काठमाडौंको सडक तत्काल बनाउन निर्देशन

काठमाडौ २२ चैत्र । प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौ उपत्यका भित्र भइरहेको सड विस्तारको काम जतिसक्दो चाँडो सम्पन्न गर्न सम्बन्धित सवैलाई निर्देशन दिएका छन् । विस्तारित सडकको काम सम्पन्न गर्न सरकारी निकायहरु बीच समन्वय हुनु पर्नेमा पनि प्रधानमन्त्रीले जोड दिए ।
प्रधानमन्त्री कोइरालाले सार्क शिखर सम्मेलन नेपालमा हुने भएकाले त्यो भन्दा अगाडी नै सवै काम सम्पन्न गर्न निर्देशन दिए । काठमाडौ उपत्यका सडक विस्तार आयोजना निर्देशन समिति र सो सडक आयोजना संग सम्बन्धित उच्च सरकारी अधिकारीहरुलाई आफनै निवास बालुबाटारमा निर्देशन दिदै प्रधानमन्त्री कोइरालाले एकआपसमा समन्वय नहुँदा काम प्रभावकारी हुन नसकेको जिकिर गरे । उनले सडक विस्तार गर्ने र त्यसलाई सुन्दर बनाउन पनि आवश्यक काम गर्न आग्रह गरे । प्रधानमन्त्री कोइरालाले सडकमा अनावश्यक पार्किङ नगराउन तथा जथाभावी निर्माण सामग्री नथुपार्न र धूलोको समस्या समाधान गर्न पनि ध्यानाकर्षण गराए ।
सडक विस्तार भएपनि विस्तारित सडकमा गुणस्तरीयता नभएको, कमसल निर्माण सामाग्रीको प्रयोग भएको, कामकारबाहीमा लापरबाही भएको भन्ने गुनासो आएको भन्दै प्रधानमन्त्री कोइरालाले त्यस तर्फ ध्यान दिन चेतावनी दिए । गुणस्तरहीन काम नभएको भए त्यसको छानबिन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई आग्रह गरिएको समेत सो अवसरमा जानकारी गराइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटाले जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्री कोइरालालाई सडक विस्तारको प्रगती विवरणका बारेमा जानकारी गराइएको थियो । जस अनुसार माइतीघर–तीनकुने सडकखण्डको काम यही चैत मसान्तसम्ममा सकिनेछ । लाजिम्पाट–बूढानीलकण्ठ सडकको कुल नौ किमि समेत यही चैत मसान्तभित्रै सम्पन्न हुने क्रममा रहेको छ । यही चैत मसान्त सम्म काठमाडौ उपत्यकाभित्र ९१ किमि सडक कालोपत्र भइसक्ने बताइएको छ । काठमाडौ महानगरपालिकाले निर्माण अगाडि बढाएको कुल २२ कि मि सडकमध्ये १४ किमि चैत मसान्तसम्म पूरा हुनेछ । एकीकृत वागमती सभ्यता आयोजनाको कुल ३० किमि सडक मध्ये चार किमि कालोपत्र हुने र चालु आर्थिक वर्षको अन्त्यसम्म १० किमि सडक कालो पत्रे भइसक्ने जानकारी सो अवसरमा प्रधानमन्त्री कोइरालालाई गराइएको सचिव बाँस्कोटाले जानकारी दिए ।
हालसम्म सडक विस्तार आयोजनाका लागि सरकारले रु १० अर्ब र निजी क्षेत्रबाट रु ४० अर्ब गरी कुल रु ५० अर्ब खर्च भइसकेको छ ।

प्रतिक्रिया