नेपालको इतिहासमा पूर्वी लिम्बुवान इतिहाससँग जोडिएको एउटा प्रमुख ऐतिहासिक तथ्य हो– हिलिहाङ राजा र उनको दरबार । त्यसो त इतिहास मानव सभ्यताको मेरुदण्ड हो । इतिहास र पहिचानबिनाको मानिस यो संसारमा मरितुल्य हुन्छ । इतिहास कुनै गीत संगीतसँग मात्र तुलना हुँदैन । संसारका प्रत्येक सामाजका आप्नै सभ्यता र इतिहास हुन्छ । त्यसैले हरेक कोणबाट समय सापेक्ष इतिहासलाई दस्तावेजीकरण गर्दै जानु र लानुपर्छ ।
ऐतिहासिक, पुरातात्विक, पर्यटकीय महत्व र इतिहास बोकेको पूर्वी पहाडको हिलिहाङ योङहाङ दरबार उचित संरक्षण र प्रचारप्रसारको अभावमा छायामा परेको छ । मेची अञ्चल, पाँचथर जिल्लाको पञ्चमी, अमरपुर र नागी गाविसबीचको डाँडाको टुप्पोमा रहेको हिलिहाङ राजा र दरबारको इतिहास जति चर्चित र पुरानो छ त्यतिकै रूपमा दरबार क्षेत्रको भौगोलिक बनावटको अवस्था पनि अति नै मनमोहक र रमणीय छ । समुद्री सतहबाट करिब एक हजार नौ सय मिटर उचाइमा अवस्थित दरबार क्षेत्रबाट सम्मुख पर्ने पाथीभारा मन्दिर र कुम्भकर्ण हिमाल शृंखलाले मनै लोभ्याउँछन् भने अर्कोतिर सूर्योदय र सूर्यास्तको दृश्य अवलोकनका लागि पनि यो दरबार क्षेत्र निकै उपयुक्त मानिन्छ । यो क्षेत्र विभिन्न जातजातिका जुडिबुटी, लालीगुराँसलगायत अन्य वनस्पतिले सुशोभित छ । पूर्वाञ्चलकै ठूला, पवित्र नदीहरू तमोर र कावेलीलाई काखमा लिएर बसेको हिलिहाङ दरबारको नेपाल एकीकरण हुनुभन्दा धेरै पुरानो इतिहास जोडिएको छ ।
इतिहासविद् डा. नारायण संग्रौलाद्वारा लिखित ‘पल्लो किरात’ पुस्तकमा उल्लेख भएअनुसार नेपाल एकीकरण हुनुअगाडि यो क्षेत्रमा थुप्रै साना राजा रजौटा थिए । तीमध्ये हस्तपुर (याङवरक) यकका राजा हिलिहाङ ज्यादै शक्तिशाली थिए । उनी लिम्बुवानका अन्तिम राजा पनि थिए । उनको जन्म वि.सं. १७७३ मा र मृत्यु वि.सं. १८४२ मा भएको थियो । उनका सेनापतिको नाम नाम्दीहाङ (काङशोरे) थियो । ३१ वर्षको उमेर (वि.सं. १८१४) मा उनले शासन हात लिएर २८ वर्ष (वि.सं. १८१४–१८४२) सम्म शासन गरेको इतिहासमा पाइन्छ ।
नेपाल एकीकरण गर्ने सन्दर्भमा राजा हिलिहाङ र गोर्खाली राजा पृथ्वीनाराण शाहका सेनाबीच १७ औँ पटकसम्म घमासन लडाइँ भयो । ती बीचमा हिलिहाङ राजा र पृथ्वीनाराणय शाहबीच औपचारिक अनौपचारिक धेरै सन्धि (सम्झौता) भएका थिए । ती सम्झौतामध्ये सबैभन्दा बढी चर्चित वि.सं. १८१४, १८३१ र १८४२ छन् ।
लामो समयसम्म युद्ध भएर कुनै पक्ष नहारेको अवस्थामा दुवै पक्षबाट दूरदर्शिता देखाई अन्त्यमा सन्धि (सम्झौता) भयो । उक्त सन्धिअनुसार स्थानीय क्षेत्रका अधिकार हिलिहाङ राजाले सञ्चालन गर्न पाउने र गोर्खालीलाई केन्द्रीय राज्य मान्ने गरी गोर्खाली राजा पृथ्वीनारायण शाह दाजु हिलिहाङ राजा तथा उनका सन्ततिलाई भाइ मान्ने गरी सम्झौता गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ । अर्थात् शाहहरू र योङहाङहरू राजखान्दानी दाजुभाइ रहने गरी नेपाल एकीकरणको खाका कोरेका थिए । यो सम्झौता नेपालको इतिहासमा ज्यादै परिचर्चा भएको पाइन्छ ।
वि.सं. १८३१ माघे संक्रान्तिका दिन अचानक पृथ्वीनारायण शाहको निधन भएपछि केही अस्थिरता आयो । त्यही मौकामा सिक्किमका राजाले लिम्बुवानमा आक्रमण गरे । यो आक्रमणले पूर्वी लिम्बुवानलगायत याङवस्क क्षेत्रमा अन्यौल थपियो । सिक्किमेले अस्थिर अवस्थामा आप्नो क्षेत्र दाबी गर्नु स्वाभाविक हिसाबले गोर्खालीभन्दा सिक्किमेली र लिम्बुवान (हिलिहाङ) को धेरै अगाडिको दौत्य सम्बन्धको कारण थियो । त्यो समयकालमा लिम्बुवान आपैmँमा विभाजित र अपुंगीता शासन थियो । दस लिम्बू १७ थुमको रूपमा चिनिने पल्लो किरात (लिम्बू) राजाहरूलाई उचाल्न थालियो । त्यही समयमा राजा हिलिहाङ योङहाङको वि.सं. १८४२ मा निधन भयो ।
उनको निधनपछि झन् लिम्बुवानमा अस्थिरता छायो । त्यही अस्थिरतालाई चिर्नका लागि लिम्बुवान र गोर्खालीबीच विगत सम्झौताअनुरूप हिलिहाङ राजाका भाइ मुसेनहाङ योङहाङ वि.सं. १८४२ को अन्त्यतिर लिम्बुवानका राजा भए । मुसेनहाङ राजा हुनेबित्तिकै लिम्बुवान गोर्खाली सन्धि (सम्झौता) गरेअनुरूप आप्ना दाजु हिलिहाङ राजाले लिएका नीति अनुसरण गर्दै उनले प्रयोग गर्दै आएका सम्पूर्ण अधिकार प्रयोजन गरी गोर्खा (नेपाल) सरकारको प्रत्यक्ष सहयोगमा सिक्किमबाट भएका अतिक्रमणलाई परास्त गरेको इतिहासमा पाइन्छ ।
त्यसरी नै हिलिहाङ राजा र दरबारको माथिल्लो डाँडामा भोटे गढी (लेम्चा येक अर्थात् भोटेहरूको दरबार) पनि थियो । ती भोटेहरूलाई हिलिहाङ राजाले भोटेगढीबाट विस्थापित गरी सिक्किमतिर खेदाएको उनीहरूलाई पक्कै निको लागेको थिएन । गोर्खालीहरूले सिक्किमेली राजा र उनका सेनालाई परास्त गर्न मद्दत पु-याएबापत् राजा पृथ्वीनारायण शाह र हिलिहाङबीच दुवैपक्षको वंशमा हस्तान्तरण हुँदै जाने सम्झौतालाई पुनर्ताजगी गरी पाँच बुँदामा समेटियो–
(१) हिलिहाङ योङहाङ र उनका सन्ततीले अविच्छिन्न रूपमा हस्तपुर (याङवरक) यकमा राज्य शासन सञ्चालन गर्न पाउने ।
(२) शाहवंशीय (गोर्खाली) राजालाई दाजु र लिम्बुवानका राजा (मुसेनहाङ योङहाङ) लाई भाइ मान्ने ।
(३) केन्द्रीय सरकार गोर्खा (नेपाल) लाई मान्ने ।
(४) हस्तपुर (याङवरक) यकमा तैनाथ सैनिक (तिलिंगा) हरूलाई लाग्ने सम्पूर्ण खर्च राजा हिलिहाङ आपैले स्वधिकार प्रयोग गर्न पाउने ।
(५) सम्भावित सबैतिरका आक्रमणलाई दुवै पक्ष मिली परास्त गर्ने ।
‘नेपालको इतिहासको सन्दर्भमा १७ औँ पटकसम्म राज्य विस्तार गर्ने क्रममा गोर्खाली–लिम्बुवानबीचको युद्धमा एकआपस हारजित नभई दुवै पक्ष (पृथ्वीनारायण शाह र हिलिहाङ) को दूरदर्शी सम्झौता भएको थियो । यसमा इतिहास पुरुष राजा हिलिहाङले आप्mनो राज्य (भूमि) को स्थानीय अधिकारसहित सहजीकरण भूमिका खेली वर्तमान नेपालको स्वरूप बन्न सफल भएको थियो ।’
यस सन्धिले पनि हस्पुर (याङवरक) यक राज्य त्यतिबेला ज्यादै शक्तिशाली रहेको प्रमाणित गर्दछ । राजा हिलिहाङ राजवंश सम्पन्न र शक्तिशाली थिए भन्ने कुरा उनको दरबार क्षेत्रमा भेटिएका विभिन्न दुर्लभ वस्तुको भग्नावशेष तथा अवशेषले पनि पुष्टि गर्दछ । हिलिहाङ दरबारमा प्रयोग भएका इँटा विशेष प्रकारका छन् । यी इटा तत्कालीन समयमा चीनबाट कैयौँ महिना लगाएर ल्याएबाट के प्रमाणित हुन्छ भने राजा हिलिहाङ ज्यादै शक्तिशाली, पराक्रमी, राजनीतिज्ञ, कूटनीतिक, रणनीतिज्ञ र दूरदर्शी थिए भन्ने अनुमान लगाउन सकिन्छ । ती इँटा चिनियाँ प्रविधिबाट बनाइएको हो जसको अवशेष अहिले पनि भेटिन्छ । तर दुर्भाग्य, पूर्वी लिम्बुवानकै इतिहास बोकेको दरबारको संरक्षणको अभावमा त्यहाँभित्र रहेका बहुमूल्य पुरातात्विक वस्तुहरू धमाधम हराउन थालेका छन् । समयमै यसलाई संरक्षण गरे मात्र राज्यको ठूलो सम्पत्ति जोगिन्छ । होइन भने हिलिहाङ राजा र दरबारको इतिहास नै मेटिने खतरा छ ।
आध्यात्मिक आस्थानुसार दरबार परिसरभित्र लिम्बूहरूको सबैभन्दा मूलदेवी कालिका मन्दिर (युमा सम्माङकहिम) छ । युद्धमा जानु वा युद्ध छेड्नुअगाडि युमा सामाङहिममा शक्ति माग्ने चलन वा दर्शन गरेमा पराजित हुन नपर्ने भनाइ छ । त्यहाँभित्र रहेका पुरातात्विक सामान चोरेर लगेमा अथवा ती वस्तुबारे नराम्रो नियम राखेमा त्यो व्यक्ति, परिवार र समाजमा अशुभ वा मृत्युसम्म हुने भनाइ छ । यसैगरी दरबार परिसरमा रहेको प्वालै प्वालसहितको युद्ध छेड्ने घरबाट चारैतिरका शत्रुलाई धावा बोल्न वा निशाना लगाउन मिल्ने र बाहिर शत्रु पक्षबाट हानिएको कुनै पनि गोली नलाग्ने जनविश्वास छ । हिलिहाङ राजामा एक अलौकिक शक्ति थियो भन्ने भनाइ पनि छ– उनी र उनका सन्ततीले प्रयोग गरेका बहुमूल्य वस्तु तथा युद्ध सामग्री र गोर्खाली राजाले दिएका तोप, निशान, हिलिहाङ झन्डा, नगरा, बन्दुक र विभिन्न युद्ध सामग्री त्यसरी नै भोटेगढी (मुदेम्बा दरबार) बाट भोटे राजालाई विस्थापित गरी खोसिएका बहुमूल्य वस्तु आजसम्म छन् । ती वस्तु स्थानीयवासीहरूका लागि मात्र नभएर मुलुककै ऐतिहासिक, पुरातात्विक र पर्यटकीय सम्पदाको रूपमा छन् ।
हिलिहाङ दरबारको महत्व प्रवद्र्धनका लागि स्थानीय गाउँ विकास समिति र जिल्ला विकास समितिको प्रयासमा सडक पु-याइएको छ । इलामदेखि पाँचथर फिदिम सदरमुकाम सडकखण्ड मेची राजमार्गअन्तर्गत गोपेटार, पञ्चमी र नागीबीच हिलिहाङ चोकबाट करिब पौने तीन किलोमिटर ग्राबेल मोटर बाटोबाट हिलिहाङ दरबार पुग्न सकिन्छ । पहाडी इलाका भए तापनि गाडीमा सुविधासहित पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्य बन्न सक्छ ।
करिब करिब २४०/२४५ वर्षपछि हिलिहाङ फाउन्डेसनको पहलमा नेपाल सरकार संस्कृति तथा पर्यटन सहरी विकास र पुरातत्व विभागअन्तर्गत रातो किताब भाग–२ मा बजेट निकासा भई ऐतिहासिक हिलिहाङ दरबारको जिर्णोद्वार मर्मत सम्भार तथा दरबारको उत्खनन् भएको छ । यो सरकारद्वारा हिलिहाङ दरबारको सम्बोधनको प्रयास हो ।
नेपालको एकीकरणको सन्दर्भमा पटक–पटक गोर्खा (नेपाल) राज्य विस्तार गर्ने क्रममा पनि लिम्बुवान पराजित नभएपछि दुवै (लिम्बुवान र गोर्खा) पक्षको दूरदर्शिताका कारण र इतिहास–पुरुष राजा हिलिहाङले नै सहजीकरण गरी वर्तमान नेपालको स्वरूप बन्न सफल भएको थियो ।
राजा हिलिहाङ लिम्बुवानका दूरदर्शी र अन्तिम राजा थिए । उनलाई बिर्सनु भनेको लिम्बुवानीहरूले आफ्नो इतिहास र पहिचान बिर्सनुसरह हुनेछ ।
(लेखक इतिहास अन्वेषक हुनुका साथै हिलिहाङ प्रतिष्ठानका अध्यक्षसमेत हुन् ।)
प्रतिक्रिया