एक डलरमा सर्पदंश !

jaydev_gautam_gre‘वान्ट अ बाइट ? जस्ट वान डलर !’ अनचिनारु प्रदेशमा कुनै अपरिचित मानिस मेरासामु ठिङ्ग उभिएर मलाई आफूतिर आकर्षित गर्न खोजिरहेको थियो ।
नियालेर मैंले उसलाई हेरिरहेँ । उ एकजना अश्वेत थियो । उसले घाँटीमा यम्मानको सर्प बेरेको थियो– त्यो सर्पै थियो वा अजिंगर, मैले यतिकै ठम्याउन सकिना । तापनि मलाई बुझ्न भने गाह्रो भएन, उसले एकपटक सर्पलाई ठुँगाउन लगाउँदो होला र त्यसबापत् एक डलर रकम लिन्थ्यो होला । अर्थात्, एक डलरमा एकपटक सर्पदंश । तर, म भावशून्य जस्तो भएर एकटक उसलाई हेर्दै उभिइरहेँ । धेरैबेर उसले अनुनयका आँखाले मतिर हेरिरह्यो । म नजिकै अरू केही मानिस पनि थिए । त्यो अपरिचित ती मानिसतिर गएन । मलाई ती मानिसले पनि त्यस अपरिचित व्यक्तिप्रति खासै चासो राखेको वा देखाएको जस्तो लागेन । मलाई नयाा देखेर अथवा एसियाली रङको बुझेर उसले मलाई टार्गेट गरेको थियो कि ? मलाई त्यस्तो कुनै कारण हो/होइन भन्नेतिर समय खर्चनु व्यर्थ लाग्यो । अन्तत: मैले खासै चासो नदेखाएपछि निस्पृह भावले उ त्यहाँबाट अन्यत्र लाग्यो ।
त्यसो त, अमेरिकाको त्यो दिन निकै सहज थियो । घमाइलो र मनै हरर्र पार्ने अपराह्न । गर्मी थिएन । मौसममा चीसोपन थियो तर जाडै भने थिएन । म अमेरिकी राज्य भर्जिनियाको अलेक्जिान्ड्रिया काउन्टीको माउन्ट भर्नान भन्ने ठाउँमा थिएँ । पहिलो अनलाइन नेपाली पत्रिका ‘नेपालीपोस्ट डटकम’ का सम्पादक भाइ गिरिश पोखरेल मलाई पिकअप गर्न आउन लागेका थिए । म उनैलाई कुर्दै एउटा बसबिसौनीमा उभिइरहेको थिएँ । त्यति नै बेला त्यो सर्पदंश गराउने व्यक्ति मेरासामु आइपुगेको थियो । अलि टाढा पुगेपछि उ एउटा पसलभित्र छिर्‍यो र मेरा आँखाअगाडिबाट अलप भयो ।
सफा र चिल्ला बाटामा एकनाससित गाडीहरू आवतजवत गरिरहेका थिए । थरि–थरिका बाहन– बस, ट्रक, सानाठूला जिप, भ्यान, कार, एकाध लिमोजिन र यस्तै–यस्तै । मोटरसाइकल कतै देखिँदैन, बरु फाट्टफुट्ट साइकल भने देखिन्थे । जता आँखा पुग्छ, केवल चारपांग्रेहरूकै जमघटबाहेक केही देखिँदैन । पैदल हिँड्ने पनि निकै कम मात्र । मलाई लागेथ्यो, सायद बसोबास र काम गर्ने ठाउँ टाढा हुने हुँदा मानिस निजी कार अथवा सार्वजनिक बसमै यात्रा गर्नुपर्ने बाध्यतामा रहँदा हुन् ।
माउन्ट भर्नान अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंटनको जन्मथलो हो (उनको कर्मथलो त सिंगो अमेरिका नै भइहाल्यो) । अमेरिकी राजधानीको नाम उनकै सम्मानमा राखिएको हो । उनी जीवित छँदै आफ्नो प्रत्यक्ष निर्देशनमा उनले वासिंगटन डिसीको निर्माण गर्न लगाएका थिए । फ्रान्सेली आर्किटेक्चरबाट प्रभावित डिसीको निर्माण भइरहँदा उनी घोडा चढेर यही माउन्ट भर्नानबाट नियमित रूपमा निर्माण कार्यमा गइरहन्थे ।
माउन्ट भर्नानमा जर्ज वासिंटनको ठूलो मौजा रहेछ । त्यहाँ घुम्दा थाहा हुन्छ– उनको शेषपछि सरकारले उनको घर र जग्गालाई अत्यन्त सावधानीपूर्वक संरक्षण गरिएको संग्रहालय बनाएर राखेको छ । जर्ज वासिंटन मेमोरियल म्युजियम अमेरिकी इतिहासको सुन्दर र महान धरोहर हो । त्यहाँ मजस्ता आक्कल झुक्कल पुग्ने ‘एमटी पकेटवाला’ भन्दा वर्षेनी हजारौा स्वदेशी र विदेशी पर्यटक आउँदा रहेछन् । त्यो एकातिर इतिहासको गरिमाको संरक्षण रहेछ त अर्कोतिर इतिहासको विरासतका रूपमा रहेका मूल्यहरू पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने गौरवशाली माध्यम पनि रहेछ ।
अलेक्जान्ड्रिया घुम्दा त्यहाँ कतै पनि अव्यवस्थित बस्ती वा पसल वा पार्किङ वा भिडभाड केही पनि देखिएन । घरहरू या त ठूला अपार्टमेन्ट छन्, होइन भने जोडिएर बनाइएका आवासीय भवन, जुन दुई/तीन तलाभन्दा अग्ला छैनन् अथवा सडकभन्दा निश्चित दूरीमा बनाइएका सिंगल प्राइभेट होम मात्र । सडक र फुटपाथे पेटीबाहेक अन्यत्र सबैतिर दुबो लगाइएको छ र त्यसले गर्दा धुलो उड्ने सम्भावनै रहेन ।
तर म घरि–घरि त्यही घाँटीमा सर्प बेरेको मान्छे सम्झिरहन्छु । मलाई लाग्न थाल्छ, चटकेहरू जहाँ पनि हुँदा रहेछन् । नौटंकीबाजहरू जता पनि भेटिँदा रहेछन् । सयाौ असमानता र हजारौा असहजताहरू सर्वत्र छताछुल्ल रहेका भए पनि ग्लोबलाइज्ड भइसकेको आजको दुनियामा चटकेहरूको रंगबिरंगी एकरूपता रोचक हुँदो रहेछ । मैले भारतका अनेक स्थान घुम्दा ‘जम्हुरे ?’ र ‘जी उस्ताद !’ भन्ने सवाल–जवाफजस्ता लाग्ने शब्दहरू अनगन्ती पटक सुनेको छु । कतिपटक त तमासेहरूको हुलमा मिसिएर आफौले पनि उनीहरूको चर्तिकला हेरेको छु । कहिले बाँदर नचाउने चटक, कहिले भालु नचाउने त कहिले सपेराले बिन बजाउँदै सर्पको खेला देखाउने, कहिले साना–साना केटाकेटी हातमा लामो लठ्ठी समातेर मसिनो डोरीमा हिँड्ने त कहिले जगरका रौा ठड्याउने गरी छुरी हान्नेसमेतका रक्तपातपूर्ण चटक ! अझ कतिपय चटकेले त केटाकेटी र किशोरहरूलाई थप डराउन दिन र चटक चलिरहेको समयअवधिभरि बसिरहन बाध्य पार्न पहिले नै भन्ने गर्थे, ‘जो केटाहरू हल्ला गर्छन् अथवा बीचैमा हिँड्छन्, उनीहरूको तुरी गायब हुन्छ । नपत्याए एकछिन पछि छामेर हेर्नु ।’
त्यहाँ उभिएर चटक हेरिरहेका केटाहरूको सातो जान्थ्यो । कसको साहस, केही हल्ला गर्ने वा चटकलाई बीचैमा छाडेर हिँड्ने !
यस्ता कतिपय चटक नेपालमै पनि देख्न पाइन्छ । विशेषगरी भारततिरबाट आएका चटकेहरूले यस्ता अभियानलाई निरन्तरता दिइरहेका देखिन्छन् । यदाकदा तराई भेगका दुर्लभ मानिस पनि चटक गर्दै हिँडेको देख्न पाइन्छ । तराई भेगमा, काठमाडौंमा र जिल्ला सदरमुकामहरूमा यस्ता चटक अक्सर देख्न पाइन्छ । यहाँ मात्र होइन बरु पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान आदिमा पनि यस्ता चटक भइरहने गर्छन् ।
तर, अमेरिकामा कस्तो होला ? के त्यहाँ पनि यता हामीकहाँ जस्तै चटक हुने र देखाइने गरिन्छ होला ? के त्यहाँको व्यस्त समाजका मानिसलाई घन्टौा एकै ठाउँ उभिएर कुनै चटक हेरिरहने फुर्सद हुन्छ होला ? यस्ता सोचाइ बेला–बेला मनमा आइरहन्थे ।
अलेक्जान्ड्रियाको त्यो सर्पदंश प्रसंगले मेरा धेरै जिज्ञासाहरूको जवाफ दिएर गयो ।

प्रतिक्रिया