मुलुकलाई नै घाटा हुने बन्द नगरौँ

नेकपा–माओवादीलगायत ३३ दलले गरेको बन्दका कारण तराईमा निकै बढी असर परेको छ । लगातार एक सातादेखिको यातायात बन्दले महोत्तरीलगायत तराईका विभिन्न जिल्लामा लाखौँ मूल्यको तरकारी कुहिएको छ । यसैगरी किसानले उत्पादन गरेका फलफूलसमेत बिक्री गर्न पाएनन् भने किनेर खानेहरूलाई पनि निकै कठिन भयो । खेतबारीको तरकारी टिपेर बजार पुर्‍याउने चाँजोपाँजो यातायात बन्दले नमिलेपछि आफ्नो तरकारी फसल बोटमै कुहिएर खेर गएको छ बन्दको क्रम बढेकाले जिल्लाका किसानले उत्पादन गरेका फसल खेर गएको छ । २५ कात्तिकदेखि गरेको बन्द आह्वानले यातायात साधन नचल्दा तरकारी र फलफूल बजार पुर्‍याउन नपाएको किसानको गुनासो छ । अहिले तराईका विभिन्न जिल्लाका कृषि बजारमा हरियो तरकारीको माग निकै बढे पनि बन्दकै कारण आफूहरूको उत्पादन बजार पुग्न नसकेको स्थानीय किसानको गुनासो छ ।
हरेक दुई दिनको पालोमा टिप्नुपर्ने परबल, बोडी, घिरौँला, भन्टासहितका हरियो तरकारी बजार पुर्‍याउने अवस्था बन्दले नभएपछि बोटमै बुढिने छिप्पिने र कुहिने क्रम सुरु भएको जिल्लामै नमुना तरकारी किसान मानिएकाहरूले समेत बताउने गरेका छन् । यसो हुनु भनेको गरिखाने किसानलाई दु:ख दिने काम गर्नु हो भन्ने कुरा बन्दकर्ताले बुझ्न जरुरी छ । २५ कात्तिकयता तीनपटकसम्म टिपिसक्नुपर्ने हरियो तरकारी अहिलेसम्म एकपटक पनि बन्दकै कारण नटिपिँदा आफूहरू निकै मर्कामा परेको तरकारी उत्पादक किसानको गुनासो छ । यस गुनासोतर्फ पनि बन्दकर्ताले सोच्नुपर्छ । बन्दका कारण आफ्ना विपक्षलाई भन्दा पनि आफ्नै समर्थकलाइ बढी मर्का पर्ने गरेकोतर्फ पनि अब सोच्न जरुरी छ ।
विभिन्न जिल्लाका तरकारी पकेट क्षेत्र मानिएका गाविस बस्तीमा बन्दकै कारण हरियो तरकारी बाली बजार पुग्न नसक्दा किसानसँगै उपभोक्तासमेत मर्कामा परेका सबै जिल्ला कृषि विकास कार्यालयले समेत स्विकारेका छन् । पछिल्लो एक सातादेखिको लगातार यातायात बन्दले तरकारी उत्पादन गर्ने जिल्लाका रूपमा चिनिएका स्थानमा समेत तरकारी बजारमा पर्याप्त पुग्न नसक्दा सर्वसाधारण महँगीको मारमा परेको बताइन्छ । तरकारीसँगै अरू कृषि उपज पनि बजार पुग्न नसक्दा किसानलाई परेको मारसँगै दैनिक मजदुरी गरेर गुजारा गर्नुपर्ने गरिब भोकभोकै परेका छन् । लगातारको यातायात बन्दले काम गर्न जान नपाइएको र खाने सर्दामको जोहोमा समेत समस्या भएपछि घरका बूढापाका र स–साना छोराछोरीलाई बन्दभरि कसरी बचाउने भन्ने चिन्ताले स्थानीय किसान र दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरूलाई निकै ठूलो मर्का परेको छ । दैनिक ज्यालादारीमा काम गरिखानेलाई मात्र होइन, राष्ट्रलाई नै आर्थिक घाटा पुर्‍याउने बन्दजस्ता कार्यक्रम अब रोकिनुपर्छ ।

प्रतिक्रिया