जनतको अपेक्षा समयमै संविधान

अहिले समानुपातिकतर्फको मतगणनासमेत समाप्त हुन लागेको छ । यो परिणामले एमाओवादी र तराई केन्द्रित दलहरूलाई पाठ सिकाएको छ । जनताले राम्रैसँग न्याय गरेका छन् । यसलाई धाँधली ठान्नु र जनताले अन्याय गरेको भन्नु जनमतलाई अस्वीकार गर्नु हो । अब निर्वाचनमा भाग लिएका दलहरूले निर्वाचनमा धाँधली भयो भन्न छाडेर पराजित दलका नेताहरूले आत्मसमीक्षा गर्न थाल्नुपर्छ किनकि पराजयका कीटाणु आफैंभित्र रहेका छन् । अहिले आएर एमाओवादीले विस्तारै आफूलाई जनताले दिएको अभिमत स्विकार्ने स्थितिमा पुर्‍याउँदै गरेको पाइन्छ । तर, कहिलेकाहीँ समग्र वस्तुस्थितिको मूल्यांकन नै नगरी बोल्दा उसको बालहठ देखिने गरेको छ । यसलाई एमाओवादीले सुधार गर्नुपर्छ ।
जनताले जे निर्णय गर्छन् अत्यन्त विवेकपूर्ण ढंगले गर्छन् किनकि जनता विवेकी छन् र लोकतान्त्रिक पद्धतिमा नेताहरूलाई न्याय दिने उनीहरू नै हुन् । अहिले मधेस केन्द्रित दलका नेताहरूलाई मधेसी जनताले नराम्रो सवक सिकाएका छन् । अब मधेसी नेताले आफूले विगतमा गरेका कार्यको समीक्षा गरेर सच्चिनुपर्छ । विगतमा दिक्क लाग्दो गरी सत्ताको खेलमा मधेसी नेता रुमलिएकै हुन् । आफ्ना मुद्दा स्थापित गर्न छाडेर सत्ता भए पुग्ने नेतालाई यसपटक मधेसका जनताले रुचाएनन् । कोसँग नजिक रहने र कोसँग टाढा रहने भन्ने कुरा राजनीतिमा आफ्ना एजेन्डा कोसँग मिल्छ भन्ने कुराले निक्र्याेल गर्छ । मधेसकेन्द्रित दलका नेताले त्यो कुरा नबुझेकै हो । कांग्रेस, एमाले र एमाओवादी जोसुकैको सरकारमा समावेश नभई बाँच्नै नसक्ने नेताले आफ्नो एजेन्डा बिर्सिएकै हो । मधेसी जनताले निकै धेरै विश्वास गरेका थिए । मधेस आन्दोलनको भावनालाई बिर्संदैनन् भन्ठानेका थिए तर नेताहरूले मधेसी जनताको भावनामा चोट पुर्‍याउँदै सत्ताकै लागि आफूहरू आएको सम्झिए । जसलाई जनताले रुचाएनन् र अहिले सवक सिकाए । यसलाई पाठका रूपमा लिएर उनीहरू सच्चिनु जरुरी छ ।
नेपाली जनताले क्षेत्रीयता र जातीयताको मुद्दा उठाउनेहरूलाई पनि रुचाएनन् । पहाडदेखि तराईसम्मका जनताले जातको कुरा गर्ने र क्षेत्रको कुरा गर्नेलाई स्विकार्न नसकेकै हो । यसले भविष्यमा राष्ट्रिय दलहरू मात्र रहनेतर्फ औँल्याएको छ । यस निर्वाचनबाट आएको जनमतलाई हेर्ने हो भने लोकतान्त्रिक संविधान निर्माण गर्नै पर्ने दबाब जनताले दिएका छन् । अतिवादी, यथास्थितिवादी, क्षेत्रीयता र जातीय मुद्दाको विपक्षमा नेपाली जनता रहेको पनि अब विश्लेषण गर्न सकिन्छ । हार र जितलाई सहज रूपमा स्वीकार गर्ने हो भने एमाओवादी र मधेसकेन्द्रित दलहरूले आफ्ना अतिवादी हठहरू त्याग्नुपर्छ । अन्यथा कसैले पनि विश्वास नगर्ने अवस्था आउन सक्छ । निर्वाचनको परिणामले यसैको पुष्टि गर्छ ।
राजधानी काठमाडौंका सुकिलामुकिला जनताले मात्र होइन, दुर्गम जिल्लाका विकट गाउँका झुपडीमा बस्ने झुत्रेझात्रे जनताले पनि विश्वास नगर्ने विषय नेतृत्वमा बस्नेहरूले उठाउनु हुँदैन । मानिस ‘मानिस’ नै हुनुपर्छ । महामानव बन्ने हो मानिसले मानिस ठान्दैनन् । निर्वाचनको परिणामले यही कुरा अभिव्यक्त गरेको छ । पराजित हुनेहरूले दिएको अभिव्यक्ति सुन्दा लाग्छ उहाँहरू आफूलाई महामानव ठान्दै हुनुहुन्थ्यो । जनताले त्यो रुचाएनन् । मानिस नै बन्न अभिमत दिए । यसलाई अन्यथा रूपमा लिनु हँुदैन । आफूबाट भएका कमी–कमजोरीलाई मिहिन पाराले केलाउने र सुधार गर्ने हो भने भविष्यमा जनताले पुन: विश्वास गर्नेछन् । जनता सधँै विपक्षमा रहँदैनन् र इख पनि लिँदैनन् । राष्ट्रका नेता हुन चाहनेले सोच्न सक्नुपर्छ । जनतासँग जो नजिक हुन्छ जनताकै मुद्दा बोकेर हिँड्छ उसले जनताबाट कहिल्यै हार्नु पर्दैन । अहिले जनताबाट टाढिएका र जनचाहनाविपरीतका मुद्दा बोक्नेहरू मात्र पराजित भएका छन् । बाकस साटेको पनि होइन र धाँधली भएको पनि छैन । जनताले नपत्याएको मात्र हो । अब पत्याउने र गर्न सक्ने मात्र बोल्ने गर्नुपर्छ । जनताको विश्वास आर्जन गर्न जनताकै काम गर्नुपर्छ अनि मात्र जनताले विश्वास गर्नेछन् । एमाओवादीलगायत पराजित मानसिकता बोकेका दलहरूले जनताको प्यारो बन्न जनभावनाअनुसारनै काम गर्नुपर्छ ।

प्रतिक्रिया