उठ्नेछौँ, हिँड्नेछौँ र दौड्नेछौँ

Manoj-Khatiwadaभवितव्यको भर हुँदैन । आइलागिसकेपछि यसको प्रतिकूल डसाइको प्रभाव अनन्तकालसम्म हाम्रा मनभरि पिलो बनेर पाकिरहन्छ । अनेक प्रयत्न गर्छौं बिर्सन– त्यो चोट, त्यो अत्याहट र त्यो पीडालाई । तर, कसैगरी पनि त्यसको भयले लखेट्न छाड्दैन । यो सालको वैशाख १२ गते कालो दिन बनेर अमिट रहनेछ हाम्रो मगजभरि । सुनाइरहनेछौँ आगामी पुस्तालाई हामीले— यो बेचैनी, यी सुस्केरा र यी दुःस्वप्नहरू ।

यी दिनमा हामीले दसौँ हजार आफ्ना प्रियजन गुमाइसक्यौँ । कालले लुछेर छाडेका घाइतेहरू कति त ठीक पनि भइसके, कति थला परेर ओछ्यानमा छट्पटाइरहेका छन् । हामी सबैका मनमा चाहिँ त्यो क्रुर दिन पुनरागमनको त्रासले हरघडी हरप्रहर च्याप्प समातेर राखेको छ । भनौँ न, हामी भयाक्रान्त मनोदशा बोकेर जीवनपथमा घस्रिरहेका छौँ । १२ गते पछाडि हामीले कुनै कसर बाँकी नराखी आफ्नो नियति, भाग्य, प्रकृति र भगवान्लाई सत्तोसराप गरिसक्यौँ । अझैँ गरिरहेका छौँ ।
यति हुँदै गर्दा पनि एउटा निर्मम सत्य के हो भने प्रकृतिको हामीप्रति कुनै वैरभाव छैन, कुनै प्रतिशोध र दुश्मनी छैन । अब प्रश्नका झटारा आफैँ तिर नहानी सुखै छैन हामीलाई । अब प्रश्न गर्नैपर्छ– काठमाडौंको छातीमा ठडिएका यमानका अपार्टमेन्ट र गगनचुम्बी बंगलाहरू कतै प्रकृतिको आधारभूत नियममाथि नै उडाइएको धज्जी त थिएन ? कतै नौ तले दरबारमाथि बसेर भुँइमान्छे गिज्याउने परपीडक प्रवृत्ति र लय नमिलेको सस्तो ढोंग त थिएन ? भूकम्पको उच्च जोखिममा नेपालका सहरहरू छन् भनेर रिपोर्टहरू आइरहँदा पनि हामी अजर छौँ भनेझैँ गरी निस्पृह रहनुको सजाय पनि हो की यो क्षति र विनाश ?
विपत् नपर्दासम्म सम्मुखमा हाँसिरहेका दुर्दिनलाई समेत आँखा चिम्लिएर अवमूल्यन गर्नैपर्ने हाम्रो आम चरित्रलाई आँखै अगाडि गल्र्यामगुर्लुम ढलेका आफ्नै घरका भग्नावशेषले गिज्याइरहेका पो हुन् कि ? अब बुझ्न कति पनि ढिला गर्नुहुन्न– प्रकृतिको लक्ष्मणरेखा नाघेकै कारणले डाइनोसरहरू आपैmँ लोप भएका थिए । अहिले निकै गुणस्तरीय भनेर प्रचारित सडकहरू चिरा परेका छन् । अब फेरि प्रश्न गर्नुपर्ने छ– सधैं सरकारी बजेटमा अनुचित रजाइँ गरेर झारो टार्दा दुनियाँलाई ठगिएछ कि आफ्नै कौशल, इज्जत र प्रतिष्ठामाथिसमेत धावा बोलिएछ ? भोलिका दिनमा आफ्ना अनुभव पत्रमा आफैँले बनाएका तिनै चिरा परेका सडक कुन मुखले पस्तुत गरेर भौतिक पूर्वाधार निर्माणका लागि योग्य र दक्ष साबित हुने हो ? राज्यको लगानीमा इन्जिनियर भएकाहरूले डिजाइन गरेका संरचनाहरूको बेहाल हेर्दा आफ्नो क्षेत्रप्रति रत्तिभर इमानदार नभएका नैतिकहीन हाम्रा संबन्धित इन्जिनियर साबहरूलाई दिइने सम्मान नख्खुको जेलभन्दा उपयुक्त के होला ?
हाम्रो राज्य कति दूरदर्शी रहेछ भनेर ठुल्ठूला तर्क गर्नै परेन । विपत् आउनेवाला छ भनेर आजसम्मका कुनै पनि सरकारले केही हजार थान त्रिपालको जगेडा गर्नसमेत सकेनछन् । अब आफैँमाथि अट्ठाहास गर्नुको अर्को उचित विकल्प नै के रह्यो र ?
खैर, विगत्का कमजोरी कोट्याएर पनि हाम्रो आगत सुखद हुने छैन । अब बिस्तारै पीडा र गतिहीनताको दलदलबाट बाहिर आउनुपर्नेछ । प्रकृति हामीलाई हेरेर मुस्काइरहेको हुनेछ । घाम न्यानो बाँड्न हाम्रो छेउ आउनेछ ।
पूmलहरूले सुगन्ध छर्किएर हामीलाई ताजगी प्रदान गर्नेछन् । खोला अविराम हिँडेर हामीलाई गतिशीलता सिकाउनेछ । चराहरूले हाम्रा लागि गीत गाइदिनेछन् । हामीले उठ्नुपर्नेछ, हिँड्नुपर्नेछ र दौडिनुपर्नेछ ।
उठेपछि, हिँडेपछि र दौडिएपछि नै त हो गन्तव्य भेटिने ।
०००

प्रतिक्रिया