ओह ! समयको यो चक्र कति छिटो घुम्दो रहेछ ! भर्खर जस्तो लाग्छ, शनिबार ३० जेठको बिहान अप्रत्याशित खबर सबैतिर प्रसारित भइसकेको थियो– शुक्रबार २९ जेठ साँझमा बिजुली करेन्ट लागेर एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भयो ! सुरुमा विश्वासै लागेन । तत्काल केही फोन सम्पर्क गरेँ अनि फेसबुक र अनलाइन समाचारहरूमा अविश्वासपूर्ण नजर डुलाएँ । पत्याए पनि नपत्याए पनि आखिर सत्य त सत्य नै ठहरिन्छ । हो रहेछ– हामी सबैका एकजना अति प्रिय मानिस ललितजी अब यो दुनियाँमा रहेनछन् ! ललितकृष्ण श्रेष्ठ बितेको १३ दिन पनि भइसकेछ !
करिब दुई वर्षपहिले नोभेम्बर २०१३ मा ललितजीका पिता रामकृष्ण श्रेष्ठ ७८ वर्षको उमेरमा बितेका थिए । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए, सर्वांग अस्पतालमा दुई सातादेखि उपचाररत रहेकै अवस्थामा उनले श्रीमती, दुई छोरी र दुई छोरालाई टुहुरो बनाएर सधैँका लागि आँखा चिम्लेका थिए ।
दुई वर्षपछि ललितजीको जीवन विद्युतीय करेन्टले लग्यो । उनको मृत्यु परिवार, परिचित र शुभचिन्तकहरूका लागि करेन्ट बनेर फैलियो ।
ललितजी स्वस्थ थिए । रोगव्याधिले उनलाई अझ गाँज्न सकेको थिएन । उमेर पनि कति पो भएको थियो र ? भर्खर ४९ वर्ष त पुगेका थिए । हो, उनको हौसला बुलन्द थियो र अनुभवको लामो बाटो हिँडिसकेका उनी धेरै उमेरदार व्यक्तित्वहरूभन्दा परिपक्व थिए । नेपालको फुटबल व्यवस्थापन–प्रशासन क्षेत्रमा सर्वाधिक समुज्ज्वल भविष्य बोकेका व्यक्तित्व थिए ललितजी । समर्थक र विरोधी दुबैबीच उत्तिकै प्रिय रहँदै आएका उनको समन्वयकारी क्षमता अद्वितीय थियो ।
यही अद्भुत समन्वयकारी कुशलताले गर्दा ललितजीले छोटो उमेरमै पनि खेल–व्यवस्थापन क्षेत्रमा रहरलाग्दा उपलब्धि हासिल गरेका थिए । यसको अर्को पनि कारण थियो । ललितजीको सबैभन्दा ठूलो विशेषता र क्षमता उनको मिलनसारिता थियो । मिलनसार स्वभावले गर्दा उनी सबैसँग नजिक हुन सक्थे । नजिक भएपछि आफूसँगैको मानिसका खुबी र कमीबारे उनी जानकार बन्दथे । कालान्तरमा यही प्रवृत्ति उनलाई एक सफल फुटबल–कूटनीतिज्ञ बनाउन अत्यन्त प्रभावशाली माध्यम बन्न पुगेको थियो । नेपाली फुटबलमा विसं २०४० यता भएगरेका घटना–वारदात, स्वभाव, प्रकृति र आएगए वा स्थापित व्यक्ति–पदाधिकारी सबैबारे ललितजी जति नजिकको जानकार अरू कोही दोस्रो व्यक्ति थिएन । उनी सधैँ ग्रासरुट तहसम्मै पुगेका मानिस थिए ।
मैले ललितजीलाई पहिलोपटक कुनै सहिद स्मारक लिग फुटबल सिजनमा दशरथ रंगशालमा भेटेको थिएँ । विक्रमीय संवत् २०५१ को समय थियो । तिनताका म कान्तिपुर दैनिकमा सहकर्मी सञ्जय गोर्खालीसँगै खेलकुद ‘बिट’ मा थिएँ । कान्तिपुर दैनिकका साथै मेरो संलग्नता आफैँ सम्पादक रहेको ‘खेल–संसार’ द्वैमासिक सित पनि थियो । खेल सामग्री संकलन र सम्प्रेषण गर्ने क्रममा अन्य अनेक खेलकर्मी, खेलपदाधिकारी र खेलसम्बद्ध व्यक्ति एवं संस्थाहरूसित निकट हुने क्रममा ललितजीसित पनि निकटता बढ्यो अनि हार्दिकता मौलायो ।
पहिलो भेटदेखि नै मलाई ललितजी निकै सरल एवं निश्छल मनुवा लागे । दिल खोलेर हाँस्ने, हँसाउने, सहयोग गर्न सदा तत्पर तर आफूलाई सुम्पिएको कार्य÷जिम्मेवारी पूरा गर्न भने हठी नै भन्न मिल्ने गरी उत्तिकै दृढ । उनको मिजासिलो स्वभाव अत्यन्त मन प¥यो । उनी सधैँ मलाई ‘जयदेव सर’ र कहिलेकाहीँ ‘जयदेवजी’ भन्ने गर्थे । मेरा लागि उनी सधैँ ‘ललितजी’ नै रहे । मैले ‘ललित सर’ भन्दा उनी मज्जाले हाँस्थे ।
ललितजीसित मेरा नमिठा अनुभूतिहरू लगभग छैनन् तर मीठा र सकारात्मक सम्झनाहरू अनगिन्ती छन् । निवासगोपाल वैद्य, दिलेन्द्र वैद्य, ओम श्रेष्ठ र अन्यसँगै ललितजी अनेकपटक मेरो निवासमा आएका थिए । म असंख्यपटक उनीसँगै पाटन कृष्णमन्दिरसँगैको होनचा पसलमा पीरो आलु र बारासँगै वासा र ‘क्वा ल’ मिसाएर झुम्मिएको छु । हामीले रुसलान भोड्का र खुकुरी रमका धेरै गिलास सँगै ग्याम्बे पनि ग¥यौँ ।
ललितजीको विवाहमा हामी खेल पत्रकार सबैभन्दा बढी रमाउँदै सहभागी भएका थियौँ । उनको विवाह भोज कृष्णमन्दिर अगाडिको क्याफेसामु रहेको खुला स्थानमा भएको थियो । त्यहाँ अन्य सबै अतिथि गइसकेको अवस्थामा हामी खेल पत्रकार र ललितजी मात्र भएर राति एक बजेसम्म हाँस्दै र नाच्दै रमाएका थियौँ । पत्रकार र साथी भनेपछि ललितजी आफ्नै परिवार पनि भुलेजस्ता हुन्थे ।
विवाहपछि लामो समय सन्तान लाभ नहुँदा उनी बडो चिन्तित देखिन्थे । धेरैपटक यससम्बन्धमा हामी दुईबीच कुराकानी हुने गरेको थियो । मन मिल्ने साथीसित उनी आफ्ना अन्तरंग कुरा गर्न सधैँ तयार रहन्थे ।
लाग्छ, २८ माघ २०२२ मा ललितपुरको पाटन मंगलबजारमा रामकृष्ण श्रेष्ठ र आमा नानुबाबा श्रेष्ठको परिवारमा जन्मेका ललितजी सायद नेपाली फुटबलकै लागि धर्तीमा आएका थिए । उनले सानै उमेरदेखि फुटबल खेल्न थालेका थिए । सायद २०३६ सालदेखि –जतिबेला उनी भर्खर १४ वर्षे ठिटो मात्रै थिए– उनले टोलमै स्थापित थ्रीस्टार क्लबका लागि सबैभन्दा तल्लो तह डी डिभिजनबाट खेल्न सुरु गरेका थिए । हेर्दाहेर्दै उनीसमेतको टोलीले क्लबलाई सी र बी हुँदै पहिलो वर्षमै ए डिभिजनमा पु¥यायो । यसरी उनले मुलुकभित्र फुटबलका सबै तहमा थ्रीस्टारका चल्तापुर्जा र भरपर्दा ‘डिफेन्डर’ खेलाडी बनेर सहभागी भए । सायद यो सहभागिता र खेलाडी जीवन अझ अगाडि बढ्थ्यो होला तर कुनै एउटा म्याचका क्रममा उनलाई घुँडामा चोट लाग्यो । त्यही ‘नी इन्जरी’ उनलाई भविष्यमा फेरि कहिल्यै सक्रिय फुटबल खेलाडी नबन्नका लागि स्थायी रेडकार्ड हुन गयो । दुर्भाग्यपूर्ण संयोग नै मान्नुपर्दछ, उनका भाइ जयकृष्ण श्रेष्ठ पनि राम्रो फुटबल खेल्थे तर उनलाई पनि कुनै म्याचको क्रममा त्यस्तै ‘नी इन्जुरी’ भयो र भाइ जयको पनि खेलाडी जीवन सकियो । भाइ जयकृष्ण पछिल्ला समयमा प्रशिक्षकको भूमिकामा छन् ।
ललितजीको सन्दर्भमा सायद भाग्य पनि यही चाहन्थ्यो, नियतिलाई यही मञ्जुर थियो । ललितजीको निधारमा मैदानमा नब्बे मिनेट बलसँगै दौडिनुपर्ने अध्याय लेखिएकै थिएन । उनलाई त मैदानमा दौडिने अन्य प्रतिभाशाली युवा जमात जन्माउनु थियो, मुलुकको क्लब फुटबलमा नयाँ लहर र रहरलाग्दा परिवर्तन ल्याउनुथियो र थियो देशकै फुटबल क्षेत्रको ‘रफ एन्ड टफ’ एन्फा प्रशासन सञ्चालन गर्नु ।
यी सबै भूमिका र तमाम जिम्मेवारीहरू ललितजीले शान्त, भद्र, शालीन र सज्जनतासाथ सफलतापूर्वक निर्वाह गरे – आफ्नो मिजासिलो स्वभावअनुरुप नै ।
सक्रिय फुटबल खेलाडीको यात्रा निरन्तर हुन नसकेपछि ललितजी तत्कालै क्लबको व्यवस्थापन पक्षमा ‘सरुवा’ भइहाले । अनि क्रमशः उनी क्लब अध्यक्ष (विसं २०४८ मा पहिलोपटक) भएपछि त थ्रीस्टार क्लबले सफलता र चर्चाको सगरमाथा आरोहण गर्न थाल्यो । संवत् २०५३ सम्मै उनी क्लब अध्यक्ष थिए । पछि २०५९ सालमा उनी पुनः क्लब अध्यक्ष निर्वाचित भए र निधन हुँदाका दिनसम्म उनी क्लबका सम्मानित र सक्रिय अध्यक्ष थिए । ललितजीको सफलताको कथा बन्यो यो । थ्रीस्टारसँगै देशका अन्य क्लबहरूले पनि आफूलाई परिमार्जन र समृद्ध पार्दै लान थाले । पहिलोपटक क्लब फुटबलमा प्रायोजक भित्र्याए । निरीह क्लबहरूलाई आर्थिक रूपमा सबल बनाउने प्रयास अगाडि बढाए र सफल पनि भए । म्याचको गेट मनीको निश्चित भाग सम्बन्धित क्लबहरूले पाउने चलन सुरु भयो । गणेश थापा, टासी घले, महेश विष्ट, नरेन्द्र श्रेष्ठ, ललितजी र अन्यसमेतको टोलीको नेतृत्वमा फुटबल खेलाडी मात्र नभएर प्रशिक्षकहरूले पनि नगद र मोटरसाइकल पुरस्कार पाउनु सामान्य बन्दै गयो । राष्ट्रिय फुटबल आकाशमा नयाँ उमंग र नयाँ लहर सिर्जना भयो ।
यी धेरै कुराको धेरै श्रेय ललितजीलाई जान्छ ।
उनको खुबी थियो, ललितजी एक्लै हिँड्दैनथे । धेरै जनालाई नआउने वा थुप्रैले नजान्ने कुरा उनलाई समूहमा हिँड्न आउँथ्यो । उनले सानैदेखि टिम गेम खेलेका थिए र टिममा कसरी हिँडडुल गर्नुपर्छ, कसरी टिममा मिल्नुपर्छ भन्ने उनलाई राम्ररी थाहा थियो । टिममा हिँड्न र टिमलाई हिँडाउन सक्ने अदम्य क्षमता ललितजीमा थियो । यही कारण हो, थ्रीस्टार क्लबको साधारण कार्यकारी सदस्यबाट फुटबल प्रशासन–व्यवस्थापनमा हात हालेका ललितजी २०५२ मा अखिल नेपाल फुटबल संघमा केन्द्रीय कार्यकारी सदस्य छनोट भए ।
त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । एन्फा साधारण सदस्य, सहसचिव, कोषाध्यक्ष/प्रवक्ता, उपाध्यक्ष र प्रथम उपाध्यक्षको भूमिका सफलतापूर्वक निर्वाह गर्दै एन्फा अध्यक्ष गणेश थापा भ्रष्टाचार प्रकरणमा आरोपित भई निलम्बनमा परेपछि ललितजी निर्विवाद कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पुगेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको कोटाबाट संविधानसभा सदस्य तथा हाल निलम्बित एन्फा अध्यक्ष गणेश थापाका शब्दमा, निश्चित रूपमा ललितजी निकट भविष्यमै एन्फाका फुल–प्लेज्ड अध्यक्ष बन्नेवाला थिए । तर … ।
ललितजीको अप्रत्याशित निधनले नेपालको फुटबल क्षेत्रलाई जुन अपूरणीय क्षति पुगेको छ, त्यसको लेखाजोखा आउँदा दिनमा हुने नै छ । यो वर्तमानमा उनको निधनबाट सिर्जना भएको रिक्तताले सबैभन्दा बढी त गणेश थापा नै मर्माहत भएका छन् । थापाले एउटा अनलाइन पत्रिकामा अत्यन्त भावुक हुँदै मार्मिक शब्दहरू पोख्दै भने, ‘ललित, तिमीले मलाई धोखा दियौ । तिमी भोलिका एन्फा अध्यक्ष थियौ तर बीच बाटोमै अनायास हामीलाई छाडेर तिमी गयौ ।’ ढुंगाको मुटु भएको भनिएका गणेश थापासमेतलाई आँसुको आहालमा पु-याउन सक्ने ललितजी कुनै पनि अर्थमा चानचुने मानिस छँदै थिएनन् ।
ललितजीको नश्वर शरीर अब यो संसारमा रहेन । उनको अभाव सबैभन्दा बढी त उनी पत्नी नीलु श्रेष्ठ, छोरी श्रीतिका श्रेष्ठ र छोरा श्रेयश श्रेष्ठले महसुस गर्नेछन् । आमा, भाइ, दिदीबहिनी र अन्य नातेदारहरूले आआफ्नै ढंगले उनको कमी अनुभूत गर्नेछन् । साथीसंगातीहरूको अवस्था आफ्नै ठाउँमा छ ।
तर समयको यस उदेक लाग्दो घडीमा मलाई तपाईंसित एउटै प्रश्न गर्न मन लागिरहेको छ, ‘ललितजी, कति छिटै जिन्दगीको गिलास ग्याम्बे गरेको ? जीवनरूपी गिलास रित्याउन
किन हतारिएको ?’
प्रतिक्रिया