जनमत स्वीकार गरौं

जनता सचेत छन् । राजनीति त्यसमा पनि निर्वाचन जनमत जाँच्ने माध्यम हो । नेपालमा दोस्रोपटक संविधानसभाको निर्वाचन ४ मंसिरमा सम्पन्न भयो । निर्वाचनमा नेपाली जनताले अभूतपूर्व रूपमा सहभागिता जनाए । नेपाली जनताले ऐतिहासिक रूपमा निर्वाचन सम्पन्न गरेर विश्वलाई नै चकित बनाए । संक्रणकालीन अवस्था, ३३ दलीय मोर्चाको निर्वाचन बहिष्कार र आतंकित पार्ने घटनाका बाबजुद निर्वाचन सुखद रूपमा सम्पन्न भएकै हो । निर्वाचन सम्पन्न भएलगत्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रक्रियामा सहभागी सबैलाई हृदयदेखि नै धन्यवाद दिँदै हारजितलाई स्वाभाविक रूपमा लिन अपिल गर्नुभएको थियो । यसैगरी, कांग्रेस, एमालेलगायत दलले पनि निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित भएकामा सबैलाई धन्यवाद दिएका थिए । वास्तवमा यो निर्वाचन शान्तिपूर्ण रूपमा धाँधरीरहित ढंगले सम्पन्न भएको कुरा कसैले पनि नकार्न सक्दैन । ७० प्रतिशत भन्दामाथि मतदान हुनु सामान्य कुरा होइन । नेपाली नेताले शान्ति र संविधान चाहेको कुरा यस निर्वाचनमा मुखरित भएको नेपालभरिका मतदानकेन्द्रमध्ये एक केन्द्रमा मात्र पुन: मतदान गर्नुपर्ने भएको छ । त्यो पनि निर्वाचनको विपक्षमा रहेका दलका कारण । यसलाई साँच्चै सफल निर्वाचन भन्नै पर्छ ।
मतगणना प्रारम्भ भइसकेपछि प्रारम्भिक परिणाम आफ्नो पक्षमा नरहेको थाहा पाएपछि एमाओवादीजस्तो एक जिम्मेवार पार्टीले मतदान प्रक्रियाबाटै अलग हुने घोषणा गरेर लोकहँसाइ गरेको छ । प्रजातान्त्रिक पद्धतिमा निर्वाचनलाई जनमत बुझ्ने एउटा माध्यमका रूपमा लिइन्छ । एमाओवादीले लोकतान्त्रिक पद्धतिलाई सहर्ष स्विकारेको थियो । हिजोसम्म सबैभन्दा ठूलो दलका रूपमा स्थापित थियो । त्यस्तो जिम्मेवार दलले निर्वाचनमा भएको पराजयबाट आतंकित भएर खुट्टा कमाउने गल्ती गर्नु हुँदैन । एउटा महान् लक्ष्य बोकेर हिँडेको पार्टीका नेताहरूले निर्वाचनमा भएको हारजितलाई स्वाभाविक रूपमा नलिने हो भने त्यो बालहठ हुनेछ । यसलाई एमाओवादी नेताले गम्भीरतापूर्वक दिँदै भविष्यका लागि पाठका रूपमा स्विकारेर अगाडि बढ्न सक्नुपर्छ । अति शान्त वातावरणमा सम्पन्न ऐतिहासिक निर्वाचनको नतिजालाई स्वीकार गर्न नसक्नु लोकतान्त्रिक पद्धति र जनमतलाई मान्दिनँ भन्नु हो । आफ्नो इतिहास र भविष्यलाई समेत ख्याल गरेर निर्णय लिन सक्नुपर्छ । जनता भनेको न्याय गर्ने न्यायाधीश हुन् । जननिर्णयलाई शिरोधार्य गर्न सक्नेहरू नै टिकाउ र स्थायी हुन्छन् ।
विगत संविधानसभाको प्रारम्भिक नतिजा आउँदा पनि नेपाली कांग्रेस र नेकपा एमालेले यस्तै प्रतिक्रिया जनाएका थिए । तर, उनीहरूले निर्वाचनको प्रक्रियाबारे अलग हुने र संविधानसभामा उपस्थित नहुनेजस्ता बालहठ भने अभिव्यक्त गरेनन् । दुई स्थानबाट हारेका एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले बरु त्यसबेला नैतिकतापूर्ण र विवेकशील निर्णय गर्नुभएको थियो । यहाँ के स्पष्ट गर्न खोजिएको हो भने निर्वाचनमा हारजितलाई स्वाभाविक रूपमा लिन सक्नुपर्छ । यदि, हारलाई स्वीकार गर्न डर लाग्छ भने त्यो अवस्थामा निर्वाचनमा भाग लिनु हुँदैन ।
अहिले एमाओवादीले मध्यरातमा वक्तव्य निकालेर निर्वाचन प्रक्रियाबाटै अलग हुने जुन निर्णय गरेको छ त्यो आत्मघाती हुन सक्छ । तसर्थ एमाओवादीजस्तो एउटा स्थापित दलले आवेशमा आएर कुनै पनि गलत निर्णय गर्नु हुँदैन । जनताको अभिमतलाई स्वीकार गर्दै संविधानसभामा सामेल भएर संविधान बनाउनमा योगदान पुर्‍याउनु नै अहिले सबैको कर्तव्य हो । राष्ट्रिय, अन्तर्राष्ट्रिय र जनताले समेत धाँधलीरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको जस लिने अवस्थामा एमाओवादीले त्यसलाई अस्वीकार गर्नु ऐतिहासिक भूल हुन सक्छ । तसर्थ एमाओवादीले विवेकपूर्ण सोच राख्नै पर्छ । अन्यथा जनमत अस्वीकार गरेकामा पश्चात्ताप गर्नुपर्ने दिन आउन सक्छ । बेलैमा बुद्धि पुर्‍याउन जरुरी छ ।

प्रतिक्रिया