त्रास हटाउन गाउँ पुगे विद्यार्थी

काठमाडौं, ६ जेठ । भूकम्प अति प्रभावित जिल्लाका बाबालिकामा त्रासका कारण अनौठा क्रियाकलाप देखिन थालेका छन् । बालबालिकामा निद्रामै एक्कासि उठेर दौडने, कान्लामा गएर लुक्ने, टोलाउने, नबोल्ने लक्षण देखिएका र वयस्कमा पनि छिटफुट यस्ता लक्षण देखिन थालेका पाइएका छन् । यस्तै, त्रासबाट उत्पन्न समस्यालाई मनोसामाजिक परामर्शद्वारा मुक्त गर्न केही विद्यार्थी स्वतस्फूर्त गाउँ पुगेका छन् ।

फेरि ठूलो भूकम्प आउँछ भन्ने भयले कति युवा घरबाहिर पाल हालेर बसिरहेका बेला ती विद्यार्थी भूकम्पको त्रास हटाउन गाउँ पुगेका हुन् । भूकम्पको भय र त्रासले कतिपय बालबालिकालगायत वयस्कलाई पनि मानसिक समस्या देखिन थालेको समाचार आइरहेका बेला सोसल वर्कका विद्यार्थी काउन्सिलिङका लागि भूकम्प अति प्रभावित जिल्ला पुगेका हुन् ।
‘हामीले पाँचदेखि ६ जनाको चार टोली बनाएका छौँ । भूकम्पको त्रास हटाएर सामान्य अवस्थामा फर्काउने हाम्रो उद्देश्य हो’, काठमाडौं स्कुल अफ सोसल वर्कमा स्नातक दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी बिकल काफ्लेले भने, ‘हामी शिविर खडा गरेर होइन, घरघर र मेलापातमै गएर मनोपरामर्श गर्छौं ।’
आफूलाई खान र बस्न आवश्यक सामग्री आफैँ लिएर गाउँ पुगेका विद्यार्थीले मंगलबारदेखि काम सुरु गरिसकेका छन् । समूहमा होइन, एक÷एक जना भिन्नाभिन्नै परिवारमा गएर पीडितको काममा सघाउँदै परामर्श गर्ने तरिका अपनाइएको उनीहरूले बताए ।
भारतको गुजरात राज्यमा गएको भूकम्पपीडितलाई गरेको मनोसामाजिक परामर्शको अनुभवसमेत सँगालेका टाटा इन्सिच्युट अफ सोसल साइन्सका स्नाकोत्तर तहका विद्यार्थी नेपाली विद्यार्थीलाई यो सेवामा साथ दिन आएका बताइएको छ । ‘एउटा टोलीमा नेपाली र भारतीय बराबरी छन् । त्यसमा पनि लैंगिक सन्तुलन मिलाइएको छ । हरेक टोलीमा महिला र पुरुष बराबरी छन्’, भारतीय विद्यार्थी निरन्जनाले भनिन्, ‘हामी स्वस्फूर्त स्वयंसेवी भएर आएका हौँ । हाम्रो सहयोगी भावनामा नेपाली विद्यार्थीको साथ खोजेका थियौँ र त्यो साथ नेपाल स्कुल अफ सोसल वर्कका विद्यार्थीबाट पायौँ ।’
‘भारतबाट सोसल साइन्सका स्नाकोत्तर तहका विद्यार्थी आएकाले उनीहरूले समानस्तरका नेपाली विद्यार्थीको सौहार्दता खोजेका थिए’, काफ्लेले भने, ‘त्रिभुवन विश्वविद्यालयका सोसल साइन्सका स्नाकोत्तर तहका विद्यार्थीले ३० हजारमाथिको मासिक पारिश्रमिक र ५ लाखको जीवन बिमाको माग गरेकाले भारतीयले त्यो माग पूरा गर्न सकेनन् ।’
‘हामी स्नातक तहकाले कुनै माग नराखी साथ दिन तयार भएकाले मौका पाएका हौँ,’ अर्की विद्यार्थी शिवानी अग्रवालले भनिन्, ‘उनीहरू हाम्रो पीडामा मलम लगाउन स्वयंसेवी भएर आएका हुन् भने हामी नेपालीले स्वागत गर्नुपर्छ भन्ने हामीलाई लाग्यो र साथ दियौँ ।’ पहिलो चरणमा सिन्धुपाल्चोकको सिपाघाट, ज्यामिरे र फटकसिला पुगेका विद्यार्थी दोस्रो चरणमा गोरखा, धादिङ, दोलखा र रसुवा जाने बताए ।

प्रतिक्रिया