५२ बिघा जमिन भाडामा लिएर व्यावसायिक खेती

ostrichरूपन्देही, ७ वैशाख । ‘आफ्नो जग्गा छैन खोई कसरी खेती गर्ने, अर्कोको जग्गामा गरेर कतिदिन पो होला र ?’ आफ्नो निजी जग्गा नभएका अधिकांश किसानले यस्ता वाक्य प्रयोग गर्ने गरेको पाइन्छ ।

तर, आफ्नो निजी जग्गा नभएर पनि सफल कृषक बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन् रूपन्देहीको सूर्यपुरा गाविस–९ कुट्टाभाटाका किसान नारदमुनी यादव । ४५ वर्षमा लागेका किसान यादवले ५२ बिघा क्षेत्रफलमा जग्गा भाडामा लिएर व्यावसायिक खेती गरेका छन् ।
२१ वर्षसम्म सूर्यपुरा गाविसमा ग्रामिण पशु स्वाथ्य कार्यकर्ता भएर काम गरेका उनलाई भाडामा जग्गा लिएर भए पनि व्यावसायिक खेती गर्नुपर्दछ भन्ने सोच जागेर कृषितर्फ मोडिएको बताउँछन् । तीन वर्षपहिला हसनापुर माध्यमिक विद्यालयको नाममा खाली रहेको बाँजो जग्गालाई उनलेभाडामा लिएर अहिले हराभरा बनाएका छन् । तनिवटा प्लट भाडामा उनले ४६ बिघा क्षेत्रफल रहेको खेतको बगर, अर्को छुट्टै स्थानमा १० बिघा र दुई बिघा क्षेत्रफल आँपको बगैंचासमेत लिएका छन् ।
यसरी जग्गा भाडामा लिएबापत् किसान यादवले ४७ बिघाको क्षेत्रफलको वार्षिक एक लाख ३३ हजार, अन्य १० बिघाको एब लाख २० हजार र आँप बगैंचाको एक लाख रुपैयाँ भाडा हसनापुर माविलाई बुझाउँदै आएका छन् । प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडासमेत वृद्धि गर्दै जाने गरी सम्झौता भएको छ ।
४६ बिघा क्षेफलमा एकीकृत आरम्भ कृषि फाम खोली उनले दुईवटा अष्ट्रिज कन्याक्ट फर्मसमेत खोलेका छन् भने अन्य स्थानमा मेवाखेती, माछा पोखरी, खर्बुजाखेती, तर्बुजाखेती, बदामखेती र तरकारीखेती गरेका छन् । अन्य भाडामा लिएको १० बिघा क्षेत्रफलमा बदाम लगाउने सोच बनाएका छन् । दुई बिघा क्षेत्रफलमा भने आँपको बगैंचा रहेको छ ।
यसरी पशु उपचारबाट कृषि क्षेत्रतर्फ आउनुको उनको रोचक कारण रहेको छ । म्याट्रिक्स (१०कक्षा) पास गरेका उनीले भिजेटीए समेत गरेका छन् । केही वर्षपहिला अमेरिकाको एक गैरसरकारी संस्थाले उनलाई केही दिनका लागि भारत भ्रमणमा लगेको थियो । सोही क्रममा भारतमा विभिन्न कृषि पकेट क्षेत्रको भ्रमण गर्दा नेपालमा पनि केही गर्न सकिन्छ भन्ने सोचका साथ जग्गा भाडामा लिएर काम गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘भारतका ती ठाउँ हेरेर नेपालमा पनि केही गर्नुपर्छ भन्ने अठोट लिएर यहाँ सुरु गरेको हुँ,’ उनी थप्छन्, ‘अहिलेसम्म खासै नाफा कमाएको छैन, बैंकमा ऋण छ तर मिहिनेत गर्न छोड्दिनँ, एक दिन सफल भइएला नि !’ उनको व्यवसायलाई भाइ, आमा, तीनजना छोरा र एक छोरीले सघाउने गरेका छन् ।
जेठा छोरा गजेशसकुमार यादव रामापुर कृषी क्याम्पस चितवनमा एसएसी एजी पढ्दै छन् भने माहिला छोरा दुर्गेशकुमार यादव बुटवल बहुमुखी क्याम्पसमा बिएस्सी प्रथम वर्षमा अध्ययनरत छन् । कान्छो छोरा दिनेश यादव पनि पढ्दै छन् । महिनामा करिब ४० हजार रुपैयाँ आम्दानी गरिरहेको बताउने किसान यादवले अहिलेसम्म करिब आधा करोड लगानी गरेका छन् । जसका लागि कृषि विकास बैंकबाट ३० लाख, अष्ट्रिज नेपाल प्रालिबाट १५ लाख र अन्य साथीहरूबाट करिब पाँच लाख ऋण लिएर खेतीकिसानीमा लागेका छन् ।
२०६९ पुस २२ गते एकीकृत आरम्भ कृषि फर्म खोलेका उनले गत वर्ष करिब ६ टन बदाम र दुई लाख रुपैयाँबराबरको तर्बुजा बिक्री गरेका थिए । १२ बिघा क्षेत्रफलमा तर्बुजा लगाएका थिए भने खुर्सानी, मेवा पनि बिक्री गरेका छन् । यस वर्ष माछा पालनतर्फ पनि उनले हात हाल्ने जनाएका छन् । अहिले १५ कठ्ठा क्षेत्रफलमा तीनवटा पोखरी निर्माण गरिरहेका छन् । जसमा एउटा नसर्री र अन्य दुईवटा ठूलोपोखरी निर्माण गर्ने उनको भनाइ छ । सिँचाइका लागि पाँचवटा स्यालोट्युवेल जडान गरेका उनी सरकारी अनुदानबाट भने सन्तुष्ट छैनन् ।
‘राष्ट्रपति उत्कृष्ट कृषक सम्मान २०७१’ बाट समेत पुरस्कृत भएका यादवको गुनासो छ, ‘सरकारलाले किसानलाई समयमै मल, बीउ र अनुदान उपलब्ध गराउन सकेन ।’ ६ प्रतिशत किसानलाई ब्याज दिने सरकारी नीति कार्यान्वयन नभएको प्रति उनले भने, ‘गाउँघरमा जुन बैंक छ, त्यस बैंकमा यस्तो खाले नियम अविलम्ब लागू गर्नुु पर्दछ ।’
उनको फर्ममा करिब १० जनाले रोजगार पाएका छन् । भाडामा लिएको जग्गा कृषक यादवले पुनः अर्को व्यक्तिलाई पनि भाडामा लगाएका छन् । करिब तीन बिघा क्षेत्रफल युनाइटेड कृषि फार्मलाई दिएका छन् । विदेशबाट फर्किएर अस्ट्रिजपालनतर्फ लागेका युवा किसानले उनको जग्गा भाडामा लिएका हुन् । अस्ट्रिजलाई कन्याट्रयाक्ट फर्मको रूपमा सञ्चालन गरेका युवा किसान धनपति पाण्डेले जानकारी दिए । उनका अनुसार अस्ट्रिज नेपाल प्रालि गंगोलियाबाट ३६ महिनाका लागि अस्ट्रिजका चल्ला ल्याएर पालिदिने र एउटा अस्ट्रिज हुकाइदिएबापत् किसानले १० हजार रुपैयाँ पाउने सम्झौता गरिएको छ । नारदमुनि यादवले पनि आलमदेवी कृषि फार्ममा दुई सय अस्ट्रिज पालेका छन् भने आदमलेवी फार्ममा पनि करिब दुई सय अस्ट्रिज रहेका छन् ।
बीउको समस्या
किसानले व्यावसायिक खेती गर्दा उन्नत बीउको समस्या भोग्न बाध्य छन् । नेपालमा उन्नत किसिमको बीउ सहजै नपाइने भएकाले समस्यामा परेको युवा किसान तथा नारदमुनिका छोरा दिनेश यादवले बताए । उनका अनुसार तर्बुजाको एक सय ग्राम बीउका लागि ९ सय २५ भारतीय रुपैयाँ बुझाउनु पर्छ । नेपालमा नपाइने बीउका लागि करिब एक महिना पहिला नै भारतमा रहेका एग्रोभेटको खातामा पैसा जम्मा गरिदिएपछि उसले पठाउने गर्दछ । उनी भन्छन्, ‘व्यवसाय गर्न खोज्यो तर बीउ पाइँदैन, जसले गर्दा पनि समस्या छ, समयमै बीउ र मल सरकारले उपलब्ध गराइदिनुप¥यो ।’

प्रतिक्रिया