जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा संयुक्त राष्ट्र संघबाट घोषणा भएपछि नेपालमा पनि भव्यताका साथ मनाइँदै छ । नेपाललगायत एक सय ७७ संरासं सदस्य राष्ट्रले यो दिनलाई विभिन्न कार्यक्रमका साथ मनाउने भएका छन् । ‘योग गरौँ स्वास्थ्य रहौँ’ योग दिवसको मुख्य सन्देश हो ।
सरकारी तथा गैरसरकारी संघसंस्थाहरू पनि यसलाई आफ्नै तवरले मनाउने तयारीमा जुटिसकेका छन् । नेपालस्थित भारतीय दुतावसले पत्रकार सम्मेलन नै आयोजना गरी पहिलोपटक जुन २१ लाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन आइतबार कार्यक्रम गर्ने घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमार्फत भारतीय राजदूत रञ्जित रेले पहिलो अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागेको औपचारिक जानकारी दिए । योग दिवसकै पूर्वसन्ध्यामा भारतीय राजदुतावासले चित्रकला प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिसकेको छ ।
योगबारे कसले के भनेका छन् :
योगाचार्य जीएन सरस्वती
(भारतीय राजदुतावासबाट प्रकाशित ‘योग सन्देश’ ग्रन्थ प्रकाशन संयोजक) ः कुनै पनि क्षेत्रमा आफ्नो ध्येयअनुसार सफलता पाउनु नै योगको धर्म हो । योगलाई कसैले ‘कर्मसुकौशलम्’ पनि भन्ने गरेका छन् । तर, सही अर्थलाई केलाउँदा ‘योगश्चित्तवृत्ति निरोधः’ लाई नै योग भनिन्छ । वास्तवमा आत्मा र परमात्माको मिलन नै योग हो । तर, यथार्थमा भन्दा हरेक क्षेत्रमा योग अत्यावश्यक छ । विद्यार्थी, राजनीति, व्यापार, संगीत, उद्योगधन्दा हरेक क्षेत्रका मानिसको महत्वकांक्षी पूर्ति गर्नु नै योग हो ।
योगलाई बाहिरी र भित्री पक्ष गरी दुई तवरलाई अनुभव गर्न सकिन्छ । भित्री पक्षमा यम, नियम, आसन र प्राणायामको चर्चा गरिन्छ भने भित्री पक्षमा प्रत्याहार, धारणा, ध्यान र समाधिको चर्चा गरिन्छ ।
डा. स्वामी प्रपन्नाचार्य : योगको एउटा प्रसिद्ध, धेरै जनाले सुनेको परिभाषा छ । त्यो हो ‘योगश्चित्तवृत्ति निरोधः’ । यो महर्षि पतञ्जलिले गरेको योगको परिभाषा हो । उनको भनाइअनुसार चित्तवृत्तिको सर्वथा निरोध गर्नु योग हो । तर, कतिपयले के भनेका छन् भने चित्तको सम्पूर्ण वृत्तिलाई सर्वथा निरोध गरिसकेपछि आत्मचिन्तन भनौँ या स्वचिन्तन गर्न तथा अन्य आध्यात्मिक विषयबारे सुन्न, चिन्तन–मनन् गर्न समस्या पर्दैन र ? किनकि चित्तवृत्तिको निरोध भइसकेपछि हामी कुनै पनि वस्तु वा विषयलाई ग्रहण गर्न सक्दैनौँ ।
यसको उत्तर पनि महर्षि पतञ्जलिले यसरी दिनुभएको छ, ‘क्लेशकर्मविपाकाशयैरपरामृष्टः पुरुषविशेष ईश्वरः’ । अर्थात् क्लेश, कर्म र यिनका फल तथा बासनाले नछोइएका असम्बद्ध चेतन पुरुष विशेष नै ईश्वर हुन् । भन्नुको मतलब, ईश्वर गुणातीत छन् । काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य जस्ता कुराबाट पृथक् छन् ।
डा. मीनाकुमारी बराकोटी
(प्राकृतिक चिकित्सक एवं मनोविद्) : शरीरमा मात्र होइन, प्रत्येक शरीरमा हुने मनमा पनि योगले अत्यन्तै राम्रो प्रभाव पार्दछ । मनको विभिन्न अवस्थालाई यसले स्वच्छ राख्छ अर्थात् मनका खराब आचरणलाई योगले सुधार्छ । रीस, डाह, चिन्ता, घमण्ड, अत्यधिक तनाव, इच्छा, लोभ, वासना आदि मनका विकारमाथि विजय प्राप्त गर्न योगाभ्यास गर्न सकिन्छ । प्रत्येक व्यक्तिले योग गरेमा शान्ति, समाजको सन्तुलित विकास र व्यक्तित्व सबै पक्ष राम्रो हुने निश्चित छ, किनभने योगबाट सदाचार र सहिष्णुता बढ्छ ।
प्रा.डा. कुलप्रसाद कोइराला : योगलाई मोटामोटी दुई पक्षमा विभाजन गर्न सकिन्छ । व्यायाम पक्ष र धारणा स्थिरीकरण पक्ष । अहिले धेरैजसो मानिस यही व्यायाम पक्षलाई नै योग भन्ठानेर सुझ न बुझका योग गुरु हुँ भन्दै हिँड्ने गरेको पनि देखिन्छ । हाम्रो शरीर एक प्रकारको यन्त्र हो । यसलाई नरम, लचिलो र सहिष्णु बनाउन व्यायामको आवश्यकता पर्छ । यसरी योगलाई शारीरिक र आत्मिक पक्षमा वर्गीकरण गर्न पनि सकिन्छ । जसरी चिकित्साशास्त्रले शरीरलाई एउटा यन्त्रका रूपमा अनेक अंगप्रत्यंगमा विभाजन गरेर अध्ययन र उपचार गर्छ । चिरफार गर्छ र सडे मक्किएका भागमा नयाँ विकल्पसमेत प्रत्यारोपण गर्दछ । त्यसरी नै योगको पनि व्यायाम या शारीरिक पक्षले यस यन्त्रलाई चुस्त र दुरुस्त राख्ने उपायको खोज गर्दछ ।
योगदर्शनका चार पाद एक सय पन्चान्नव्य सूत्र रहेका छन् । समाधि पादमा ५१, साधना पादमा ५५, विभूति पादमा ५५ र कैवल्य पादमा ३४ सूत्र रहेका देखिन्छन् (तीर्थ, २०५३ः १२७–१२८)
डा. राजु अधिकारी (मानव चेतना एवं योग विज्ञानविज्ञ) : योग मूलतः आत्मविकास तथा मोक्षको साधन हो । प्राचीन ऋषिमहर्षिहरू योगसाधनाद्वारा नै आत्मसात्क्षाकार सम्पन्न बनेका थिए । जति पनि ग्रन्थ, आप्तवचन (शास्त्र वचन) र आर्ष साहित्यहरू जन्मिए ती सबै योगस्थ वा समाधिस्थ अवस्थाबाट जन्मिएका हुन् । त्यसैले योग अध्यात्म विकासको सर्वसुलभ माध्यम हो । योगअन्तर्गत अनेकौँ साधना पद्धति अनि अनेकौँ विधि प्रक्रिया छन् ।
कुलचन्द्र कोइराला (इतिहासविद्) : हाम्रा पूर्वज महर्षिहरूले बिहान अर्थात् सूर्योदयपूर्व नै उठेर र मलमूत्र त्याग, शुद्ध प्रातःकालीन हावाको सेवन, ध्यान, जप र मानसिक एकाग्रताका लागि पाठपूजा ईश्वर स्मरणका विधि आवश्यक रूपमा गर्नुपर्ने विधान बनाएका थिए ।
सन्तुलित आहार–विहारको क्रम र दस इन्द्रिय, आँखा (हेर्ने), नाक (सुँघ्ने), जिब्रो (स्वाद लिने), कान (सुन्ने) र छाला (छोएर थाहा पाउनेलाई) ज्ञानेन्द्रिय भनिन्छ ।
हात–गोडा (हिँड्न), मुख (बोल्न र गुदाद्वार (मल त्याग गर्ने) यिनीलाई कर्मेन्द्रिय भनिन्छ । यिनैलाई नियन्त्रणमा राखेर यम (अहिंसा, सत्य बोल्नु), अस्तेय (अर्काको धन सम्पत्तिमा लोभ नगर्नु, नचोर्नु), ब्रम्हचर्य (जथाभावी यौनक्रियाको नियन्त्रण), अप्रतिग्रह (विषय वस्तुको अनावश्यक सन्देह) आदि । नियम सन्तोष (बाहिरी र भित्र नै शुद्ध रहनु), तप (सुख दुःख, घामपानी सहन गर्ने क्षमता प्राप्त गर्नु), स्वाध्याय असल शास्त्रको अध्ययन र चिन्तन, जप), प्रणिधान (ईश्वरको भक्तिपूर्वक सबै कर्म उनैमा अर्पण गर्नु) आदि योगका मुख्य आधार शास्त्रमा बताइएका छन् ।
यी योगका आधार आठवटा बनाइएका छन्– यम, नियम, आसन (स्थिर र सुखसँग बस्ने), प्राणायाम (श्वास प्रश्वासलाई नियन्त्रण गर्ने), प्रत्यहार (इन्द्रियलाई बाहिरका प्रवृत्तिबाट रोकेर राख्ने), धारणा (बाहिरी कुराबाट चित्तलाई हराएर भित्री चिन्तनमा एकाग्र हुने), ध्यान (चिन्तन गरिएको विषयवस्तुबाहेक अन्य कुराको पत्तो नपाउने स्थितिमा पुग्ने) र समाधी (पूर्ण एकाग्रताद्वारा आफूलाई बिर्सेर चिन्तन गरिएको वस्तु मात्र देख्ने हुनु) यी आठ प्रकारद्वारा योग हुन्छ ।
– मदनकृष्ण सिलवाल
प्रतिक्रिया