर लागू गर्नुपर्छ भन्नु देशको दुर्भाग्य हो ।

तपाईंहरूले पनि आफ्नो भाग नपाएर त्यसो गर्नुभएको हो ?
होइन, हामीलाई भाग चाहिएको पनि छैन । हामी व्यावसायी हौँ । हामीलाई नेपाल सरकारले प्रचलित ऐन कानुनभित्र रहेर मेडिकल व्यवसाय गर्न लाइसेन्स दिएको छ । हामीले त्यही अनुसारको लगानी गरेका छौँ । राज्यलाई कर तिरेका छौँ । यहाँ त हामीले गर्न पाउनुपर्ने व्यवसाय मलेसियाको कुनै नीजि कम्पनीले गर्दै छ, विदेशी कम्पनीलाई नेपाल भित्र्याउन दलाली गरिँदै छ, देशको रकम बिदेसिँदै छ, नेपाल सरकारको राजस्व मलेसिया सरकारलाई जाँदै छ । ठीकै छ हामी त यो व्यवसाय नभए अर्को कुनै व्यवसाय गरौँला । मुख्य प्रश्न राष्ट्रिय स्वाधिनताको हो, राष्ट्रिय अर्थतन्त्रको हो । बायोमेट्रिक बनाउने कम्पनीको आफ्नो सफ्टवेयर हुन्छ । त्यो सफ्टवेयरले सम्पूर्ण नेपालीको गोप्य सूचना लिन्छ र मलेसिया पठाउँछ । यसरी नेपालीका गोप्य सूचनालाई उक्त कम्पनीले दुरुपयोग गर्ने संभावना रहन्छ । भाग खोजेको भए त हामी बायोमेट्रिकका पक्षधरहरूसँग संझौता, वार्ता र मोलमोलाई गर्न गइहाल्थ्यौँ नी । यो प्रणाली कामदारको हितमा पनि छैन, राज्यको हितमा पनि छैन र व्यवसायीको हितमा पनि छैन त्यसैले हामीले यसको विरोध गरेका हौँ ।

तपाईंहरूको अबको रणनीति के हुन्छ ?
हामी देश र जनताको हित प्रतिकूल नहुने गरी प्रचलित ऐन कानुनको दायराभित्र रहेर व्यवसाय गर्न चाहने व्यवसायी हौँ । हामी कुनै पनि प्रकारको सिन्डिकेट र कार्टेलिङ सहदैनौँ । त्यसमा पनि यो बायोमेट्रिक भनेको औपनिवेशिक चरित्र उन्मुख वैदेशिक हस्तक्षेप हो । यो देशको रकम विदेश पठाउने, श्रमिकलाई लुटाउने र राष्ट्रियताको दलाली गर्ने सुनियोजित योजना हो । यिनकाविरुद्ध हामी साम, दाम, दण्ड, भेद सबै तौर तरिकाबाट दीर्घकालीन संघर्ष गर्नेछौँ । जसरी पनि परास्त गर्नेछौँ । हामी जित्छौँ किनकी हामी सत्यको पक्षमा, देश र जनताको पक्षमा छौँ ।

प्रतिक्रिया