विद्यार्थीलाई स्थानान्तरण सुविधा

काठमाडौं, ७ जेठ । राजधानीमा डेरा गरी विभिन्न विद्यालयमा पढाउने अभिभावकले बालबालिका अन्यत्र लैजाने तयारी गरेका छन् । भूकम्पका कारण राजधानीमा पढाउने अवस्था नभएपछि आफ्नै जिल्लाका विद्यालयमा भर्ना गर्ने तयारीमा जुटेका छन् ।

काठमाडौं, ललिलपुर र भक्तपुरका विद्यालयमा पढाउने अभिभावकले आफ्नै जिल्लामा भर्नाका लागि स्थानान्तरणसमेत माग गरेका छन् । राजधानीबाहिरका जिल्ला शिक्षा कार्यालयमार्फत स्थानान्तरणको माग गर्दै निवेदनको चाङ लाग्ने गरेको छ ।
यसरी निवेदन दिनेमा कक्षा १० मा पढिरहेका बालबालिकाका अभिभावक बढी छन् । अन्य कक्षामा पढ्नेलाई स्थानान्तरणका लागि शिक्षा कार्यालयले स्वीकृति दिनुनपर्ने भए पनि कक्षा १० मा पढिरहेका विद्यार्थीले निवेदनको स्वीकृतिबेगर स्थानान्तरण गर्न नपाउने व्यवस्था भएपछि शिक्षा कार्यालयमा निवेदन दिने गरेका छन् । कक्षा ९ मा जुन विद्यालयबाट एसएलसी परीक्षाका लागि रजिस्ट्रेसन फारम भरिएको हो, त्यही विद्यालयमा पढ्नुपर्ने अनिवार्य व्यवस्था भएपछि अभिभावकले स्थानान्तरण माग गरेका हुन् ।
शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले धेरै जिल्लाका शिक्षा अधिकारीले अभिभावकले पढाउन नसकिने भन्दै स्थानान्तरण माग गरेको रिपोर्र्टिङ गरेको बताए । ‘धेरै शिक्षा अधिकारीले काठमाडौंमा पढाइरहेका बालबालिकाका अभिभावकले स्थानान्तरण माग गरेको भनेका छन्,’ उनले भने, ‘हामीले पनि सजिलै कक्षा १० मा पढिरहेका विद्यार्थीलाई दिने विचारमा छौँ ।’ कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीलाई एक जिल्लाबाट अर्को जिल्ला स्थानान्तरण हुन महिलाले विवाह गरेको हुनुपर्ने, बसाइँसराइ गरेको हुनुपर्ने र कर्मचारीको सरुवा भएर अर्को जिल्लामा गएको अभिभावक हुनुपर्ने नियम छ ।
तर, भूकम्पले यी तीन पाटोलाई छोएको छैन । शिक्षा कार्यालयले स्थानान्तरण हुने जिल्ला र विद्यालयको शिक्षा कार्यालयले स्वीकृति दिएपछि दिने व्यवस्था छ ।
रुपन्देहीका शिक्षा अधिकारी टेकबहादुर थापाले काठमाडौंमा बालबालिका पढाइरहेका अभिभावक स्थान्तरणका लागि आफूकहाँ आएको बताए । उनले अभिभावक जिल्ला सार्न पाऊँ भनेर निवेदन दिन दैनिक आउने गरेको बताए । ‘हामीले शीतल र पढ्न राम्रो ठाउँ भनेर बच्चा काठमाडौंमा राख्यौँ,’ अभिभावकको भनाइ उद्धृत गर्दै उनले भने, ‘अहिले भूकम्पले यहाँ बस्नै नसकिने भयो, बच्चालाई जिल्लामै पढाउने व्यवस्था मिलाइदिनुहोस् ।’ थापाले आएका निवेदनमा स्थानान्तरण गर्न नीतिगत समस्या भएको बताए ।
मोरङका शिक्षा अधिकारी देवेन्द्रराज खनालले राजधानीमा पढिरहेका धेरै विद्यार्थीले कक्षा १० मै पढ्न स्थानान्तरण मागेको जानकारी दिए । उनले जिउज्यानको सुरक्षा नभएकाले आफ्नै ठाउँमा स्थानान्तरण गर्न पाऊँ भनेर निवेदन परेको बताए । ‘बच्चालाई काठमाडौंमा पढ्ने वातावरण भएन भनेर धेरैले स्थानान्तरणका लागि निवेदन दिएका छन्,’ उनले भने, ‘अहिले अभिभावक दिनहुँ स्थानान्तरणका लागि कार्यालय आउने गरेका छन् ।’
खनालले मौजुदा नीतिनियमका आधारमा स्थानान्तरण दिन समस्या भएकाले यस्तो विपत्का बेला केन्द्रबाट नै सजिलो व्यवस्था मिलाउनुपर्ने बताए । नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बाहिरबाट आएका विद्यार्थी काठमाडौंमा पढ्न मनोवैज्ञानिक रूपमा तयार नभएकाले अभिभावकले आफ्नो बच्चा स्थानान्तरण गर्न थालेको बताए ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका नियन्त्रक विष्णुप्रसाद द्वारेले भूकम्पबाट प्रभावित जिल्लाका कक्षा १० मा पढ्ने विद्यार्थीका लागि यसै शैक्षिक सत्रमा सजिलै स्थानान्तरणको व्यवस्था गरिएको जानकारी गराए । ‘भूकम्पले काठमाडौंमा बसेर पढ्न नसक्ने विद्यार्थीलाई हामीले सजिलै स्थानान्तरण दिने गरेका छौँ,’ उनले भने, ‘ती विद्यार्थीलाई पहिलेको व्यवस्था लागु हँुदैन ।’ उनका अनुसार कक्षा १० मा पढ्ने विद्यार्थीले अहिले आफू बसेको वडा कार्यालयमार्फत निवेदन दिएर स्थान्तरण पाउनेछन् । ‘आफू जहाँ बसेको छ । त्यहाँको वडा कार्यालयमा आफू भूकम्पले बस्न सक्दिनँ भनेर निवेदन दिनुपर्छ,’ उनले भने, ‘अनि त्यस्ता विद्यार्थीलाई सजिलै स्थानान्तरणको व्यवस्था गर्नेछौँ ।’ ती विद्यार्थीले वडा कार्यालयबाट सिफारिस ल्याएपछि शिक्षा कार्यालयमा निवेदन दिए स्थानान्तरण पाउनेछन् ।
परीक्षा नियन्त्रक द्वारेले भूकम्पले विद्यार्थीको मानसिक तनाव बढेकाले उनीहरूले चाहेको जिल्ला र विद्यालयमा सजिलै स्थानान्तरणको व्यवस्था मिलाइएको जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयले भूकम्पप्रभावित जिल्लाका विद्यार्थीलाई स्थानान्तरणका लागि शिक्षा मन्त्रालयमा पत्र लेखेर पठाइसकेको छ । ‘हामीले भूकम्पप्रभावित क्षेत्रका विद्यार्थी जुन विद्यालयमा पढ्न चाहन्छ । त्यसैमा जाने व्यवस्था गर्छौँ भनेर मन्त्रालयमा पत्र पठाइसकेका छौँ,’ उनले भने, ‘मन्त्रिपरिषद्ले चाँडै निर्णय गर्छ ।’ द्वारेले सम्बन्धित जिल्लामा पनि स्थानान्तरणको यो व्यवस्थाअनुसार विद्यार्थी भर्ना गर्न पनि सर्कुलर जारी गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया