‘सबैलाई मिलाउने गरी परामर्शमा लागेको छु’

Sushil-Koiralaकाठमाडौं, ९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभा भित्र रहेका असन्तुष्ट मधेसी मोर्चा र बाहिरको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका मागलाई समेत सकेसम्म समेटेर सिमांकनसहितको संविधान जारी गर्न आफू लागेको बताएका छन् ।

बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आज पत्रकारसँग कुरागर्दै उनले भने, ‘सिमांकन पनि अहिले नै होस् भन्ने पक्षमा हामी प्रयत्नशील छौं । शुक्रबार चार दलको बैठकमा पनि छलफल भएको छ । मोहन बैद्यजी र मधेसी मोर्चाका साथीहरुसँग पनि कुरा भइरहेको छ ।’

प्रधानमन्त्री कोइरालाले अगाडि भने, ‘उहाँहरुको मागलाई कति समेट्न सक्छौ त्यसमा हामी छलफल गरिरहेका छौं । मुस्लिम, दलित, महिला, आदिवासी जनजाति, पिछडिएको वर्ग, मधेसीको अधिकार समेटिदैन भनेर बाहिर हल्ला फैलाइएको छ । यो गलत हो ।’

उनले संविधानको मस्यौदामा जनताले दिएको राय सुझावलाई समेट्ने विषयमा सबै दल सकारात्मक भएको जानकारी दिँदै चार दलको बैठकमा यस विषयमा छलफल भएको बताए । उनले भने, ‘जनताले छोटो समयमा प्रभावकारी सुझाव दिएर राम्रो काम गरेका छन । यो लोकतान्त्रिक अभ्यास हो ।’

कोइरालाले संविधासभाबाट संविधान ल्याउने आफूहरुको पहिलो अभ्यास भएकोले कतिपय कुराहरुमा कमीकमजोरी रहेको भन्दै त्यसलाई पनि सुधारेर जनताको चाहनाअनुसारको लोकतान्त्रिक संविधान ल्याउने बताए ।

प्रतिक्रिया