धेरै मत ल्याउने सूचीमा देउवा/भट्टराई/थापा

baburamsssकाठमाडौं, ७ मंसिर । निर्वाचन आयोगको प्राप्त पछिल्लो नतिजा अनुसार कांग्रेसका दुई र एमाओवादीका एक जना उम्मेदवारले अत्याधिक मत ल्याएर विजयी भएका छन् ।

आयोगले आज (शुक्रबार) जारी गरेको बुलेटिन अनुसार कांग्रेसका शेरबहादुर देउवा र गगनकुमार थापा तथा एमाओवादीका बाबुराम भट्टराईले आ–आफ्ना गृह जिल्लामा अत्याधिक मत ल्याएर निर्वाचित भएका हुन् ।

कांग्रेस नेता देउवाले डडेलधुरा–१ मा २३ हजार ९ सय २० मत प्राप्त गरेको आयोगको बुलेटिनमा उल्लेख छ ।

एमाओवादीका भट्टराईले पनि गोरखा–१ मा २२ हजार ८ सय २४ मत ल्याएर विजयी भएका छन् ।

काठमाडौं–४ का कांग्रेसका थापाले पनि अत्याधिक मत ल्याएर विजयी भएको बुलेटिनमा उल्लेख छ । उनले २२ हजार ३ सय ३६ मत प्राप्त गरेको तथ्याङकमा रहेको छ ।

सबैभन्दा बढी मत अन्तरबाट विजयी

यसैबीच, आयोगलाई औपचारिकरुपमा प्राप्त पछिल्लो मत परिणाम अनुसार दुईजना उम्मेदवारले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई अत्याधिक मत अन्तरले पराजित गरेका छन् ।

एमाओवादीका भट्टराईले गोरखा–१ मा कांग्रेसका किरणबाबु श्रेष्ठलाई भारि मतले पराजित गरेका हुन् । भट्टराईले श्रेष्ठलाई १३ हजार ८ सय ५३ मत अन्तरले पराजित गरेका थिए ।

त्यसै गरी काठमाडौं–४ मा विजयी कांग्रेसका उम्मेदवार थापाले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार निर्मल कुईंकेललाई १३ हजार २ सय १ मतको अन्तरले पराजित गरेका छन् ।

प्रतिक्रिया