विद्यार्थी र सरकार वार्ता निष्कर्षविहीन

काठमाडौं ३ चैत । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिने भएको छ । मूल्यवृद्धि फिर्ता लिन सरकार असहमत भएपछि विद्यार्थी संगठनसँगको वार्ता निष्कर्षविहीन बन्न पुग्यो । आन्दोलनरत १७ विद्यार्थी संगठन र सरकारबीच सोमबार भएको वार्ता निष्कर्षविहीन भएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा विद्यार्थी नेताहरूले मूल्यवृद्धि फिर्ताको मागलाई प्रमुख मुद्दा बनाएछि वार्ता निष्कर्षविहीन भएको हो ।
मूल्यवृद्धिको निर्णय विनासर्त फिर्ता गर्नुपर्ने बिद्यार्थी संगठनको मागलाई सरकारी टोलीले पूरा गर्न नसक्ने बताएको थियो । आफ्नो माग पूरा नभएपछि विद्यार्थीले वार्ता छाडेको एक नेताले जानकारी दिए । चरणबद्ध आन्दोलनका कार्यक्रमअनुसार उनीहरूले सोमबार देशभरका क्याम्पस अगाडि एक घन्टा सरकारी गाडी चल्न दिएनन् । आइतबार प्रधानमन्त्री सुशील कोइरालाले विद्यार्थी संगठनका प्रतिनिधिहरूलाई मूल्यवृद्धि फिर्ता लिन नसक्ने भन्दै वार्ताबाट समाधान खोज्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री कोइरालाको निर्देशनपछि वाणिज्य सचिव माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठन भएको सात सदस्यीय वार्ता कमिटी र आन्दोलनरत विद्यार्थी संगठनका नेताबीच वार्ता भएको थियो । वार्तामा सरकारी टोलीले आयल निगम सुधार र भ्रष्टाचार नियन्त्रणका लागि छानबिन समिति बनाएर जान सकिने अडान जनाएको थियो ।
विद्यार्थी संगठनले वार्तामा जानुअघि बागबजारको पद्मकन्या क्याम्पसमा सामूहिक छलफल गरेका थिए । सो वार्तामा विद्यार्थी नेताहरूले मूल्यवृद्धि फिर्ताको मागलाई प्रमुख मुद्दा बनाएका थिए । ‘सरकार मूल्यवृद्धि फिर्ताको मागमा सकारात्मक नभएपछि कुनै निष्कर्ष निकाल्न सकिएन,’ अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले भने । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने वार्ता सकारात्मक रहेको र मंगलवार थप कुरा हुने बताए ।
सरकारले गत शुक्रबार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको थियो । पेट्रोलमा १० र डिजेल, मट्टितेल र हवाई इन्धनमा ६–६ रुपियाँ मूल्य बढाएको थियो । मूल्य बढाएपछि १७ विद्यार्थी संगठनका नेताहरूले आइतबार प्रधानमन्त्री कोइरालालाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । प्रधानमन्त्री कोइरालालाई ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका ती विद्यार्थी संगठनका नेताहरूले करिब डेढ घन्टा अनौपचारिक वार्तासमेत गरेको थिए । प्रधानमन्त्री कोइरालाले भने निगमको चुहावट रोक्न सरकारले प्रयास गर्ने आश्वासन विद्यार्थी नेताहरूलाई दिएका थिए ।
संसदमा विरोध
दूध तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषय मंगलबार संसदमा पनि उठ्ने भएको छ । प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसदमा मूल्यवृद्धिको विरोध गर्ने भएको हो ।
एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईको निवास सानेपामा बसेको उच्च नेताहरूको बैठकले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै सो निर्णय फिर्ता लिन सदनमा आवाज उठाउने निर्णय गरेको हो ।
एमाओवादीका तर्फबाट डा. भट्टराईले संसदमा मूल्यवृद्धि फिर्ता लिन माग गर्ने बताइएको छ । एमाओवादीले सत्यनिरूपण तथा मेलमिलाप आयोग, ४ मंसिरमा सम्पन्न संविधानसभाको चुनावमा भएको धाँधली छानबिन आयोगलगायत विषयमा समेत आफ्नो धारणा राख्ने पार्टी प्रवक्ता दीनानाथ शर्माले सौर्यलाई जानकारी दिए ।

प्रतिक्रिया