दलहरू सच्चिनुपर्छ

नेपाली जनताले नेपालका दलहरू र ती दलका नीतिगत प्रतिबद्धता प्रति अभिमत जाहेर गरेका छन् । जनताका यस अभिमतलाई कसैले नकार्ने दुस्साहस गर्नु गैरजिम्मेवारीपन मात्र हुन सक्छ । अहिले एमाओवादीले आफूलाई अप्रजातान्त्रिक रूपमा प्रस्तुत गर्न खोजेको छ । यदि, जनताको विश्वास जित्ने हो भने एमाओवादीजस्तो जिम्मेवार दलले जनतालाई अपमानित गर्ने खालका अभिव्यक्ति दिनु हँुदैन । जनताको अभिमतलाई सहर्ष स्वीकार गर्नुपर्छ । राष्ट्र, राष्ट्रियता, जनता, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे अग्रगामी सोच राख्ने दलका नेताहरूले आफूले हार्दैमा आफ्ना मुद्दा स्थापित गर्न छाडेर अन्यत्र सोच्नु हँुदैन । यदि, त्यसोभएमा आफ्नै मुद्दा अलपत्र पर्न सक्छन् । वास्तवमा मुलुकलाई गणतन्त्रमा प्रवेश गराउन एमाओवादीको प्रमुख भूमिका रहेको छ । आफ्नो भूमिका एमाओवादीले बिर्सनु हँुदैन र जित्ने दलले पनि एमाओवादीलाई नजरअन्दाज गरेर अगाडि बढ्ने कोसिस गर्नु हँुदैन । संविधान बनाउनु सबैको योगदान आवश्यक छ । ऐतिहासिक संविधान लेखन कार्यमा आफ्नो उपस्थिति जनाउनु निर्वाचित प्रतिनिधिहरूको कर्तव्य पनि हो । यदि, यो कर्तव्य पूरा गरिएन भने जनताको अभिमतलाई कुल्चिएको ठहरिनेछ । तसर्थ एमाओवादीका शीर्ष नेताले संयमतापूर्वक निर्णय गर्न जरुरी छ ।
लोकतन्त्रमा निर्वाचन हुन्छ । हार–जित हुन्छ । र, त्यसलाई स्वाभाविक मानेर भविष्यप्रति सचेत हुने दल र नेताहरू नै टिकाउ हुन्छन् । आफ्नो पक्षमा जनमत आएन भनेर वितण्डा मच्चाउनेहरू जनताको नजरमा गिर्दै जानेछन् । यसतर्फ एमाओवादीलगायत जनमतप्रति विमति जनाउन खोज्नेहरू सचेत हुन जरुरी छ । निर्वाचनमा भएको हार–जितलाई स्वीकार गर्न नसक्ने दल वा दलका नेताले निर्वाचनमा भाग लिनु हँुदैन । भाग नलिने हो भने हार्नुपर्दैन र जित्नु पनि पर्दैन । तसर्थ निर्वाचनमा भाग लिएपछि हार–जितलाई स्वीकार गर्दे अगाडि बढ्नु नै जनमतको कदर गर्नु हो । नेपाली जनता सचेत छन् । कहिले कसैलाई र कहिले कसैलाई हार–जित गराउनु जनताको अधिकारको कुरा हो । नेपाली जनता परिवर्तन चाहन्छन् । भाषण, झुटा आश्वासन र बडप्पन होइन । नेपाली जनता देखिने गरी आश्वस्त हुन चाहन्छन् । यसलाई सबैले मनन गर्नुपर्छ । एमाओवादीले निर्वाचन भइरहँदासम्म वैद्य माओवादीलाई खासै महत्त्व दिएको थिएन । अहिले भने उसलाई बाहिर राखेर गरिएको निर्वाचनलाई खासै महत्त्व दिनुको अर्थ छैन भन्न खोज्दै छ । जब कि वैद्य पक्षलाई बाहिर राख्ने प्रमुख भूमिका एमाओवादीले नै खेलेको थियो । यसलाई जनताले नजिकबाट हेरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वास्तवमा परिवर्तनको वाहक ठानिएको थियो । तर, जनता त्यो भ्रमबाट मुक्त भएका छन् । कुनै दलको नेताले अतिवादी सोच राख्छ भने त्यसप्रति जनताले जवाफ दिनु स्वाभाविक हो ।
कसैले खोलामा पुल बनाउँछ भने त्यसबाट सबै बटुवा तर्न सक्छन् । एमाओवादीले ल्याएको मुद्दा अरू कसैले पूरा गर्छ भने त्यसप्रति एमाओवादी खुसी हुनुपर्छ । सरकारमा जाने, मन्त्री, प्रधानमन्त्री बन्ने र जनतामाथि क्रूर शासन गर्ने मनसाय राख्ने हो भने मात्र आफ्नो मुद्दा छाडेर नेता बरालिन्छ । अन्यथा आफ्नो मुद्दा बोक्ने अर्को पनि आइपुग्यो भने त्यसलाई राम्रो मान्नुपर्छ । अहिले एमाओवादी ह्वात्तै तल झरेको छ । सोच्दै नसोचेको परिणामले ऊ आत्तिएको देखिन्छ । यो राजनीतिक सुझबुझ होइन । अब एमाओवादीले आफ्ना कमी–कमजोरी खोज्नुपर्छ । मोटरसाइकलको हावा खुस्काइदियो भनेर एउटा राष्ट्रिय नेताले टिप्पणी गर्नु राम्रो होइन । आफ्नो संगठन दह्रो बनाउने, जनताको मन जित्ने र जनतासँग घुलमिल गर्नेले नै निर्वाचनमा जित्छ । जनताको नजिक नपुग्ने, आफू जनताभन्दा ठूलो भएको ठान्ने र दम्भ प्रदर्शन गर्नेहरू हार्छन् । अहिलेको निर्वाचनले यो प्रस्ट पारेको छ । तसर्थ सबैले आफू सच्चिएर अगाडि बढ्नु जरुरी छ ।

प्रतिक्रिया