मुख्य विषयमा ध्यान केन्द्रित गर्नुपर्छ

संविधानसभाको निर्वाचन हुन्छ र त्यसले सबैखाले समस्या समाधान गर्छ भन्ने नेपाली जनतालाई लागेको छ । त्यही आशमा जनताले बन्द, हडताल र त्रासका बीचमा पनि निर्वाचनमा अत्यधिक सहभागिता जनाए । तर, पहिलो संविधानसभाको निर्वाचनमा विभिन्न कारणले सबैभन्दा ठूलो दल बन्न सफल एमाओवादी अहिले तेस्रो दलमा सीमित रहेकाले विभिन्न बखेडा झिक्न थालेको छ । जनतालाई भ्रममा राखेर राज्य सत्तामा हालिमुहाली गर्ने योजना फेल खाएपछि त्यो दलका नेताहरू छाँगाबाट खसेजस्तै भएका छन् । पाँच वर्षको अन्तरालमा जनतालाई मन पर्ने काम गर्न नसकेका र एमाले, कांग्रेसले भन्दा फरक खालको कार्यक्रम ल्याउन नसक्नाले एमाओवादीलाई जनताले मन नपराउनु स्वाभाविक थियो । त्यही कारणले बढी खरानी घस्ने नयाँ जोगीलाई भन्दा परानै जोगीलाई मन पराए । तर, जनताको अभिमतलाई तिरस्कार गर्ने हिसाबले बोलेर एमाओवादीलाई बाँचेका थोरै साख पनि समाप्त पार्न खोज्दै छन् । गाउँघरका जालीझेलीले जस्तो कहिले यो भएन र कहिले त्यो भएन भनेर जनतालाई भ्रममा पार्न सकिन्छ कि भन्ने सोच्दै छन् । तर, नेपाली जनताले भेउ पाइसकेका छन् । जालझेलमा फस्नेवाला छैनन् । तसर्थ सबै मिलेर संविधान निर्माण गर्ने र मुलुकमा व्याप्त समस्या समाधान गर्नेतर्फ लाग्नुपर्छ । र, दलहरूले आफ्नो ध्यान मुख्य रूपमा संविधान निर्माणमा केन्द्रित गर्नै पर्छ ।
एमाओवादीमा निकै ठूलो दम्भ चुलिएको थियो । त्यस दलका नेतालाई जनताको पहुँचभन्दा धेरै टाढा राख्न थालिएको थियो । सुशील कोइराला, झलनाथ खनालहरू सजिलै भेट्ने र राष्ट्रको समस्या सुनाउने जनताले प्रचण्ड, बाबुरामहरूलाई भेट्न सक्दै सकेनन् । अनौठो त के हो भने सर्वहारा वर्गका नेता पूरै सामन्तमा परिणत भए । १० वर्षे युद्ध लडेकाहरूको बिजोग बनाइयो । शिविरमा पाएको थोरै पैसाको चेकसमेत कुटपिट गरेर खोसियो । कार्यकर्तालाई सैद्धान्तिक ज्ञान दिएर शिक्षित बनाउन एमाओवादीका नेताहरू डराए । किताबलाई भन्दा पैसामा ध्यानकेन्द्रित गर्ने जमात एमाओवादीमा ह्वात्तै बढ्यो । पुराना र युद्ध लडेका कार्यकर्ताभन्दा चैतेहरू नेताका लागि प्यारो भए । पार्टी विभाजन भयो । वैद्य माओवादीको धर्तीबाट अस्तित्व नै मेट्ने खालका अभिव्यक्ति एमाओवादीका नेताले दिए । उम्मेदवार पनि चैतेहरूलाई नै बनाइयो । जसले गर्दा कार्यकर्ता रुष्ट बने । हार्नुपर्ने केही कारण यिनै हुन् । तसर्थ खोचे थाप्नुको कुनै तुक छैन । अब एमाओवादीले लोकतान्त्रिक पद्धतिअनुरूप संविधान लेख्न र आफूले ल्याएको गणतन्त्रलाई स्थायित्व दिने भूमिका खेल्नुपर्छ ।
अहिले पनि एमाओवादीको आकार ठूलै छ । कांग्रेस र एमालेले एमाओवादीले जे भन्छ त्यही मान्दै आएका थिए । अब त्यो आदेश मान्नै पर्ने बाध्यताबाट ती दल मुक्त भएका छन् किनकि उनीहरूसँग अब दुईतिहाइको बहुमत छ । यसले गर्दा एमाओवादीले आफ्नो धरातलीय यथार्थ बुझेर दम्भ त्याग्दै गणतन्त्र र संघीयतालाई सहज रूपमा स्थापित गर्ने भूमिका निर्वाह गर्नुपर्छ । अन्यथा जनताले योभन्दा बढी तिरस्कार पनि गर्न सक्छन् । अब एमाओवादीले आफ्ना कमीकमजोरी आफैँभित्र खोजेर सच्याउनुपर्छ । र, त्यसका लागि नेताहरू आपैँmले केसम्म बोल्न मिल्छ र त्यसको अर्थ के लाग्छ भन्ने पनि बुझ्नुपर्छ । अहिलेको समयमा जनताले जे दिए त्यसमा चित्त बुझाएर एमाओवादी संविधानसभामा आफ्नो उपस्थिति जनाउनुपर्छ । जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको जगेर्ना गर्नुका साथै जनतालाई संविधान दिन पनि कांग्रेस र एमालेलाई एमाओवादीले सहयोग गर्नै पर्छ ।

प्रतिक्रिया