काठमाडौं, १२ वैशाख । वरिष्ठ गायक प्रेमप्रकाश मल्लको निधन भएको छ ।
७९ वर्षीय मल्लको शुक्रबार राति करिव दश बजे नेपागञ्जमा निधन भएको हो । उनी नेपालगञ्जस्थित छोरीको घरमा बस्दै आएका थिए ।
‘माछापुच्छ्रेरे फेवातालमा पौडी खेल्दो रै’छ, पोखरा त साँच्ची कै को पोखरा पो रै’छ’ गीतबाट चर्चा बटुलेका वरिष्ठ गायक मल्लको जन्म राप्ती अञ्चलको रुकुम जिल्लामा भएको थियो ।
गायक मल्लले २०१७ सालमा भारतको मुम्बईमा गएर आफ्नो स्वरमा पहिलो पटक गीत रेकर्ड गराएका थिए । मल्लले रचना गरेको तथा शिव शंकरले संगीत र स्वर दिएको ‘म मरे पनि मेरो देश बाँची रहोस्’ बोलको राष्ट्रिय गीत पनि चर्चामा छ ।
थुप्रै गीतमा स्वर दिएका मल्ललाई छोरा र पत्नीको निधनले गलाएको थियो । त्यही पीडामा रहेका मल्ललाई थुप्रै रोगहरूले आक्रमण गरेका थिए ।
टाउकोमा रगत जमेका कारण उनको निधन भएको आफन्तले जनाएका छन् । उनलाई प्यारालाइसिस पनि थियो ।
संगीतकार सन्तोष श्रेष्ठका अनुसार वरिष्ठ गायक मल्ल मध्य तथा सुदूरपश्चिमाञ्चलकै पहिलो लेखक एवम् गायक हुन् । उनले सदाबहार गीत र लोक गीतमा उत्तिकै दख्ल राख्थे ।
प्रतिक्रिया