बंगलादेश बैंकलाई ठगीको आरोप

bina-gupta2जनकपुर, १ साउन । नेपाल बंगलादेश बैंक जनकपुरमाथि ठगी गरेको आरोप लागेको छ । बैंकले सिलबन्दी बोलपत्र आह्वानमार्फत बेचेको जग्गा खरिदकर्तालाई नदिएपछि बैंकले ठगी गरेको खुलासा भएको हो ।

जनकपुर– ४ का विणा गुप्ताले बोलपत्रमार्फत किनेको जग्गालाई बैंकले अर्कैलाई नामसारी गर्न लागेर गुप्तालाई पैसा फिर्ता लिन पठाएपछि ठगी गरेको घटना बाहिरिएको हो । ४ वर्ष पहिले टेन्डरद्वारा २२ लाखमा बेचिएको ९ कठा १३ धुर ४ कनमा जग्गा अहिले आएर करोडौँको मूल्यांकनमा परेपछि बैंकले पूर्वटेन्डर प्रक्रिया रद्द गरेकाले ठगी गरेको आरोप लागेको हो ।
यस्तो छ प्रकरण
जनकपुर–२ का संजयकुमार सिंहको नेसनल फर्माकेम इन्डस्ट्रिज प्रालिले धितो राखेको जग्गा उनले पैसा तिर्न नसकेपछि नेपाल बंगलादेश बैंक प्रालिले०६७ पुस ८ गते बैंकको गैरबैंकिङ सम्पत्ति जनकपुर नगरपालिका –१२/१४७५–१४ र १२/१४७५–९ स्थित किता नं २ र ३३ को क्षेत्रफल ०–५–६–१ र ०–४–७–३ को जग्गाहरू सिलबन्दी बोलपत्र आह्वान गर्दा सबैभन्दा बढी रकम बोलकबोल गर्ने विणा गुप्तालाई दिने निश्चय गरेको थियो । बैंकका मुख्य शाखा काठमाडांैले ०६७ फागुन २० गते जनकपुर शाखालाई बोलकबोल दाताविना गुप्तासँग २१ लाख ३० हजार लिएर उक्त जग्गा निजको नाममा नामसारी गरिदिन पत्र पठाएको थियो । बैंकले गुप्ताको नाममा नामसारी गर्न खोजेपछि उक्त जग्गामा आफनो अंश भएको भन्दै धितो दिएका संजयकुमार सिंहको परिवारजनले सर्वोच्चमा मुद्दा दिएका थिए । मुद्दा परेपछि जग्गा नामसारी प्रक्रिया रोकिएको थियो ।
यता बोलकबोल दाता गुप्ताले बुधबार पत्रकार सम्मेलनमा भनिन्, ‘जग्गामाथि मुद्दा परेकाले पैसा फिर्ता गरिदिन बैंकसँग आग्रह गर्दा बैंकले दिएन ।’ बोलकबोल सकारेकाले सो जग्गा फैसला भएपछि लिनुनैपर्ने दबाब दिँदै आएका थिए । उनले भनिन्, ‘चार वर्षपछि बैंकले मुद्दा जितेपछि जग्गा दिनबाट पछि हटेको बताइन् । उनले बैंकका शाखा प्रमुख नीरज लम्सालले जग्गाका लागि ३० लाख बढी दिएर ५५ लाख लिएर जग्गा दाबी फिर्ता गर्न सहमति गरेका थिए । तर, पुनः केही दिनपछि सो सहमतिलाई पनि लत्याउँदै जग्गा पनि जाने र पैसा पनि डुब्ने भनी धम्की दिएको आरोप लगाइन् । गुप्ताले अहिले आएर सो जग्गाको मूल्य करोडौँ भएपछि बढी पैसाको लोभमा परेर उक्त जग्गाको अंसियारसँग करोडौँ रुपैयाँ लिई उनकै नाममा नामसारी गर्न लागेको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया