‘निर्भय भई मतदानमा भाग लिन आह्वान’

Neelkantha-Upretiकाठमाडौं, ३ कात्तिक । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनको महत्वपूर्ण घडीमा सम्पूर्ण मतदाताहरुलाई निर्भय भई स्वतन्त्रतापूर्वक मतदानमा भाग लिन आह्वान गरेका छन् ।

उप्रेतीले आयोगको कार्यालय कान्तिपथमा आज (सोमबार) पत्रकार सम्मेलन गरेर निर्वाचनमा भाग लिन आह्वान गरेका हुन् । उनले निर्वाचन सफल बनाउन आ–आफ्ना ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् ।

भोलि मङ्गलबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म संविधानसभा सदस्यको दोस्रो निर्वाचन हुँदै छ । हल्का नीलो रंगको मतपत्रमा राजेको उम्मेदवार र हल्का रातो रंगको मतपत्रमा आफूले मन पराएको राजनीतिक दललाई मतदान गर्न सकिने आयोगले जनाएको छ ।

‘निर्वाचनलाई भयमुक्त वातावरणमा स्वतन्त्र, स्वच्छ, निष्पक्ष र विश्वसनीय तबरबाट सम्पन्न गर्ने जिम्मेवारी हामी सबैको काँधमा छ,’ उनले भनेका छन्, ‘यसका लागि सरोकारवाला सबैको रचनात्मक भूमिका आवश्यक छ ।’

मतदान गर्ने मतदाताको सार्वभौम अधिकारलाई चुनौती दिँदै हालै भएका बन्द, हड्ताल, आगजनी र हिंसापूर्ण कार्यको उनले घोर निन्दा र भत्र्सना गरेका छन् ।

‘देशको स्थायित्व, शान्ति र समृद्धिको मार्गप्रशस्त गर्ने संविधानसभा निर्वाचनमा आम मतदाताको भावनाविपरीत कसैले कुनै पनि कार्य गर्नु हुने छैन,’ उनले भनेका छन्, ‘लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई छ तर अवरोध गर्ने अधिकार कसैलाई छैन ।’

उनले सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरी आम मतदातालाई निर्भयताका साथ मतदान गर्ने वातावरण बनाएको पनि बताए ।

मतदान कार्यमा खटिएका कर्मचारीलाई मतदानसम्बन्धी व्यवस्थापकीय कार्यमा सहयोग गर्न आग्रह गरेका प्रमुख निर्वाचन आयुक्त उप्रेतीले असशक्त, अपाङ्गता भएका, सुत्केरी, ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म पुग्न सहयोग पुर्‍याएर सहयोग गर्न सबैलाई अनुरोध गरे ।

प्रतिक्रिया